विकासन्युज

नेपाल एसबिआई मर्चेण्टको सीईओमा पोखरेल नियुक्त

काठमाडौं । नेपाल एसबिआई मर्चेण्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लेखनाथ पोखरेल नियुक्त भएका छन् । भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई सीईओको रुपमा नियुक्त गरेको हो । यसअघि पोखरेलले नेपाल एसबिआई बैंकको वित्त, लेखापरिक्षण र मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा १० वर्षभन्दा बढीको कार्य अनुभव सँगालेका पोख्रेल स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने कुशल नेतृत्व रहेका कम्पनीको दावी छ । नव-नियुक्त सीईओ पोखरेलको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं मर्चेण्ट बैंकिङ्गबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ भन्नेमा एसबिआई मर्चेण्ट विश्वस्त छ । नेपाल एसबिआई बैंकको सहायक कम्पनीका रूपमा रहेको यस मर्चेण्टको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ । मर्चेण्टले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई कोष व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङ्ग लगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।

नबिल बैंकको नयाँ शाखा सोलुखुम्बुको नाम्चेमा

सोलुखुम्बु । नबिल बैंकले २६५ औँ शाखा सोलुखुम्बु जिल्लाको नाम्चेमा विस्तार गरी सञ्चालनमा ल्याएको छ । बैंकले बैंकिङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार रणनीतिका साथ नाम्चेमा शाखा विस्तार गरेको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल तथा प्रमुख अतिथि पूर्व वडा अध्यक्ष छिरिङ फेन्जो शेर्पाले संयुक्त रुपमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको उपस्थितीमा शाखा उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा अध्यक्ष पौड्यालले नाम्चेमा नबिलको व्यवसाय विस्तार मात्रै नभई समुदाय स्तरमा काम गर्ने ध्येय नबिल बैंकको रहेको बताए । ‘नबिल बैंकले समुदायसँग मिलेर काम गर्नमा विश्वास राखेको छ र नाम्चेमा शाखा खोल्नु हाम्रो लागि खुशीको क्षण हो,’ उनले भने । प्रमुख अतिथि शेर्पाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुशी तुल्याएको बताए । उनले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए । नबिल बैंकका सिईओ ढुंगानाले नाम्चे क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए । ‘हामी यस क्षेत्रको आर्थिक आवश्यकता पूरा गर्न सेवाग्राहीलाई उत्कृष्ट सेवा दिनको लागि हाम्रो प्रयास रहनेछ,’ ढुंगानाले भने । उद्घाटन समारोहमा वडा सदस्य न्वाङ शेर्पा, सिमा प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवा, प्रहरी निरीक्षक कविन राई लगायत स्थानीय प्रतिनिधिका साथै नबिल बैंकका उच्च अधिकारीहरूको उपस्थिति थियो । नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकको देशभर २६५ शाखा सञ्जालसहित ३०६ एटिएम मेसिनबाट सेवा दिएको छ । नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ ।

आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्य छ : मन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्य रहेको बताएका छन् । आइतबार कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले आर्थिक गतिविधिलाई बढाउने सरकारको लक्ष्य रहेको बताएका हुन् । उनले अर्थतन्त्रले विस्तारै लय पक्रँदै गएको भएपनि राजस्वमा भने समस्याहरु कायमै रहेको बताए । उनले वैदेशिक मुद्राको सञ्चिति राम्रो भएको बताए । पर्यटकको आगमन पनि बढिरहेको उल्लेख गर्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बैंकहरुले ब्याज कम गर्नुपर्ने बताए । त्यस्तै नियमनकारी संस्थाहरुले अर्थतन्त्रको दिशालाई मध्यनजर गर्दै आफ्नो निति निर्माण गर्नुपर्ने उनको भनाई थियो । मन्त्री महतले सरकारले वित्त नीति तय गर्दा वित्त व्यवस्था र खर्च प्रणालीलाई प्रभावकारी बनाउने गरी गर्नुपर्ने बताए । ‘अर्थतन्त्रको चक्रलाई चलायमान गर्नका लागि आ-आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने आवश्यकता छ, बैंकहरुले ब्याज सकेसम्म कम गरेर योगदान गर्नुपर्ने आवश्यकता छ, नियमनकारी संस्थाहरुले अर्थतन्त्र अहिले कतातिर गइराखेको छ, त्यसलाई मध्यनजर राखेर आफ्नो नीति, निर्माण गर्नुपर्ने हुन्छ, सरकारले वित्त नीति तय गर्दाखेरी हाम्रो वित्त व्यवस्थालाई प्रभावकारी बनाउने, खर्च प्रणालीलाई प्रभावकारी बनाउने, चाँडो चाँडो खर्च गर्ने र त्यसबाट प्रतिफल प्राप्त गर्ने बाटोलाई सुनिश्चित गर्नुपर्ने हुन्छ, त्यसको लागि सरकारले बजेटमा धेरै सुधारका प्रश्तावहरु पेस गरेको छ, त्यसको लक्ष्य भनेको हाम्रो आर्थिक गतिविधि बढोस्, लगानीको वातावरण बढोस्, र पुँजी प्रवाह बजारमा होस्, आर्थिक गतिविधि बढोस् भन्ने नै हाम्रो लक्ष्य रहेको छ,’ उनले भने । सरकारले बजेटमा धेरै सुधारका प्रस्तावहरु पेश गरेको बताउँदै उनले देशमा लगानीको वातावरण बढाउने र बजारमा पुँजी प्रवाह गर्ने लक्ष्य साथ काम गरिरहेको जानकारी गराए ।

इसेवाले फेरी ल्यायो काठमाडौंमा घर जित्ने योजना, असोजदेखि शुरु

काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले फेरी पनि काठमाडौंमा घर जित्ने योजना सार्वजनिक गरेको छ । डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन इसेवाले ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिएको हो । यो अभियान आगामी २०८० असोज १ गतेबाट सुरु भएर २०८१ असार ३१ गतेसम्म जारि रहने कम्पनी स्रोतले जनाएको छ । परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटलतर्फ लैजाने अभिप्रायका साथ यो अभियान सुरु गरिएको हो । साथै, यस योजना मार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाइ थप मजबुत बनाउन का लागि पनि १० महिने यस योजना सार्वजनिक गरिएको कम्पनीले जानकारी गराएको छ । “मेरो डिजिटल देश” अभियान अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीहरुले, नेपालमा इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् । यस अभियानमा ४ परिवारलाई विशेष कोसेली, हरेक महिना १ जनाको पैसा डबल, तथा बम्पर उपहारमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन् । अभियानबारे आफ्नो धारणा व्यक्त गर्दै एफवान सफ्ट ग्रुपका डाइरेक्टर सुवास शर्माले भने, “यो योजना वैदेशिक रोजगारीमा रहेका नेपाली व्यक्तिहरूले गरेको समर्पण र बलिदानप्रति हाम्रो प्रशंसाको प्रतीक हो। प्रत्येक विदेशमा काम गर्ने नेपालीको एउटा आकांक्षा भनेको काठमाडौंमा घर बनाउनु हो र यस अभियानको माध्यमबाट, हामीले कम्तिमा एउटा व्यक्तिको सपना पुरा गर्न सक्नेछौं। साथै ईसेवा मनि ट्रान्स्फर र ईसेवाको संयुक्त प्रयासले यस अभियानलाई अझै धेरै डिजिटल मध्यमलाई बढावा दिइनेछ। यसबाहेक, हामीलाई थाहा छ रेमिट्यान्स हाम्रो राष्ट्रिय आम्दानीको महत्वपूर्ण हिस्सा पनि हो। यो योजना मार्फत, हाम्रो उद्देश्य नेपाली नागरिकको आकांक्षा पूरा गर्ने हो जसले आफ्नो परिवारमा खुशी ल्याउन र सम्पूर्ण राष्ट्रको समृद्धिमा योगदान पुर्‍याउन लगनशील भई काम गरिरहेको छ।” एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डाइरेक्टर डेनियल डी श्रेष्ठले भने, ‘ईसेवा मनि ट्रान्स्फरको स्थापनाकालदेखि नै आर्थिक विकासमा महत्वपूर्ण योगदान रहेको छ । यस योजना अन्तर्गत, विदेशमा बसोबास गर्ने र रोजगारीमा रहेका सबै नेपालीहरूलाई डिजिटल इकोसिस्टममा सक्रिय रूपमा सहभागी हुन र आफ्नो रेमिट्यान्स आवश्यकताहरूका लागि वैधानिक माध्यम प्रयोग गरी राष्ट्रको समग्र आर्थिक उन्नतिमा योगदान दिन प्रोत्साहित गर्दछु।’ ‘इसेवा र ईसेवा मनि ट्रान्स्फरको संयुक्त प्रयासबाट विदेशमा रहेका नेपालीहरुलाई डिजिटल माध्यम बाट केहि मिनेटमै नेपालमा सहजै पैसा पठाउन मिल्ने बताए । ‘यो अभियान मार्फत देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने र रेमिट्यान्स सेवाको गुणस्तर र विश्वसनीयतालाई उकास्नेछ भन्ने हाम्रो विश्वास छ,’ इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने । त्यस्तै, ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले यो अभियानमा विश्वका बिभिन्न देशबाट नेपालमा पैशा पठाएर देशलाइ यतिठुलो आर्थिक योगदान पुर्‍याउनु हुने ति सहयोगी हातहरु मध्ये केहिलाई १० महिने यस अभियान मार्फत हामी विशेष रुपमा सम्मान गर्ने बताए । यसका साथै ईसेवा मनि ट्रान्स्फरका ब्रान्ड एम्बेसडर राजेश हमाल, स्वस्तिमा खड्का, दयाहाङ् राई र इसेवाका ब्रान्ड एम्बेसडर बिपिन कार्कीले डिजिटल रेमिट्यान्स सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेतनामूलक कार्यक्रममा अभियानलाई प्रवर्द्धन गर्न सहभागिता जनाउने कम्पनीले बताएको छ । ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका दुई करोड भन्दा बढी जनसंख्या र १२ लाख भन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

एनसेलले ‘हामी तपाईंकै लागि’ थिममा १८औं वार्षिकोत्सव मनाउँदै

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आइतबार आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सव मनाएको छ । कम्पनीले आम नेपाली जनसमुदायलाई विश्वस्तरीय दूरसञ्चार सेवाहरूमार्फत जोड्दै प्रविधि र कनेक्टिभिटीको पहुँचले दिने लाभ १८ वर्षदेखि निरन्तर प्रदान गर्दै आएको छ । सन् २००५ सेप्टेम्बर १७ मा एनसेल स्थापना भएको थियो। पहिले ‘मेरो मोबाइल’ ले आफनो सेवा सञ्चालनमा ल्याउँदै यात्रा सुरु गरेको थियो । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवम् प्रबन्ध निर्देशक जाब्बीर कायुमोमले एनसेलको १८ वर्षको उल्लेखनीय यात्राका बारेमा आफ्नो उत्साह र भावनाहरू प्रकट गर्दै भने, ‘१ करोड ६० लाखभन्दा बढी नेपाली नेपालको अर्थतन्त्रको अभिन्न अंग बन्न पाएकोमा हामी गर्व गर्छौं । एनसेल सधैं नेपाल र नेपालीलाई गुणस्तरीय सेवाले जोड्न प्रतिबद्ध छ र अब हामी देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेवार बनेका छौं । बहुसंख्यक नेपालीका लागि पाउन कठिन हुने सेवा र सुविधामा सहज पहुँच सुनिश्चित गराउने अब हाम्रो भिजन हुनेछ । ‘एनसेल हामी तपाईंकै लागि हो र अझै धेरै वर्ष निरन्तर यात्राका लागि प्रतिबद्ध छौं ।’ एनसेल आजियाटा लिमिटेडले १८औं वार्षिकोत्सवका अवसरमा विभिन्न योजना अगाडि सारेको छ । एनसेलले आफ्नो १८औं वार्षिकोत्सवका अवसरमा सामुदायस्तरमा लागू हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ कार्यक्रम सुरु गरेको घोषणा गरेको छ । यसअन्तर्गत एनसेलले ७ वटै प्रदेशका गैरनाफामूलक संस्थाहरूबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको छ । इच्छुक संस्थाले एनसेलको वेवसाइटमार्फत आवेदन दिन सक्नेछन् । निश्चित मापदण्ड र प्रक्रिया पुर्‍याएर छानिने त्यस्ता सिएसआर आयोजनाका लागि कम्पनीले प्रतिपरियोजना १० लाख रुपैयाँ प्रदान गर्नेछ । त्यस्तै कम्पनीले आफ्नो ब्रान्डको वाचा ‘आज, भोलि सधैँसँगैअन्तर्गत रही हामी तपाईंका लागि’ थिमको घोषणा गरेको छ । यस थिमअन्तर्गत एनसेलले सामाजिक कार्य अगाडि बढाउन र नेपालमा सामुदायस्तरमा सार्थक प्रभाव पार्न श्रृंखलाबद्ध विभिन्न क्रियाकलाप, सहकार्य र कार्यक्रम घोषणा गरेको छ । एनसेलले आफ्नो वार्षिक उत्सव मनाइरहेका बेला ग्राहकसँग खुनियाली बाँड्न आकर्षक अफर पनि न्याएको छ । प्रत्येक ग्राहक बिजेता बन्ने यस ‘एभ्री कस्टमर इज अ विनर’ अफरमा सबै ग्राहकले २८ दिन सम्म केही न कही गिफ्ट पाउनेछन । यस अफरमा *१७११७# डायल गर्ने ग्राहकहरूले दैनिक, साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्न योग्य बन्छन्। दैनिक उपहारमा ग्राहकले एनसेलका सेवा कुनै पनि शुल्क बिना प्राप्त गर्न सकछन्। प्रत्येक साता एनसेलका १ हजार ग्राहकले एक सय रुपैयाँ ब्यालेन्स पाउनेछन् र अफरको अन्त्यमा सात जना भाग्यशाली ग्राहकले ७ वटा स्कुटर पाउनेछन्। साप्ताहिक र बम्पर उपहार प्राप्त गर्न ग्राहकले अफर अवधिभरि एनसेल सेवा प्रयोग गरेको हुनुपर्छ र एनसेलबारे रचनात्मक नारा एनसेल एप या एनसेल वेबसाइटमार्फत एनसेलसँग पठाउनुपर्नेछ । आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी ‘सिएनआर र बिम हामी तपाईंकै लागि’ अन्तर्गत एनसेलले राष्ट्रिय प्यारालम्पिक समिति, नेपालसँग सहकार्य घोषणा गरेको छ। जसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा नेपालको प्रतिनिधित्व गर्ने प्यारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई सहयोग गर्नेछ। यस सहकार्यअन्तर्गत एनसेलले राष्ट्रिय खेलाडीको समग्र तालिम र विकासका लागि उनीहरूलाई आवश्यक पर्ने आहार र पोषण वर्षभरि सुनिश्चित गर्न सहयोग प्रदान गर्नेछ । दिगो विकासका लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्ने कम्पनीको प्राथमिकता अनुरुप एनसेलले लामो समयदेखि सिएमआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनाहरूमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ । सबैभन्दा ठूलो करदातामध्ये एकका रूपमा, एनसेलले अर्थतन्त्रमा प्रभावकारी योगदान पुयाउँदै आएको छ र आफ्नो स्थापनाकालदेखि आर्थिक वर्ष २०७८/७९ सम्ममा कर र शुल्कवापत २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी तिरिसकेको छ । कम्पनीले ‘तपाईंकै लागि’ थिम अन्तर्गत १८औं वार्षिकोत्सवका अवसरमा अन्य कार्यक्रम पनि आयोजना गरिने जनाएको छ। मानव विकास सूचकांक न्युन भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान, वृक्षारोपण, लैनचौर मैदानमा मैत्रीपूर्ण फुटबल खेल, ग्राहकसँग अन्तरक्रिया गर्न सेलिबेटीहरुको एनसेल सेन्टरमा भ्रमणलगायत कार्यक्रम आयोजना गरिनेछन्।

राजस्व चुहावट नियन्त्रण गर्न गृह र अर्थ मन्त्रालयले बढायो थप सक्रियता

काठमाडौं । हिजो सम्पन्न केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रणकालागि विभिन्न निर्णयहरु गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाश शरण महतको उपस्थितिमा समितिको बैठक सम्पन्न भएको हो । बैठकले राजस्व चुहावटको पछिल्लो प्रवृत्ति विश्लेषण गरी नियन्त्रणको ठोस उपाय सहितको कार्ययोजना १ हप्ता भित्र तयार गरी समितिमा पेश गर्न राजस्व सचिव संयोजक र राजस्व चुहावट नियन्त्रणमा संलग्न सुरक्षा निकाय एवम् विभागीय प्रमुखहरु सदस्य रहको कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलको संयोजन अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले गर्ने भएको छ । त्यसैगरी नजिक आइरहेको दशैं, तिहार, छठ पर्वहरु मध्यनजर गरी चोरी पैठारी नियन्त्रणका लागि सम्बद्ध निकाय बीच उच्च स्तरको समन्वय कायम गर्ने र संवेदनशिल नाकाहरुमा आकस्मिक गस्ती बढाउने निर्णय भएको छ । त्यसैगरी राजस्व चुहावट नियन्त्रणमा प्रविधिको उपयोग बढाउन सम्बद्ध सबै निकायले योजना बनाउने, राजस्व चुहावट नियन्त्रणमा संलग्न जनशक्तिको कार्यसम्पादनको निरन्तर सुपरिवेक्षण गर्ने, पैठारीको परिमाणमा अस्वभाविक कमि आएका वस्तुहरुको बजार उपलब्धता अध्ययन गरी त्यस्ता वस्तुको चोरी पैठारी नियन्त्रण गर्ने गरी कार्ययोजना बनाउने र चोरी पैठारी हुनसक्ने संवेदनशील नाकामा विशेष निगरानी राख्ने निर्णय भएको छ । बैठकमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई मुख्य आधार बनाएर अगाडि बढिरहेको सन्दर्भमा राजस्व चुहावट निन्त्रणका लागि सबै निकायबीच उच्चस्तरको समन्वय काम गर्न निर्देशन दिए । त्यस्तै अर्थमन्त्री डा। प्रकाश शरण महतले राजस्व चुहावट नियन्त्रणमा संलग्न निकायले आ–आफ्ना कमजोरीहरु समीक्षा गरी सुधारको मार्ग पहिल्याउन निर्देशन दिए। सो अवसरमा अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा। पोषराज पाण्डे तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, अर्थ मन्त्रालय र गृह मन्त्रालयका सचिवहरुले राजस्व चुहावट नियन्त्रणलाई अझ सशक्त बनाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिए । कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु र राजस्व चुहावट नियन्त्रणमा संलग्न विभागीय प्रमुखहरुले आ–आफ्नो निकायले राजस्व चुहावट नियन्त्रणमा गरिरहेका कार्यबारे जानकारी गराएका थिए ।

शोधनान्तर स्थिति ३२ अर्ब ९० करोड बचतमा, चालु खाता पनि बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को साउनमा शोधनान्तर स्थिति बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार ३२ अर्ब ९० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १९ अर्ब ७६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ५२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २४ करोड ९५ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता रु.१२ अर्ब ९९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१५ अर्ब १३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ११ करोड ८८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ९ करोड ८५ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६५.९ प्रतिशतले कमी आई रु.२७ करोड २६ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.२ अर्ब ६५ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.८० करोड ३ लाख कायम भएको थियोभने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ४० करोड ऋणात्मक रहेको थियो ।

नेपालको व्यापार घट्यो, सवा खर्ब बढी आयात हुँदा १३ अर्बको मात्रै निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा देशको व्यापार घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा कुल वस्तु निर्यात ८.७ प्रतिशतले कमी आई १३ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २८.७ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात २०.८ प्रतिशतले कमी आएको छ भने र चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ५२७.२ प्रतिशत र १५.४ प्रतिशतले वृद्धि भएको छ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा कुल वस्तु आयातमा १.६ प्रतिशतले कमी आई १ खर्ब २९ अर्ब २४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १२.९ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमशः ३.३ प्रतिशत र १७.० प्रतिशतले वृद्घि भएको छ भने अन्य मुलुकबाट भएको आयात २३.१ प्रतिशतले कमी आएको छ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले कमी आई १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १०.४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.३ प्रतिशत रहेको थियो ।