थामिएन सेयर बजारको पहिरो, परिसूचक र कारोबार दुबै घट्यो
काठमाडौं । सेयर बजार निरन्तर रुपमा घटीरहेको छ । सोमबारको नेप्से परिसूचक २३.१६ अंकले घटेर १८५१.४३ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.२३ प्रतिशतले बढी हो । त्यस्तै, परिसूचक सँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन एक अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार भने एक अर्ब २५ करोड रुपैयाँमा खुम्चिएको छ । सबैभन्दा बढी प्रभु बैंकको संस्थापक सेयर बिक्री भएको छ । बैंकको एकैदिन ६ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने प्रतिकित्ता १०८ रुपैयाँ छ । घटेको बजारमा सबैभन्दा बढी सेयर मूल्य बढ्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । जसको सेयर मूल्य ७.८७ प्रतिशतले बढेको हो । यता १० प्रतिशतले सेयर मूल्य घट्नेमा दुई कम्पनी छन् । सयपत्री हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट नेपालको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । कूल १३ वटा समूहमध्ये जीवन बीमा समूह नै सबैभन्दा बढी अर्थात २०७.९१ अंकले घटेको छ ।
बैंकहरुले वित्तीय विवरण सार्वजनिक गर्ने म्याद थप, कहिलेसम्म गर्नुपर्छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई वित्तीय विवरण सार्वजनिक गर्ने म्याद थपिदिएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको मासिक र त्रैमासिक विवरण सार्वजनिक गर्ने म्याद थपिदिएको हो । यससँगै बैंक तथा वित्तीय संस्थाहरुले चालु आवको पहिलो त्रैमासको लागि अन्तरिम वित्तीय विवरण आगामी कार्त्तिक १७ गतेसम्म प्रकाशित गर्न सक्ने छन् । यसअघि उक्त विवरण महिना सकिएको ७ दिनभित्रमा राष्ट्र बैंकलाई पठाउनु पर्ने र हरेक त्रैमासको महिना सकिएको मितिले ७ दिनभित्र अन्तरिम वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था थियो ।
सौराहामा ४५ करोडमा बनेको बनबास रिसोर्ट सञ्चालनमा, जोडीलाई एक दिनको १० हजार रुपैयाँ
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्रका सात वटा होटल बन्द भएको १२ वर्षपछि तिनै होटलको झल्को दिने गरी सौराहामा सिद्धार्थ भिलासा बनबास रिसोर्ट सञ्चालनमा ल्याइएको छ । वरिपरी जङ्गललले घेरिएको रिसोर्टभित्र पनि विभिन्न जातका रुख बिरुवाले निकुञ्जको झल्को दिने गर्दछ । रिसोर्ट छिर्ने जोकोहीलाई निकुञ्जभित्र पुगेको आभाष हुन्छ । सौराहाको बजारी क्षेत्रबाट केही पर खैरहनी नगरपालिका-१३ हर्नरीमा यो रिसोर्ट छ । वन र वन्यजन्तु संरक्षणको क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताएका संरक्षणकर्मी स्थानीयवासी वासु ढुङ्गानाले नौ वर्षअघि रिसोर्ट निर्माणको सुरु गरेका थिए । बन्दै गर्दा संविधानसभा सदस्य एवं व्यवसायी उमेश श्रेष्ठ पनि जोडिएका थिए । यससँगै नेपालमा हस्पिटालिटी क्षेत्रमा ख्याती कमाएको सिद्धार्थ ग्रुपसमेत यसमा जोडिएर रिसोर्ट सञ्चालनमा ल्याइएको हो । चितवन राष्ट्रिय निकुञ्ज स्थापना भन्दा पहिला खुलेको टाइगर टप्ससहित सात वटा होटल विसं २०६८मा बन्द भएपछि खर्चालु पर्यटक यहाँ आउने क्रम घटेकामा यस होटलले त्यस्ता पर्यटकलाई भित्र्याउन समेत सहयोग पुग्ने अपेक्षा लिइएको छ । सिद्धार्थ हस्पिटालिटीले आफ्नो लक्जरी ब्राण्ड सिद्धार्थ भिलासाको दोस्रो शाखाको रूपमा यो रिसोर्ट सञ्चालनमा ल्याएको सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए । उनका अनुसार ग्रुपका होटल, रेष्टुरेन्ट, बेकरी क्याफे, होटल व्यवस्थापनजस्ता हस्पिटालिटी क्षेत्रमा ३० वटा शाखा सञ्चालनमा छन् । न्यौपानेले आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन यो होटल सहयोगी बन्ने बताए । रिसोर्ट निर्माणमा ४५ करोड खर्च भएको जानकारी दिँदै बनबास चितवन प्रालिका अध्यक्ष वासु ढङ्गानाले रिसोर्ट स्थापनासँगै देश तथा विदेशबाट बुकिङ गर्नेक्रम सुरू भएको बताए । तीन बिघा पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको यो रिसोर्ट कुमरोज र जन्कौली मध्यवर्ती सामुदायिक वन नजिक छ । यहाँ २४ भिल्ला र दुई स्वीटसहित ३४ सुविधायुक्त कोठा छन् । ‘भिल्ला काठले बनेका, माटोले पोतिएका, खपटाले छाएका छन् । सम्पूर्ण भिल्लाको नामाकरण चाराको नामबाट राखिएको छ । रिसोर्ट परिसरमा ठूलो ताल र स्विमिङ पुल पनि निर्माण गरिएको छ,’ उनले भने । रिसोर्टमा दुईवटा सभा कक्ष रहनाका साथै नजिकै रहेका सामुदायिक वनमा रमाउने जनावरको दृश्यावलोकन गर्न सकिने रेष्टुराँ पनि छ । यहाँ बस्न विदेशी पर्यटकले दुई रात, तीन दिनको प्याकेजका लागि २५० देखि चार सय डलरसम्म तिर्नुपर्छ । यो रकमबाट पर्यटकले हात्ती सफारीबाहेकका प्याकेज प्राप्त गर्न सक्छन् । आन्तरिक पर्यटक एक जोडीलाई १० हजार रुपैयाँमा एक रात बसाइँ र ब्रेकफास्टको सुविधा रहेको अध्यक्ष ढुङ्गानाले जानकारी दिए । होटल आइतबार घटस्थापनाका दिन शुभारम्भ गरिएको थियो । रासस
१ लाख लगानी गर्नेलाई युनिलिभरले बनायो करोडपति, यस्तो छ लाभांश इतिहास
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २६ गते संचालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १५८० प्रतिशत अर्थात् प्रतिसेयर १५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले प्राप्त गर्नेछन् । जुन हालसम्मकै उच्च हो । कम्पनीले आर्थिक वर्ष २०६६/६७ मा ५९० प्रतिशत, आर्थिक वर्ष २०६८/६९ मा ६८० प्रतिशत, आर्थिक वर्ष २०६९/७० मा ७६० प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा ८६० प्रतिशत, आर्थिक वर्ष २०७१/७२ मा ९९० प्रतिशत र आर्थिक वर्ष २०७२/७३ मा १०२० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७३/७४ मा १२७० प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा ७ सय प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा ७७० प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा १ सय प्रतिशत र आर्थिक वर्ष २०७७/७८ मा ६५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सबैभन्दा धेरै मूल्य भएको कम्पनी हो युनिलिभर नेपाल । यस कम्पनीको सेयर मूल्य नेप्सेमा सूचीकृत अन्य कम्पनीको तुलनामा सबैभन्दा धेरै छ । सन् २००७ जुलाई २९ तारिखका दिन नेप्सेमा सूचीकृत भएको पुरानो कम्पनीमध्येमा युनिलिभर पनि पर्छ । कम्पनीको चुक्ता पूँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ छ । नेप्सेमा यस कम्पनीको ९ लाख २० हजार ७ सय कित्ता सेयर सूचीकृत छन् । सोमबारको सेयर कारोबारका आधारमा बजार पूँजी ३२ अर्ब ४१ करोड ७८ लाख ४७ हजार रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य सोमबार ३७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि कम्पनीको सबैभन्दा धेरै सेयर मूल्य ३९ हजार ९३० रुपैयाँ हाराहारीमा पुगेको थियो । १२ वर्ष अगाडि युनिलिभरको १ हजार कित्ता सेयर पाउन असम्भव नै थियो । यदि कम्पनी नेप्सेमा सूचीकृत हुँदा संस्थापक सेयरधनीसँग एक हजार कित्ता सेयर थियो भने २०६६/६७ पछिको नगद लाभांशलाई मात्रै गणना गर्दा सो सेयरधनीले सवा १ करोड रुपैयाँ बढी लाभांश प्राप्त गरेको देखिन्छ । कम्पनीले १२ वर्षको अवधिमा हालसम्म निरन्तर नगद लाभांश मात्रै वितरण गर्दै आएको छ । सो अधारमा १२ वर्षअघि १ लाख रुपैयाँ लगानी गर्ने लगानीकर्तालाई कम्पनीले करोडपति बनाएको हो । १२ वर्षअघि १ लाख रुपैयाँमा १ हजार कित्ता सेयर किने लगानीकर्ताले १२ वर्षपछि १ करोड ११ लाख ८५ हजार रुपैयाँ बराबरको प्रतिफल प्राप्त गरेको देखिन्छ । १२ वर्षअघि भने युनिलिभरको वास्तविक सेयर मूल्य ५ हजार ८ सयको हाराहारीमा थियो । युनिलिभर नेपाल २८ बर्षभन्दा लामो इतिहास बोकेको कम्पनी हो । यस कम्पनीमो होम केयर (घरगृहस्थ उपयोगका वस्तु) ब्यूटि एण्ड पर्सनल केयर (सौन्दर्य प्रशाधन तथा वैयतिक उपयोगका बस्तु), फुड्स एण्ड रिफ्रेसन्ट (खाद्य तथा पेय)–अन्तर्गत लगानी–व्यवस्थापन श्रृङखलाका ब्रान्डहरु उपलब्ध छन् ।
लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत, प्रत्येकलाई १० हजार जरिवाना
ललितपुर । लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार सहितको टोली बजार अनुगमनमा जाँदा लगनखेलको इटिटोल र लगनखेल बजारका अधिकांश मासु पसल तथा केही फलफूल तथा जुस पसल मापदण्ड विपरीत चलेको, म्याद नाघेका जुस भेटिएको हो । ‘लगनखेलका मासु तथा फलफूल पसल मापदण्डअनुसार नचलेको, गुणस्तर कायम नगरेको पाइयो, अनुगमन गरेकामध्ये दुई वटा मासु पसल र दुई वटा फलफूल तथा जुस पसललाई रु १० हजारका दरले जरिवाना र सचेत गराएका छौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले भने । अनुगमनका क्रममा लगनखेलको तरकारी बजारभित्रको शिव फलफूल जुस पसलमा म्याद नाघेका रियल जुसका प्याकेट भेटिएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले हरेक महिना तालिका बनाएर छड्के अनुगमन गर्ने जानकारी गराए । रासस
बीवाईडीको नयाँ शोरुम सोल्टीमोडमा, छिट्टै अन्य स्थानमा विस्तार गर्ने
काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक सिमेक्स ईं. प्रा. लि.ले काठमाडौंमा बीवाईडी सिटी स्टोरको शुभारम्भ गरेको छ । बीवाईडीका विद्युतीय सवारीसाधनलाई धेरै भन्दा धेरै ग्राहकहरू माझ पुर्याउने लक्ष्यसहित कम्पनीले घटस्थापनाका दिन काठमाडौंको सोल्टीमोडमा एक समारोहबीच उक्त शोरुमको उद्घाटन गरेको हो । बीवाईडीको नेपालमा मात्रै १२ वटा बिक्रेताहरूको नेटवर्क छ । कम्पनीले छिट्टै अन्य स्थानमा पनि विस्तारको योजना बनाएको छ । नयाँ शोरुमको उद्घाटन भने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद विराजभक्त श्रेष्ठले गरेका थिए । उनले सोल्टीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको भन्दै टिमलाई शुभकामना प्रदान गरेका थिए । त्यसैगरी, साईमेक्स कम्पनीका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले यस क्षेत्रमा अग्र र उच्च गुणस्तरका विद्युतीय सवारीसाधनको प्रदर्शनी र प्रवर्द्धनमा यो शोरुमले उल्लेखनीय भूमिका खेल्ने बताइन् ।
विद्युत प्राधिकरणले पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ, छिट्टै आईपीओ जारी गर्ने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । अघिल्लो वर्ष पनि प्राधिकरणले सोही रेटिङ पाएको थियो । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ । इक्रा नेपालले प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यवसायिक तथा वित्तीय जोखिमहरुको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा वाह्य वातावरणीय तत्वहरुलगायतको विश्लेषण गरेको थियो । सोही विश्लेषणका आधारमा प्राधिकरणको क्रेडिट रेटिङ गरिएको हो । क्रेडिट रेटिङमार्फत कुनै व्यक्ति वा संगठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्याङ्कन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ । यसमा संस्थाको ऋण दायित्व भुक्तान गर्ने क्षमता सम्बन्धमा निहित जोखिमबारे सरल र बुझ्न सकिने सांकेतिक सूचकका रुपमा राय दिइन्छ । विद्युत् उत्पादन, प्रसारण र वितरणलाई सक्षम, भरपदो र सर्वसुलभ गरी विद्युत् आपूर्तिको समुचित व्यवस्था गर्न सरकारको पूर्ण स्वामित्वमा प्राधिकरण स्थापना गरिएको हो । प्राधिकरणले देशभित्र विद्युत् उत्पादन, प्रसारण र वितरणका अतिरिक्त आन्तरिक तथा सीमापार विद्युत् व्यापार पनि गरिरहेको छ । सरकारले विद्युत् विकासका आफ्ना कार्यक्रमहरु कार्यान्वयन गर्न वार्षिक रुपमा बजेट विनियोजन, सेयरमा लगानी (नगद वा व्याज/साँवा पूँजीकरण) र अन्य आवश्यक रकम/सञ्चालनमार्फत प्राधिकरणलाई सहयोग गरिरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिक निकायहरुमध्ये प्राधिकरणले डबल ए प्लस क्रेटिड रेटिङ पाएकाले संस्थामा वित्तीय दायित्व बहन गर्न सक्ने उच्चतहको सुरक्षित क्षमता देखिएको बताए । प्राधिकरणले तेस्रो वित्तीय पुनर्संरचना गरी नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर सर्वसाधारणमा जारी गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरिसकेको छ । प्राधिकरणको चुक्ता पूँजी करिब ३ खर्ब रुपैयाँ कायम गरी त्यसको १० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरी करिब ६० अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर सर्वसाधारणलाई निश्कासनको प्रस्ताव गरिएको छ । प्राधिकरणको सेयरको प्रतिकित्ता किताबी मूल्य करिब १२५ रुपैयाँ कायम गर्ने र त्यसमा त्यती नै रकम प्रिमियम थप गरी सेयर निश्कासनको प्रस्ताव गरिएको छ । कार्यकारी निर्देशक घिसिङले संस्थाको क्रेडिट रेटिङ भइसकेकाले सरकारबाट स्वीकृति पाउनसाथ सेयर निश्कासनको प्रक्रिया अगाडि बढाउन सकिने बताए । ‘क्रेडिट रेटिङबाट संस्थाको वित्तीय स्वास्थ्य राम्रो देखिएको छ, ऋण तिर्न सक्ने क्षमतामा सक्षमता देखिएको छ, आन्तरिक माग धान्न हिउँदका केही महिनामा हुने विद्युत् आयात प्रतिस्थापन छिट्टै हुँदै छ भने हरेक वर्ष हुने विद्युत् निर्यात बृद्धि, आन्तरिक रुपमा हुने विद्युत् खपत बृद्धि तथा प्रणालीको चुहावट नियन्त्रणमा हासिल भइरहेका सफलताले संस्थाको नाफा बढ्दै जाने छ’,घिसिङले भन्नुभयो । ‘विद्युत् उत्पादनतर्फका आयोजनाहरु निर्माण र विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रणाली सुधार तथा विस्तारका लागि ठूलो पूँजी आवश्यक पर्ने छ, यसका लागि संस्थाले कमाएको नाफा र सेयर निश्कासनबाट प्राप्त हुने रकमबाट लगानीको खाडल पूरा गर्ने योजना बनाएका छौं ।’ प्राधिकरणले स्वदेशी तथा विदेशी लगाीकर्ताहरुले निर्माण गर्ने जलविद्युत आयोजनाहरुसँग दीर्घकालीन विद्युत खरिद सम्झौता ९पिपिए० गरहेको छ । क्रेडिट रेटिङको नतिजाले त्यस्ता आयोजनाको रकम भुक्तानी गर्न प्राधिकरणसँग उच्चस्तरको वित्तीय क्षमता रहेकाले लगानी जोखिम नरहेको देखाएको छ । इक्रा नेपालले प्राधिकरण सरकारको पूर्ण स्वामित्वमा रहेको, विद्युत प्रसारण, वितरण र मुलुकभित्र तथा बाहिरी मुलुकसँग विद्युत खरिद बिक्रीको एकाधिकार प्राप्त तथा सरकारको रणनीतिक संस्था भएको, सहायक कम्पनीसहित करिब एक हजार एक सय मेगावाटको विद्युत उत्पादन क्षमता भएको, सरकारले हरेक वर्ष बजेटमार्फत ऋण र सेयरमा लगानी गर्ने गरेको उल्लेख गरेको छ । प्रसारण तथा वितरण प्रणाली सुधार तथा विस्तारका लागि गरिएको पूँजी प्रतिबद्धाले प्राधिकरणलाई अल्कालीन रुपमा संस्थाको नगद प्रवाहमा चाप पार्न सक्ने इक्रा नेपालले उल्लेख गरेको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८०मा १२ अर्ब ३३ करोड रुपैयाँको खुद नाफाको प्रक्षेपण गरेको छ । प्रणालीको विद्युत् चुहावट १३.४६ प्रतिशत छ ।
नेपाल स्टार्टअप फेस्ट २०२३ आगामी डिसेम्बरमा हुने, लगानीका लागि ११ कम्पनीसँग सहमति
काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करण आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको छ । सन् २०२२ मा नेपाल स्टार्टअप फेस्टको पहिलो संस्करण सम्पन्न गरेको मञ्चले दोस्रो संस्करणको नेपाल स्टार्टअप फेस्टमा सहभागिताका लागि आवेदन पनि खुला गरेको छ । हालै राजधानीमा आयोजित एक कार्यक्रममा मञ्चले स्टार्टअप कम्पनीमा लगानीका लागि ११ वटा कम्पनीसँग समझदारी समेत गरेको छ । एनएमबी क्यापिटल, हिमालयन, ग्लोबल इक्वीटी, टीम भेन्चर्स, टेली भेन्चर्स, नियोटेरिक, लोटस होल्डिङ, एनआइबीएल एस क्यापिटल, अवसर, रिलायबल र अध्यान्तासँग मञ्चले लगानीका लागि समझदारी गरेको हो । यी कम्पनीहरुसँग स्टार्टअप तथा अन्य क्षेत्रमा लगानी गर्न सक्ने करिब २५ अर्ब रुपैयाँ रहेको जनाइएको छ । सोही कार्यक्रममा नेपाल उद्योग परिसंघ, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च, टिम भेन्चर्ससँगको को अगुवाइमा स्थापना गरिएको ग्रोथ एक्स एभरेष्टको पहिलो ब्याचका स्टार्टअप कम्पनीलाई दिक्षित पनि गरिएको छ । ग्रोथएक्स एभरेष्टको पहिलो ब्याजका रुपमा छानिएका ८ वटा स्टार्टअप कम्पनीलाई ६ महिनाको तालिम प्रदान गरिएको थियो । बिहे नेपाल, डक्टर्स अन कल, फोकसवान, कारखाना, भेदा, डेलिस डेरिज्, सेभेन मल्टी ट्रेडिङ र वाइजयाक स्टार्टअप कम्पनीलाई ६ महिनाको तालिम दिइएको थियो । तालिम प्राप्त गरेका मध्ये ६ वटा स्टार्टअप कम्पनीहरुले उल्लेखित ११ वटा लगानी कम्पनीसमक्ष आफ्नो नविन सोंचका बारेमा प्रस्तुतीकरण समेत गरेका छन् । ११ वटा कम्पनीले ती स्टार्टअपमा गर्ने लगानीको विषयमा छिट्टै घोषणा गर्नेछन् । सो अवसरमा राष्ट्रिय योजना आयोगका सचिव डा. तोय नारायण ज्ञवाली, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव जीवलाल भुसाल सहभागी भई स्टार्टअपहरुलाई हौसला प्रदान गरेका थिए । नेपाल स्टार्टअप फेस्ट २०२३ घोषणा गर्न आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको स्टार्टअप इकोसिस्टम राम्रो सुरुवात भएको बताए । स्टार्टअपहरूले आर्थिक र सामाजिक रूपान्तरणको महत्वपूर्ण शक्ति बन्ने सम्भावना राखेको भन्दै नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च स्टार्टअपहरुका चुनौतीको सामना गर्न पूर्ण रुपमा सघाउन तयार रहेको उनले बताए । मञ्चका अध्यक्ष अनुराग गोयलले पहिलो संस्करणको अपार सफलतासँगै दोस्रो संस्करण घोषणा गरिएको बताए । युवाहरुबाट युवाहरु तथा देशमा स्टार्टअपहरुलाई प्रोत्साहन गर्न आफूहरुले जनाएको प्रतिबद्धता अनुरुप फेस्ट आयोजना गर्न लागेको उनले बताए ।