विकासन्युज

कोशीमा हस्ताक्षर सनाखत कार्य सम्पन्न

कोशी । कोशी प्रदेशमा मुुख्यमन्त्री पद नियुक्तिका लागि पेश गरिएका हस्ताक्षर सनाखतको कार्य सम्पन्न भएको छ । प्रदेश प्रमुखको कार्यालय विराटनगरमा प्रदेश प्रमुख परशुराम खापुङको समुस्थितिमा सनाखत कार्य सम्पन्न भएको हो । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नेपाली कांग्रेसका कोशी प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्री पदका लागि ४७ प्रदेशसभा सदस्यसहितको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुुझाएका थिए । सोही हक दाबी गर्दै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि ४७ जनाकै हस्ताक्षरसहित माग दाबी गर्दा प्रमाणीकरणका लागि प्रदेश प्रमुख खापुङले स–शरीर प्रमाण खुल्ने प्रमाणपत्रसहित कार्यालयमा उपस्थित भई सनाखत गर्न गए राति सूचना जारी गरेका थिए । नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको हो । कांग्रेसका कार्कीसहित इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बूले प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरेका छन् ।

यात्रुवाहक सवारीमा रुट परमिट खुला, ठूला सवारी उपत्यका प्रवेशमा रोक

काठमाडौं । सरकारले नेपालीहरुको महान् पर्व बडा दसैँमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले शुक्रबारदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा गत असोज २३ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार शुक्रबारदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको हो । रुट परमिट खुला आगामी कात्तिक १० गतेसम्म जारी रहने बताइएको छ । रुट परमिट खुला गरेसँगै अब सार्वजनिक सवारी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाधरुपमा जान पाउने भएका छन् । सोही बैठकको निर्णयअनुसार शुुक्रबारदेखि खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरु ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारी काठमाडौँ उपत्यका प्रवेशमा रोक लगाइएको छ । दसैँका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सरकारले गत असोज २२ गतेदेखि नै अग्रीम टिकट बुकिङ खुला गरिसकेको छ । प्रत्येक वर्ष काठमाडौँबाट दसैँँ मनाउनका लागि २० लाखभन्दा बढी व्यक्ति आफ्नो जन्मस्थल जाने गरेका छन् ।

मनाङ एयरको हेलिकप्टर दुर्घटना, पाइलट सामान्य घाइते

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर शनिबार बिहान रुम्झाटारबाट लोबुचे उडानका क्रममा दुर्घटना परेको हो । लोबुचे पिकमा हाइ अल्टिच्युडमा रहेका यात्रु लिन शनिबार बिहान ७ः१३ मिनेटमा उडेको हेलिकप्टर दुर्घटनामा परेको कम्पनीका निर्देशक राजु न्यौपानेले जानकारी दिए । उनका अनुसार हेलि दुर्घटनामा परेपनि पाइलट भने सामान्य घाइते भएका छन् । दुर्घटनामा परेका पाइलट पिके सेढाइलाई लुक्ला लगिएको छ । नेपाल नागरिक उडड््यन प्राधिकरणले पाइटल सेढाइलाइ फिस्टेल एयरले उद्धार गरेर लुक्ला गरेको जनाएको छ । लुक्लामा सामान्य उपचार पछि उनलाई काठमाडौंको ह्याम्स अस्पतालमा ल्याउन लागिएको छ ।

विश्वभरका एजेन्डा लिएर अध्यक्षमा उम्मेदवारी दिएको आरके शर्माको घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार उम्मेदवार राजेन्द्रकुमार (आरके) शर्माले आफूसँग मध्यपूर्वसहित विश्वभरका एनआरएनएलाई एकताबद्ध बनाउने एजेन्डा रहेको बताएका छन् । कतिपयले क्षेत्रीय एजेन्डा बोकेर हिँडेको आरोप लगाएको प्रति संकेत गर्दै शर्माले आफूसँग विश्वभरकै एनआरएनएलाई एकताबद्ध बनाउने र संस्थालाई गति दिने एजेन्डा रहेको बताएका हुन् । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शर्माले आफ्नो बाचापत्रमा मध्यपूर्व, युरोप, अमेरिकालगायत संसारभर बस्ने एनआरएनएहरुलाई समेट्ने योजना समेटिएको बताए । उनले आफ्नो चुनावी बाचापत्रलाई निर्वाचित भएको खण्डमा इमानदार भएर पुरा गर्न लागिपर्ने पनि बताए । ‘मेरो बाचापत्र हेर्नुभयो भने संसारभरका नेपालीलाई समेटेर जाने योजना समेटिएको छ । मध्यपूर्वले एनआरएनएको २० वर्षे अभियानमा हालसम्म नेतृत्व नपाएकाले हामीलाई सबै अभियन्ताहरूले साथ दिनुपर्छ भन्नेमात्रै हो’, उनले भने, ‘सबै साथीहरु सकारात्मक पनि हुनुहुन्छ ।’ उनले आफूलाई अमेरिका, अस्ट्रेलिया, युरोपलगायतका देशबाट सकारात्मक प्रतिक्रियाहरु आइसकेको भन्दै पुरै टीमले नै चुनाव जित्ने विश्वास व्यक्त गरे । शर्माले एनआरएनएको पवित्र उद्देश्य पुरा गर्ने सवालमा आफूहरूलाई सबै राजनीतिक दलहरूको समर्थन प्राप्त भएको दाबी गर्दै एनआरएनएमा राजनीति हुन भने नहुनेप्रति सचेत रहेको बताए । राजनीतिक दलहरूसँग सहकार्य गरेर एनआरएनएले कार्य गर्दै आएको पनि सो क्रममा शर्माले बताए । २४ महिनामा २४ वटा काम गर्ने बाचासहित आफू चुनावी मैदानमा खडा भएको उल्लेख गर्दै शर्माले आफ्नो पहिलो प्राथमिकता एनआरएनएहरुबीचको एकता भएको पनि बताए । त्यसका लागि आफूले इमानदार पहल गरेर सबै अभियानबाट बाहिर रहेका एनआरएनएहरुलाई पनि एउटै मालामा उन्न पहल गर्ने उनको भनाइ थियो । ‘केही समययता, गैरआवासीय नेपाली महासंघमा एकता छैन । त्यसले हाम्रो लक्षित उद्देश्य हासिल गर्नमा बाधा पुर्‍याएको छ’, शर्माले भने, ‘यसलाई जसरी पनि एकजुट गराउनु पर्ने दायित्व हाम्रो काँधमा आएको छ । मैले निरन्तररुपमा प्रयास गरिरहेको छु। एकजुट गराएरै छाड्ने प्रण पनि गरेको छु।’ पत्रकार सम्मेलनमा शर्मालाई समर्थन गर्दै एनआरएनए निर्वाचनका पदाधिकारीहरुले आफ्नो धारणा सार्वजनिक गरेका थिए । कार्यसमितिका उपाध्यक्ष डिबी क्षेत्रीले सबैको अपनत्व गराउन श्रमिकको मुद्दालाई स्थापित गर्न र सबैको अपनत्वको बढाउन जरुरी रहेको बताए । शर्मालाई समर्थन गर्दै उपाध्यक्षका उम्मेदवार बनेका मलेसिया खगेन्द्र न्यौपानले शर्माले पेश गरेको २४ महिना २४ बाचा नै आफ्नो एजेण्डा रहेको र शर्मा सहित आफू उपाध्यक्षमा निर्वाचित भएमा त्यसलाई कार्यान्वयन गर्ने बताए । जापानका रोविन्द्र प्रसाद श्रेष्ठ (गोविन्द) काम गर्ने व्यक्ति र एजेण्डालाई स्थापित गराउनको लागि आरके शर्मालाई समर्थन गरेर उपाध्यक्षमा उम्मेदवारी दिएको बताए । नेदरल्याण्डका शशी पौडेलले एनआरएनए सबै बिचारको संगम भएको भन्दै आरके शर्मा अध्यक्षमा निर्वाचित भएका मात्र त्यो पूरा हुने हुँदा आफू उनलाई समर्थन गरेर उपाध्यक्षको उम्मेदवार भएको बताए । “राजनीति गर्ने संस्थाहरु अरु पनि धेरै छन्, म आफू बिचारले कांग्रेस निकट छु,”पौडेलले भने,“शर्माले सारेको एजेण्डाले सबै पक्षलाई बिचारलाई समेटेको छ।” अस्ट्रेलिया अभिमानसिंह बस्नेतले आफूले अस्ट्रेलियामा सामाजिक कामका योजना समुदायका काम गर्ने योजना अगाडि बढाएको त्यो एजेण्डा आरके शर्माले बोकेको हुँदा समर्थन गर्दै उपाध्यक्षको उम्मेदवार बनेको बताए । उनले १५ लाख डलरमा अस्ट्रेलियामा पशुपतिनाथ र बौद्धस्तुपा बनाउनको लागि अगाडि सारेको जानकारी दिए । उपाध्यक्षका अर्का उम्मेदवार राज रेग्मीले शर्माको उम्मेदवारीलाई समर्थन जनाएर शुभकामना दिएका थिए । कतारका अब्दुल बासिदले युवाको प्रतिनिधित्व बढाउने योजना आरके शर्माको रहेको हुँदा देशभित्र आफू शर्मालाई समर्थन गरेर युवा उपाध्यक्षको उम्मेदवार बनेको बताए । कतारका प्रविण गुरुङले एनआरएनएलाई समावेशी बनाउने सम्बृद्ध बनाउने एजेण्डा सहित आरके शर्मा आएको हुँदा उनलाई समर्थन गर्दै उपमहासचिवमा उम्मेदवारी दिन लागेको बताए । सचिवका उम्मेदवार बेल्जियमका लोक दाहालले एनआरएनए संस्थामा पारदर्शीता र दोस्रो पुस्तालाई अभियानमा अगाडि बढाउने योजना आरके शर्माले २४ महिना २४ बाचा सहित योजना अगाडि सारेको हुँदा आफूले शर्मालाई समर्थन गरेर उपाध्यक्षमा उम्मेदवारी दिएको बताए । सचिवका उम्मेदवार जापानका टंक गैरेले सानो लगानीमा नेपालमा सानो लगानीमा धेरै योजना बढाउने योजना आरके शर्माले ल्याएको हुँदा आफूले उनलाई समर्थन गरेर सचिवमा उम्मेदवारी दिएको बताए । सचिवका उम्मेदवार युएईका मनोजकुमार श्रेष्ठ(गोर्खालीले)ले सहमति गैरआवासीय अभियानमा एकताको एजेण्डा आरके शर्माले सारेको हुँदा उनलाई समर्थन गरेर सचिवको उम्मेदवार बनेको बताए । सचिवका उम्मेदवार अमेरिकाका आरसी पोखरेलले एनआरएनए सचिवालयको पुनरसंरचनालाई परिवर्तन गर्ने एजेण्डा आरके शर्माले ल्याएको हुँदा शर्मालाई समर्थन गरेर सचिवमा उम्मेदवार बनेको बताए । कोषाध्यक्षका उम्मेदवार ठाकुर ढुंगानाले एनआरएनएलाई पारदर्शीता र कोषको आकार बढाउने योजना अन्तगर्त आरके शर्मालाई समर्थन गरेर उम्मेदवारी दिन लागेको बताए । महिला संयोजकका उम्मेदवार क्यानडाकी देविका केसीले लोकसंस्कृति अगाडि बढाउन आरके शर्मालाई समर्थन गरेर उम्मेदवारी बनेको बताइन् । शर्माले पत्रकार सम्मेलनपछि शुक्रबार नै अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्षमा शर्माको पहिलो उम्मेदवारी परेको हो ।

गैरव्यावसायिक क्रियाकलापमा संलग्न १७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल

काठमाडौं । उपभोक्ता हित संरक्षण तथा स्वच्छ बजार कायम गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगनमलाई तीव्र बनाएको छ । विभागले चाडपर्व लक्षित बजार अनुगमन कार्यायोजनाअनुसार सरोकार भएका निकायको समन्वयमा १० वटा विषयगत र दुई वटा विशेष निगरानी टोली खटाएर बजार अनुगमन गरिरहेको छ । यही असोज १ देखि २५ गतेसम्म विभागले काठमाडौं उपत्यकाभित्रका दैनिक उपभोग्य खाद्यान्न, माछामासु, औषधि तथा तरकारीजन्य छ सय ७९ व्यावसायिक फर्मको अनुगमन गरी एक सय ७७ फर्मलाई विभिन्न कसुरमा कारबाही गरेको छ । विभागले गैरव्यावसायिक क्रियाकलाप गर्ने ती फर्ममाथि कारबाही गरी रु ५४ लाख ६७ हजार जरिवाना तिराएको छ । यस्तै एक सय ८५ फर्मसँग थप कागजात माग तथा दुई सय ९३ फर्मलाई व्यावसायिक सुधारका लागि निर्देशन दिएको विभागका महानिर्देशक तीर्थराज चिलुवालले जानकारी दिए । विभागले अनुगमनका क्रममा कुलेश्वरबाट जफत गरेको ७० हजार मेट्रिकन चिनी साल्ट ट्रेडिङ कर्पोरेशनले सहुलियत दरमा बिक्री गरिरहेको छ । उक्त चिनी साल्ट ट्रेडिङले प्रतिकिलो एक सय एक रुपैयाँ ५० पैसामा खरिद गरी सुपथ मूल्य पसलमार्फत प्रतिकिलो रु ९७ मा बिक्री गरेको हो । बजारमा देखिएको चिनीको अभावलाई न्यूनीकरण गरी आपूर्ति प्रणाली सहज गर्न स्वदेशी उद्योगले अन्य औद्योगिक प्रयोजनका लागि अग्रीम बिक्री सम्झौता गरिसकेको एक हजार मेट्रिक टन चिनी उपभोक्ताको सहज पहुँच पुग्ने गरी बजारमा पठाउने तयारी गरिएको विभागका महानिर्देशक चिलुवालले जानकारी दिए । चिनी सञ्चय गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने व्यवसायीको गोदामस्थल पहिचान गरी कारबाही गर्ने तथा सञ्चय गरेको चिनीलाई सहज र वास्तविक मूल्यमा बजारमा आपूर्ति गराउन निरन्तर लागि परेको विभागले जनाएको छ । जीराको अस्वाभाविक मूल्यवृद्धि भइरहेका सन्दर्भमा विभागले सूक्ष्म अनुगमन गरिरहेको महानिर्देशक चिलुवालको भनाइ छ । ‘बजारमा सहज आपूर्ति र अस्वाभाविक नाफाखोरी गर्ने प्रवृति नियन्त्रणका लागि विशेष निगरानी, सूक्ष्म सूचना विश्लेषण र सरोकार भएका अन्य निकायबाट समेत आयात, सञ्चय तथा बिक्री वितरणसम्बन्धी विवरण विभागको निगरानी टोलीबाट अध्ययन भइरहेको छ’, उनले भने । चोभारस्थित एक गोदामस्थलबाट २५ हजार किलो जीरा सञ्चय भएको पाइएको र उक्त जीरा तुरुन्त बजारमा प्रवाह गर्नेगरी काम अगाडि बढाइएको विभागले जनाएको छ । विभागबाट खटिएको अनुगमन टोलीले जीरा, चिनी, पिउने पानीलगायत काठमाडौं उपत्यकाका नौ वटा खाद्यजन्य वस्तु सञ्चय गर्ने व्यवसायीको गोदाम र व्यापारिकस्थल सिलबन्दी गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । नियमित रुपमा बजार अनुगमन मार्फत स्वच्छ र प्रतिस्पर्धी बजार कायम गरी उपभोक्ताको हित संरक्षण कार्यमा विभाग क्रियाशील रहेको महानिर्देशक चिलुवालको भनाइ छ । बजारमा देखिने गैरव्यावसायिक क्रियाकलाप, उपभोक्ता ठगी, अनुचित व्यापारिक क्रियाकलाप, बिलबिजक जारी नगर्ने, न्यून गुणस्तरीय वस्तुको बिक्री वितरणलगायतक्रियाकलापलाई न्यूनीकरण गर्न तथा स्वच्छ बजार कायम गरी उपभोक्ताको अधिकार संरक्षण गर्न विभाग निरन्तर रुपमा क्रियाशील रहेको छ । विभागको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण, औषधि व्यवस्था, आन्तरिक राजस्व, नेपाल गुणस्तर तथा नापतौल, पशुसेवा र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सहभागितामा संयुक्त बजार अनुगमन भइरहेको छ । रासस

राहुल महरालाई थुनामा पठाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महाराका छोरा राहुल महरालाई थुनामा पठाउन आदेश दिएको छ । इलेक्ट्रिक चुरोट (भेप) मा सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन अदालतले शुक्रबार आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दण्डपाणी शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा राख्न आदेश दिएको हो । महरा भेपमा नौ किलो सुन लुकाएर ल्याएको प्रकरणमा मुछिएका थिए ।

गाजा सहर खाली गर्न सर्वसाधारणलाई इजराइली सेनाको आदेश

जेरुसेलम । इजराइली सेनाले शुक्रबार गाजाका २३ लाख जनतामध्ये करिब आधालाई उक्त सहर खाली गर्न आदेश दिएको संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले बताएका छन् । इजराइलमाथि हमासको भयानक आक्रमणपछि हमास लडाकु समूहलाई निमिट्यान्न पार्ने लक्ष्यका साथ जमिन आक्रमण गर्नुअघि सेनाले उक्त आदेश दिएको हो । उक्त आदेशले यस अघिदेखि नै इजराइली हवाई हमला र नाकाबन्दीको सामना गरिरहेका सर्वसाधारण र सहायताकर्मीहरू आतङ्कित भएका छन् । इजराइली सेनाले गाजा सिटीका लाखौँ नागरिकलाई गहिरो दक्षिणी गाजापट्टी (साँघुरो तटीय क्षेत्र) तर्फ भाग्न चेतावनी दिँदै बिहान गाजा सिटी खाली गर्ने आदेश दिएको थियो । गाजा सिटीका सुरुङमुनि हमास लडाकुहरू लुकेर बसेको इजराइलको आदेशमा आरोप लगाइएको थियो । ‘यो निष्काशन तपाईं आफ्नै सुरक्षाका लागि हो’, गाजा सिटीका नागरिकहरूलाई पठाइएको चेतावनीमा इजराइली सेनाले भनेको छ । बिहीबार संयुक्त राष्ट्रसङ्घले इजराइली सेनाबाट न्युयोर्कमा उत्तरी गाजाका सबै ११ लाख सर्वसाधारणलाई दक्षिणतिर भाग्न २४ घन्टाको समय दिएको एउटा छुट्टै निर्देशन प्राप्त गरेको बताएको छ । सन् २००७ देखि गाजामा शासन गरेको हमासले उक्त आदेशलाई खारेज गरेको छ । उसले प्यालेस्टिनीहरूलाई आफ्नो घरमै रहन र कब्जा गरेर छेडिएको मनोवैज्ञानिक युद्धको सामना गर्न दृढ रहन आह्वान गरेको छ । “यो अराजकता हो, के गर्नुपर्ने कसैले बुझेको छैन”, गाजा सिटीमा संयुक्त राष्ट्रसङ्घ प्यालेस्टिनी शराणार्थी एजेन्सीकी अधिकारी इनास हमदानले भने । उनले गाजा सिटी र उत्तरी गाजामा रहेका राष्ट्रसङ्घका सबै कर्मचारीहरूलाई दक्षिणी रफाहमा जान भनिएको बताए । रासस/एपी

सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको डिपीआर ३० महिनाभित्र तयार हुने

काठमाडौं । नेपाल र भारतबीच आगामी ३० महिनाभित्र सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने सहमति भएको छ । सो आयोजनाको भौगर्भिक अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन र पुनर्वास तथा पुनःस्थापन अध्ययन, बाढी नियन्त्रणबाट हुने लाभजस्ता विषयको महत्वपूर्ण बाँकी अध्ययनलाई प्राथमिकीरण गरी ३० महिनामा विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने सहमति भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता नवीनराज सिंहका अनुसार सप्तकोशी उच्च बाँध बहुउद्देशीय आयोजना तथा सुनकोशी स्टोरेज डाईभर्सन आयोजनाको अध्ययन सम्बन्धमा गठित नेपाल भारत संयुक्त विज्ञ टोलीको बैठक यही असोज २२ देखि २४ गतेसम्म विराटनगरमा सम्पन्न भएको हो । बैठकमा नेपाल सरकारकोतर्फबाट विद्युत् विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौत र भारत सरकारकोतर्फबाट केन्द्रीय जल आयोगका नदी प्रबन्धक सदस्य तथा अतिरिक्त सचिव पीएम स्कटले संयुक्तरुपमा बैठकको अध्यक्षता गरेका थिए । सो बैठकमा संयुक्त जलस्रोत समिति (जेसिडब्ल्यु)को नवौँ बैठकको निर्देशनबमोजिम आयोजनाबाट तयार गरिएको परिमार्जित आकार प्रकारसम्बन्धी अध्ययनको प्रतिवेदन प्रस्तुत भएको थियो । प्रतिवेदनमा विस्तृतरुपमा छलफल हुँदा सप्तकोशी आयोजनाको डुबान क्षेत्र, माथिल्लो तटीय क्षेत्रमा प्रस्तावित सञ्चालित गरिएका आयोजना, सामाजिक तथा वातावरणीय र प्राविधिक पक्षहरुलाई समेत मध्यनजर गरी बाँधको उचाइलाई घटाउने सहमति भएको प्रवक्ता सिंहले जानकारी दिए । यस्तै, प्रस्तावित रिनेगुलेटिङ ब्यारेजको विकल्पमा उपयुक्त नयाँ स्थानमा रिजेगुलेटिङ ब्यारेजका साथै नेपाली भू-भागमा सिँचाइसम्बन्धी अध्ययन कार्य जलस्रोत तथा सिँचाइ विभागको सहकार्यमा अगाडि बढाउने सहमति भएको छ । रासस