भिभो स्मार्टफोनहरूमा विशेष प्रि–फेस्टिभल अफरहरू
काठमाडौं । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै प्रख्यात टेक्नोलोजी ब्रान्ड भिभोले आफ्ना तीनवटा नयाँ स्मार्टफोनहरूमा दशैं तिहार विशेष प्रि–फेस्टिभल अफरहरूको घोषणा गरेको छ । प्रि–फेस्टिभल अफरहरू सीमित स्मार्टफोनहरु–भी२७ फाइभजी, ट्रेन्डसेटिङ वाई३६ र स्टाइलिस वाई०२ मा सिमित अवधि अर्थात सेप्टेम्बर २०२३ को अन्त्यसम्म मात्र उपलब्ध हुनेछन् । यी आकर्षक अफरहरू देशभरका भिभोको रिटेल आउटलेटहरू र विभिन्न इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेको छ र उपभोक्ताहरू त्यहाँ गएर यसको लाभ लिन सक्ने कम्पनीले जनाएको छ । भिभो भी२७ फाइभजी भिभो भी२७ फाइभजीमा फ्ल्यागशीप सोनी आइएमएक्स सेभेन सिक्ससिक्स भी सेन्सर क्यामेरा रहेको छ, जसले गर्दा प्रयोगकर्ताहरुले कम प्रकाशमा पनि आकर्षक पोट्र्रेटहरू खिच्न सक्छन् । यसको ५०एमपी अटोफोकश सेल्फी क्यामेराबाट उत्कृष्ट फ्रन्ट–फेसिङ फोटोग्राफी गर्न सकिन्छ । साथै, इमर्सिभ भिजुअलहरूका लागि यो स्मार्टफोनमा निकै आकर्षक १२० हर्ट्जको थ्रीडी कर्भ स्क्रिन रहेको छ जुन शक्तिशाली डाइमेन्सिटी ७२०० प्रोसेसरद्वारा संचालित छ । ८जीवी र्याम र २५६ जीवी स्टोरेजको साथ यसमा विशाल ४६०० एमएएच ब्याट्री रहेको यस स्मार्टफोनमा द्रुत चार्जिंगका लागि ६६वाट को फ्ल्यासचार्ज छ जसले सहज अनुभव सुनिश्चित गर्दछ । यस स्मार्टफोनमा इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर रहेको छ जसले गर्दा फोनलाई सहजै अनलक गर्न सकिन्छ साथै यसमा भएको फनटच ओइस १३ ले प्रयोगकर्ताहरुको स्मार्टफोन अनुभव वृद्धि गर्दछ । रु ५८,९९९ मुल्य रहेको यो उत्कृष्ट स्मार्टफोन अफर अवधिभरि घटेको नयाँ मुल्य रु ५६,९९९ मा उपलब्ध हुनेछ । वाई३६ भिभो वाई३६ फेन्टासी फ्रेम र प्रिमियम क्रिस्टल ग्लासको साथ आकर्षक डिजाइनमा आउँछ । यसमा भएको गोल्डेन रिपल प्रोसेस र २.५डी फ्ल्याट फ्रेमले गर्दा फोनलाई आरामदायी ढंगबाट बोक्न सकिन्छ । यो स्टाइलिस स्मार्टफोनमा ४४ वाटको फ्ल्यासचार्ज र ५००० एमएएचको विशाल ब्याट्री रहेको छ जसले वृहत प्रयोगको साथसाथै कार्यक्षमता र सौन्दर्यशास्त्रको राम्रो संयोजन गरेको छ । यसमा क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ जसले स्मुद पर्फमेन्श सुनिश्चित गर्दछ । स्पष्ट तस्वीरहरु खिच्नका लागी यसमा ५० एमपी एचडी मुख्य क्यामेरा र २एमपी बोकेह क्यामेरा रहेको छ भने १६एमपी एचडी फ्रन्ट पोट्र्रेट क्यामेराको साथ उत्कृष्ट सेल्फ– पोट्र्रेटहरू मज्जाले खिच्न सकिन्छ । सिमलेस अनुभवका लागी यसमा फनटच ओएस१३ रहेको छ । यस उत्कृष्ट स्मार्टफोनको मूल्य सिमित अवधिका लागि रु. २८,९९९, बाट घटेर रु. २७,९९९ भएको छ । वाई०२ भिभो वाई०२ ले २.५डी ट्रेण्डी डिजाइनको साथ कार्यक्षमता र स्टाइललाई समिश्रण गर्दै एक आकर्षक स्मार्टफोन बनाएको छ भने ६.५१ इन्च एचडी+ आई प्रोटेक्शन स्क्रिनले भिजुअल अनुभवलाई वृद्धि गर्दछ । ५००० एमएएच ब्याट्री र कुशल अक्टा–कोर प्रोसेसरको भएको यो स्मार्टफोनले उत्कृष्ट प्रयोगकर्ता अनुभव प्रदान गर्दछ । यसमा ३जीवी र्याम र ३२ जीवी इन्टरनल स्टोरेज रहेको छ जसबाट सहज रुपमा मल्टिटास्किङ गर्नु सकिन्छ र कन्टेन्टका लागि पनि पर्याप्त स्पेश पुग्नेछ । यो स्मार्टफोनमा रहेको ५एमपी अटोफोकस फ्रन्ट क्यामेराबाट आकर्षक सेल्फी खिच्न सकिन्छ र ८एमपी रियर क्यामेराको साथ आफ्नो बहुमूल्य क्षणहरूलाई कैद गर्दै समग्र अनुभव वृृद्धि गर्न सक्ने कम्पनीले जनाएको छ । किनकी यो स्मार्टफोनमा तपाइँको समग्र अनुभव वृद्धि गर्ने क्षमता छ । रु १३,४९९ पर्ने यो स्मार्टफोन अफर अवधिभरि सुलभ मुल्य रु १२,९९९ मा नजिकैका भिभोको रिटेल स्टोरहरुबाट किन्न सकिने छ ।
मेटलाइफद्वारा नेपालमा वन बाई मेटलाइफ एप सार्वजनिक
काठमाडौं । मेटलाइफ नेपालले डिजिटलमाध्यमद्वारा स्वास्थ्यमा पहुँच पुर्याउने उद्देश्यसहित बीमा र स्वास्थ्य सेवाहरु एकै प्लेटफर्ममा संयोजन गरि देशमै पहिलो किसिमको मोवाइल एप वन बाई मेटलाईफ सार्वजनिक गरेको छ । एपको शुभारम्भ मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठद्वारा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममार्फत गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा मेटलाइफ एसियाका बंगलादेश, मलेसिया, नेपाल र भियतनामकी प्रमुख एलेना बुटारोभा, एसिया प्रमुख माकेटिङ्ग अधिकृत सन्जिव कपुर, एसिया वितरण प्रमुख योङ्ग हो हान, एसिया प्रमुख सोलुसन्स् डेलिभरी कोक चोए वङ्ग तथा एसिया एजेन्सी प्रमुख मारवान माटरको उपस्थिति रहेको थियो । एप वन बाई मेटलाईफले बीमा पोलिसीहरुलाई थप पहुँचयोग्य, व्यवस्थित र पारदर्शी बनाउनुका साथै प्रयोगकर्ताहरुलाई उनीहरुको वित्तीय भविष्यमा नियन्त्रण राख्न अझ सशक्त बनाउँछ । मेटलाइफका ग्राहकहरु आइतबारदेखि एपमा दर्ता भई आफ्नो बीमा पोलिसीका वारेमा सूचनाहरु प्राप्त गर्न, मेटलाईफका विभिन्न बीमा सुविधा तथा सेवाहरुका बारेमा खोजी गर्न, बीमा सुविधाका प्रीमियम गणना गर्न, एजेन्टहरुलाई सम्पर्क गर्न र थप जानकारीका लागि कम्पनीसँग जोडिन सक्छन् । एप वन बाई मेटलाईफको एपमा रहेको ३६० हेल्थ सुविधाले स्वास्थ्य सेवा समाधानहरुलाई डिजिटल बीमा सेवाहरुसँग सहज रुपमा एकीकृत गरेको छ । ३६० हेल्थ प्रयोगकर्ताहरुलाई उनीहरुको स्वास्थ्य र स्वकल्याणका लागि मद्दत गर्न र सोको सक्रिय रुपमा प्रबन्ध गर्न मिलोस् भनि श्रृजना गरिएको हो । यसको अर्को उद्देश्य भनेको प्रयोगकर्ताहरु लामो समयसम्म स्वस्थ रहन सकुन् भन्ने पनि हो । नेपालमा एक चौथाई जनसंख्या उच्च रक्तचापबाट पीडित छन् र क्यान्सर, हृदय रोग र पक्षघात जस्ता गम्भिर रोगहरु मृत्युको प्रमुख कारणहरु हुन् । ३६० हेल्थ प्रयोग गर्ने मेटलाइफका ग्राहकहरुले आफ्नो हृदयको गति, रक्तचाप, तथा स्वास्थ्य विवरणहरुको निगरानी विनाहको कृत्रिम बौद्घिकताद्वारा सञ्चालित स्वास्थ्य जोखिम मूल्यांकन सुविधामार्फत राख्न सक्छन् । यसबाट उनीहरुले अपोइन्टमेन्ट बुकिङ्ग, घरमै परिक्षण, एम्बुलेन्स सेवा, भर्चुअल चिक्त्सिक परामर्श तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरुबाट दोस्रो राय लिने जस्ता सेवाहरुको उपभोग समेत गर्न सक्छन् । यसमा गैरग्राहकहरुका लागि पनि विभिन्न सेवाहरु उपलब्ध रहेका छन् । बृहत नेपाली जनताका लागि थप आत्मविश्वासी, स्वस्थ भविष्य निर्माण गर्ने नेपालको लक्ष्यलाई मेटलाइफले समर्थन गर्न पाउनु आफैमा गौरवको विषय रहेको महाप्रबन्धक श्रेष्ठले जनाएका छन् । उनका अनुसार एप वन बाई मेटलाईफ र ३६० हेल्थको सफल शुरुवातसँगै कम्पनीले आफ्नो ग्राहक सेवामा क्रान्ति ल्याउने र देशभरका लाखौंलाई गुणस्तरीय स्वास्थ्य सेवाहरुमा एउटै एपमार्फत सहज पहुँच दिने लक्ष्य राखेको छ । कोरिया, चीन, अष्ट्रेलिया, बंगलादेश र संयूक्त अरब इमिरेट्सका उपभोक्ताहरुका लागि पहिले नै उपलब्ध रहेको पुरस्कार विजेता ३६०हेल्थ सार्वजनिक गर्ने नेपाल एसियाको सबैभन्दा नयाँ बजार हो । यस एपले यी देशहरुमा २५ भन्दा बढी पुरुस्कारहरु जम्मा गरेको छ । कार्यक्रममा बोल्दै मेटलाइफ एसियाका प्रमुख मार्केटिङ्ग अधिकृत सन्जिव कपुरले ३६० हेल्थको विश्वव्यापि विस्तार भनेको मेटलाइफले आफ्ना ग्राहकहरुको जीवनमा ल्याउने मूल्यको प्रमाण रहेको र उनीहरुको जीवनयात्राको प्रत्येक चरणमा उत्कृष्ट सुविधाहरु प्रदान गर्न कम्पनी सदैव प्रतिबद्घ रहेको बताए ।
चीनद्वारा याओगान ३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण
एजेन्सी । चीनले याओगान ३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको छ । आईतवार चीनको दक्षिणपश्चिम सिचुवान प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको हो । स्याटेलाइट याओगान—३९ बोक्ने लङ मार्च— टुडी रकेटले बेइजिङको समयानुसार सवा १२ बजे उडान भरेको थियो । आईतवारको प्रक्षेपण लङ मार्च रकेट श्रृङ्खलाद्वारा गरिएको ४८८ औं मिसन थियो ।
इजिप्ट एयरले कायरो–टोकियो सिधा उडान भर्ने
काठमाडौं । इजिप्टको प्रमुख वाहक इजिप्ट एयरले कायरो–टोकियो सिधा उडान भर्ने भएको छ । आईतवार पत्रकार सम्मेलन गर्दै इजिप्ट एयरले कायरोबाट टोकियोका नारिता अन्तर्राष्ट्रिय विमानस्थलको लागि सिधा रुट सुचारु गर्ने भएको हो । तीन वर्षको निलम्वनपछि उडान पुनः सुचारु भएको हो । उडान बिहीवार गर्ने बताइएको छ । नोभेम्बरबाट भने प्रतिहप्ता दुई उडान हुनेछन् । इजिप्ट एयरले यस वर्ष ७१ विदेशी गन्तव्यमा सेवा दिँदै आएको छ । यो अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढेको हो । कम्पनीले हालै एशिया, युरोप र उत्तर अमेरिकाका धेरै स्थानमा उडान भर्दै आएको छ ।
ललितपुर उद्योग वाणिज्य संघमा म सहित प्यानलको जित सुनिश्चित छ : उम्मेद्वार बज्राचार्य
ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षको आकांक्षी विश्वराज बज्राचार्यले आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । हाल वर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका बज्राचार्यले संघको आउँदो चुनावमार्फत अध्यक्षमा आफ्नो सिंगो प्यानलको जित निश्चित रहेको बताएका हुन् । बज्राचार्यले असोज १९ गते ललितपुरमा हुने साधारणसभामार्फत चयन हुने नयाँ नेतृत्वमा अध्यक्षकारुपमा उम्मेद्वारी दिएको र जित निश्चित रहेको बताएका हुन् । संघको अध्यक्षमा निर्वाचित बनेपछि ललितपुरका सम्पूर्ण साना ठूला व्यवसायीको छाता संगठनकारुपमा ललितपुर उद्योग वाणिज्य संघलाई अघि बढाउने बजाचार्यको भनाइ छ । ‘देशको राजधानी उपत्यकाको उद्योग वाणिज्य संघलाई थप सुदृढ र बलियो बनाउने गरी काम गर्छु,’ बज्राचार्यले भने, ‘ललितपुरका सम्पूर्ण साना ठूला व्यवसायीले अनुभव गर्नेगरी काम हुन्छ ।’ यस्तै, जिल्लाभित्र रहेका ३० वस्तुगत संघलाई छुट्टै पहिचान दिलाउने योजना रहेको सुनाउँदै ह्यान्डिक्राफ्ट, हस्तकला, गार्मेन्ट जस्ता महत्वपूर्ण उद्योगलाई थप व्यवस्थित बनाउने योजना सुनाए । ब्राचार्यले जिल्लामा रहेको नेवारी समुदायको मौलिकतालाई ब्राण्डका रुपमा अघि बढाउन नेपाल उद्योग वाणिज्य महासंघ, केन्द्र, प्रदेश र स्थानीय सरकारसँग समन्वय अघि बढाउने समेत बताए । यही असोज १९ गते हुने संघको साधारणसभामार्फत २२ सदस्यीय कार्यसमिति चयन हुन्छ । संघको अध्यक्ष पदमा हाल तीन जनाले आकांक्षा देखाएका छन् । जसमध्ये बज्राचार्य प्यानको वरिष्ठ उपाध्यक्षमा विरेन्द्रलाल श्रेष्ठ, महासचिवमा भूमिनन्दन कर्माचार्य र कोषाध्यक्षमा मिलन शाक्य छन । यसबाहेक, संघको कार्यसमितिलाई चाहिने पदाधिकारीसहितको २२ जना नै उम्मेद्वार आफ्नो प्यानलमा रहेको बज्रचार्यले बताए । ‘जिल्लामा रहेका सबै उद्योगी व्यवसायीलाई समेटेर प्यानलसहित चुनावमा होमिएका र्छौं,’ बज्रचार्यले भने, ‘जितेपछि सबै उद्योगी व्यवसायीलाई समेटेर ललितपुरको बलियो र मजबुत व्यवसायीक छाता संगठनकारुपमा ललितपुर उद्योग वाणिज्य संघलाई अघि बढाउँछु ।’
राज्यले लिएको गलत नीतिले उपभोक्ताले मूल्यवृद्धिको मार खेप्नुपर्यो : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले राज्यले लिएको गलत नीतिको कारण उपभोक्ताहरुले मूल्यवृद्धिको मार खेप्नुपरेको बताए । आईतवार नेकपा एमाललेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको बढ्दो महंगी र उपभोक्ताको सवाल विषयक गोष्ठिमा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले कोभिड र रुस युक्रेन युद्धको सामान गर्नको लागि राज्यले हठात रुपमा लिएको नीतिको कारण अर्थतन्त्र र बजार मूल्यमा असर परेको दाबी गरे । उनले निजी क्षेत्रले बारम्बार सरकारलाई अर्थतन्त्र नियन्त्रण गरी कडा नीति नलिन आग्रह गरेपनि नसुनेको बताए । उनले निजी क्षेत्रको सुझावलाई राज्यले नसुन्दा मूल्यवृद्धि लगायत मुलुकले आर्थिक मन्दी खेप्नुपर्ने अवस्था आएको उल्लेख गरे । उनले अहिले सर्वसाधरण उपभोक्ताहरु मात्रै नभएर व्यवसायीहरु र राज्य पनि पीडामा रहेको बताउनु भयो । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले राज्यको राजश्व कम संकलन भएको भन्दै सरकारको साधरण खर्च पनि प्रत्येक महिना ऋण लिएर गर्नुपरेको अवस्था रहेको बताए । उनले भने, ‘विगतमा राज्यले लिएको गलत नीतिको कारण उपभोक्ताहरुले मूल्यवृद्धिको मार खेप्नुपरेको छ । कोभिड र रुस युक्रेन युद्धको सामान गर्नको लागि राज्यले हठात रुपमा लिएको नीतिको कारण समस्या आएको हो । उद्योग वाणिज्य महासंघले बारम्बार सरकारलाई कडा नीति नलिन आग्रह गर्दै कन्ट्रोल अर्थतन्त्रको नीति लिन नहुने भनेका थियौं । त्यो कुरा सुनिएन । अहिलेको परिस्थिति आयो । अहिले सबै पीडामा छन् । सर्वसाधरण उपभोक्ताहरु मात्रै नभएर व्यवसायीहरु र राज्य पनि पीडामा छ । राज्यको राजश्व कम भएको सबैलाई जानकारी नै छ । सरकारको साधरण खर्च पनि प्रत्येक महिना ऋण लिएर गर्नुपरेको अवस्था छ । यो विगतमा लिएको गलत नीतिको कारणले नै भएको छ । उपभोक्ता हक हितको लागि सरकार जहिले पनि चनाखो हुनुपर्छ । मुलुकको आन्तरिक कारणले पनि उपभोक्ताहरुले महँगीको मार खेप्नुपरेको छ । मुलुकको उत्पादकत्व कम छ । उत्पादन बढाउने कुरामा कमी कमजोरीहरु छन् ।’ उपभोक्ता हक हितको लागि सरकार जहिले पनि चनाखो हुनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । उनले मुलुकको आन्तरिक कारणले पनि उपभोक्ताहरुले महँगीको मार खेप्नुपरेको भन्दै मुलुकको उत्पादकत्व बढाउन सरकार लाग्नु अहिलेको आवश्यकता रहेको बताए ।
विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद
वाशिङ्टन डिसी । परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घको फोरम ठूला–साना सबै देशको साझा फोरम भएकाले सोहीअनुसार नेपालको सहभागिता रहने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री साउदलाई अमेरिकामा रहेका विभिन्न सङ्घसंस्थाले आयोजना गरेका स्वागत तथा सम्मान कार्यक्रममा उनले नेपालले हासिल गरेको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याएको अनुभवलाई विश्वमाझ लैजान प्रयास गरिरहेको बताए । जनसम्पर्क समिति अमेरिकाको आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले विदेशमा भएका नेपालीलाई स्वदेशमा फर्किने वातावरण बनाउनका लागि वर्तमान सरकारले काम गरिरहेको बताउनुभएको थियो । मन्त्री साउदले भने, ‘केवल तपाईंहरूको ज्ञान, सीप र पुँजीमात्र नभई देश निर्माण प्रक्रियामा हातेमालो गर्न सरकार सदैव तयार छ ।’ गैरआवासीय नेपालीहरूले प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने र त्यसरी चुनिएर आएको एकत्रित र बलियो संस्थाले मात्र विदेशमा बसेका नेपालीहरूको प्रतिनिधित्व गर्ने भएकाले यही भावनाअनुसार काम गर्न मन्त्री साउदले अनुरोध गरे। उनले विदेशमा बसेका नेपाली नागरिकलाई मताधिकार दिनका लागि गृह मन्त्रालयले प्रेषित गरेको पत्रलाई आफूले सैद्धान्तिक सहमति दिइसकेको उल्लेख गरे । मन्त्री साउदले विदेशमा बसेका नेपालीहरूको पासपोर्ट, भिसालगायतका समस्या सम्बोधन गर्न मन्त्रालयको सङ्गठानिक संरचनामा केही सुधारको पहल भइरहेको जानकारी दिए । उनले अमेरिकाजस्तो प्रजातान्त्रिक मुलुकमा बसेर यहाँ हासिल भएको प्रजातान्त्रिक संस्कृति, संस्कार र व्यवहारलाई नेपालमा लैजान अनुरोध गर्दै भने, ‘तपाईंहरू विकसित र प्रजातान्त्रिक देशमा बसेर यहाँ जुन प्रक्रिया र प्रणाली अङ्गिकार गर्नुभएको छ त्यसको अभ्यासमा नेपाललाई लैजान म अनुरोध गर्दछु ।’ उनले एक प्रसङ्गमा नेपालको परराष्ट्र नीति हिजोका दिनमा विचार या सिद्धान्तका आधारमा कहिले दायाँ त कहिले बायाँ ढल्किएको अनुभव गरिएको भएता पनि अहिले प्राकृतिक सिद्धान्तअनुसार स्वभाविक आधारमा ल्याउन प्रयास गरिएको बताए। कार्यक्रममा पूर्वमन्त्री जीतेन्द्र देव, जनसम्पर्क समितिका सभापति आनन्द विष्टलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
महिलाले बच्चा जन्माउने युगको अन्त्य ! कृत्रिम गर्भासयमा बच्चा बनाउने तयारीमा बैज्ञानिक
तस्बिर : द गार्डियनबाट काठमाडौं । वैज्ञानिकहरू कृत्रिम गर्भबाट नवजात शिशुको विकास गर्ने प्रक्रियाको धेरै नजिक पुगेका छन्। अमेरिकाको स्वास्थ्य र मानव सेवासँग सम्बन्धित एजेन्सी फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनले क्लिनिकल परीक्षणसँग सम्बन्धित मुद्दाहरूमा अर्को हप्ता महत्त्वपूर्ण बैठक गर्ने भएको छ। वास्तवमा, मानव शिशुहरूमा परीक्षणको लागि एफडिएको अनुमति आवश्यक हुनेछ। अधिकारीहरूका अनुसार एजेन्सीले हाई प्रोफाइल निर्णय लिनु अघि बाह्य सल्लाहकारहरूको राय लिन्छ। यसले कृत्रिम गर्भमा मानव परीक्षण कसरी गर्ने भनेर छलफल गर्नेछ। एफडिएका अनुसार सेप्टेम्बर २० बाट हुने दुई दिने विज्ञहरुको छलफलमा प्रि म्याचुर रुपमा जन्मिने बच्चाहरुलाई कसरी बचाउन सकिन्छ भन्ने बारेमा छलफल हुने बताइएको छ । भिटारा बायोमेडिकल कम्पनीले यसका लागि काम गरिरहेको छ यसअघि सन् २०१७ मा पनि वैज्ञानिकहरूले यही विधि प्रयोग गरेर भेडाको परीक्षण गरेका थिए । यसको परीक्षणको माध्यमबाट वैज्ञानिकहरू आधुनिक औषधिको माध्यमबाट समयपूर्व जन्मिएका शिशुहरूलाई स्वस्थ राख्न प्रयासरत छन्। फिलाडेल्फियास्थित भिटारा बायोमेडिकल कम्पनीले पनि यसका लागि काम गरिरहेको छ । भिटाराको कृत्रिम गर्भ प्लाष्टिकको झोला जस्तै हो । यसमा ट्युबहरू जोडिएका छन्, जसको मद्दतले ताजा एम्नियोटिक तरल अक्सिजन, रगत र औषधिहरू भ्रूणमा पठाउने काम गरिन्छ । वैज्ञानिकहरूले गर्भावस्थाको २३ देखि २५ हप्ताको बीचमा जन्मेका प्रि(म्याच्योर बच्चाहरूलाई कृत्रिम गर्भको सहायताले हुर्काउनेछन्। यसबाट बच्चाहरूको फोक्सो अझै केही सातासम्म सामान्य रूपमा विकास गर्न सकिने बताइएको छ। यस्ता बच्चाहरुलाई भेन्टिलेटरमा राखिन्छ र अभिभावकहरुलाई प्रविधिको जोखिमको बारेमा पनि सूचित गरिन्छ । यो प्रविधिको सहायताले संक्रमण, मस्तिस्कमा हुनसक्ने खराबी र मुटुको चाललाई नियन्त्रण गर्न मद्दत पुर्याउँछ ।