एक दर्जन लघुवित्त मर्जर प्रक्रियामा, कुनको को सँग ?
काठमाडौं । पछिल्लो समय लघुवित्त संस्थाहरुमा मर्जरको लहर चलेको छ । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने संस्थालाई सुविधा दिने भएपछि लघुवित्तहरु मर्जरमा जान थालेका हुन् । राष्ट्र बैंकले वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् नै निरन्तरता दिएको छ । २०८१ असारसम्म एकीकृत कारोबार गरे विभिन्न सहुलियत प्रदान गर्ने व्यवस्था गरेको छ । सोही अनुसार पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुमा पनि मर्जरको लहर चलेको हो । हालसम्म १२ वटा लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्ने तथा गाभिने र प्राप्तिका लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । साधना र सबैको लघुवित्त, किसान र जाल्पा सामुदायिक लघुवित्त, मानुषी र श्रृजनशील लघुवित्त, मिर्मिरे र नेरुडे लघुवित्त, सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्त, समता घरेलु र मनकामना स्मार्ट लघुवित्तबीच मर्जर सम्झौता भइसकेको छ । साधना लघुवित्त र सबैको लघुवित्तले गत भदौ १५ गते एक आपसमा गाभ्ने तथा गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता गरे । सम्झौता पत्रमा साधना लघुवित्तको तर्फबाट अध्यक्ष कृष्ण बहादुर थापा र सबैको लघुवित्तको तर्फबाट अध्यक्ष नारायण प्रसाद जोशीले हस्ताक्षर गरेका थिए । दुवै लघुवित्तको सेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुने सहमति भएको साधना लघुवित्तका सीईओ रेशम न्यौपानले बताए । मर्जरपश्चात् सबैको साधना लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्ने सहमति भएको उनको भनाइ छ । साथै, मर्जरपश्चात् लघुवित्त सञ्चालक समितिको अध्यक्षमा साधना लघुवित्तबाट थापा बन्ने छन् भने प्रमुख कार्यकारी अधिकृतमा सबैको लघुवित्तका केशब कुमार पौडेल नियुक्त हुने छन् । दुवै लघुवित्त राष्ट्रिय स्तरमा रुपमा कारोबार गरिरहेका छन् । सबैको लघुवित्तको केन्द्रीय कार्यालय तनहुँको बन्दिपुरमा छ भने साधना लघुवित्तको गोरखा हरमटारीमा छ । दुवै संस्था एक आपसमा मर्ज भएपछि केन्द्रिय कार्यालय चितवनमा राख्ने सहमति भएको छ । हाल सबैको चुक्ता पूँजी ३१ करोड ८६ लाख रुपैयाँ छ भने साधना लघुवित्तको चुक्ता पूँजी ३८ करोड २२ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ रहेको छ । मर्जर पश्चात् भने लघुवित्तको चुक्ता पूँजी ७० करोड रुपैयाँ पुग्ने सीईओ न्यौपानेले बताए । मर्जरपछि १८३ वटा शाखा कार्यालय पुग्ने छन् भने आगामी पुसम्म एकीकृत कारोबार गरिसक्ने लक्ष्य रहेको उनको भनाइ छ । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरमा जान गत साउन ९ गते प्रारम्भिक सम्झौतामा हस्ताक्षर भयो । दुई लघुवित्तबीच सेयर स्वाप रेसियो १ कित्ता सेयर बराबर १ कित्ता अनुपातमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो । सम्पत्ति र दायित्वको विस्तृत मूल्याङ्कन (डीडीए)मा फरक पर्याे भने सोही अनुसार स्वाप रेसियो निर्धाणरण गर्ने सहमति भएको छ । मर्जरपश्चात् लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा किसान लघुवित्तका सीईओ पर्वतकुमार कार्की नियुक्त हुने छन् भने अध्यक्षमा जाल्पा सामुदायिक लघुवित्तबाट बीर बहादुर अधिकारी रहने सहमति भएको छ । मर्जरपछि बन्ने संस्थाको नाम मातृभूमि लघुवित्त वित्तीय संस्था राख्ने सहमति भएको छ । तर, मर्जरपछि दुवै संस्थाको नाम जोडेर कुनै नाम राख्न राष्ट्र बैंकले स्वीकृति दिएमा त्यसमा पनि छलफल हुने उनले बताए । हाल किसान लघुवित्तको करिब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जाल्पा सामुदायिक लघुवित्तको १८ करोड रुपैयाँ रहेको छ । मर्जर पश्चात् चुक्ता पूँजी ६८ करोड रुपैयाँ पुग्ने छ । मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त संस्थाले मर्जरमा जान गत चैत २ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरे । मानुषी लघुवित्तका तर्फबाट अध्यक्ष पद्माशना शाक्य र श्रृजनशील लघुवित्तका तर्फबाट अध्यक्ष राजकुमार श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त र सिरहाको गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त दुवै संस्था बराबरी हैसियतमा मर्जरमा जान लागेका हुन् । दायित्वको विस्तृत मूल्याङ्कन (डीडीए) प्रतिवेदनमा फरक पर्याे भने सोही अनुसार स्वाप रेसियो निर्धाणरण गर्ने सहमति भएको छ । मर्जरपछि संस्थाको नाम मानुषी श्रृजनशील लघुवित्त वित्तीय संस्था रहने सहमति भएको छ । साथै, मर्जरपश्चात् लघुवित्तको अध्यक्ष सृजनशीलबाट राज कुमार श्रेष्ठ र सीईओ मानुषीबाट शोभा बज्राचार्य बन्नेछन् । दुवै संस्था राष्ट्रिय स्तरमा कारोबार गरिरहेका छन् । अबको केही महिनाभित्र मर्जर प्रक्रिया टुंग्याउने गरी काम भइरहेको सृजनशील लघुवित्तका सीईओ बटुक शमशेर श्रेष्ठले बताए । उनका अनुसार मर्जरपश्चात् ६९ वटा शाखा कार्यालय पुग्ने छन् भने चुक्ता पूँजी २२ करोड रुपैयाँ पुग्ने छ । राष्ट्र बैंकले एलओआई दिएका कारण मर्जर प्रक्रिया लम्बिएको उनको भनाइ छ । नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच गत पुस ११ गते मर्जर सम्झौता भएको हो । मोरङ्गको बिराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरूडे लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्तबीच १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुने छन् । मर्जरपश्चात् लघुवित्तको सीईओमा नेरुडे लघुवित्तबाट भोजराज बस्याल र अध्यक्ष मिर्मिरे लघुवित्तबाट बन्ने सहमति भएको छ । मर्जर पश्चात् नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपश्चात् लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३८ करोड रुपैयाँ, २५० शाखा, सेवाग्राही संख्या ३ लाख, निक्षेप ६ अर्ब २५ करोड, कर्जा लगानी १९ अर्ब रुपैयाँ र कर्मचारी संख्या १ हजार ३ सय जना पुग्ने छन् । सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्तबीच गत पुस १ गते मर्जर सम्झौता भएको हो । दुवै लघुवित्तको स्वाप रेसियो भने डीडीए रिपोर्ट अनुसार १ः०.८५ अनुपात कायम गरिएको सामुदायिक लघुवित्तका सञ्चालक हिरा लाल विश्वकर्माले जानकारी दिए । उनका अनुसार मर्जर पश्चात् सामुदायिक लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । साथै, मर्जर पश्चात् बन्ने लघुवित्तको अध्यक्षमा सामुदायिक लघुवित्तबाट र सीईओमा बिपीडब्लु लघुवित्तका सीईओ दिलिप पोख्रेल बन्ने छन् । मर्जर पश्चात् लघुवित्तको चुक्ता पूँजी १६ करोड रुपैयाँ पुग्नेछ । सामुदायिक लघुवित्तको हालको केन्द्रिय कार्यालयलाई केन्द्रिय कार्यालयको रुपमा तोकिएको छ । मर्जर लघुवित्तका ४१ वटा शाखा कार्यालय पुग्नेछन् । तर, केही शाखा दोहोरिएको हुँदा कम हुन सक्ने सञ्चालक विश्वकर्माले बताए । मर्जर प्रस्ताव पारित गर्नका लागि दुवै लघुवित्तले विशेष साधारण आह्वान गरेका छन् । साधारण सभाले पारित गरेपछि राष्ट्र बैंकले स्वीकृत दियो भने लगत्तै एकीकृत कारोबार गर्ने उनको भनाइ छ । समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ती गर्न गत भदौ ७ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गर्याे । मनकामना स्मार्ट लघुवित्त प्राप्तिपश्चात् समता घरेलु लघुवित्तको नामबाट कारोबार हुनेछ । सेयर स्वाप रेसियो १ः१ अनुपात कायम हुने प्रारम्भिक सहमति भएपछि डीडीए रिपोर्टमा फरक आयो भने सोही अनुसार स्वाप रेसियो निर्धारण गरिनेछ । माघसम्म एकीकृत कारोबार गर्ने लक्ष्य राखिएको भएपनि सम्भव नभएकाले बैशाखसम्म मर्ज गरिसक्ने तयारी रहेको छ । मर्जरपश्चात् समता लघुवित्तबाट डा.मदन घिमिरे सीईओ बन्ने छन् भने अध्यक्ष डीएम थेबे लिम्बु रहने छन् । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्तले रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रिय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने भएको हो । बागमति प्रदेश र लुम्बिनी प्रदेशमा कार्यक्षेत्र बनाई कारोबार गरिरहेका दुवै मर्जरपश्चात् राष्ट्रिय स्तरको लघुवित्तका रुपमा स्तरोन्नति हुनेछ । प्राप्ति पश्चात् समता घरेलु लघुवित्तको चुक्ता पूँजी ५७ करोड ५९ लाख रुपैयाँ पुग्ने छ भने कुल शाखा संख्या ९९ वटा पुग्ने छन् ।
भएका जहाज व्यवस्थापन गर्न नसक्ने मन्त्री किराती किन गर्दैछन् १० जहाज थप्ने स्टन्ट ?
काठमाडौं । विदेशी वायुसेवा कम्पनीहरुले चाडपर्वलाई लक्षित गर्दै धमाधम उडान बढाइरहँदा सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमको उडान तालिका प्रभावित बनेको छ । हाल ४ जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको निगमको एक वटा वाइडबडी जहाज बिग्रिएपछि नियमित उडान गर्दै आएको गन्तव्यका उडानहरु डिले तथा रद्द हुँदै आएका छन् । चाडपर्वको समयमा जहाज ग्राउण्डेड नै भएर उडान तालिका बिग्रिरहेका बेला विभागीय मन्त्रीका रुपमा काम गरिरहेका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती भने थप जहाज खरिद गर्ने घोषणा गरिरहेका छन् । विदेशी वायुसेवा कम्पनीले धमाधम उडान थप गरेर व्यापार गरिरहँदा विभागीय मन्त्रीले उडान व्यवस्थापनमा कुनै ध्यान नै नदिई स्टन्ट देखाउन नयाँ जहाज खरिद गर्ने गरेको निगमका अधिकारीहरु बताउँछन् । ‘निगमलाई कसरी हुन्छ नाफामुखी बनाउनु पर्ने जिम्मेवारी मन्त्रीको पनि हो, संकटको समयमा व्यवस्थापनमा कुनै चासो नदेखाएर बाहिर स्टन्टबाजी मात्रै गर्न थाले’, निगमका एक कर्मचारीले भने । गत सोमबार काठमाडौं–नारिता उडान गरेर फर्किएपछि निगमको (अन्नपूर्ण) एयरबस ३३० जहाज ग्राउण्डेड भएको छ । रुटिङ इन्फेक्सन (उडान साइकल) सकिनै लागेको भन्दै काठमाडौं–नारिता मात्रै उडान गर्दै आएको जहाज ६ दिनदेखि ग्राउन्डेड भएको हो । जहाजमा जडान गरिएकाे इन्जिनकाे ब्लेडहरूकाे रुटिङ इन्फेक्सन समयमै गर्न नसक्दा उडान साइकलमा सिमित बनेकाे थियाे । ६ दिनदेखि ग्राउन्डेड भएकाे उक्त वाइडबडी जहाजमा जडान गरिएकाे इञ्जिन निकालेर मर्मतको काम भैरहेको भन्दै ३/४ दिनमा उडान गर्ने निगमले जनाएको छ । निगमका एक क्याप्टेनले अहिले प्राविधिकले इन्जिन निकालेर अध्ययन गरिरहेको भन्दै छिट्टै उडान गर्ने आशा व्यक्त गरे । ‘विदेशी वायुसेवा कम्पनीहरुले चाडपर्वलाई लक्षित गर्दै धमाधम उडान संख्या थपिरहेका छन्, भएका जहाजले नियमित उडान गर्न समेका छैनन्, ती क्यापटेनले भने, ‘एउटा जहाज बिग्रिँदा उडान सेड्युल नै प्रभावित भएर यात्रुलाई होटलमा राख्नुपर्दा खर्च मात्रै बढेको छ, भएका जहाज व्यवस्थापन गर्न सकिएको छैन, यसमै थप जहाज थप्ने विषय स्टन्ट मात्रै हो ।’ भएका जहाजलाई समयमै मर्मत गरेर चाडपर्वको सयममा नियमित उडानको तयारी गर्नुपर्ने समयमा विभागीय मन्त्री भने स्टन्टवाजीमा लागेको उनको भनाइ छ । ‘मन्त्रीलाई निगमको कुनै वास्ता नै छैन, किन जहाज उडेन भन्नेतर्फ मन्त्रीको ध्यान छैन, गर्ननसक्ने ठूला कुरामात्रै गरेर निगमलाई झन डुबाउने खेलमा मन्त्री लागेको देखिन्छ,’ उनले भने । पर्यटनमन्त्री किरातीले निगमले यसै वर्षभित्र थप १० वटा जहाज खरिद गर्ने घोषणा गरिरहेका छन् । आइतबार मन्त्रीनिवास पुल्चोकमा सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री किरातीले निगमले १० वटा जहाज खरिद गर्ने उद्घोष गरेका हुन् । उनले नयाँ जहाज खरिदको प्रक्रिया दशैं अअघि नै सुरु गर्ने भन्दै छिट्टै निगमले थप नयाँ जहाज पाउने जानकारी गराए । मन्त्री किरातीले जहाजको संख्या कम हुँदा भाडा घट्न नसकेको र जहाज थप गर्दा भाडा घट्ने बताए । सबै महँगी नियन्त्रण गर्न सरकारले छुट दिन सक्नु पर्ने बताउँदै उनले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको बिसंगतिलाई ्हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताए । पर्यटनमन्त्री किरातीको निगमले नै जहाज थपेर भाडा घट्ने भन्ने तर्क भने हास्यास्पद छ । निगमले भने मन्त्री किरातीले भनेजस्तो १० वटा जहाज खरिदको विषय जानकारी नभएको बताएको छ । ‘सुरुवाती चरणमा तीन वटा जहाज ल्याउने गरी निगमले तयारी अगाडि बढाएको छ, मन्त्रीले भनेजस्तो यसै वर्षभित्र थप १० वटा जहाज खरिदको प्रक्रियामा अहिलेसम्म कुनै जानकारी भएको छैन’, निगम स्रोातले भन्यो, ‘माथिल्लो निकायमा भएको होला, तर अहिलेसम्म आधिकारीक रुपमा कुनै जानकारी आएकोे छैन ।’ निगमका प्रवक्ता रमेश पौडेल आन्तरिक उडानका लागि निगमको आन्तरिक स्रोतबाट ३ वटा जहाज खरिद प्रक्रिया सुरु भैसकेको जानकारी दिए । ‘हाम्रो तयारी सुरुवाती चरणमा ३ वटा जहाज खरिद गर्ने थियो, सोही तयारी अनुसार आन्तरिक स्रोतबाट जहाज खरिद गर्नेगरी हामीले तयारी अगाडि बढाइसकेका छौं, हाम्रो तयारी यसै वर्षभित्र ल्याइसक्ने हो’, उनले भने ।
एनआईसी एशियाका दुई म्युचुअल फन्डको लाभांश घोषणा
काठमाडौं । एनआईसी एशिया क्यािपटलले दुईवटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत योजनाको लाभांश घोषणा गरेको हो । क्यापिटलका अनुसार एनआईसी एशिया ग्रोथ फन्ड र एनआईसी एशिया ब्यालेन्स्ड फन्डले आर्थिक वर्ष २०७९/८०को नाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । एनआईसी एशिया ग्रोथ फन्डले इकाइधनीहरुलाई १०.५० प्रतिशतका दरले ८ करोड ७६ लाख ९६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो । यस्तै, एनआईसी एशिया ब्यालेन्स्ड फन्डले इकाइधनीहरुलाई १० प्रतिशतका दरले ७ करोड ५५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो ।
युनिलिभर नेपालको १५८० प्रतिशत लाभांश घोषणा
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २६ गते संचालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १५८० प्रतिशत अर्थात् प्रतिसेयर १५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले प्राप्त गर्ने छन् । कम्पनीले मङ्सिर १२ गतेदेखि मङ्सिर २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मङ्सिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले उक्त लाभांश प्राप्त गर्न सक्ने छन् ।
गत वर्षभन्दा यस वर्ष च्यांग्राको मूल्य १० हजारले बढ्यो, एउटाको कति पर्छ ?
बागलुङ । नवदुर्गा सुरु भएसँगै बागलुङमा खसीबोकाको बिक्री सुरु भएको छ । गाउँका बजारदेखि बागलुङ बजारमा मासुको बिक्री वितरण बढ्दो छ । पछिल्लो समय खुकुराको मासुको मूल्य केही वृद्धि हुँदा दसैँको समयमा खसीबोकाकै माग बढ्दो छ । हिमाली क्षेत्रबाट आउने च्याङ्गाको मूल्य प्रतिगोटा आठदेखि दश हजार रुपैयाँ मूल्य वृद्धि भएको छ । अघिल्लो वर्ष ४० हजार रुपैयाँसम्म पाइएको च्याङ्ग्रा यो वर्ष ५० हजार रुपैयाँभन्दा बढी पर्ने व्यवसायी बताउँछन् । तर यस दसैँमा स्थानीय खसीबोकाको मूल्यमा भने अघिल्लो वर्षको भन्दा घटबढ छैन । चीनबाट मुस्ताङको बाटो हुँदै आउने च्याङ्ग्रा यो वर्ष नेपाल भित्रिएनन् । कोरला नाका नखुलेकाले चीनका च्याङ्ग्रा नेपाल नभित्रिँदा मूल्य बढेको व्यवसायी बताउँछन् । ‘दसैँअघिकै भाउमा स्थानीय खसीबोकाको कारोबार भएको छ, बजारमा एक किलो स्थानीय खसीको मूल्य एक हजार एक सय रुपैयाँ छ, जुन मूल्य अघिल्लो दसैँमा पनि थियो’, बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीका तिलक पौडेलले भने, ‘कुखुरा र च्याङ्गाको मूल्य बढे पनि स्थानीय खसीबोकाको मूल्यमा खास वृद्धि भएको छैन ।’ खसीबोकाको मासुको मूल्य तोक्ने निकायले ध्यान नदिँदा वर्षौं एउटै मूल्यमा खसीबोका बिक्री गर्नुपरेको किसानको गुनासो छ । ‘च्याङ्ग्राको मूल्य हरेक वर्ष बढ्दो छ, सबैले किनेर खाएकै छन्, यहाँ किसानले दुःख गरेर उत्पादन गरेको खसीबोका दसैँका बेला ओझेलमा पर्छन्’, जैमिनीकै किसान भीम शर्माले भने, ‘व्यावसायिक उत्पादनमा लागेका किसानलाई समस्या छ ।’ भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका अनुसार बागलुङ मासुमा आत्मनिर्भर छ । आव २०७८/०७९ को तुलनामा २०७९/०८० मा बाख्राको उत्पादन मात्रै १ दशमलव ३३ प्रतिशतले बढ्दो छ । २०७८/०७९ मा १२ लाख ७४ हजार खसीबोका र बाख्रा उत्पादन भएको जिल्लामा २०७९/०८० मा १२ लाख ९१ हजार खसीबोका उत्पादन भएको तथ्याङ्क छ । भेडाको समेत राम्रो उत्पादन हुने बागलुङमा ० दशमलव ३३ प्रतिशतले उत्पादन बढेको विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताए । दसैँमा भैँसी, राँगा, बङ्गुर हाँस र खरायोलगायतका पशुचौपायको मासु प्रयोग हुने गरेको छ । ‘पहिले दसैँका बेला मधेसबाट खसीबोका आउँथ्यो अहिले त्यो बन्द भएको छ, बागलुङ बजारमा गाउँबाट खसीबोका आउँछन’, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठले भने, ‘स्थानीय उत्पादन प्रयोगमा आउनु राम्रो पक्ष हो ।’ स्थानीय उत्पादन वृद्धि हुँदा दसैँको बेला जिल्ला बाहिर जाने लाखौँ रुपैयाँ बाहिरिनबाट जोगिएको उहाँको धारणा छ ।
बैतडीमा असिनापानीले बालीनाली सखाप
फाइल फाेटाे बैतडी । वेमौसमी वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पारेको छ । आइतबार बेलुका परेको असिनापानीले जिल्लाको डिलाशैनी, दोगडाकेदार, सिगास गाउँपालिका सहित पुर्चौडी नगरपालिकालगायतमा बाली नष्ट गरेको हो । असिनापानीले पाकेको धान, भटमास, कोदो, र तरकारी नष्ट गरेको डिलाशैनी–७ का मदन धामीले जानकारी दिए । पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । धान र भटमासका साथै किसानले आफ्नो खेतमा लगाएको सबै तरकारीसमेत असिनापानीले नष्ट गरेको छ । दिनभरि मौसम सफा रहे पनि साझँपख वर्षा भएको छ । वर्षाका कारण खरफागलामा काटेर सुकाएको खर घाँस समेत क्षति भएको दोगडाकेदारकी अन्जु भाटले बताईन। हिउँदको महिनामा पशुचौपायाका लागि काटेर सुकाएको खर नष्ट गर्दा किसान चिन्तित बनेका छन् । हिउँदमा पशुचौपायालाई खुवाउन अहिले सबै खर फागालाको घाँस काटेर सुकाउने गरिन्छ ।
काठमाडौं–दिल्लीको भन्दा काठमाडौं–धनगढीको हवाई भाडा महँगो
सुदूरपश्चिम । काठमाडौंदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु १७ हजार रुपैयाँ पु¥याइएपछि चाडपर्वका समयमा काठमाडौंबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् । देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाडौँ–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् । निजी विमान कम्पनीले काठमाडौं–धनगढीको हवाई भाडा सात हजार नौसय रुपैयाँबाट वृद्धि गरी सत्र हजारभन्दा बढी पु¥याएको गुनासो यात्रुको छ । चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रु सन्तोष जोशीले गुनासो गरे । उनले भने, ‘काठमाडौँदेखि नयाँ दिल्लीको हवाई भाडा सत्र हजार रुपैयाँभन्दा कम छ, आफ्नै देशभित्र यति धेरै भाडा तोकेर आकस्मिक काममा आवागमन गर्न चाहने यात्रुलाई थप सास्ती दिने काम भएको छ ।’ चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका यात्रुलाई हवाई भाडादर वृद्धि हुँदा हवाईमार्गबाट आवागमन गर्ने चाहना पनि पूरा हुन सकेको छैन । धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्वीकृत भाडा दरअनुसार नै यतिबेला विमान कम्पनीले अधिकतम भाडा लिइरहेको बताए । ‘मन्त्रालयले स्वीकृत गरेको भाडादरअनुसार नै विमान कम्पनीले लिइरहेको देखिएको छ’, उनले भने, ‘चाड पर्वको बेला काठमाडौँबाट धनगढी फर्किने यात्रुको चाप बढ्दा अधिकतम भाडा र धनगढीबाट काठमाडाँै जाने यात्रु घट्दा न्यूनतम भाडा लिइरहेको देखिन्छ ।’ भाडादर वृद्धिको विरोधमा विमानस्थल कार्यालय परिसरमा युवाको समूहले विरोध प्रदर्शन गरेको छ । हाल काठमाडौँ–धनगढीको भाडादर १४ हजार सातसय एक रुपैयाँदेखि १७ हजार एकसय ८६ रुपैयाँ लिने गरिएको छ । धनगढीदेखि काठमाडौँसम्मको भाडा भने निम्नतम सात हजार नौ सय रुपैयाँ छ । गएको साउन महिनादेखि यात्रुको हवाई टकटमा मूल्य अभिवृद्धि कर (भ्याट) समेत जोड्ने गरिएको छ । यसअघिसम्म टिकटमा भ्याट जोड्ने गरिएको थिएन । पछिल्ला केही महिनादेखि प्रतियात्रु विमानस्थलको सेवा शुल्क काठमाडाँैमा चारसय र धनगढीमा पाँच सय रुपैयाँ तोकिएको छ । धनगढी विमानस्थलबाट बुद्धएयर र श्री यएरलायन्सले काठमाडौँ–धनगढी–काठमाडौँसम्मको दैनिक हवाई सेवा उपलब्ध गराउँदै आएको छ । यो विमानस्थलबाट दैनिक बुद्धले दुई र श्री एयरलायन्सले चार उडान भर्ने गरेको छ । निजी क्षेत्रको समिट एयरले केही दिनदेखि नेपालगञ्ज बेसमा हरेक बुधबार र सोमबार धनगढी–बझाङ–धनगढी, धनगढी–साँफे–धनगढी र धनगढी–बाजुरा–नेपालगञ्जमा हवाई सेवा दिन थालेको छ । रासस
इन्टरनेट सेवाप्रदायक कम्पनी हाम्रो टिभि नेटको लाइसेन्स खारेज
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक कम्पनी हाम्रो टि.भि. नेट प्रा.लि.को अनुमतिपत्र खारेज गरेको छ । नवीकरणका लागि नियमानुसार निवेदन पेश नगरेको कारण देखाउँदै उक्त कम्पनीको लाइसेन्स खारेज गरेको प्राधिकरणले जनाएको छ । नविकरणको लागि चाहिने विवरण सहित सम्पर्कमा आउन पटक–पटक पत्राचार गर्दा समेत नआएपछि दूरसञ्चार ऐन, २०५३ बमोजिम वि.सं. २०७८ पुस १० गतेदेखि अनुमतिपत्र खारेज गरिएको प्राधिकरणले जनाएको छ । साथै, कम्पनीले नियमानुसार तिर्न र बुझाउन पर्ने रकम यो सूचना जारी भएको मितिले ३० दिन भित्र दाखिला गर्न आग्रह गरेको छ । अन्यथा असुलिका लागि प्रचलित कानून बमोजिम अघि बढ्ने प्राधिकरणले बताएको छ । हाम्रो टि.भि. नेट प्रालिले २०७३ पुस ११ गते इन्टरनेट तथा ईमेल सेवा सञ्चालनका लागि प्राधिकरणबाट अनुमतिपत्र पाएको थियो ।