सिडिएसमा लगानी गर्ने अर्थमन्त्रालय, नाफा खानी नेप्से
काठमाडौं । आर्थिक वर्ष २०७७/८८ मा नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से)ले १६७ प्रतिशत लाभांश वितरण गर्यो । उक्त वर्ष १०० प्रतिशत नगद लाभांश र ६६.६७ प्रतिशत बोनस सेयर वितरण गर्यो । त्यस्तै, आर्थिक वर्ष २०७८/८९ मा पनि १०० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ लाभांश वितरण गर्यो । जति धेरै नाफा त्यति धेरै खुशी पूँजी बजारको चरित्र नै हो । तर, नेप्सेको उच्च दरको नाफामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । नेप्सेको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका लागि विदेशबाट प्राप्त अनुदान पनि पूँजीमा जोडेर नेप्सेले गलत तरिकाबाट उच्च आम्दानी गरेको महालेखाले जनाएको छ । ‘कम्पनीले भारत सरकारबाट नेपालले अनुदानमा पाएको १४ करोड ७२ लाख रुपैयाँको सफ्टवेयर सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई हस्तान्तरण गरेको छ । सो अनुदानको रकम कम्पनीले पुँजीगत जगेडा कोषमा जम्मा गरेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको १४ लाख ७२ हजार कित्ता सेयर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्दछ,’ महालेखापरीक्षकको ६०औं प्रतिवेदनमा उल्लेख छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको छ । उक्त पूँजी रकममा सरकारले पाएको अनुदान रकम १४ करोड ७२ लाख रुपैयाँ समेत जोडिएको छ । बाँकी १५ करोड २८ लाख रुपैयाँ मात्र नेप्सेको लगानी रहेको सिडिएस एण्ड क्लियरिङ्गको भनाई छ । ‘भारत सरकारले नेपाल सरकारलाई दिएको अनुदान रकम कुनै पनि संस्थामा खर्च हुँदा त्यस रकमलाई अर्थमन्त्रालयको सेयर पुँजीको रुपमा लेखांकन गरिदै आएको छ । महालेखा परीक्षकको कार्यालयले भारतले दिएको अनुदान १४ करोड ७२ लाख रुपैयाँ अर्थमन्त्रालयको सेयर पूँजी हुनुपर्छ भनेको हो,’ महालेखा स्रोतले भन्यो । नेप्सेमा हाल कुल चुक्ता पूँजी १ अर्ब रुपैयाँमध्ये नेपाल सरकारको ५८.६६ प्रतिशत, नेपाल राष्ट्र बैङ्कको १४.६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको ६.१४ प्रतिशत तथा अन्यको १०.६० प्रतिशत स्वामित्व रहेको छ । नेप्सेले आर्थिक २०७७/७८ मा १ अर्ब ९४ करोड ६ लाख रुपैयाँ खुद मुनाफा गरेको कम्पनीले २०७८/८९ मा १ अर्ब ६९ करोड ८८ लाख रुपैयाँ नाफामा गरेको थियो । वित्तीय स्थिति र सञ्चालन नतिजा कम्पनीको २०७९ आषाढ मसान्तको सेयर पूँजी १ अर्ब रुपैयाँ, जगेडा कोष, सञ्चित नाफा र अन्य कोष समेत ६ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ, गैह्र चालु दायित्व ९१ करोड ७२ लाख रुपैयाँ र चालु दायित्व ३८ करोड ५० लाख रुपैयाँ रहेको छ । गैहृ चालु सम्पत्ति ४ अर्ब ३६ करोड ८६ लाख रुपैयाँ र चालु सम्पत्ति ४ अर्ब ३२ करोड ७४ रुपैयाँ समेत कुल सम्पत्ति ८ अर्ब ६९ करोड ६० लाख रुपैयाँ रहेको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुली भने उक्त रकम अर्थमन्त्रालयलाई हस्तान्तरण गर्नु पर्ने महालेखालाई लागेको मात्रै बताउँछन् । महालेखाले उठाएको प्रश्नमा अर्थमन्त्रालयमार्फत् महालेखालाई जवाफ पठाएको उनको भनाइ छ । ‘अर्थमन्त्रालयलाई हस्तान्तरण गर्नु पर्ने महालेखालाई लागेको मात्रै हो, त्यसको जवाफ हामीले लेखेर पठाइसकेका छौं, यो विषय २०६६/६७ मा भएको हो, यो रकम कसरी प्राप्त भयो भनेर विस्तृत विवरण अर्थमन्त्रालय मार्फत महालेखालाई पठाइसकेका छौं,’ उनले भने । उनका अनुसार उक्त विषय अझै सल्टिएको छैन । आफूहरुले जवाफ पठाएपछि निर्णय गर्ने अधिकारी उहाँहरुको रहेको उनको भनाइ छ ।
६० हजारले काटे अग्रिम टिकट, नयाँबसपार्कमा घर फर्किने यात्रुको भीड
काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै गोँगबुस्थित नयाँबसपार्कमा घर जाने यात्रुको भीड लागेको छ । सरकारले दसैँँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि शनिबारदेखि नै घर जाने यात्रुको भुइँचो लागेको हो । नयाँबसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँबसपार्कबाट बाहिरिन थालेको बताए । “लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्यधिक भीड लागेको छ, हामीले अहिले नयाँबसपार्कबाट बस छुट्ने समयसमेत अन्य समयकोभन्दा अगाडि सारेका छौँ”, उनले भने । दसैँँका लागि हालसम्म भने ६० हजार यात्रुले अग्रिम टिकट काटिसकेको लोत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बताए । उनले दसैँँका समयमा सहजरुपमा यात्रुलाई गन्तव्यस्थलसम्म पुर्याउने ध्येय लोत्से बहुद्देश्यीय प्रालिले बसको व्यवस्थापन गरिरहेको उल्लेख गरे । सरकारले दसैँको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि असोज २६ गते देशैभरका सार्वजनिक सवारीसाधनमा रुट परमिटसमेत खुला गरिसकेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको बताए । यात्रुलाई सहजरुपमा गन्तव्यस्थल जानका लागि महासङ्घले केही बससमेत थप गरेको उनको भनाइ छ । ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि विभिन्न उपत्यकाका विभिन्न १५ स्थानमा यात्रु सहायता कक्षसमेत सञ्चालन गरेको छ । उक्त सहायता कक्षबाट भाडादर, यात्रुलाई परेको समस्या सम्बोधन हुनेछ ।
प्रधानाध्यापकले बाँडिदिए आफ्नो तलब निजी स्रोतका ६ शिक्षकलाई
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरु निराश बनेका छन् । यसैबीच दसैँका बेला बेखर्ची भएका निजी स्रोतका शिक्षकलाई दीपनगर आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मा भण्डारीले आफ्नै तलव वापतको रकम वितरण गरेका छन् । उनले साउनदेखि असोज महिनासम्मको पाएको तलबबापतको रकम विद्यालयमा कार्यरत निजी स्रोतका छ जना शिक्षक शिक्षिकालाई बराबर पुग्ने गरी बाडेका हुन् । ‘दसैँका बेला मेरो खातामा तलब आइपुग्यो, आफूसँग विद्यालयमा पढाउने अति लगनशील शिक्षकलाई दसैँ जस्तो महत्वपूर्ण पर्वको समयमा खाली हात पठाउनसक्ने कुरै भएन, बरु आफू खाली हुनु ठिक छ भनी पाएको तलब पछि सोध भर्ना हुनेगरी बाँडिदिए’, उनले भने । ‘दसैँको बिदा हुनै लाग्दा निजी स्रोतका शिक्षक तलब नपाइएपछि खाली हात घर जान थाले, भावुक भएर हेर्न थाले’, प्रधानाध्यापक भण्डारीले भने, ‘मुटु भक्कानियो, मन थाम्न सकिन, त्यसपछि आफ्नै तलबबाट रकम बाँड्ने निधो गरे, बाँडे ।’ तलब नपाएर हैरान भएकाबेला प्रधानाध्यापकले आफ्नै तलबबाट दसैँ खर्चका लागि रकम उपलब्ध गराएपछि निकै सहज भएको विद्यालयका शिक्षक कर्णबहादुर कुवँरले बताए । थोरै रकम पाए पनि दसैँका लागि खर्च गर्न पुग्ने भएकाले खुसी भएको उनले बताए । ‘स्थायी शिक्षक जस्तै हामीले पनि विद्यालयमा पठनपाठनको काम गरेका छौँ’, उनले भने, ‘विद्यालय व्यवस्थापन समितिले राखेकाले उसैले तलब व्यहोरोस् भनेर नगरपालिकाले पठाउने अनुदान रोक्दा निकै हैरान छौँ, हतास मनस्थितिमा पनि छौँ ।’ ‘गुणस्तरीय शिक्षाको नारा दिएर चुनाव जितेका जनप्रतिनिधिले नगर शिक्षक राख्ने बहानामा विद्यालयमा वर्षौंदेखि पठनपाठनको काम गर्दै आएका शिक्षकलाई विस्थापन गराउन तलब रोक्ने निर्णय कतिको ठिक हो’, उनले भने । कक्षा १ देखि ८ सम्म पठनपाठन हुने विद्यालयमा एक जना स्थायी र एक जना राहतबाहेक अन्य छ जना शिक्षक निजी स्रोतमा कार्यरत रहेका छन् । विद्यार्थीको सङ्ख्या एक सय ६२ रहेको छ । नगरपालिकाले निजी स्रोतका शिक्षकको तलब रोके पनि वडा कार्यालयले विद्यालयलाई दुई लाख अनुदान रकम उपलब्ध गराउने गरी बजेट विनियोजन गरे पनि खाता सञ्चालन नहुँदा विद्यालयको खातामा रकम आई पुगेको छैन । खातामा रकम नआइपुग्दा निजी स्रोतका शिक्षकले तलब पाउन नसकेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्ना लुहार विद्यालयमा पढ्नेमध्ये ८० प्रतिशत बढी विद्यार्थी दलित समुदायको रहेको बताउँछन् । ‘अभिभावकको आर्थिक अवस्था कमजोर हँुदा निजी स्रोतका शिक्षकको तलब जुटाउन सकेका छैनौँ, नगरपालिकाले अनुदान रकम रोक्दा विद्यालय सञ्चालन गर्न निकै अप्ठ्यारो भएको छ’, उनले भने, ‘नगरपालिकाले विद्यालयले निजी स्रोत शिक्षकको तलबबापतको अनुदान रकम रोक्ने हो भने विद्यार्थी अनुपातमा दरबन्दीका शिक्षकको व्यवस्था गर्न सक्नुपर्छ, विद्यालयलाई राजनीति गर्ने थलोका रुपमा विकास नगरी स–साना बालबालिकाको भविष्यका बारेमा सोच्नुपर्छ ।’
सन् २०३६ को ओलम्पिक आयोजनाका लागि भारतको दावी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०३६ को ग्रीष्मकालीन ओलम्पिक आयोजनाका लागि आफ्नो देशले दावेदारी पेश गर्ने र ओलम्पिक आयोजना गर्ने चौथो एसियाली राष्ट्र बन्ने शनिबार बताएका छन् । विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको भारतले यसै साता अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को कार्यकारी बोर्डको बैठक आयोजना गर्दैछ । जसले सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिक खेलमा भारतको सबैभन्दा लोकप्रिय खेल क्रिकेटलाई समावेश गर्ने निर्णय गरिसकेको छ । मोदीले आफ्नो सरकारका सदस्यहरूको महिनौंको संकेतपछि बैठकको औपचारिक उद्घाटन गर्दै यो भारतका १ अर्ब ४० करोड जनताको ‘सपना र आकांक्षा’ भएको बताएका थिए । “सन् २०३६ को ओलम्पिक आयोजनाका लागि भारतले कुनै कसर बाँकी राख्ने छैन,” उनले भने । प्रधानमन्त्री मोदीले ओलम्पिक आयोजनाका लागि कुन शहरले आवेदन दिने भन्नेबारे भने जानकारी दिएनन् । तर, सञ्चारमाध्यमका अनुसार उनको गृह राज्य गुजरातको राजधानी अहमदावादले खेल आयोजनाका लागि आवेदन दिने सम्भावना सबैभन्दा बढी रहेको छ ।
माथिल्लो अरुण निर्माण गर्न विश्व बैंकले १ खर्ब ३० अर्ब ऋण दिने
काठमाडौं । माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि १ खर्ब ३० अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंकले सकारात्मक जवाफ दिएको छ । विश्व बैङ्कको वार्षिक बैठकमा भाग लिने सिलसिलामा मोरक्कोका मराकेसमा रहेका अर्थमन्त्रीसँग शनिबार बैङ्कका पदाधिकारीहरुसँग भएको भेटमा बैङ्कले रणनीतिक महत्वको सो आयोजनाका निम्ति सहुलियतपूर्ण कर्जा दिने सङ्केत गरेको अर्थ मन्त्रालयले जनाएको छ । बैङ्कबाट सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा आगामी साता उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलले वासिङटनमा प्राविधिक एवं वित्तीय विषयमा केन्द्रित रहेर छलफल गर्ने तयारी गरेको मन्त्रालयले बताएको छ । त्यसैगरी, सहुलियतपूर्ण ऋण उपलब्ध गराउने संरचना अन्तर्राष्ट्रिय विकास सहायता (आइडिए)को २१औँ बैठक नेपालमा आयोजना गर्न अर्थमन्त्रीले गरेको प्रस्तावप्रति विश्व बैङ्कले सकारात्मक जवाफ दिएको हो । विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र विकास वित्ततर्फका उपाध्यक्ष आकिहिको निसिओसँगको समीक्षा बैठकमा उनीहरुले नेपालको प्रस्तावप्रति सकारात्मक जवाफ दिएका हुन् । गत वर्ष ९.२ प्रतिशतमात्र प्रवाह भएको कर्जाको परिमाण बढाउन मन्त्री महतले जोड दिएका र्थि । बैठकमा नयाँ आयोजना निर्माण तथा ठेक्का प्रक्रिया र धेरै क्षेत्रमा छरिएका आयोजनाको एकीकरणबारे पनि उनीहरुबीच छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । यसैगरी, ३ सय मिलियन अमेरिकी डलर अर्थात् ३९ अर्ब रुपैयाँ बराबरको बजेटरी सहायता चालु आर्थिक वर्षभित्र परिचालन गर्ने गरी तयारी गर्न दुवै पक्षबीच सहमति भएको छ । सहमतिअनुसार सार्वजनिक वित्त, वित्तीय क्षेत्र समावेशी विकासका साथै नीतिगत सुधारका काम कार्यान्वयन गरिनेछ । यसैगरी, भौतिक पूर्वाधारका क्षेत्रमा अर्थमन्त्रीले कार्यक्रमगत सहायताको नयाँ ढाँचामा सहायता परिचालन गर्न अनुरोध गरेका छन् । उक्त ढाँचाअन्तर्गत स–साना आयोजना कार्यान्वयनका लागि नेपालको आफ्नै सामाजिक तथा वातावरणीय जोखिम न्यूनीकरणका मापदण्डलाई आधार मानेर लगानी सुनिश्चित गरिनेछ । बैठकमा अर्थसचिव कृष्णहरि पुष्कर र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल थिए ।
नेपालमा ४० वटा हेलिकोप्टर दुर्घटना, पर्यटन क्षेत्रलाई धक्का
काठमाडौं । मनसुन सकिएर पर्यटकीय सिजनको सुरुआतमा शनिबार भएको हेलिकोप्टर दुर्घटनाले पर्यटन व्यवसायीमा निराशा छाएको छ । कोरोना महामारीलगायतका कारणले घट्दो क्रममा रहेको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कने प्रयास भइरहेका बेलामा हेलिकोप्टर दुर्घटनाले व्यवसायीलाई निराशा बनाएको छ । व्यवसायीहरु असोज–मङ्सिरमा पदयात्रा र आरोहणका लागि पर्यटक बढ्ने भएकाले यसअवधिलाई ‘पिक सिजन’का रुपमा लिन्छन् । “सिजनमै भएको हेलिकोप्टर दुर्घटनाले यात्रुको सङ्ख्या पक्कै पनि कम हुन्छ”, सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले भने, “विशेषगरी यस समयमा हेलिकोप्टरको प्रयोग उद्धार उडानका लागि हुन्छ, यो घटनाले व्यवसायमा पक्कै पनि असर पर्छ ।” उनका अनुसार हेलिकोप्टरको वर्षभरी हुने कूल आम्दानीको ३० प्रतिशत यही सिजनमा हुन्छ । “वैशाख–जेठमा ३० प्रतिशत र यस सिजनमा ३० प्रतिशत बिजनेश हुन्छ”, उनले भने, “बाँकी बिजनेश अफ सिजनमा हुन्छ ।” यस सिजनमा सगरमाथा क्षेत्रमा पदयात्रा र पर्वतारोहण गर्ने पर्यटकले हेलिकोप्टर बढी प्रयोग गर्ने उनको भनाइ छ । सिजनमै भएको हेलिकोप्टर दुर्घटनाले मुलुकको हवाई क्षेत्रमा नकारात्मक असर परेको हेलिकोप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेलको भनाइ छ । उनले भने, “मुख्य पर्यटकीय सिजन सुरु भएकाले यतिबेला हेलिकोप्टर पाउनै मुस्किल छ । मौसम सफा भएकाले हेलिकोप्टरको ‘मुभमेन्ट’ बढी भइरहेको समयमा भएको हेलिकोप्टर दुर्घटनाले नकारात्मक सन्देश गएको छ ।” यतिखेर लुक्लाबाट हिमाली क्षेत्रमा जाने यात्रुको मुख्य साधन नै हेलिकोप्टर बनेको छ । सगरमाथा, अन्नपूर्ण, लाङ्टाङ, मनास्लुलगायत क्षेत्रमा हेलिकोप्टरको प्रयोग भइरहेको छ । सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक एवं हेली एभरेष्टका उपाध्यक्ष मिङ्मा शेर्पा पनि सिजनमा हेलिकोप्टर दुर्घटनाले पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने बताउँछन् । सोलुखुम्बुको लुक्लाबाट लोबुचेका लागि उडेको मनाङ एयरको ‘एन–एनजे’कलसाइन हेलिकोप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणका क्रममा शनिबार बिहान ७ः२४ बजे दुर्घटनामा परेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार दुर्घटनामा घाइते हेलिकोप्टर पाइलट प्रकाशकुमार सेढाईँको काठमाडौँको ह्याम्स अस्पतालमा उपचार सम्भव नभएरपछि भारत पठाइएको छ । दुर्गम क्षेत्रमा सामान ढुवानी गर्न तथा हिमाली क्षेत्रमा पर्यटक ओसारपसारमा समेत हेलिकोप्टरको प्रयोग बढ्दो छ । वायुसेवा सञ्चालक सङ्घका अनुसार नेपालमा हाल निजी क्षेत्रका १२ वटा हेलिकोप्टर कम्पनीका ३० वटा हेलिकोप्टर व्यावसायिक उडानमा छन् । पर्यटकीय गतिविधि बढेको तथा पर्वतारोहणका लागि आरोहीको सङ्ख्या बढिरहेकाले हेलिकोप्टरको विजनेस राम्रो हुन्छ ।दसैँ, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्वको सङ्घारमा हेलिकोप्टर दुर्घटनाले एकखालको त्रासदी पैदा भएको व्यवसायीको भनाइ छ । ३ महिनामा २ हेलिकोप्टर दुर्घटना पछिल्लो तीन महिनामा मनाङ एयरका २ हेलिकोप्टर दुर्घटनाग्रस्त भएका छन् । संयोग नै ती दुवै दुर्घटना सोलुखुम्बुमा भएका छन् । गत असार २६ गते मनाङ एयरको कलसाइन ९एन–एमभी (एएस–५०) कलसाइन भएको हेलिकोप्टर दुर्घटनामा परी चालक दलका एक सदस्यसहित हेलिकोप्टरमा सवार ६ जनाको मृत्यु भएको थियो । सोलुखुम्बुको सुर्केबाट बिहान काठमाडौँका लागि उडान भरेको उक्त हेलिकोप्टर दिउँसो जिल्लाकै लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । ६ महिनामा ३ हेलिकोप्टर दुर्घटना विसं २०८० को ६ महिनामा तीनवटा हेलिकोप्टर दुर्घटनामा परेका छन् । गत असार २६ गते भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाको ३ महिनामै सोही कम्पनीको अर्को हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । यस्तै गत वैशाख २० गते सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभा दुर्घटना भएको थियो । अरुण तेस्रो आयोजनाको सामान ढुवानीका क्रममा भएको उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । त्यसअघि सन् २०१८ र २०१९ मा सोही कम्पनीको समान एक हेलिकोप्टर दुर्घटनामा परेको थियो । मनाङ एयरको ६ वर्षमा ४ हेलिकोप्टर दुर्घटना भएका छन् । प्राधिकरणको एभिएसन सेफ्टी रिपोर्ट २०२३ का अनुसार नेपालमा विभिन्न कम्पनीका ३९ वटा हेलिकोप्टर दुर्घटना भएका छन् । ती दुर्घटनाबाट ९० जनाभन्दा बढीको मृत्यु भएको छ । शनिबारको दुर्घटनासहित नेपालमा हेलिकोप्टरतर्फ मात्रै ४० वटा दुर्घटना भएका छन् । मनाङ एयर निलम्बनमा पछिल्लो तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकोप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनाङ एयरले उडान सुरक्षामा ध्यान नदिएकाले तीन महिनाका लागि उसको एओसी निलम्बन गरिएको हो । “मनाङ एयरको सेवा सञ्चालन प्रमाणपत्र निलम्बन भइसक्यो, तीन महिनामा दुईवटा हेलिकोप्टर दुर्घटना भएका छन् । अब उक्त कम्पनीसँग हेलिकोप्टर पनि छैनन्”, प्रवक्ता भुलले भने, “प्राधिकरणले मनाङ एयरको वस्तुस्थितिका समीक्षा गरेपछि कम्पनी खारेज गर्ने वा निलम्बन फुकुवा गर्ने भन्ने निर्णय हुनेछ ।” प्राधिकरणका अनुसार निलम्बनमा परेको मनाङ एयरले तत्काल हेलिकोप्टर ल्याए पनि उडाउन अनुमति पाउने छैन । दुर्घटनाको विस्तृत अध्ययनका लागि प्राधिकरणको प्राविधिक टोली भोलि आइतबार हेलिकोप्टर दुर्घटना भएको क्षेत्रमा जानेछ ।
एनआईसी एशिया बैंकको ३०.५२ प्रतिशत लाभांश आज पारित हुँदै
काठमाडौं । एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा आज असोज २८ गते हुँदै छ । बैंकको साधारण सभा बिहान ९ बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्दै छ । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५२६३ प्रतिशत नगद गरी कूल ३०.५२६३ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । यस्तै, सहायक कम्पनी एनआईसी लघुवित्त र क्यापिटलको गत वर्षको वित्तीय विवरण पनि पारित गर्ने । साथै, पूँजी वृद्धि गरी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुर्याउने छ । यस्तै, बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र कुनै फेरबदल गर्नु पर्ने भए सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ एनआईसी एशियाले असोज १६ गतेदेखि असोज २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
सिद्धार्थ बैंकका २ संस्थापक बाहिरिँदै, साढे ५ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको सेयर बिक्री गर्ने भएको छ । बैंकले आजदेखि संस्थापक सेयरधनीहरुको नाममा रहेको साढे ५ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकका अनुसार संस्थापक सेयरधनी प्रदिप कुमार केडियाको नाममा रहेको ४ लाख ५४ हजार ५६३ कित्ता र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को ९५ हजार १० कित्ता गरी कूल ५ लाख ४९ हजार ५७३ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयर खरिद गर्न इच्छुकले विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । यदि सो समयभित्र आवेदन नपरेमो सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।