विकासन्युज

ठूलो खोला हाइड्रोमा जुट्यो लगानी, सिटिजन्सको अगुवाईमा दुई वाणिज्य बैंकले लगानी गर्ने

काठमाडौं । २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावरमा ऋण लगानीको टुंगो लागेको छ । जसमा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा लगानी जुटेको हो । यस आयोजनामा कृषि विकास बैंक र माछापुच्छ्रे बैंकको पनि लगानी रहनेछ । असोज २९ गते सोमबार भएको लगानी सम्बन्धी सम्झौतामा देव ग्रुपका अध्यक्ष तथा यस कम्पनीका कार्यकारी अध्यक्ष नरेन्द्र बल्लभ पन्त र सिटिजन्स बैंकका कन्सोर्टियमरपूर्वाधार बैंकिङ एकाइका प्रमुख रोसन मल्लले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा सिटिजन्स बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल, बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुमित बाबु खत्री, चिफ क्रेडिट अफिसर सुमन मुलापाती, कृषि विकास बैंकको तर्फबाट हरी अधिकारी, विश्व बन्धु भट्टराई, माछापुच्छ्रे बैंकको तर्फबाट अनिल सिवाकोटी साथै आयोजना कम्पनीको तर्फबाट चिफ अपरेटिङ्ग अफिसर नविन सिलवाल, वित्तीय प्रमुख प्रदिप खतिवड र सिभिल इन्जिनिय प्रमुख सिवसागर यादवको उपस्थिति रहेको थियो । यस आयोजनामा ३ अर्ब ९४ करोडको लागत अनुमान गरिएको छ । जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी हुने सम्झौतमा उल्लेख छ । २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर आयोजना माग्दीको राघुगंगा गाउँपालिका वडा नम्वर ७ र ८ को ठूलो खोला निर्माणधिन भैरहेको छ । अयोजना ३४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तले बताएका छन् । २०८२ सालको असोज २८ गते निर्माण सम्पन्न गर्ने मिति तोकिए भएपनि त्योभन्दा पहिले नै आयोजना सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने गरी काम तीव्र गतिमा भैरहेको अध्यक्ष पन्तले जानकारी दिए । यस ठूलो खोला हाइड्रोपावर आयोजनामा देव ग्रुपकै स्वामित्व रहेको अर्को आयोजना प्रोजेक्ट टक्सार पिखुवा हाइड्रोपावरको समेत लगानी रहेको छ । टक्सार पिखुवा हाइड्रोपावर विगत २ वर्ष अगाडि नै सम्पन्न भई विद्युत उत्पादन गरीरहेको कम्पनी हो । यो कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । ठूलो खोला हाइड्रोले आईपीओ जारी गर्नको लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

चीनको चांगन अटोले नेपाली बजारमा भित्राउँदै विद्युतीय गाडी

काठमाडौं । चीनको चांगन अटोले नेपाली बजारमा पहिलो विद्युतीय गाडी भित्र्याउने भएको छ । चांगनले अत्याधुनिक प्रविधिबाट बनेको चांगन डीपल एस७ इभी एसयूभीलाई नेपाली बजारमा ल्याउने भएको हो । कम्पनीका अनुसार उक्त गाडी स्न २०२४ को पहिलो त्रैमासमा नेपाल भित्रिने छ । एमएडब्लु भ्रिद्धी चांगन अटोको लागि नेपालको आधिकारिक बिक्रेता हो । कम्पनीको अनुसार डीपल एस७ इभी एसयूभी एउटा महत्वपूर्ण गाडी भएको र यसले चांगन अटोलाई नेपाली बजारमा थप नयाँ आयाम प्रदान गर्नेमा कम्पनी विश्वास छ ।

हुन्डाई कोनाः नेपालको सबैभन्दा सिद्ध र सफल विद्युतीय गाडी

काठमाडौं । नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरूको बजारमा हुन्डाई कोनाले आफ्नो पृथक पहिचानसहित दरिलो उपस्थिति जनाउँदै आइरहेको छ । नेपाली बजारमा इलेक्ट्रिक भर्सनमा आएको एसयुभीमा सम्भवतः पहिलो गाडी हुन्डाई कोना हो । सन् २०१९ देखि नेपाली बजारमा बिक्री सुरु भएको हुन्डाई कोना हालसम्म एक हजारभन्दा बढी बिक्री भएको छ । २०१९ मा भारतबाट सुरु गरिएको ‘इमिशन इम्पोसिबल’ नामक मिशनअन्तर्गत कोना इलेक्ट्रिकले विश्वको सबैभन्दा अप्ठ्यारो भू-भागमा पर्फरमेन्स गर्दा कुनै सम्झौता नगरी ७०० किलोमिटरको यात्रा १७ हजार फिटको उचाई र १२ डिग्रीको तापक्रम पार गर्दै सगरमाथाको आधार शिविरसम्म पुगेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएको थियो । यस अभियानमा कोना इलेक्ट्रिकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफिलो परिस्थितिजस्तो कठोर मौसमी अवस्थामा उच्च प्रदर्शन गरेको थियो । नेपालमा सन् २०१९ मा पहिलोचोटि लन्च गरिएको कोना अहिले फेसलिफ्ट भर्सनमा उपलब्ध छ । ५ वर्षसम्म बजारमा रहनु र धेरैको पहिलो रोजाइ बन्नुले यो एउटा सफल र सिद्ध विद्युतीय गाडी बन्न सफल भएको कम्पनीको भनाई छ । नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले विद्युतीय गाडीलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। अक्टोबर ६ देखि ८ सम्म सञ्चालन गरिएको ‘हुन्डाई फेस्टिभ कार्निवल’मा २०० भन्दा बढी सवारीधनीको इभी एमए परीक्षण गरिएको थियो । जसअनुसार ४ वर्षसम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति ९५ प्रतिशतभन्दा बढी पाइएको थियो । कम्पनीका अनुसार विश्वव्यापी रूपमा निकै रुचाइएको कोना नेपाली बजारमा पनि धेरै रुचाइएको छ। हुन्डाई कोनाले स्थापना गरेको विद्युतीय गाडीप्रतिको विश्वास, आफ्नो सर्वाधिक रि-सेल भ्यालुबाट दोस्रो बजारमा समेत आफ्नो पहिचान मजबुत बनाएको कम्पनीको दावी छ ।

सानिमा सेक्यूरिटीजले सदस्यता पाएको एक महिनामा शुरु गर्यो कारोबार

काठमाडौं । सानिमा सेक्यूरिटीज अर्थात ब्रोकर नं. ८३ ले असोज २९ गतेदेखि आफ्नो कारोबार शुरु गरेको छ । उक्त कार्यक्रमको उद्घाटन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र यस सानिमा सेक्यूरिटीजका सञ्चालकहरुले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले सानिमा सेक्यूरिटीजको कारोबार सञ्चालनमा आएकोमा बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय धितोपत्र दलालको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना दिए । सानिमा सेक्यूरिटीजले २०८० साउन १० गतेको दिन नेपाल धितोपत्र बोर्डबाट र २०८० भदौ २५ गते नेपाल स्टक एक्सचेन्जबाट सदस्यता प्राप्त गरेको थियो ।

स्वास्थ्य क्षेत्रमै पहिलो पटक आईपीओ जारी गर्दै ह्याम्स अस्पताल, १७ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स अस्पताल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनी पब्लिक लिमिटेडमा गएपछिको पहिलो साधारण सभाले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता सेयर जारी गर्ने निर्णय गरेको हो । जुन जारी पुँजीको १५ प्रतिशत हो । प्रतिकित्ता एक सय रुपैयाँका दरले सर्वसाधारणमा सेयर जारी हुनेछ । यसैमध्येबाट बढीमा ५ प्रतिशत सेयर कर्मचारीका लागि जारी गरिने साधारण सभाले निर्णय गरेको छ । बाँकी ८५ प्रतिशत सेयर स्वामित्व भने संस्थापक समूहको हुने अस्पतालले जनाएको छ । अस्पतालले सेयर निष्काशनका लागि ब्रिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई समेत नियुक्त गरिसकेको छ । साधारण सभाले आफ्ना सेयरधनीहरूलाई १७.३८ प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । त्यसपश्चात कम्पनीको कुल पुँजी ६३ करोड ७५ लाख रुपैयाँ हुनेछ । साधारण सभाले ५ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । जसमा संस्थापक सेयरधनीको तर्फबाट राम शरण भण्डारी, दल बहादुर भण्डारी र प्रेम बहादुर भण्डारी नियुक्त भएका छन् । यस्तै, सर्वसाधारण तर्फ गीता जोशी सायमी नियुक्त भएका छन् । साधारणसभाले स्वतन्त्र सञ्चालकमा टंकमणी शर्मालाई नियुक्त गरिएको छ । स्वास्थ्य क्षेत्रमा समेत अनुभव र प्रशासकीय अनुभव भएका शर्मा पूर्व महालेखा परीक्षक हुन् ।

तीन दिनमा एक लाख ५० हजार यात्रु बाहिरिए

काठमाडौं । नेपालीहरुको महान् पर्व दशैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकाशं विद्यालय, कलेज र संघ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु जन्मघर जान थालेका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा एक लाख ५० हजार तीन सय नौ यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए । उनका अनुसार असोज २७ बिहान ६ बजेसम्म ४७ हजार छ सय ४३, असोज २८ गते बिहान ६ बजेसम्म ५१ हजार दुई सय ७९ र आज बिहान ६ बजेसम्म ५१ हजार तीन सय ८७ यात्रु बाहिरिएका छन् । ट्राफिकले अघिल्लो  दिन बिहान ६ बजेदेखि भोलिपल्ट ६ बजेसम्मको रेकर्ड राख्दै आएको छ । ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि काठमाडौँ उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । चाडपर्वको यातायात सहजताका लागि ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र एक हजार आठ सय जनशक्ति परिचालन गरेको प्रवक्ता भट्टले बताए । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमासमेत घर जाने यात्रुको भीड लागेको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँ बसपार्कबाट बाहिरिन थालेको बताए । ‘लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्याधिक भीड लागेको छ, हामीले अहिले नयाँबसपार्कबाट बस छुट्ने समयसमेत अन्य समयको भन्दा अगाडि सारेका छौँ’, उनले भने । दशैँका लागि हालसम्म ७० हजार यात्रुले अग्रिम टिकट काटिसकेको लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले जानकारी दिए । सरकारले दसैँको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि असोज २६ गते देशैभरका सार्वजनिक सवारी साधनमा रुट परमिटसमेत खुला गरिसकेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको बताए । यात्रुलाई सहज रुपमा गन्तव्यस्थल जानका लागि महासङ्घले केही बससमेत थप गरेको उनको भनाइ छ ।

अर्थतन्त्र विस्तारै लयमा फर्किंदै छः अर्थमन्त्री डा. महत

फाइल फोटो काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको बताएका छन् । सोमबार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले समग्रमा देशमा अनेकन समस्याहरु रहेको भन्दै सबैले आफ्नो आफ्नो स्थानबाट सकारात्मक पहल गर्न आग्रह गरे । अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको बताउँदै उनले अर्थ मन्त्रालय र सरकार मात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने भन्दै यसका लागि सबै पक्षहरु एकजुट भएर लाग्नुपर्ने बताए । ‘अहिले समग्रमा देशमा अनेकन समस्याहरु छन् । अन्तर्राष्ट्रिय तहमा पनि अहिले धेरै खाले समस्याहरु छन् । हिजो पनि द्वन्द्वका परिवेशहरु थिए, अहिले पनि नयाँ नयाँ द्वन्द्वका क्षेत्रहरु देखिरहेका छन् । मध्यपूर्वमा धेरै ठूलो द्वन्द्व बढेको छ । अझ बढ्ने सम्भावना र खतरा छ । अन्तर्राष्ट्रिय स्तरमा शक्ति राष्ट्रहरुले यसलाई समयमा नै रोकेनन् भने यसले नराम्रो रुप लिनसक्छ । यसको प्रभाव हामीले पनि भोग्नुपर्छ । अन्तर्राष्ट्रिय तहमै आर्थिक मन्दीको स्थितिमा छ । त्यो मध्येबाट नेपाल पनि अछुतो रहेको छैन, उनले भने- ‘तर मलाई लाग्छ, बिस्तारै हामी अन्तर्राष्ट्रिय परिवेश नकारात्मक हुने अवस्था नआसओस् भन्ने चाहन्छौँ । त्यो नभएको अवस्थामा बिस्तारै हाम्रो अर्थतन्त्रमा सुधार आउँछ । सकारात्मक कुरा देखिएका छन् । त्यसका बाबजुद अफ्ठ्यारा बाँकी छन् । त्यसलाई सबैले मिलेर समाधान गर्नुपर्छ । अर्थमन्त्रालय, सकरारले मात्रै गरेर समाधान हुँदैन । सबैले आफ्नो आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।’ मन्त्री महतले अर्थतन्त्र राम्रो बनाउन सरकारले पहल गरिरहेको समेत जानकारी गराए ।

हामी काठमाडौं आउँदा भारतको बाटो भएर आउथ्यौं, अहिले त्यो सुधार भएको छ : परराष्ट्र मन्त्री साउद

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले सुदूरपश्चिम भौगोलिक रुपमा टाढा भएका कारण सुदूरपश्चिमवासीले दुख खेप्नुपरेको बताएका छन् । सुदूरपश्चिम पत्रकार समाज काठमाडौंले आयोजना गरेको दशैं, तिहार, छठ तथा नेपाल संवत् विशेष शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘दशैंतिहारको बेला हवाई भाडा १८ हजार र सार्वजनिक यातायातको भाडा पनि उच्च थियो, हामी काठमाडौं आउँदा भारतको बाटो भएर आउथ्यौं, अहिले त्यो अवस्था क्रमिक रुपमा सुधार भएको छ,’ उनले भने । भौगोलिक रुपमा टाढा भएका कारण सुदूरपश्चिमवासीले दुःख खेप्नुपरेको बताउँदै उनले विकास निर्माणमा सैद्धान्तिक रुपमा दुर्गम ठाउँ प्राथमिकता पर्छ तर व्यवहारमा त्यो लागू हुन नसकेको भनाई राखे । त्यस्तै, सुदूरपिश्चमले जनसंख्याअनुसारको बजेट पाउन नसकेको उनले बताए । ‘देशकै सबैभन्दा धेरै सम्भावना भएको प्रदेश सुदूरपश्चिम हो, जस्तो जलस्रोतको पहिलो धनी पनि सुदूरपश्चिम हो, सुदूरपश्चिमका देबिदेवताको बारेमा प्रचार प्रसार गर्न सकियो भने एक अर्ब बढी जनसंख्या भएको भारतबाट पर्यटन भित्र्याउन सकिन्छ,’ मन्त्री साउदले भने । साथै, उनले एनजीओले चलाएको जस्तो गलत प्रचार देउकी र छाउपडी प्रथा सुदूरपश्चिममा नभएको जानकारी गराएका छन् ।