विकासन्युज

कपन क्षेत्रमा खोला उत्खननको बाँकी काम प्राधिकरणले गर्ने, २३ करोडमा लियो ठेक्का

काठमाडौं । गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको आरम्भ चोकमाथिको बहाव क्षेत्र छुट्याउने काम काठमाडौं उपत्यका विकास प्राधिकरणले गर्ने भएको छ । चावहिल, कपन क्षेत्रको रुद्रमती (धोबीखोला) बाट आरम्भ चोकसम्मको खोला उत्खननको काम काठमाडौं महानगरपालिकाको नेतृत्वमा गरिएको थियो । आरम्भचोकसम्म खोलिएको खोलालाई त्यसमाथिको भागमा खोलेर आरसिसी ढलान गर्ने कामका लागि प्राधिकरणले ठेक्का गरी काम अघि बढाएको छ । यसका लागि प्राधिकरणले २३ करोड रुपैयाँको ठेक्का गरेको हो । ड्रागन आरबि कम्पनीले ठेक्का पाएर काम अघि बढाउन लागेको महानगरपालिका वडा नं. ६ का अध्यक्ष भुवन लामाले राससलाई जानकारी दिए । प्राधिकरणले ठेक्का गरेर काम अघि बढाएपछि महानगरपालिकाले आरम्भ चोकमै यो काम छोडेको छ । खोला छुट्याउने कामसँगै आरम्भचोकसम्म जग्गाको नापजाँच पनि गरिएको छ । काठमाडौं उपत्यकामा बस्ती बढेसँगै विसं २०६० पछि यस क्षेत्रका दुवै नदी पुरेर सडक बनाई घर बनाउन थालिएको थियो । यसरी खोलालाई ढल बनाउँदा वर्षायाममा कपन र चाहिलको सरस्वतीनगर क्षेत्र डुबानमा पर्न थालेपछि महानगरपालिकाले खोला खोल्न थालेको थियो । आरम्भचोकसम्म खोला खोलेपछि असोज दोस्रो साता भएको वर्षाद्मा आएको बाढीले कपन क्षेत्र डुबानमा नपरेको पनि वडा अध्यक्ष लामाले जानकारी दिए । यसबाट स्थानीयवासी खुसी हुनुका साथै यज्ञडोलसम्म नै खोला खोलेर खुला बनाउनुपर्ने आवाज उठाउन थालेका छन् । केही जग्गा व्यवसायीको स्वार्थमा खोला पुर्ने कामले समस्यामा परेको बुझेपछि अहिले स्थानीयवासी खोला खोल्नुपर्ने अभियानमा एकबद्ध भएको स्थानीयवासी चुडामणि कोइरालाले बताए । महानगर क्षेत्रमा पहिले नै खोलासँगै चार मिटरको बहाव क्षेत्र छोडिएको थियो । तर बूढानीलकण्ठ नगरपालिका वडा नं. १० को भागमा भने खोलासँगै चार मिटर बहाव क्षेत्र नछोडी घर बनाइएको छ । खोलाको दायाँबायाँ चार/चार मिटर खुला भाग छोडेर घर बनाउनुपर्ने मापदण्ड भएपनि त्यो तत्कालीन कपन गाविसले पालना नगरेको यो प्रकरणले देखाएको छ । महानगरपालिका वडा नं. ७ का अध्यक्ष विमलकुमार होडा नापी कार्यालयले यस क्षेत्रको नापी गरी सक्ने र पूर्जा भएको जग्गामात्र व्यक्तिको कायम गराएर बाँकी जग्गा सरकारी पर्तीका रुपमा कायम गरिने बताउँछन् । यसका लागि प्राधिकरणसँग पनि समन्वय गरेर काम गर्न लागिएको उनले सुनाए । नापजाँच गरेर आएको पर्ती जग्गामा महानगरले आकर्षक बगैँचा बनाएर खुला क्षेत्रका रुपमा स्थापित गर्ने जनाइएको छ । यसरी बनेको खुला क्षेत्र भूकम्पलगायत प्राकृतिक प्रकोपका बेला पनि उपयोगमा ल्याउन सकिने वडा कार्यालयले जनाएको छ । रासस

देशको अर्थनीति डामाडोल छ : नेता कोईराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले काँग्रेस एकजुट भए कसैले पनि परास्त गर्न नसक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजनीतिक उपलब्धि धेरै भइसकेको बताउँदै उनले जनताको मनमा छुनसके कसैले पनि पराजित गर्न नसक्ने बताए । देशको अर्थनीति डामाडोल रहेको बताउँदै उनले नेपाली काँग्रेसलाई एकजुट पार्न आवश्यक रहेको बताए । ‘राजनीतिक उपलब्धि त धेरै भइसक्यो, ७० वर्षपछि संविधान पायौँ, यो सबैभन्दा ठूलो उपलब्धि हो । चुनौति त धेरै छन् । हामी एकजुट भयौँ भने जतिसुकै अरु दल मिलुन्, हामीलाई परास्त गर्न सक्दैनन् । मलाई न भाषण गर्न आउँछ न केही, तर मैले जनताको मन छोएको छु । हाम्रो अर्थनीति डामाडोल छ । तर हाम्रो दृष्टि प्रष्ट हुनुपर्छ । नेपाली काँग्रेसलाई एकजुट पारौँ । एकजुट भए योजना आयोगको तर्जुमा गर्दा दीर्घकालीन योजना कुन कस्तो बनाउने ? जनतालाई छुनेगरी बनाउने हो की होइन ।’ उनले भने । नेता कोईरालाले एकजुट योजना तर्जुमा गर्दा दीर्घकालीन योजना बनाउनुपर्ने समेत बताए ।

स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण हुँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्थानीय तहमा उत्पादित स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण नहुने बताएका छन् । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा शुरु गरेको ‘दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो-२०८०’ को उद्घाटन गर्दै उनले व्यापारघाटा कम गर्न र राष्ट्रको अर्थतन्त्र समृद्ध बनाउन साना तथा घरेलु र हस्तकला उद्योगलाई प्रोत्साहन गर्नुको विकल्प नभएको बताएका हुन् । सरकारको राष्ट्रिय कार्यभार सामाजिक आर्थिक रुपान्तरण र आर्थिक समृद्धि भएको भन्दै गृहमन्त्री श्रेष्ठले देशको उत्पादनलाई निर्यात गर्न नसकेसम्म व्यापारघाटा कम गर्न नसकिने बताए । सांसद वासुदेव घिमिरेले हस्तकला तथा साना उद्योगहरुलाई प्रवद्र्धन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । यस्ता उद्योगहरुलाई बचाएर मात्रै जनताको आयस्तर माथि उठाउन सकिने उनको भनाई थियो । एक्स्पोका संयोजक कपिल अधिकारीले एक्स्पोमा अमेरिका, क्यानडा, युरोप, चीन र भारतलगायत मुलुकबाट पाँच सयभन्दा बढी विदेशी क्रेताको सहभागिता रहेको जानकारी दिए । नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको उनले बताए । उनका अनुसार एक्स्पोको क्रममा हस्तकलासम्बन्धी जीवन्त कलाको प्रदर्शनी, समसामयिक विषयमा गोष्ठी, क्रेता र बिक्रेताबीच अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ । विश्वका विभिन्न देशबाट क्रेता भित्र्याउने र बढीभन्दा बढी नेपाली व्यापारीलाई विदेशी व्यापारीसँग सम्बन्ध विस्तार गराई निर्यात बढाउने लक्ष्य राखिएको उनले बताए । करिब ५० हजारले एक्स्पो अवलोकन गर्ने आयोजकको अनुमान छ । एक्स्पोमार्फत स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवर्द्धन गर्ने र यस्ता उत्पादनलाई प्रदर्शनी मार्फत परिचित गराई विश्व बजारमा पहुँच गराई निर्यातमा सघाउने मुख्य उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ । नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउने मुख्य उद्देश्य रहेको एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री रहने एक्स्पोका संयोजक अधिकारीले बताए । यसैगरी जैविक स्रोतबाट बनेका श्रंगारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिने अपेक्षा लिएको संयोजक अधिकारीले बताए । यसका साथै पश्मिना, स्टोन, माला, क्यूरियाको सामान, गलैंचा, गार्मेन्टका सामान, सिसा पाइपहरु, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहनाहरू, हेण्ड मेड पेपरहरू, पेपर प्याकेजहरु, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठूला उद्योगहरुबाट उत्पादित वस्तु, जडिबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरु जस्तै होटल, ट्रेकिङ, ट्राभल्स, खानपिन, टुर्स, धर्म, कला र सँस्कृतिसँग सम्बन्धित क्रियाकलाप प्रदर्शनीका आकर्षणका रुपमा रहने आयोजक पक्षले जनाएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले यसपाली आयोजना गर्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरि एक सय स्टल रहेका छन् । एक्स्पोको क्रममा हस्तकला सम्बन्धी जीवन्त कलाको प्रदर्शनी, समसामयिक विषयमा गोष्ठी, क्रेता र बिक्रेता बीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिने बताइएको छ । विश्वका विभिन्न देशहरुबाट क्रेताहरु भित्र्याउने र बढी भन्दा बढी नेपाली व्यापारीलाई विदेशी व्यापारीहरुसँग सम्बन्ध विस्तार गराई निर्यात बढाई आर्थिक सम्बृद्धि साथै पर्यटन विकास र प्रवर्द्धन गर्ने यो प्रदर्शनीको प्राथमिकता रहेको एक्स्पो आयोजक पक्षले जनाएको छ । स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवर्द्धन तथा विश्वबजारमा पहुँच गराई निर्यातमा सघाउने उद्देश्यले आयोजना गरिएको एक्स्पो आगामी असोज २९ गते सोमबारसम्म चल्ने आयोजक पक्षले जनाएको छ ।

कान्ति बाल अस्पतालले आइतबार ओपिडी सेवा बन्द गर्ने

काठमाडौं । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले आइतबार ओपिडी सेवा बन्द गर्ने भएको छ । अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै आइतबार सार्वजनिक बिदा परेकोले ओपिडी सेवा बन्द गर्ने जानकारी गराएको हो । असोज २८ गते आइतबार घटस्थापना परेकोले सरकारले सो दिन सार्वजनिक बिदा दिएको हो । यद्यपि सो दिन इमरजेन्सी सेवा भने खुला रहने अस्पतालले जानकारी गराएको छ । ‘असोज २८ गते यस वर्षको बडादसैंको घटस्थापना पर्वको सार्वजनिक विदा परेकोले उक्त दिन अस्पतालको ओपिडी सेवा बन्द रहने तर ईमरजेन्सी सेवा भने २४ सै घण्टा खुला रहने व्यहोरा सम्बन्धित सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ ।’ अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।

एनआरएनए निर्वाचन : २४ प्रतिबद्धतासहित शर्मा प्यानलले गर्यो उम्मेदवारी घोषणा 

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनका लागि राजेन्द्र कुमार (आरके) शर्मा नेतृत्वको प्यानलले  औपचारिक उम्मेदवारी घोषणा गरेको छ । शुक्रबार कार्यक्रमको आयोजना गर्दै शर्मा प्यानलले उम्मेदवारी औपचारिक घोषणा गरेको हो । एनआरएनएको ११औँ महाधिवेशन असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म काठमाडौंमा हुँदैछ । उक्त महाधिबेशनबाट नयाँ नेतृत्वको  चयन हुनेछ । एनआरएनए आगामी नेतृत्वको लागि उम्मेदवारहरूले प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् । अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गर्दै शर्माले विदेशमा आर्जन गरेको ज्ञान, सीप र आम्दानी स्वदेशको उद्योग तथा व्यवसायमा लगानी गर्ने बताए । ‘एनआरएनए भए पनि माया स्वदेशको छ, यहाँको विकास र सम्बृद्धिको लागि मेरो उम्मेदवारी हो, मैले लामो समयदेखि नेपालको हितका लागि काम गर्दै आएको छु,’ उनले भने । आफूले गरेका प्रतिबद्धता २४ महिनाभित्र पूरा गर्ने बताउँदै उनले नेपाल र नेपालीको हितमा काम गर्ने धारणा राखे । शर्मा टिमको उपाध्यक्षमा गोविन्द प्रसाद श्रेष्ठ (रोविन्द), खगेन्द्र न्यौपाने, अभिमान सिंह बस्नेत, विजय मोक्तान, शसिकान्त पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै , युवातर्फको उपाध्यक्षमा अब्दुल वासिदले उम्मेदवारी घोषणा गरेका छन् । उपमहासचिवमा प्रवीण गुरुङ, सचिवमा आरसी पोखरेल, टंक गैरे, लोक दाहाल, मनोज कुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका हुन् । कोषाध्यक्षमा ठाकुर प्रसाद ढुंगाना उम्मेदवारी  दिने भएका छन् । यस्तै, महिला संयोजक देवकी केसीको पनि उम्मेदवारी दिने तयारी रहेको छ । ११औँ महाधिवेशनमा ६९ भन्दा बढी देशका ४२ हजार सहभागी हुने बताइएको छ । कोषाध्यक्षका उम्मेदवार ठाकुर प्रसाद ढुंगानाले लामो समय विदेशी पर्यटन क्षेत्रमा संलग्न रहेको बताउँदै देशमा पर्यटन तथा आर्थिक विकास गर्न अफ्नो अहम् भूमिका रहने बताए । शर्मा प्यानलले २४ बुँदे बाचापत्र सार्वजनिक पनि गरेको छ । सो प्यानलले २४ महिनामा २४ काम गर्ने भन्दै बाचापत्र सार्वजनिक गरेको हो । बाचापत्रमा :- -एनआरएनहरुबीचको एकता : पहिलो प्रतिबद्धता -वैदेशिक रोजगार : दक्ष जनशत्ति सुरक्षित वातावरण, सामाजिक सुरक्षा -हाम्रो नीति : सुधारौँ श्रमिकको आर्थिक स्थिति -विप्रेषणको प्रयोग कहाँ उत्पादनमूलक उद्यम हुन्छ जहाँ -एनआरएनएको निरन्तर खटन : गैरआवाशीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण गठन -सांगठनिक पुनर्संरचना : कार्यदलबाट गहन योजना -मानव संशाधनः सबलीकरणयुक्त कार्यसम्पादन -संस्थागत सुशासन : शून्य सहनशील स्वअनुशासन – एनआरएनए निर्वाचन : सबैले गर्न पाउन् मतदान -आर्थिक कुटनीतिः लगानी प्रवर्द्धन मुख्य नीति – गरौं उच्चतम प्रयोग सूचना प्रविधि : हुन्छ विकास र सम्बृद्धि -नेपाली रोजौं, नेपाली खोजौं : निर्यात बढाउन जोडतोडले लागौं -गैरआवासीय सरोकारस्  जहाँ भए पनि नागरिक र मताधिकार -नेपाल समृद्धिको दस्ता: गैरआवासीय दोस्रो पुस्ता -अबको समृद्धि : जगेर्ना गरौँ भाषा र संस्कृति -एनआरएनए शक्ति : अधिकारसम्पन्न एनसीसी -विदेशमा सिकेको ज्ञान : देश निर्माण अभियान -देश विकासको बलः एक एनसीसी, हजार पर्यटक – घटाऔं वैदेशिक श्रम, फर्किनेलाई स्वरोजगार कार्यक्रम -अग्रजलाई सम्मानः युवा परिचालन र विज्ञबाट ज्ञान -नेपाली धन, नेपाली श्रमः अबको उद्यम -समावेशी अभियानः महिला सदस्यलाई प्रोत्साहन -प्रभावकारी सञ्चार व्यवस्थापन तथा सम्बन्ध विस्तार कार्यक्रम – योजनाबद्ध कार्यान्वयनः न्यायपूर्ण कार्यसम्पादन र मूल्यांकन  

नेपाल भित्रिँदै हाइगर ब्राण्डका विद्युतीय गाडी, यस्ता छन् विशेषता

काठमाडौं । कमर्सियल गाडीहरुको बिक्री वितरणमा स्थापित डिलर शशिला मोटर्स प्रा.लि.ले विश्व प्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ । जसका लागि मोटर्सले शुक्रबार चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनीसँग सम्झौता गरेको हो । हाइगर बस कम्पनीले विश्वका १ सय ३० भन्दा धेरै देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको छ । हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’ को उपाधि प्राप्त गर्न सफल बहुचर्चित तथा सुप्रसिद्ध ब्राण्ड हो । यो सम्झौतासँगै शशिला मोटर्स प्रा.लि. हाइगर भ्यानको नेपालका लागि एकमात्र आधिकारक वितरक बनेको छ । सुरुमा प्रा.लि.ले १६ सिट क्षमताका इभी मिनि भ्यान र मिनिवस नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो । जुन वातावरणमैत्री तथा ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने र मिनिबस रेञ्जहरुमा ग्राहकको पहिलो रोजाइ बन्न सफल हुने शशिला मोटर्सका प्रवन्ध निर्देशक सन्तोष खतिवडाले बताए । यस्ता छन् हाइगर इभी भ्यानका प्रमुख विशेषताहरु कम्पनीका अनुसार १६ सिट क्षमताको हाइगर इभी भ्यानको सिङ्गल चार्जमा २५० किलोमिटर रेञ्ज, ७० किलोवाट आवर ब्याट्री, कटिङ्ग एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक रहेको छ । त्यस्तै, कोलिजन अभोइडेन्स् सिस्टम, लेन डिपार्चर वार्निङ्ग तथा एअर ब्याग सिस्टमहरु सहितको सुरक्षाका विशेषतायुक्त एअर ब्याग भएको नेपालको पहिलो इभी भ्यान रहेको कम्पनीको दावी छ । यो इभीमा सहज यात्राका लागि आरामदायी सिट एवं पर्याप्त खुल्ला ठाँउ, यात्रुको सुविधाका लागि एअर कण्डिसनसहित आन्तरिक सजावट भएको र नेपालको बाटो सुहाउँदो २०० एमएम उचाई ग्राउण्ड क्लियरेन्स भएको कम्पनीले जानकारी गराएको छ । कम्पनीका अनुसार हाइगर इभी भ्यानमा ९० किलोवाट पावर र ३५० एनएम टर्कसहित उत्कृष्ट तान्ने क्षमता छ । त्यस्तै, एलोइ हृवील र २१५ आर ७५ टायर साईज, १६ पिआरसहितको पहिलो इभी भ्यान जसले गाडीको रेञ्ज र स्ट्याबिलिटी बढाउने कम्पनीको भनाई छ ।

युवा उद्यमी पाण्डे बने सिटिजन्स बैंकको अध्यक्ष, व्यवसायिक अब्बलता प्रयोग गर्ने अवसर

काठमाडौं । युवा उद्यमी प्रबलजंग पाण्डे सिटिजन्स बैंकको अध्यक्ष बनेका छन् । बैंकको १७औं वार्षिक साधारणसभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । साधारण सभाले उनीसँगै सीता कार्की केसी, सजन शर्मा र दिग्विजय बिष्टलाई बैंकको सञ्चालकमा निर्वाचित गरेको छ । अध्यक्षमा निर्वाचित पाण्डे लोमस ग्रुपको कार्यकारी निर्देशक र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यका रुपमा काम गरिरहेका छन् । बैंक, बीमा, सिमेन्ट, मेडिकल, पर्यटन लगायत क्षेत्रमा लगानी गरेर नेपाली उद्योग व्यवसायमा उदाहरणीय उद्यमीको छवि पाण्डेले बनाएका छन् । नेपाली व्यवसायमा पाण्डे समूहले पृथक किसिमको छाप बसालेको छ । पाण्डे नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका छोरा हुन् । नेपालमा बुवासँगै व्यवसाय गरेर पृथक किसिमको छवि निर्माण गरेकामध्ये उनका दाजुभाइहरु पर्छन् । उनीहरु आफ्नै मिहेनतले नेपाली उद्योग व्यवसाय क्षेत्रमा स्थापित भएका छन् । भारतको बैंलोरबाट इन्जिनियरिङमा स्नातक गरेका पाण्डे दुई दशकभन्दा बढी समयदेखि व्यवसायमा सक्रिय छन् । अध्यक्ष पाण्डे बैंकका प्रमुख लगानीकर्ता पनि हुन् । अध्यक्ष चयनपछि उनले बैंकलाई नयाँ उचाइमा पु¥याउने प्रतिवद्धता गरेका छन् । यसअघि बैंकको अध्यक्षमा राजनसिंह भण्डारी थिए । निवर्तमान अध्यक्ष राजनसिंह भण्डारीले सेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने बताए । आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्द रहेको बताए ।

टेरामक्स परियोजना सम्बन्धी कागजात सात दिनभित्र बुझाउन समितिको निर्देशन

फाइल फोटो काठमाडौं । सार्वजनिक लेखा समितिले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) परियोजना सम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र समितिलाई बुझाउन निर्देशन दिएको छ । सार्वजनिक लेखा समिमिको शुक्रबार बसेको बैठकले दूरसञ्चार प्राधिकरणलाई सात दिनभित्र टेरामक्स परियोजना सम्बन्धि सबै कागजात समितिलाई बुझाउन निर्देशन दिएको हो । बैठकमा समितिले गरेको निर्णय सुनाउँदै लेखा समिति सभापति ऋषिकेश पोखरेलले टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने भएको भन्दै यो प्रविधि खरिद प्रक्रियाको प्रारम्भदेखि अहिलेसम्मका कागज एवं निर्णयका विषयमा भएका गतिविधि सात दिन भित्र समितिमा बुझाउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका हुन् । उनले निजी दूरसञ्चार सेवा प्रदायक संस्थानहरुलाई सेवा सञ्चालन अनुमति लाइसेन्समध्ये बन्द भइसकेको टेलिकमको लाइसेन्स बिक्रीको कार्य गैरकानूनी तवरबाट प्रक्रिया अगाडि बढेको भन्दै कम्पनीले तिर्नुपर्ने दायित्व भुक्तानी नगरी सकेकाले स्मार्ट टेलिकमको लाइसेन्स बिक्री कार्यलाई स्थगित राखी यस सम्बन्धमा भएका निर्णयका कागजात समितिमा उपलब्ध गराउन पनि निर्देशन दिए । नेपालमा रहेका दूरसञ्चार सेवा प्रदायकहरुबाट राज्यलाई बुझाउन बाँकी रहेको कुनै पनि राजश्व तीन महिनाभित्र अशुल गर्न पनि उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्राधिकरण र सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । निर्धारित समयभित्र राजस्व नबुझाउने सेवा प्रदायकलाई कानुन बमोजिम कारबाही गरी त्यसको जानकारी समितिलाई गराउन पनि समितिले निर्देशन दिएको छ । त्यस्तै, ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत कार्यान्वयनमा रहेका परियोजनाहरुको कार्यप्रगति सुस्त रहेको निष्कर्ष समितिले निकालेको छ । सूचना महामार्गमा अप्टिकल फाइबर बिछ्याउने कार्यले गति नलिएकाले सो कार्यलाई शीघ्र अगाडि बढाउन समितिको बैठकले प्राधिकरणलाई निर्देशन दिएको छ । लेखा समिति सभापति ऋषिकेश पोखरेलले प्रतिष्पर्धाका कारण विश्वबजारको दूरसञ्चार सेवाको मूल्य घट्ने क्रममा रहेको तर,नेपालको सम्बन्धमा मूल्य न्युनिकरणको उपाय नखोजिएको बताए । दूरसञ्चार सेवामा न्युनतम मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउनेतर्फ यथोचित पहल गर्न र गराउन पनि समितिले प्राधिकरणलाई निर्देशन दिएको उनले जानकारी गराए ।