विकासन्युज

दसैँ नजिकिएसँगै हवाई यात्रुलाई टिकट पाउन समस्या

काठमाडौं । वडादसैँ नजिकिदै गर्दा सिमकोटबाट नेपालगञ्ज तथा सुर्खेत जाने यात्रुलाई हवाई टिकट पाउन समस्या भएको छ । नियमित रुपमा उडान नहुनु, टिकट महङ्गो हुनुलगायत कारणले यात्रुलाई टिकट पाउन समस्या भएको हो । सिमकोट बजारमा सिलाइकटाइको काम गर्दै आएकी पवित्रा परियारले नेपालगञ्ज जाने टिकट नपाएर यही बस्नु परेको बताइन् । उनले ११ दिनदेखि नेपालगञ्ज जाने टिकट पाउन नसकेको गुनासो गरिन् । दैनिक टिकटका लागि निजी एयरलाइन्सको काउन्टरमा धाउने गरे पनि टिकट सकिएको जवाफमात्र पाउने गरेको उनको भनाइ थियो । यहाँबाट नेपालगञ्जका लागि समिट, सीता, तारा र नेपाल एयरलाइन्सका जहाजले उडान भर्ने गरेकामा अहिले समिट एयरले दैनिक एक–दुई उडान भर्ने गरेकाले टिकटको समस्या भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ । सीता, तारा र नेपाल एयरलाइन्सले हप्तामा एकदेखि चार उडान मात्र भर्ने गरेका छन् ।

माछापुच्छ्रे बैंकका सबैभन्दा ठूला सेयरधनी सुरेन्द्र महतो बाहिरिँदै

काठमाडौं । माछापुच्छ्रे बैंकका सबैभन्दा ठूला सेयरधनी हुन्, सुरेन्द्र महतो । वार्षिक प्रतिवेदन अनुसार बैंकमा महतोको सेयर स्वामित्व १०.९५ प्रतिशत अर्थात् १ अर्ब १२ करोड ३२ लाख ४९ हजार रुपैयाँ रहेको छ । तर, महतोले आफ्नो स्वामित्वमा रहेको सम्पूर्ण सेयर बिक्री गरेर बैंकबाट बाहिरिने निर्णय गरे । बैंकको संस्थापक समेत रहेका महतोले आफ्नो स्वामित्वमा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेका हुन् । महतोको उक्त सेयर खरिद गर्न विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बोलपत्र पेश गर्नु पर्नेछ । यदि उक्त समयमा आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । इच्छुक सेयरधनीहरुले सेयर बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटलमा बोलपत्र पेश गर्नु पर्नेछ ।

पाँच तारा सहकारीले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यहरुलाई १५ प्रतिशत लाभाशं दिने घोषणा गरेको छ । सस्थाको १६ औं साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयर सदस्यहरुलाई नगद दिने घोषणा गरेको हो । संस्थाको गत आर्थिक वर्षको असार मसान्तसम्म ८ करोड ११ लाख रुपैयाँ शेयरपुँजी, ५ करोड ८६ लाख रुपैँया साधारण जगेडा कोष र ५२ करोड ५३ लाख ७९ हजार रुपैयाँ बचत संकलन गरी ६५ करोड ५६ लाख २३ हजार ऋण लगानी गरेको छ । संस्थाले गत आ.व.मा खुद नाफा १ करोड २२ लाख २५ हजार गरेको छ । सभाले शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोषबाट समेत गरी सदस्यलाई १५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । संस्थामा २११४ सदस्य आवद्ध रहेका छन् । संस्थामा आवद्ध कुल सदस्यमध्ये १५२० जनाले मासिक बचत गर्दै आएका छन् ।

जलवायु अनुकुलनमा बजेट वृद्धि गर्नुपर्नेमा विज्ञहरुको जोड

काठमाडौं । जलवायु अनुकुलनमा बजेट वृद्धि गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । विभिन्न अध्ययनहरुले पछिल्लो समय विपद्का घटनाहरु बढ्दै गएको र ती घटनामध्ये ७५ प्रतिशत घटना जलवायुजन्य रहेको देखाएका छन् । यीनै अध्ययन प्रतिवेदनका आधारमा विज्ञहरुले जलवायु परिवर्तनजन्य विपद्का घटनाको जोखिम न्युनिकरणका लागि अनुकुलनमा बजेट बढाउनुपर्ने सुझाव दिएका हुन् । विपद् जोखिम न्युनिकरण दिवसको सन्दर्भमा विकासन्युुजसँग कुरा गर्दै जलवायु तथा विपद् विज्ञ डाक्टर धर्मराज उप्रेतीले विश्वव्यापी रुपमा विपद् जोखिम न्युनिकरणमा ६३ र जलवायु अनुकुलनमा ३५ प्रतिशत बजेट खर्च हुने गरेको उल्लेख गर्दै अनुकुलनतर्फ बजेट वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए । जलवायु परिवर्तनलाई रोक्न नसकिने भएकाले अनुकुलनलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । सरकारले योजनाहरु जलवायुमैत्री हुन् भन्ने उद्देश्यका साथ सन् २०१२ मा जलवायु कोड ल्यायो । तर २०१२ देखि २०२३ सम्मको अवस्थामा लगभग पाँच प्रतिशत भन्दा बढी बजेट जलवायुमा विपद् जोखिम न्युनिकरणको लागि छुट्याएको पाइँदैन । साथै यस्ता बजेटहरु रुकमान्तर गरी अन्य शिर्षकमा राखेर खर्च गर्ने प्रवृत्ति सबै तहका सरकारमा देखिँदै आएको छ । हालै क्यानडामा भएको विश्व सम्मेलनमा पनि जलवायुजन्य विपद्का घटना बढ्दै गएको निष्कर्ष निकाल्दै अनुकुलनमा बजेट वृद्धि गर्नुपर्ने आवाज उठेको उल्लेख गर्दै जलवायु तथा विपद् विज्ञ उप्रेतीले न्युनिकरण र अनुकुलन दुवैमा काम नगर्ने हो भने विपद्जन्य जोखिमका घटनाले खतराको घण्टी बजाउने चेतावनी समेत दिए । आर्थिक वर्षको अन्त्यतिर रकमानान्तर गरेर रकमानन्तरको शिर्षकमा हालेर खर्च गर्ने प्रवृत्तिपनि देशभर देखिएको छ । अल्पविकसीत र विकासोन्मुख देशमा बढी जोखिम विपतका घटना पछिल्लो २० वर्षमा अध्ययन गर्ने हो भने विपद्जन्य घटनाहरु बढ्दै गएको र विपद्का कारणले गर्दा ठूलो धनजनको क्षती बढ्दै गइराखेको अवस्था देखिएको छ । उनले वशहुप्रकोपिय जोखिममा रहेको देश नेपालमा जलवायुजन्यसँगै भूकम्प, आगलागी लगायत अन्य प्राकृतिक जोखिमहरु पनि रहेको बताए । उनका अनुसार संसारभर नै जलवायुजन्य विपद्का घटनाहरु बढ्दै गएका छन् । विभिन्न क्षेत्रमा असमानताहरु बढेको र त्यसले विपद् जोखिम न्युनिकरणलाई प्रभाव पारिरहेको भन्दै उनले सबै किसिमका असमानता अन्त्यको लागि जलवायुजन्य बजेटमा वृद्धि गर्नुपर्नेमा जोड दिए । विकासका संरचनाहरु विपद्मैत्री हुनुपर्ने विकास भन्ने बित्तिकै वाटो बनाउने र ठूला ठूला भौतिक संरचनाको विकास भन्ने बुझाईमा परिवर्तन हुनुपर्ने देखिन्छ । साथै त्यस्ता मानवश्रृजित भौतिक संरचनाहरु निर्माण गर्दा विपद्को पूर्व आँकलन नगरेकाले तीनै संरचनाले विपद् निम्त्याउने गरेको उल्लेख गर्दै विज्ञहरुले विकासलाई विपद्मैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

विराटनगर । कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । शनिबार ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कार्कीलाई मुख्यमन्त्री पदमा नयुक्त गर्नुअघि नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको थियो । लगत्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो । मुख्यमन्त्री पदको शपथ भने आइतबार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । यसअघि नेकपा (एमाले) का ३९ तथा कांग्रेसका  आठ (मुख्यमन्त्रीमा नियुक्त कार्कीसहित इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बू) को प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरिएको थियो ।

तीन महिनामा मनाङ एयरका दुई ठूला दुर्घटना, क्यानले गर्यो एओसी निलम्बन

फाइल फोटो काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले मनाङ एयरलाई दिईएको एयर अपरेशन सर्टिफिकेट (एओसी) निलम्बन गरेको छ । शनिबार बिहान रुम्झाटारबाट लोबुुचे पिकका लागि उडान भरेको हेलिकप्टर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनासँगै प्राधिकरणले तत्काल मनाङ एयरलाइ दिएको एओसी निलम्बन गरेको हो । तीन महिनाको अबधिमा दुुई ठूला दुर्घटना भएको भन्दै प्राधिकरणले तत्काल एओसी निलम्बन गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ । गत असारमा समेत मनाङ एयरले जहाज दुर्घटनामा परेको थियो । छोटो समयमा एकै वायुुसेवा कम्पनीका २ ठूला दुुर्घटना घटेको भन्दै प्राधिकरणले एओसी नै निलम्बनको तयारी भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । गत असार २६ गते सोलुखुम्बुको लामजुरा पास नजिकै मनाङ एयरको हेलिकप्टर दुर्घटनाहुँदा पाइलटसहित ६ जनाको मृृत्यु भएको थियो । उक्त जहाजका क्यापटेन चेतबहादुर गुरुङ र ५ जना विदेशीसहित ६ जनाकै मृत्यु भएका थियो ।

एशिएन प्रोफेस्नल आउट स्ट्याङ्डिङ हस्पिटालिटी अवार्ड पर्यटन उद्यमी शाहलाई

काठमाडौं । पर्यटन उद्यमी अभिषेक विक्रम शाहलाई आउट स्ट्याङ्डिङ हस्पिटालिटी अवार्ड प्रदान गरिएको छ । व्यवसायी शाहलाई सो क्षेत्रमा अतुलनीय योगदान पुर्याएवापत एशियन प्रोफेस्नल एचिभमेन्ट अवार्ड अन्तर्गतको आउट स्ट्याङ्डिङ हस्पिटालिटी अवार्ड प्रदान गरिएको हो । वेष्ट रिेसोर्टका संचालक शाहलाई सिजन मिडियाको आयोजनामा गरिएको विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले उक्त अवार्ड प्रदान गरेका हुन् । नेपालको आतिथ्य उद्योगमा एक प्रतिष्ठित व्यक्तित्वको रूपमा परिचित शाहलाई सो क्षेत्रमा अतुलनीय योगदान पुर्याएवापत उक्त अवार्ड प्रलान गरिएको हो । आफ्नो प्रतिबद्धता र उदाहरणीय नेतृत्वको लागि परिचित शाहको पर्यटन उद्योगमा दुई दशकभन्दा बढीको अनुभव रहेको छ । शाहले होटल/मोटेल प्रशासन/व्यवस्थापनमा स्नातक हासिल गरेका छन् । सोल्टी होटलबाट आफ्नो व्यवसायीक यात्रा शुरु गरेका उनले हायात रेजेन्सी, समिट ग्रुस होटल एण्ड रिसोर्टमा काम गरिसकेका छन्् । दुई दशकभन्दा लामो समय पर्यटन उद्योगमा समय विताएका शाहले काठमाडौंको अग्रगामी पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्स लिमिटेडको महाप्रबन्धकको रूपमा सात वर्ष काम गरे जहाँ उनले आफ्नो सफल छाप छाडे । उनको दूरदर्शी नेतृत्वमा चन्द्रागिरि हिल्सले नेपालको पर्यटन परिदृश्यमा आफ्नो स्थान उचाल्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रतिष्ठित गन्तव्यमा परिणत भएको छ । पर्यटन उद्योगमा ठूलो योगदान पुर्याएका शाहले भारतको पर्यटन विकास निगमबाट सन् २०१९ मा प्रतिष्ठित ‘वर्षको सबैभन्दा युवा महाप्रबन्धक’ पुरस्कार प्राप्त गरेका छन् । यसबाहेक, पर्यटन र आतिथ्य उद्योगमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उनलाई सर्टिफिकेट वर्ल्ड बुक अफ रेकर्ड, लन्डनमार्फत अन्तर्राष्ट्रिय मान्यता प्रदान गरियो । यस्तै शाहलाई नेपाल सरकारले राष्ट्रको लागि उत्कृष्ट सेवाको कदर गर्दै प्रबल जनसेवा श्री पदकबाट सम्मानित गरेको थियो ।

चिकित्सक कुटपिट गर्ने दुईजना कारागार चलान, धरौटी बुुझाएर ७ जना रिहा

फाइल फोटो कास्की । तीन साताअघि पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने दुई जना कारागार चलान भएका छन् । उक्त घटनामा संलग्न सातजना जनही एक लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । प्रहरीले पक्राउ परेकालाई स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने कसुरमा अनुसन्धान प्रकृया अगाडि बढाएको थियो । प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमार्फत अदालत पेश हुँदा कास्की जिल्ला अदालतबाट उनीहरुलाई कारबाहीको फैसला गरिएको हो । कारागार चलान हुनेमा पोखरा महानगरपालिका–१७ हनुमान टोलका सुशील कार्की र पोखरा–५ का विनय गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यसैगरी घटनामा संलग्न पोखरा–४ का सुजित मुल्मी, पोखरा–५ का अभिनास गुरुङ, अरुण गुरुङ, पोखरा–९ का नितेश गुरुङ, विवेक गुरुङ र पोखरा–२० का मनिष थापा र पोखरा–११ प्रदीप गुरुङ जनही रु एक लाख धरौटी राखी तारेखमा छुटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार अझै पहिचान खुलेका १० जना र पहिचान नखुलेका अन्य व्यक्ति फरार रहेकाले खोजी भइरहेको छ । यही असोज ८ गते लमजुङ सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीया सुकमाया दुराको अस्पतालमा उपचारका क्रममा निधन भएपछि पोखरा महानगरपालिका–११ फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकलाई मृतकका आफन्तले कुटपिट गरेका थिए । बिरामीको मृत्युपछि उपचारमा डाक्टरको लापर्बाहीको कारण बिरामीको मृत्यु भएको र मृत्युको कारण खुलाउनुपर्ने माग राखी आन्दोलित भई उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेका थिए । अस्पताल तोडफोड गरेपछि कास्की प्रहरीले नौ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । पोखराको मणिपालका अस्पतालको घटनालाई लिएर कास्कीसहित देशभरका चिकित्सकले आकस्मिकबाहेकको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका थिए । सरकारले चिकित्सक कुटपिट गर्नेलाई पक्राउ गरी कानुनी कारबाहीको प्रतिबद्धता जनाएपछि चिकित्सक काममा फर्किएका थिए ।