विकासन्युज

६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय

फाइल फोटो काठमाडौं । सरकारले विश्वबैकबाट प्राप्त हुने छ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । गत भदौ २९ गते (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । विश्वबैंकको उक्त ऋण सहायता अपर अरुण जलविद्युत परियोजनाको पूर्व तयारीका लागि प्रयोग हुने छ ।

पौने १६ खर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति, १२.५ महिनाको वस्तु आयात धान्न सक्ने

काठमाडौं । विदेशी मुद्राको सञ्चिति २.२ प्रतिशतले बढेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भई २०८० साउन मसान्तमा १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० साउन मसान्तमा १.२ प्रतिशतले वृद्धि भई ११ अर्ब ८५ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा २०८० साउन मसान्तमा २.९ प्रतिशतले वृद्धि भई १३ खर्ब ८५ अर्ब २४ करोड पुगेका छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० साउन मसान्तमा २.९ प्रतिशतले कमी आई १ खर्ब ८७ अर्ब ८९ करोड कायम भएको छ । २०८० साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.५ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २९.२ प्रतिशत, ८५.७ प्रतिशत र २६.३ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।

पोखराका लागि यतीको रात्रि उडान शुरु

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा यती एअरलाईन्सले आज बाट लागुहुनेगरी रात्रिकालिन उडान (आई एफ आर उडान) शुरु गरेको छ । पोखरा अन्तरास्ट्रिय बिमानस्थलमा यस अघि नै रात्रि उडानको सुबिधा भएपनी यती ले आज बाट लागू हुने गरि रात्रि उडान शुरु गर्न लागेको हो । रात्रि उडानका लागि यतीले काठमाडौंबाट साँझ ५:३० बजे उडान नँ एनवाईटि ६८३ र पोखरा बाट साँझ ६:२० बजे उडान नँ एनवाईटी ६८४ मार्फत तालिका मिलाएको यती एअरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारि दिए । ‘हाललाई साँझको लागि एउटा मात्र उडान रहे पनि यात्रुको माग अनुसार हालको समय भन्दा पछाडी उडान संख्या थप हुँदै जानेछ’,  उनले भने । आईएफआर उडान शुरु नहुँदा कहिलेकाँही ढिला हुँदा साँझका उडान रद्ध हुने गरेकोमा अब त्यो समस्या समेत हट्ने उनले बताए । पोखराका लागि यतीले हाल दैनिक ६ वटा उडान गर्दै आएको छ ।

नेपाल टि कलेक्टिभको आउटलेट ठमेलको काठमाडौं गेष्ट हाउसमा

काठमाडौं । न्यु योर्कमा स्थापित नेपाल टि कलेक्टिभले ठमेलमा पहिलो आउटलेट सञ्चालनमा ल्याएको छ । नेपाल टि कलेक्टिभले शनिबारदेखि ठमेलस्थित काठमाडौं गेष्ट हाउसमा सञ्चालनमा ल्याएको हो । सन् २०१६ देखि नेपाल टि कलेक्टिभले नेपालका अर्गानिक, साना तथा सामुदायिक खेतबाट प्राप्त अर्थोडक्स नेपाली चिया संयुक्त राज्य अमेरिकालगायत ४२ भन्दा बढी देशका ग्राहकलाई वितरण गर्दै आएको छ । विश्वका विभिन्न देशमा बिक्री हुँदै आएको सो चिया कम्पनीले नेपाली बजारमा केही समय अघि मात्रै बिक्री सुरु गरेको थियो । ललितपुरको जावलाखेलमा कार्यालय नै राखेर कम्पनीले सुरुवाती चरणमा अनलाईनबाट चियाको बिक्री सुरु गरेकोमा आउटलेट नै स्थापना गरेर चिया बिक्री सुरु गरेको हो । कम्पनीका सहसंस्थापक अमिगो खड्काले न्युयोकर्मा बिक्री हुँदै आएको चिया शनिबारदेखि औपचारिक रुपमा आउटलेट नै राखेर नेपालमा बिक्री सुरु गरिएको जानकारी दिए । उनका अनुसार पहिलो दिन नै अपेक्षा गरेभन्दा धेरैले चिया पिएका थिए । नेपाल टि कलेक्टिभले कालो, सेतो, हरियो र उलोङ चियाका साथै जडीबुटी सहितका मिश्रणको चियाहरु बिक्री गर्दै आएको छ । कम्पनीसँग कञ्चनजङ्घा नोइर (हिमालयन सनराइज) र कुमारी गोल्ड जस्ता पुरस्कार विजेता कालो चियादेखि सोलुखुम्बुमा उत्पादन भएका टप अफ द वर्ल्ड टि जस्ता दुर्लभ कालो चिया र जिब्रोमा रेशमी स्पर्शका साथै स्वादहरूको जटिलताका लागि व्यापक रूपमा प्रशंसित ह्वाइट प्रकाश जस्ता पुरस्कृत सेतो चिया सम्मका चिया रहेका छन् ।

साउनमा सवा खर्ब रेमिट्यान्स भित्रियो, श्रम स्वीकृति लिने घटे

काठमाडौं । चालुआर्थिक वर्ष २०८०८१ को साउनमा रेमिट्यान्समा २५.८ प्रतिशतको वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले वृद्धि भई १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२.१ प्रतिशतले कमी आई ३९,१५२ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले कमी आई १६ हजार ४२३ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २६.१ प्रतिशतले वृद्धि भई रु.१२८ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १८.४ प्रतिशतले बढेको थियो ।

साउनमा घट्यो मूल्यवृद्धि, काठमाडौं उपत्यकामा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मूल्यवृद्धि घटेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा उपभोक्ता मुद्रास्फीति ७.५२ प्रतिशत कायम भएको छ । जुन अघिल्लो वर्षको सोही महिनामा ८.२६ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.९५ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.४२ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४५.५६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.२० प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२.१९ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको ११.०५ प्रतिशत र तरकारीको १०.८० प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.१३ प्रतिशतले घटेको छ । साथै, गैर-खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.५५ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ६.९३ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ६.७९ प्रतिशतले बढेको छ भने यातायात उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.८१ प्रतिशतले घटेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत, तराईको ६.७० प्रतिशत, पहाडको ७.५० प्रतिशत र हिमालको ११.४६ प्रतिशत रहेको छ । २०७९ साउन महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.३९ प्रतिशत, ८.७२ प्रतिशत, ८.६४ प्रतिशत र ६.६४ प्रतिशत रहेको थियो । २०८० साउन महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.३४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १२.५८ प्रतिशत रहेको थियो । बैंकको तथ्यांकअनुसार समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ८.०० प्रतिशत, २.५५ प्रतिशत र २.७२ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ०.०५ प्रतिशतले घटेको छ ।

स्वदेशी बिजुली खपत गर्न विद्युतीय सवारी साधनको प्रवद्र्धनमा ध्यान केन्द्रित गरेका छौं : ऊर्जामन्त्री 

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण सुहाउँदो विद्युतीय सवारी साधनको प्रवद्र्धनमा सरकारले थप नीतिगत प्रबन्धका अलावा थप सहजीकरण गर्ने बताएका छन् । उनले वातावरणको संरक्षणका साथ साथै देशभित्रको बिजुलीको खपत बढाउनका लागि पनि विद्युतीय सवारी साधनको प्रवद्र्धन जरुरी रहेको उल्लेख गरे । काठमाडौंको भृकुटीमण्डपमा जारी सवारी साधनहरुको मेला नाडा अटो शो २०२३ को स्थलगत अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैै मन्त्री बस्नेतले विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि देशव्यापी रुपमा थप चार्जिङ स्टेशन निर्माणलाई पनि प्राथमिकता दिइएको बताए । निजी क्षेत्रले चार्जिङ स्टेशन निर्माण गर्न चाहेको खण्डमा आवश्यक सहजीकरण गरिएको, विद्युत् प्राधिकरणले प्रसारण प्रणाली तथा ट्रान्सफर्मर समेत प्रबन्ध गरिरहेको जानकारी दिँदै मन्त्री बस्नेतले युग सुहाउँदो विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि गर्न सकिने जति सबै काम गरिने विश्वास दिलाए । उनले प्राधिकरणले हालै मात्र देशभर ५१ वटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको जानकारी दिँदै क्रमशः देशभर नै थप त्यस्ता स्टेशन निर्माण गरेर विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिने बताए । निजी क्षेत्रलाई सघन रुपमा चार्जिङ स्टेशन निर्माणका लागि लगानी गर्न आग्रह गर्नुहुँदै मन्त्री बस्नेतले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट मात्रै वातावरणको संरक्षण र बिजुलीको खपत बढाउन सकिने स्पष्ट पारे । मन्त्री बस्नेतले सरकार विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नुको पछाडि वातावरणको संरक्षणका अलावा पेट्रोलियम पदार्थको खरिदका लागि विदेशिने ठूलो रकम जोगाउनका लागि समेत सहयोगी बन्ने स्पष्ट पारे । सो अवसरमा नाडाका पदाधिकारीले मेलामा राखिएका विद्युतीय सवारी साधनको बारेमा जानकारी गराउँदै नीतिगत स्थिरता कायम गरिदिन र विद्युतीय सवारीमा लाग्दै आएको कर घटाइदिन मन्त्री बस्नेतसँग आग्रह गरेका थिए ।

अस्पतालमा डाक्टरको हड्ताल, डा. सञ्जिव भन्छन् : पक्राउको लागि पनि प्रधानमन्त्री गुहार्नु पर्यो

काठमाडौं । हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत दुई जना चिकित्सकमाथि भएको हातपातको विषयलाई लिएर आइतबार नेपाल चिकित्सक संघको अगुवाइमा देशभरका अस्पतालमा ओपीडी सेवा बन्द भए । नेपाल प्रहरीले चिकित्सक कुटपिट गर्ने कार्यमा संलग्न ४ जनालाई पक्राउ गरेर अनुसन्धान प्रकृया अगाडि बढाइसकेपछि पनि अत्यावश्यक सेवा बन्द गर्ने चिकित्सकहरुको हड्तालमा सरकार मुखदर्शक मात्रै बन्न पुगेको छ । सरकारले अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ अनुसार गत जेठमा राजपत्रमा सूचना प्रकाशित गरेर विभिन्न २५ प्रकारका सेवा क्षेत्रमा हड्ताल गर्न नपाइने बताएको थियो । तर, मानिसहरुको जीवनसँग जोडिने स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा चिकित्सक संघको अगुवाइमा आइतबार भएको हड्तालका कारण हजारौं बिमारीहरुले देशैभरी उपचार सेवा प्राप्त गर्न सकेनन् । जसलाई सरकारले समयमा रोक्ने काम गर्न सकेन । आइतबार चिकित्सकहरुको आन्दोलनका तस्विरसँगै अस्पतालहरुमा बिमारीहरुले उपचार नपाएर पीडा भोगिरहेको तस्बिर पनि सञ्चार माध्यम र सामाजिक सञ्जालमा छाएका छन् । शनिबार नै विज्ञप्ति जारी गरेर नेपाल चिकित्सक संघले आइतबारका लागि आन्दोलनको घोषणा गरेको थियो । तर, स्वास्थ्य मन्त्रालयले भने चिकित्सकहरुले आन्दोलन गरेर सेवा प्रभावित भइसकेपछि मात्रै स्वास्थ्य सचिवको नेतृत्वमा वार्ता समिति बनाएर वार्ताकोलागि आन्दोलनकारी चिकित्सकहरुलाई बोलाउने काम गर्यो । यो समाचार तयार पार्दासम्म दुवैतर्फका वार्ताटोलीका प्रतिनिधिहरुबीचमा छलफल भइरहेको छ । एउटा कुनै अस्पतालमा भएको घट्नाको विषयलाई लिएर देशैभरीका अस्पतालका सेवा प्रभावित गर्न मिल्छ भन्ने प्रसंगमा नेपाल चिकित्सक संघका महासचिव सञ्जिव तिवारीले चिकित्सकहरु असुरक्षित हुनपुगेकाले आन्दोलन गर्नुपर्ने स्थिति सिर्जना भएको प्रतिक्रिया दिएका छन् । उनले चिकित्सकलाई कुटपिट गर्नेलाई पक्राउ गर्न प्रधानमन्त्रीलाई नै दबाव दिएपछि मात्रै सम्भव भएको भन्दै घट्नामा सहभागी सबैलाई अझै पक्राउ नगरिएकाले चिकित्सकहरु आन्दोलनमा जान बाध्य भएको बताए । ‘हामी प्रधानमन्त्री कार्यालय गएर प्रधानमन्त्री सचिवालयबाट फोन गरिसकेपछि बल्ल पक्राउ गरिएको हो, जम्मा ४ जनालाई पक्राउ गरिएको छ’, डा. तिवारीले भने, ‘तपाईंले सिसिटिभी फुटेज हेर्नुस, घट्नामा संलग्न २५ जना छन्, यस्तो सामूहिक सांघातिक हमलामा ४ जनालाई मात्रै गिरफ्तार गरेर त भएन, प्रहरीले जाहेरी नै दर्ता नमानेर सेन्ट्रल एनएमएको अध्यक्षको नाममा जाहेरी गरेका हौं, यस्तो अवस्थामा हामीले कसरी सेवा दिन सक्छौं ?’ डा. तिवारीले पछिल्लो हप्ता मात्रै चिकित्सकहरुमाथि कुटपिटदेखि अभद्र व्यवहार गर्ने घट्ना ५ वटा भएको र सुरक्षाकर्मीले आफ्नो काम नगरेकाले आन्दोलन गर्नुको विकल्प नभएको बताए । काम गर्नको लागि भयरहित वातावरण बनाउने जिम्मेवारी सरकारको भएको उनको भनाइ छ । के एक ठाउँको घट्नामा सहभागी भएका व्यक्तिहरुलाई कारवाही गरेर मात्रै आगामी दिनमा यस्तो घट्नामा न्यूनिकरण हुनसक्छ र भन्ने सन्दर्भमा डा. तिवारीले बिमारीका आफन्तले आफ्ना बिमारीहरुको उपचारमा कमिकमजोरी भएमा उजुरी दिने एनएमसी, अदालत लगायतका निकायमा उजुरी दिन सचेत गराउने विषयमा कमजोरी रहेको औंल्याएका छन् । ‘बिमारीहरुको उपचारमा कमिकमजोरी भयो भने एनएमसी, सिडियो अफिस र अदालतमा उजुरी गर्ने विषयमा जनतालाई सुसूचित गर्नपर्छ, यो विषयमा अभाव भइरहेको छ, यो विषय पनि सरकारलाई हामीले भनेका छौं’, डा. तिवारीले भने । चिकित्सकहरुको संगठन विशाल र बलियो छ । पेशागत हकहितका विषयमा सो संगठनले लामो समयदेखि आन्दोलन गर्दै आएको पनि छ । तर, समग्र स्वास्थ्य क्षेत्रलाई उच्च मर्यादित बनाउने विषयमा संघको भूमिका पुगेनकी भन्ने सन्दर्भमा डा. तिवारीले सरकारले नै सो क्षेत्रलाई व्यवस्थित बनाउन भूमिका नखेलेको बताएका छन् । २२ वर्ष अगाडि ३३ हजार भएको स्वास्थ्यकर्मीको संख्या २२ वर्षपछि घटेर ३१ हजारमा झरेको भन्दै उनले सरकारले बजेट समेत घटाउने काम गरेको बताएका छन् । ‘दरबन्दी थप नगर्ने, बजेट कटौती गर्ने अनि यसरी बिमारीले प्रभावकारी उपचार त पाउन सक्दैनन् नी’, उनले भने, ‘सुरक्षा निकायमा ०४६ सालबाट अहिलेसम्म के कति बढ्यो ? स्वास्थ्यमा त झन घट्यो, कसरी प्रभावकारी सेवा प्रवाह हुनसक्छ ? सरकारकै कारण स्वास्थ्य क्षेत्रमा अहिलेको समस्या आएको डा. तिवारीको भनाइ छ ।