विकासन्युज

सानिमा बैंकका ग्राहकले फ्रन्टलाइन हस्पिटलमा छुट पाउने

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पूरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सानिमा बैंकका ग्राहकहरुले ओपिडी/आइपिडी तथा बेड सम्बन्धी शुल्कहरुमा १३ प्रतिशत, औषधीको शुल्कहरुमा ७ प्रतिशत र सर्जरी शुल्कमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट हेर्न सकिने बैंकले जनाएको छ ।

लायन्स क्लबद्धारा काठमाडौं मैतीदेवीमा निःशुल्क आँखा शिविर सम्पन्न

काठमाडौं । मैतीदेवी स्थित अल्बर्ट इङ्लिस बोर्डिङ स्कुलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे अन्तर्गत रिजन १२ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेन्ड्सले आयोजना गरेको कार्यक्रममा विद्यालयका बालबालिका र अन्यको गरी ४०३ जनाहरुले आँखा जाँच गराएका थिए । शिविरमा तिलगंगा आँखा अस्पतालका अनुभवी चिकित्सकहरुले आँखा जाँच गरेका थिए । साथै निःशुल्क औषधी वितरण पनि गरिएको थियो । सहयोगी महिला जागरण मञ्चले व्यवस्थापन गरेको उक्त कार्यक्रम लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टर, लायन्स क्लब अफ काठमाडौं बनस्थली, लायन्स क्लब अफ काठमाडौं पिसफुल, लायन्स क्लब अफ काठमाडौं जामाचो, लायन्स क्लब अफ काठमाडौं न्यू इन्नोभेटिभ, लायन्स क्लब अफ काठमाडौं अटोमोबाइल्स गरी ७ वटा क्लबहरुले संयुक्त रुपमा सहयोग गरेका थिए । निःशुल्क आँखा शिविर कार्यक्रमलाई निरन्तरता दिँदै अब अर्को कार्यक्रम काभ्रे जिल्लाको स्कुल खोपासीमा गर्ने योजना रहेको जोन चेयरपर्सन लायन रोशनकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने, हामी सेवामा तल्लीन छौं, अब छिटो नैं काभ्रे जान्छौं ।’ विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आँखाको स्वास्थ्यर्लाइ लक्षित गरी कार्यक्रम गरिएको निःशुल्क आँखा जाँच शिविरमा लायन्स क्लब इन्टरनेसनल ३२५ जेका सिनियर लायन्स लिडरहरु पनि उपस्थित थिए ।

नेपाल एसबिआई र ओम्नी मोटर्स बीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र ओम्नी मोटर्स प्रालिबीच सम्झौता भएको छ । उक्त सम्झौता बैंकका प्रमूख कर्जा अधिकृत अर्जून नेपाल र ओम्नी मोटर्स प्रालिका तर्फबाट सहनिर्देशक उदयन काब्राको संयुक्त हस्ताक्षरमा भएको हो । सो सम्झौताको उद्देश्य बैंकको हायर पर्चेज योजना अन्तर्गत सवारी साधनहरुको फाइनानसिङलाई सहज बनाउन रहेको जनाइएको छ ।

तिज पर्व : आधुनिकताले मौलिकता हराउँदै

रामपुर (पाल्पा)। घर माइतका क्रममा भोगेका सुख दुःखका अनुभवलाई तिजमा व्यक्त गर्दै मनलाई आनन्दित पार्ने, माइतीमावली कहाँ पुगेर मीठो मसिनो खाने, आफ्ना आफन्तजनसँग भेटघाट गर्ने पर्वका रुपमा तिजलाई लिइन्छ । परम्परादेखि नै महिलाका वेदना र सुखदुःखको अनुभव एकापसमा साटासाट गर्न तिज पर्व नै पर्खेर बस्ने चलन थियो । वर्ष दिनभरका तितामीठा अनुभवलाई गीतमार्फत साथीभाइ, आफन्तजनसँग विरह, वेदना तिजका बेला व्यक्त गर्ने र मनलाई हलुका बनाउने चलन थियो । हिजोआज दुःखसुख, जीवन भोगाइका अनुभवभन्दा पनि मनोरञ्जन, नयाँ–नयाँ बस्त्र, खानेकुरामा मोह बढाएको छ । पौराणिक परम्पराभन्दा पनि आधुनिकताले महिलाहरुमा तिज पर्व मनाउने होडबाजी चलेको छ । गरगहना, महङ्गो मुल्यका लत्ताकपडा, खानपानमा तडकभडक बढी देखिन थालेको छ । तीज आउनु महिना दिन अगावै गरगहना, महङ्गा मुल्यका कपडामा सजिएर होटल, रेष्टुरेण्ट र पार्टी प्यालेसमा दरखाने लामबद्ध हुन थालेपछि मौलिकता छाडेर आधुनिकताको पछि लागेको पाल्पा रामपुरकी ज्येष्ठ नागरिक रन्नता बाशिष्ठ बताउ छिन् । ‘हाम्रा पालामा मनाइएको तिज र अहिलेको तिजमा धेरै परिवर्तन आयो, तिजको अघिल्लो दिन माइती मावली गएर सबै जम्मा भएर घरको आँगन पिँढीमा लहरै बसेर दर खाने, गाउँभरीका सबै जम्मा भएर नाच्ने गाउने चलन थियो, अहिले त साथीहरु जम्मा भएर होटलमा दर खाएर नाच्ने रमाउने चलन आयो,’ उनले भनिन् । तिजको मौलिक परम्परा र संस्कृती अवलम्बनभन्दा पनि क्षणिक रमाइलो, नयाँ–नयाँ गरगहना, कपडा लगाएर को भन्दा के कम भन्ने सोँचले भड्किलोपन हुदै गएको ज्येष्ठ नागरिक बाशिष्ठको अनुभव छ । खानपान, लत्ताकपडा, गरगहनादेखि धेरै कुरामा अहिले परिवर्तन हुदै गएको उनको बुझाइ छ । नारीका दुःखसुख र वेदनालाई बोल्ने पर्व हरितालिकालाई लिइन्छ । वर्षदिनभर मनमा सङ्गाल्हेका पिर, वेदना र घरमाइत गर्दाका सुखदुःखका खटनपटनलाई तिजका बेलामा व्यक्त गर्ने, मीठा/मीठा परिकार खाने प्रचलनका रुपमा तिजलाई लिने गरिन्छ । पछिल्ला वर्षमा तिज आउन महिना दिन अघिदेखि नै गाउँ, सहरमा रौनक बढ्दो छ, तर तिजको मौलिकता भने हराउँदै गएको छ । नागपञ्चमी पर्व सुरु भएपछि गाउँमा पालैपालो सबैका घर–घरमा साँझमा झोरा लगाउने चलन थिए । गाउँ, शहर, गल्ली चोक, घर–घरमा बिरह, ठट्यौली, सुखदुःखका गीत गुञ्जन्थे । तिजका गीतमा महिलाले सासु/ससुरा र श्रीमान्को खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाई लिन नआएका पीडा अभिव्यक्त गरेका हुन्थे । ती गीतहरु सुनिरहुँ जस्तो लाग्थ्यो । अहिले यस्ता खालका गीतहरु कमै सुन्न पाइन्छ । तिजको रमझम सुरु हुन थालेपछि गाउँमा पालैपालो झोरा लगाउन लालटिन बालेर गएको पूरानो यादले अझै पनि मनमा झस्काउने गरेको रामपुरकै सीता देवकोटाले बताइन् । ‘आमा हजुरआमासँग साँझमा घरको कामधन्दा सकाएर गाउँमा तिजको झोरा हेर्न गइन्थ्यो, समाजका यथार्थपरक विषयवस्तुमा गाउने ती गीत सुन्दा आनन्द आउँथ्यो, अहिले त गाउँमा झोरा लगाएर नाच्ने गाउने चलन छैन, घरमै बसेर टिकटक बनाउने, मोबाइल, टिभीमा इन्टरनेटबाट तिज गीत सुन्ने र हेर्ने चलन आयो,’ उनले भनिन्  । आजभोली गीत सुन्दा तिजका हुन कि रत्यौलीका छुट्याउनै गाह्रो हुन्छ । दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृतिअनुसारको नेपाली मौलिकपन नहुँदा पूराना पुस्ता चिन्तित बनेका छन् । तीजको रमझम सुरु भएपछि माइत जाने तयारीमा नारीहरु छन् भन्ने बुझाइ हुन्थ्यो । कतिबेला माइतीघरमा पुगिएला र आमाले पकाएको मीठा-मीठा परिकार दरका रुपमा दाजुभाइ बुबाआमा दिदिबहिनीसँगै बसेर खाने, नाच्ने उत्सुकता हुन्थ्यो । अहिले मीठो मसिनो खान माइतीमै जानुपर्छ भन्ने चलन पनि कम हुदै गएको छ । घरमै सुख सुविधाले पनि मीठो मसिनो खान चाडपर्व नै पर्खनुपर्ने अवस्था नरहेको महिलाहरु बताउँछन् । पहिला-पहिला तिजका गीतमा दुःख, वेदनाका भाव झल्कन्थे । माइतबाट कोही लिन नआएको, घाँस, दाउरा बोकेर बसेको, माइती लिन आउलान् भन्दै बाटो हेरेकोे जस्ता कुरा तिज गीतमा हुन्थे, अहिले संस्कृती भन्दा मनोरञ्जन भावका गीत बढी छन् । ‘भररर रानीचरी एँसेलुको गाँजैमा मलाई सम्झी नरोऊ आमा सम्झी साँझैमा’ ९गायिका विमाकुमारी दुरा० घरको कामधन्दा, तीजमा बिदा नपाउँदाका पिडालाई गीतबाटै तीजमा छोरी माइत आइन भनेर सम्झेर नरुन आग्रह गरिएको पाइन्छ । तिज पर्वको एउटा महत्वपूर्ण पक्ष हो झोरा अर्थात् तिज गीत छोरी चेलीले माइतीमा जम्मा भएर आफ्ना दुःखसुख बिसाउनका लागि गीतलाई माध्यम बनाउँछन् । सूचना प्रविधिको विकाससँगै माइतीको घरआँगन, बजारका चोक, खुल्ला चउरमा भेला भएर गाउने गीत, स्टुडियो र युट्युब, टिकटक, फेसुबकमा सिमित बन्न पुगेका छन् । बजारका खुल्ला चौर, चोक तिजका गीतले गुञ्जायमान बनाउँथ्यो । पछिल्लो समय सूचना प्रविधिको बढ्दो विकासले घरमै टिभी हेर्ने, रेडियोमा गीत सुन्ने मोबाइल, युट्युबले गर्दा बजारमा तिजका गिन गाउन र नाच्न जाने भेटिँदैनन् । तिज गीत प्रतियोगितात्मक कार्यक्रम राखिएका बजारमा जसोतसो दर्शक पुगेका हुन्छन् । तिजलाई नारी अधिकार र स्वतन्त्रताका रुपमा लिइने गरिन्छ । पर्व मनाउने क्रममा समयअनुसार केही परिवर्तन हुँदै गएको छ । ‘पहिला महिलाले भोगेका दुःखकष्ट अहिलेको परिस्थितीमा कमै छन्, सुख सुविधाले गर्दा केही कुरा परिमार्जन भएको छ, पूरानो संस्कृतिलाई संरक्षण गरिनु पर्छ, समाजमा तडकभडक नहुने गरी नयाँ कुराको पनि अवलम्बन गर्दै तिज मनाउनुपर्छ,’ महिला अधिकारकर्मी विष्णुमाया ढकालले भनिन् । रासस

विश्वकर्मा पूजामा चिरिच्याट्ट ईभी ट्याक्सी (फोटोफिचर)

काठमाडौं । आज विश्वकर्मा पूजा । विश्वकर्मा पूजा भन्नसाथ हामी विभिन्न कलकारखाना, सवारी साधन, पार्टपूर्जा तथा यन्त्रहरुको पूजाआजा गर्ने दिन सम्झछौं । हरेक वर्ष कन्या संक्रान्तिको दिनमा मनाइने विश्वकर्मा पूजा भगवान विश्वकर्माको जन्म भएको दिनका रुपमा पूजा गरिन्छ । त्यसैले पनि आजको दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । नेपाल र भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरु विश्वकर्मा हुन् । आज नेपालमा पनि विश्वकर्मा पूजा उल्लाहस रुपमा मनाइएको छ । पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै जाँदा ट्याक्सीहरु पनि विद्युतीयमा रुपमा रुपान्तरण हुन थालेका छन् । काठमाडौं उपत्यकामा विद्युतीय गाडीसँगै ट्याक्सीहरु पनि बढ्न थालेका छन् । केहीले विद्युतीय ट्याक्सीलाई एकै ठाउँमा जम्मा गरेर पनि पूजाआजा गरेका छन् ।

शिक्षा विधेयक परिमार्जनका लागि परीक्षा बोर्डका कर्मचारी सङ्गठनको आग्रह

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी सङ्घ–सङ्गठनले संसद्मा पुगेको विद्यालय शिक्षासम्बन्धी विधेयकले बोर्डको स्वायत्तता र कार्यरत कर्मचारीको हक हितमा असर पार्ने भन्दै असन्तुष्टि जनाएका छन् । नेपाल सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ गत भदौ २७ गते सङ्घीय संसदमा दर्ता गरेको थियो । उक्त विधेयकमा राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धमा विद्यमान विधेयकले बोर्डको साङ्गठनिक संरचना र कर्मचारी व्यवस्थापनमा समेत व्यापक हेरफेर गरेको छ । बोर्डअन्तर्गतका कर्मचारी सङ्घ नेपाल, कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले आज संयुक्त विज्ञप्ति जारी गरी सात बुँदे माग प्रस्तुत गरेका छन् । ती सङ्गठनले बोर्डको पूर्ण स्वायत्तता (संरचना, कर्मचारी व्यवस्थापन र स्रोत व्यवस्थापनमा सम्पूर्ण अधिकार हुने गरी) कायम हुनुपर्ने, कार्यरत अस्थायी प्रकृतिका कर्मचारीको स्थायित्वसम्बन्धी प्रक्रिया अगाडि बढ्ने गरी व्यवस्था हुनुपर्ने, कार्यरत सम्पूर्ण कर्मचारीलाई मर्का नपर्ने गरी साविकको पारिश्रमिक, सुविधा तथा सेवाको शर्त सुनिश्चित हुनुपर्ने, पदेन सदस्यबाहेक बोर्डका अन्य सदस्यको मनोनयन गर्ने अधिकार बोर्डमै निहित हुनुपर्ने माग अघि सारेका छन् । यस्तै बोर्डको अध्यक्षको नियुक्ति शिक्षा ऐन, २०२८ (आठौ संशोधन) ले व्यवस्था गरेबमोजिम हुने गरी ऐनमा व्यवस्था हुनुपर्ने, सदस्य–सचिव बोर्डको वरिष्ठतम् अधिकृतमध्येबाट मात्र हुनुपर्ने, हाल रहेका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय र शाखा कार्यालय यथावत रहनुपर्ने माग गरिएको छ । सङ्गठनका अध्यक्ष प्रकाश अवाले, युनियनका अध्यक्ष राजु ओलिया र सङ्घका अध्यक्ष नरेन्द्रप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा उक्त माग पूरा गराउन आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । माग पूरा नभए यही असोज ५ गतेदेखि ७ गतेसम्म बोर्डको केन्द्रीय कार्यालय र प्रदेश तथा शाखा कार्यालयमा विभिन्न विरोधका कार्यक्रम गर्ने जनाइएको छ ।

नाडा अटो शो २०२३ मा ५०० भन्दा धेरै टाटा टियागो इभीको बुकिङ्ग

काठमाडौं । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही भदौ २६ गतेबाट ३१ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भएको १५ औं संस्करणको नाडा अटो शो २०२३ मा सार्वजनिक गरेको टाटा टियागो इभी, टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चले उत्कृष्ट प्रदर्शन गरेका छन् । विशेषतः सुरुवाती मूल्य २१.९९ लाखमा नेपाली बजारमा सार्बजनिक गरिएको टियागो इभीको अटो शोको ६ दिनमा ५०० भन्दा धेरै बुकिङ्ग भएको कम्पनिले जनाएको छ । साथै नाडा अटो शोमा नै लन्च गरिएको टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चको बुकिङ्ग पनि उल्लेखनीय रहेको कम्पनीले जनाएको छ । सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापति बताउँछन्, ‘नाडा अटो शोमा जुन प्रकारको उत्साह सर्वसाधारण अटो पारखीले टाटा मोटर्सका गाडीहरुमा देखाउनुभयो, त्यसले हामीमा थप उर्जा थपि दिनुभएको छ । साथै जुन हिसाबले टाटा मोटर्सका गाडीहरुप्रति चासो मात्र नभएर बुकिङ्ग पनि गरिदिनु भएको छ, त्यसले हामीले नेपाली जनताको चाहअनुसारको गाडीहरु ल्याउन सफल भएको महसुस गरेका छौ र भविष्यमा पनि बजारको माग अनुसारको गाडीहरु नेपालमा भित्रयाउने दृढ़ संकल्प लिएका छौ । नाडा अटो शो २०२३ मा टाटा मोटर्सको स्टलमा आएर हाम्रो आत्मविश्वास बढाई दिनु भएको सम्पूर्ण ग्राहकवर्ग, मिडियाकर्मी र आयोजक सबैजनालाई विशेष धन्यवाद दिन चाहँन्छौ । टाटाका गाडीहरु उत्कृष्ट बिशेषतायुक्त रहेका छन । अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँचवटा मुख्य बिशेषताहरु रहेका छन । जसमा कार्य कुशलता , प्रविधि, विश्वास , चार्जिङ्ग र आरामदायीता रहेका छन । क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत बिशेषताहरु रहेका छन् । यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ । टियागो इभी जस्त अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ । आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरु भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ । सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरु छन् । त्यसैगरी, टाटाको “न्यु फरेभ” रेञ्ज अन्तर्गतको टाटा पन्चको चार आधारस्तम्भहरु हुन् आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेका छन । नँया युग सुहाँउदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षाहरुको परिपूर्ति गर्दछ । टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित छ ।

आर्थिक वर्षको सुरुमै चीनसँगको व्यापार घट्यो, यी हुन् निर्यात हुने मुख्य १० वस्तु

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको चीनसँगकाे व्यापार घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनमा नेपालबाट निर्यात हुने मुख्य १० वटा वस्तुको निर्यात कम हुँदा व्यापार पनि घटेको हो । नेपालले चीनको तुलनामा भारतसँग बढी वस्तु व्यापार गर्ने भएपनि चीनमा पनि केही वस्तुहरु निर्यात गर्दै आएको छ । साउनको तथ्यांक अनुसार मुख्य १० वटा वस्तुहरुको निर्यातको अवस्था कहाली लाग्दो छ । नेपालमा अधिकांश वस्तुहरु चीनबाट आयात हुने भएपनि केही वस्तुहरु भने नेपालबाट पनि निर्यात हुन्छन् । तर, त्यो सीमा न्यून हुन्छ । चीनबाट हुने प्रत्येक सय रुपैयाँको आयातको तुलनामा नेपालले ३० पैसा बराबरको मात्र निर्यात गर्ने गरेको छ । साउन महिनाको आँकडा हेर्दा चीनबाट मुख्य ४६ वस्तुको २१ अर्ब ९४ करोड ९० लाख रुपैयाँको वस्तु आया हुँदा नेपालबाट निर्यात भएका १० वटा वस्तुबाट ३९ करोड २० लाख रुपैयाँको मात्रै निर्यात भएको छ । नेपालबाट अगरवत्ति, हस्तकलाका सामग्री, चाउचाउ, पस्मिना, तयारी पोशाक, छाला, रुद्राक्ष, चिया र कार्पेट गरेर मुख्य १० वटा वस्तु निर्यात भएको देखिन्छ । साउनमा नेपालबाट ६० लाखको अगरवत्ति, साढे ६करोडको हस्तकलाको सामग्री, २० लाखको पस्मिना, १ करोडको ७० लाख रुपैयाँको गार्मेन्ट, २० लाख रुपैयाँको रुद्राक्ष, २ करोड ८० लाखको कार्पेट गरी कुल ३९ करोड २० लाख रुपैयाँको मुख्य १० वस्तुहरु निर्यात भएका छन् ।