आजदेखि बडादसैँ सुरु, बिहान ११:२९ मा घटस्थापनाको उत्तम साइत
काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ । ९ दिन नौ दुर्गाको पूजा नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रीको भनाइ छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । वडादसैँको सातौँ दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ । आगामी कात्तिक ४ गते बिहान ९ बजेर ३५ मिनेटमा फुलपातीको साइत रहेको समितिले जनाएको छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । विजयादशमीको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा नवरात्र भनेर समेत चिनिने दसैँ नौ रात र दश दिनको हुन्छ । आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक ७ गते गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गर्ने गरिन्छ । कात्तिक ७ गते देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ बजेर २ मिनेटको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद लगाउने चलन छ । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा विसर्जन गरिन्छ ।
गरिमा विकास बैंकको कार्ड प्रयोग गर्दा २० प्रतिशत छुट पाइने
काठमाडौं । दशैंका गरिमा विकास बैंकको कार्ड प्रयोग गर्ने प्रयोगकर्ताले २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले दशैंलाई लक्षित गरि बैंकको कार्ड प्रयोग गर्दा २० प्रतिशत वा २ सय रुपैयाँ नगद फिर्ताको योजना सार्वजनिक गरेको हो । बैंकले आइतबारदेखि टिकाको दिनसम्मका लागि उक्त योजना सार्वजनिक गरिएको जनाएको छ । हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।
ग्लोबल आइएमई बैंकले डिजिटल कारोबारमा ५ सयसम्म छुट दिने
काठमाडौं । ग्लोबल आइएमई बैंकले वडा दशैंको अवसरमा “ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाईलो” भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले आफुलाई आवश्यक सरसामानहरु खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पोओएस मेसिनबाट भुक्तानी गर्दा ३ सयदेखी ५ सय रुपैयाँसम्मको नगद फिर्ता हुनेछ । नगद फिर्ता योजना मार्फत बैंकको डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकले उक्त योजना अवधिभर कम्तीमा १००० को ३ वटा कारोबार गरेमा ३ सय तथा ५ वा सोभन्दा बढी कारोबार गरेरमा ५ सय नगद फिर्ता हुुने बैंकले जनाएको छ । असोज २८ गते अर्थात घटस्थापनाको दिनदेखि कात्र्तिक ७ गते अर्थात वडा दशैं (दशमी) को दिन सम्म लागू हुनेछ । साथै, बैंकले आफ्नो मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले आफुलाई आवश्यक सरसमानहरु खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत भुक्तानी गर्दा दशैं प्रोमो कोड प्रयोग गरी खरिद मूल्यमा १० प्रतिशत वा अधिकतम ३ सय रुपैयाँसम्म नगद छुुट पाउनेछन्् । उक्त योजना आइतबारदेखि टिकाको दिनसम्म लागूहुनेछ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।
टेलिकमको रिचार्ज अन बोनस योजना सार्वजनिक, ४९ रुपैयाँमा सय मिनेट कल र १ एमबीपीएस डेटा
काठमाडौं । नेपाल टेलिकमले चाडपर्वलाई लक्षित गर्दै रिचार्ज अन बोनस योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गर्दै घोषणा गरेको उक्त अफर आइतबारदेखि कात्तिक १० गतेसम्म रहनेछ । उक्त योजना अनुसार अब ४९ रुपैयाँ रिचार्जमा १ एमबीपीएस डेटा तथा १ सय मिनेट भ्वाइस कल प्राप्त गर्न सकिनेछ । यस्तैगरी, ९८ रुपैयाँमा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डाटा प्याक, २९४ रुपैयाँमामा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक र ३९९ रुपैयाँमा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याक उपलब्ध हुनेछ । सोही अफर अन्तर्गत ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुने जनाईएको छ । कम्पनीका अनुुसार पोस्टपेड मोबाइल प्रयोगकर्ताले सो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै शुल्क काटिने सुविधा उपलब्ध छ । त्यसैगरी एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध हुनेछ । जस अनुसार २०० सयदेखि ४९९ रुपैयाँसम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी ५०० रुपैयाँ र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुनेछ ।
माथिल्लो अरुणका लागि एक खर्ब तीस अर्ब सहुलियत ऋण दिन विश्व बैङ्क सकारात्मक
काठमाडौं । माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि एक खर्ब ३० अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंकले सकारात्मक जवाफ दिएको छ । विश्व बैङ्कको वार्षिक बैठकमा भाग लिने सिलसिलामा मोरक्कोका मराकेसमा रहेका अर्थमन्त्रीसँग आज बैङ्कका पदाधिकारीहरुसँग भएको भेटमा बैङ्कले रणनीतिक महत्वको सो आयोजनाका निम्ति सहुलियतपूर्ण कर्जा दिने सङ्केत गरेको अर्थ मन्त्रालयले जनाएको छ । उक्त बैङ्कबाट सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा आगामी साता उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलले वासिङटनमा प्राविधिक एवं वित्तीय विषयमा केन्द्रित रहेर छलफल गर्ने तयारी गरेको मन्त्रालयले बताएको छ । त्यसैगरी, सहुलियतपूर्ण ऋण उपलब्ध गराउने संरचना अन्तर्राष्ट्रिय विकास सहायता (आइडिए)को २१औँ बैठक नेपालमा आयोजना गर्न अर्थमन्त्रीले गरेको प्रस्तावप्रति विश्व बैङ्कले सकारात्मक जवाफ दिएको छ । विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र विकास वित्ततर्फका उपाध्यक्ष आकिहिको निसिओसँगको समीक्षा बैठकमा उनीहरुले नेपालको प्रस्तावप्रति सकारात्मक जवाफ दिएका थिए । गत वर्ष नौ दशमलव दुई प्रतिशतमात्र प्रवाह भएको कर्जाको परिमाण बढाउन मन्त्री महतले जोड दिएका थिए । बैठकमा नयाँ आयोजना निर्माण तथा ठेक्का प्रक्रिया र धेरै क्षेत्रमा छरिएका आयोजनाको एकीकरणबारे पनि उहाँहरुबीच छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । यसैगरी, तीन सय मिलियन अमेरिकी डलर अर्थात् ३९ अर्ब रुपैयाँ बराबरको बजेटरी सहायता चालु आर्थिक वर्षभित्र परिचालन गर्ने गरी तयारी गर्न दुवै पक्षबीच सहमति भएको छ । सहमतिअनुसार सार्वजनिक वित्त, वित्तीय क्षेत्र समावेशी विकासका साथै नीतिगत सुधारका काम कार्यान्वयन गरिनेछ । यसैगरी, भौतिक पूर्वाधारका क्षेत्रमा अर्थमन्त्रीले कार्यक्रमगत सहायताको नयाँ ढाँचामा सहायता परिचालन गर्न अनुरोध गरेका छन् । उक्त ढाँचाअन्तर्गत स–साना आयोजना कार्यान्वयनका लागि नेपालको आफ्नै सामाजिक तथा वातावरणीय जोखिम न्यूनीकरणका मापदण्डलाई आधार मानेर लगानी सुनिश्चित गरिनेछ । बैठकमा अर्थसचिव कृष्णहरि पुष्कर र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाललगायत उपस्थित रहेको छ ।
व्यवसायीहरुले भने – बैंकको साँवा र ब्याज तिर्न सक्दैनौं, २०८१ असारसम्म पेनाल्टी नलगाउनु
काठमाडौं । होटल सङ्घ पोखराले कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई टिकाउन सहजीकरणको माग गर्दै नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । सङ्घले शुक्रबार राष्ट्र बैंकको निर्देशिकामा व्यवस्था भएअनुसार पर्यटन क्षेत्रमा लगानी गरिएको कर्जाको पुनःतालिकीकरण, पुनःसंरचना र पुनःलगानीको व्यवस्था प्राथमिकताका साथ हुनुपर्ने भन्दै गर्भनर महाप्रसाद अधिकारीको ध्यानाकर्षण गराएको हो । सङ्घको एक टोली राष्ट्र बैंकको पोखरा कार्यालय पुगेर कार्यालयका निर्देशक आर्या जोशीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड १९, रुस–युक्रेन युद्ध, पोखरा आउने अस्तव्यस्त राजमार्ग र यति एयरको जहाज दुर्घटनाको असरले पोखराको पर्यटन थला परेको बताए । विभिन्न कारणले पोखरामा पर्यटक आगमन घटेको भन्दै अध्यक्ष सुवेदीले बैंक तथा वित्तीय संस्थालाई बुझाउनुपर्ने कर्जाको साँवा तथा ब्याज तत्कालका लागि बुझाउन असमर्थ रहेको अवगत गराएका छन् । लामो अवधिको लागि किस्ताबन्दीमा तिर्ने वा बुझाउने व्यवस्था हुनुपर्ने माग राख्दै सङ्घ बैंैंक तथा वित्तीय संस्थाले कुनै प्रकारको जरिवाना शुल्क लिन नपाउने तथा व्यवसायीलाई कर्जा भुक्तानी गर्न बाध्यकारी बनाउन नपाउने तथा व्यवसायीको धितो लिलामी गर्ने जस्ता कार्य हाललाई बाध्यकारी नगर्न सङ्घले ध्यानाकर्षण गराएको छ । “पर्यटन व्यवसायमा वाणिज्य बैंकहरुले गर्ने लगानी अनिवार्य ढङ्गले टोकनका रुपमा गर्ने व्यवस्था गर्दै आर्थिक सङ्कटको समयमा गरिएको लगानीको जोखिमलाई कम गर्न उच्च ब्याजदरमा रहेको ऋणलाई न्यूनतम ब्याजदर कायम गर्न बैंकहरुलाई परिपत्र गरियोस्”, ध्यानाकर्षण पत्रमा उल्लेख छ । पर्यटन क्षेत्रमा भएको लगानीको ब्याजदर एकल अङ्कमा हुने व्यवस्था गरिनुपर्ने, ब्याजमा आधार दर मात्र कायम गरिनुपर्ने, कोभिड र त्यसपछिको बिग्रदो आर्थिक अवस्थालाई मध्यनजर गरी पर्यटन क्षेत्रको अडिट प्रतिवेदनमा वासलातमा कूल सञ्चालन मुनाफा लगातार ऋणात्मक भई बैंकले ऋण प्रवाहमा अवरोध गर्ने गरेको व्यवस्थालाई हटाइनुपर्ने र विद्युत् उत्पादनको लगानीमा रहेको व्यवस्था पर्यटन क्षेत्रमा लागू गरिनुपर्ने सङ्घको माग छ । हाल आय–आम्दानी नभएको कारणले नगद प्रवाहमा देखिएको समस्यालाई सम्बोधन गर्न बैंकहरुले सम्पत्तिको वास्तविक मूल्याङ्कन गरी ८० प्रतिशत ऋण प्रवाह गरिनुपर्ने, हाल आर्थिक सङ्कटबाट सबैभन्दा धेरै पर्यटन व्यवसाय आक्रान्त भएको हुँदा विशेष व्यवस्था गरी थप सहुलियत ऋण प्रदान गरिनु पर्ने माग पनि सङ्घको रहेको छ । वातावरणीय अध्ययनको ढिलाइका कारणले नवीकरण हुन नसकेका होटल उद्योगलाई सहज रुपमा नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबार अनुमतिपत्र नवीकरण गरिनुपर्ने माग पनि सङ्घको छ । होटल तथा पर्यटन क्षेत्रलाई पनि कृषि क्षेत्र सरह सहुलियत कर्जा उपलब्ध गराइ होटल क्षेत्रको मु।अ।कर कम गरिनुपर्ने, होटल तथा पर्यटन उद्योगको वित्तीय अवस्था हालसम्म सहज भइनसकेको हुनाले विसं २०८१ असार मसान्तसम्मको पाक्ने ब्याज छुट्टै हिसाब राखी हर्जना र पेनाल्टी ब्याज नलाग्ने व्यवस्था गरिनुपर्ने र होटलको लागि आवश्यक थप कर्जा न्यून ब्याजदरमा प्रवाह गरिनुपर्ने तथा कर्जा प्रक्रिया शुल्क सहुलियतपूर्ण गरिनुपर्ने विषय पनि राखिएका छन् । होटल उद्योगलाई पनि निर्यात व्यवसायीले पाएको क्यास ब्याक इन्सेन्टिभको व्यवस्था गरिदिनुपर्ने बुँदा पनि उल्लेख गरिएको छ । सहुलियत कर्जाको सीमा वृद्धि गरिनुपर्ने तथा यसरी प्राप्त गरिनुपर्ने सेवा सुविधा कतिपय होटलले प्राप्त गर्न नसकेको र कार्यान्वयन हुन नसकेको हुँदा सहजीकरण गर्दै कार्यान्वयन भए नभएको अनुगमन कार्यका लागि निजी क्षेत्र सम्मिलित अनुगमन समिति गठन गरिनुपर्ने माग सङ्घको छ । होटलमार्फत विदेशी एजेन्टलाई डलरमा कमिशन भुक्तानी गर्दा भुक्तानीको सीमा बढाइनुपर्ने साथै प्रक्रिया झन्झटिलो रहेको हुँदा होटलले तोकेको व्यक्तिको नाममा डलरको प्रिपेड कार्ड उपलब्ध गराई सहजीकरण गर्न पनि सङ्घले आग्रह गरेको छ । अन्तर्राष्ट्रिय पर्यटकद्वारा अधिकांश भुक्तानी एवं कारोबार क्रेडिट कार्डमार्फत हुने भएकाले क्रेडिट कार्डको प्रयोगमा बैंकले लिँदै आएको ३ प्रतिशत सेवा शुल्क धेरै महँगो भएकाले यसलाई घटाइ बढीमा १ प्रतिशत कायम गरिनुपर्ने सुझाव पनि सङ्घले दिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै पोखरा कार्यालयकी निर्देशक जोशीले व्यवसायीका मागहरुप्रति आफू सकारात्मक रहेको भन्दै ती मागलाई यथाशीघ्र केन्द्रीय कार्यालयलाई उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
अर्थमन्त्रीको प्रतिबद्धतापछि इसिएफको तेस्रो किस्ता दिन आइएमएफ तयार
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले वित्तीय सुशासन, पारदर्शितामा नेपाली माटो सुहाउँदो सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)का एशिया प्रशान्त हेर्ने उपप्रबन्ध निर्देशक बो लीसँगको भेटवार्तामा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । विस्तारित कर्जा सुविधा (इसिएफ)लिँदा नेपालले राष्ट्र बैंक ऐन संशोधन, वित्तीय क्षेत्रमा सुधार, मौद्रिक नीतिमा सुधारलगायतका विषयमा छलफल भएको थियो । अर्थमन्त्री महतले वित्तीय सुशासन, पारदर्शितालगायतका कुरा नेपालको माटो सुहाउँदो किसिमले सुधार गर्न प्रतिबद्ध रहेको तर वातावरण सुहाउँदो हुनुपर्ने र नेपालको केही आवश्यकता बुझिदिन पनि आग्रह गरेका थिए । “वित्तीय सुशासन, पारदर्शिताप्रति प्रतिबद्ध छौँ तर सबै कुरा भनेजस्तो हुँदैन, हाम्रो आफ्नै संरचना पनि छन्”, छलफलमा अर्थमन्त्री डा महतले भने, “बुझाइमा समस्या छ, के काम गर्ने भन्ने कुरामा स्पष्ट छौँ ।” जवाफमा उपनिर्देशक बो लीले भने, “सुधारको कुरा गर्नुहुन्छ भने हामी सकारात्मक छौँ, हामीले सुधार गर भन्ने नै हो ।” छलफलपछि इसिएफको तेस्रो किस्ताका लागि कर्मचारी तहमा भएको सम्झौता (एसएलए) आइएमएफ बोर्डबाट पारित गर्ने सहमति बनेको छ । आइएमएफ निर्देशक र अर्थमन्त्री डा महतबीचको छलफल सकारात्मक भएको मन्त्री महतको सचिवालयले जनाएको छ । थप सहयोग कहाँ के गर्न सकिन्छ भन्ने कुरा छलफल चलाउने र उपयुक्त निष्कर्ष निकाल्नेबारेमा पनि छलफल भएको थियो । छलफलमा अर्थसचिव कृष्णहरि पुष्कर, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायतको उपस्थिति थियो ।
कोशीका मुख्यमन्त्रीलाई गठबन्धनले विश्वासको मत दिन्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले विश्वासको मत दिने वताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कोशीका मुख्यमन्त्री गठबन्धनका पनि मुख्यमन्त्री भएको बताए । “कोशीको समस्या समाधान गरिएको छ । अन्ततः यसले गठबन्धनलाई बलियो बनाउनेछ,” आज बिहान नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, सोही पार्टीका अर्का नेता डा शेखर कोइराला र आफूबीच सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भने, “हामी गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनाँै । अब कार्कीजी मुख्यमन्त्री हुनुभएको छ । उहाँ हामी सबैको साझा मुख्यमन्त्री हो ।” हाम्रो गठबन्धन कायम रहने भन्दै उनले गठबन्धनकै उम्मेदवारका रुपमा नेता कार्कीलाई लिइएको दोहोर्याए । प्रधानमन्त्रीले कोशी प्रदेशमा सर्वपक्षीय सरकार बन्ने सम्भावना तत्काल नरहेको बताए । उनले भने, “सम्भावना हुन सक्छ । तर अहिले नै हुन्छ भन्न सकिँदैन । गठबन्धनकै सरकारले त्यहाँ निरन्तरता पाउनेछ ।” अर्थतन्त्रमा समस्या परेको स्वीकार गर्दै प्रधानमन्त्रीले यसलाई समाधान गर्न सरकार लागिपरेको बताए । उनले भने, “अहिले अर्थतन्त्रमा धेरै दबाब परेको छ । यसका धेरै कारण छन् । विगतदेखिका समस्या छन् ।” प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा सरकार गठन भएसँगै अर्थतन्त्रलाई बिग्रन नदिन हरसम्भव प्रयास गरिरहेको बताए । उनले भने, “यी प्रयास पर्याप्त छैनन् । देशको अर्थतन्त्रलाई उकास्न विशेष प्रयास जरुरी छ ।” प्रधानमन्त्रीले निर्माण व्यवसायीले सम्पन्न गरेका परियोजनाको भुक्तानी दिने निर्णय सरकारले गरिसकेको बताए । निर्माण व्यवसायीलाई गरिएको भुक्तानीले मात्र समस्याको समाधान नहुने भन्दै उनले समग्रमा ‘मेजर अप्रेसन’ गर्न छुट्टै संरचना खडा गर्नुपर्ने विचार व्यक्त गरे । उनले भने, “बजेट वक्तव्य र नीति तथा कार्यक्रममा छलफल भइरहँदा देशको आर्थिक विकासको प्रारुपलाई नै नयाँ ढङ्गले विकास गर्न जरुरी छ । यो वर्ष हामीले भ्याएनौँ । अर्को वर्ष बजेट बनाउने क्रममा नयाँ शिराबाट जान्छौँ ।”