एभरेष्ट बैंकको वार्षिक साधारण सभा मंगलबार, २०.५३ प्रतिशत लाभांश पारित गर्ने
काठमाडौं । एभरेष्ट बैंकको २९ औं वार्षिक साधारण सभा भोलि असोज ३० गते मंगलबार हुँदैछ । बैंकको साधारण सभा लैनचौर ब्यांक्वेट काठमाडौंमा बिहान ११ बजे बस्नेछ । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । बोनस सेयर जारी भएपश्चात् पुँजीवृद्धि हुने भएकोले सोहीबमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । संस्थापक सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति सभाले अनुमोदन गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने, कहाँबाट पाइन्छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी आज असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट नयाँ नोट लिनुपर्नेछ । काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ नयाँ नोटको सुविधा पाउने छन् । यसपटक पनि प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका नयाँ नोट उपलब्ध गराउने छ ।
पेट्रोलको मूल्य ११ र डिजेलको ५ रुपैयाँ घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोलको प्रतिलिटर ११ र डिजेलको ५ रुपैयाँ घटेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७२ र डिजेलको १६८ रुपैयाँ कायम भएको छ । निगमले भारतबाट मूल्य घटेर आएसँगै नेपालमा पनि घटाएको बताएको छ ।
दशैंमा यातायातको सहज व्यवस्था गर्न सभापति खतिवडाको निर्देशन
काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दशैंमा आफ्नो घर तथा दशैंको तयारीका लागि विभिन्न ठाउँमा जानुपर्ने यात्रुहरुका लागि यातायातको सहज व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । सभापति खतिवडाले आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, प्रहरी महानिरीक्षक, यातायात व्यवस्था विभागका महानिर्देशक, उपत्यका ट्राफिक प्रहरी प्रमुखलगायतलाई यातायातको सहज एवं सुलभ प्रबन्ध मिलाउन निर्देशन दिएका हुन् । दशैंका समयमा घर जान लागिरहेका नागरिकले बसको टिकट नपाउने या टिकट लिन समस्या हुने, बाटोमा यातायातको समस्या हुने, यातायातका लागि महङ्गोमा टिकट खरिद गर्नुपर्ने, रुटआदिका कारण यातायातमा समस्या हुने आदि गुनासो आउने गरेकाले नागरिकहरुको गुनासो आउन नदिई अहिल्यैदेखि यातायातको उचित र सुलभ प्रबन्ध गर्न उनले निर्देशन दिएका हुन् । उनले सरोकारवाला निकायहरुसँग आवश्यक मात्रामा समन्वय र छलफल गरी तत्कालका लागि दशैं र त्यसपछि तिहार र छठ पर्वसम्मकै लागि यातायातको योजना बनाउन र सो व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आइतबार निर्देशन दिएका हुन् । दशैं, तिहार र छठ पर्वमा गाउँ फर्कने र गाउँबाट सहर आउने यात्रुहरुको लागि यातायातका सवारी साधन, सडक तथा ट्राफिक व्यवस्थापनमा ध्यान दिन र यसका लागि आवश्यक अन्य कार्यालयहरुसँग पनि प्रभावकारी समन्वय गर्न पनि उनले निर्देशन दिएका हुन् । रासस
सर्वोच्च अदालतले दशैंमा पनि मुद्दाको सुनुवाइ गर्ने
काठमाडौं । सर्वोच्च अदालतले बडादशैंमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले आइतबार जारी गरेको सूचनाअनुसार आइतबारदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहने भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहनेछ । शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीका रिट निवेदन दर्ता तथा सनुवाइ गर्न अदालत खुला रहनेछ । अदालतले ती दिनमा न्याय सम्पादनका लागि न्यायाधीशहरुको पनि व्यवस्था गरिसकेको छ । रासस
हमासले १२६ जनालाई बन्धक बनाएको इजरायलको दावी, दियो मार्ने चेतावनी
जेरुसेलम । प्यालेस्टाइनी लडाकू समूहले आठ दिनअघि घातक आक्रमण गरेयता हमासले १२६ जनालाई बन्धक बनाएको इजरायली सेनाले आइतबार पुष्टि गरेको छ । अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा कम्तीमा एक हजार ३०० जनाको मृत्यु भएको र करिब १५० इजरायली र विदेशी बन्धक बनाएको हुनसक्ने अनुमान इजरायली अधिकारीहरूले गरेका थिए । त्यसयता इजरायली बमबारीमा प्यालेस्टाइनी इलाकामा दुई हजार ३०० भन्दा बढीको मृत्यु भइसकेको छ भने दशौं हजार सैनिकहरू आक्रमणको तयारीका लागि गाजाको सीमामा जम्मा भएका छन् । सेनाका प्रवक्ता रिचार्ड हेक्टले पनि हमासले एक्कासी गरेको आक्रमणको जवाफमा सुरु गरिएको सैन्य कारबाहीका क्रममा २८६ इजरायली सैनिकको मृत्यु भएको बताएका छन् । इजरायली अधिकारीहरूले दक्षिणी इजरायलमा हमास आक्रमण स्थलबाट शवहरू फेला परेका र पहिचान गरिएकाले ज्ञात बन्धकहरूको सङ्ख्यामा परिमार्जन गरिएको बताएका छन् । हेक्टले एक ब्रिफिङमा १२६ जनालाई हमासले बन्धकको रूपमा लगेको ‘पुष्टि’ भएको बताएका छन् । यो सङ्ख्या शनिबार १२० बाट बढेको थियो र अधिकारीहरूले आगामी दिनहरूमा यो सङ्ख्या परिवर्तन भइरहने चेतावनी दिएका छन् । सेनाले गाजामा छापा मार्दा बन्धक बनाइएका केही व्यक्तिको शव फेला पारेको पनि बताएको छ । हमासले इजरायली आक्रमणमा २२ जना बन्धक मारिएको दाबी गर्दै आएको छ । उसले अघोषित इजरायली आक्रमणको जवाफमा बन्धकहरूलाई मार्ने चेतावनी दिएको छ । रासस/एएफपी
इजरायलमा रहेका नेपालीले धैर्य गर्नुहोस्, नेपाली दूताबासमा उपयुक्त जनशक्ति र संयन्त्र बनाउँदैछौं : मन्त्री साउद
काठमाडौं । नेपाल सरकारले युद्धकै अवस्थामा रहेको इजरायलबाट दुई सय ५४ जना नेपाली नागरिकलाई उद्धार गरी बिहीबार स्वदेश फर्काएको छ । मन्त्रिपरिषद्को निर्णयानुसार परराष्ट्र मन्त्री नारायणप्रकाश साउद नेपाली नागरिकलाई उद्धार गर्न नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत् स्यवम् इजरायल गएका थिए । यही असोज २० गते इजरायलमाथि प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने चार जना घाइते भएका थिए । सोही आक्रमणमा परेका विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात छ । मन्त्री साउदले जोशीको खोजीका लागि इजरायल सरकार र अन्य मुलुकसँग समेत कूटनीतिक पहल भइरहेको बताएका छन् । यसै सन्दर्भमा केन्द्रित रहेर मन्त्री साउदसँग गरिएको कुराकानीको अंश : इजरायल घट्नाक्रमपछि नेपालीको उद्धारका लागि सरकारले के कस्ता प्रयास गरिरहेको छ ? इजरायलमा प्यालिस्टाइनी हमास समूहको आक्रमणबाट सयौं नागरिकको हताहती भयो । ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत इजरायल गएका १० जना विद्यार्थीले आक्रमणमा परी ज्यान गुमाएका छन् । घाइते भएका चार नेपाली विद्यार्थीमध्ये एक जना अस्पतालबाट डिस्चार्ज भएर नेपाल आइसक्नुभएको छ भने अन्य उपचाररत हुनुहुन्छ । इजरायलमा विद्यार्थी बाहेक करिब चार हजार पाँच सय नेपाली नागरिक छन् । अधिकांश ‘केयर गिभर’मा कार्यरत हुनुहुन्छ । हमासको आक्रमणपछि नेपालीहरु त्यहाँ सन्त्रासको वातावरणमा बस्नु परेको थियो । मुलुकमा संसद, राजनीतिक दल, नागरिक समाज, र विद्यार्थीका अभिभावकबाट पटक-पटक विभिन्न तहबाट उद्धारका लागि निरन्तर आवाज पनि उठेको थियो । यी सबै कुरालाई दृष्टिगत गरेर नेपालीको उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेरो संयोजकत्वमा संयन्त्र बनाई निर्देशन दिनुभएको थियो । संयन्त्रको सिफारिसअनुसार मन्त्रिपरिषद् बैठकले निर्णय गरी नेपालीको उद्धारका लागि विमानसहित म इजरायलको तेल अविव गई उद्धारमा जुटेको हुँ । पहिलो चरणमा दुई ५४ नेपालीको उद्धार गरेका छौँ । अहिलेपनि उद्धार जारी नै छ । इजरायलमा नेपालीको पछिल्लो अवस्था कस्तो छ ? इजरायलमा आक्रमणपछि उद्धारको पर्खाइमा रहनुभएका दुई सय ५४ जना नेपाली नागरिकको उद्धार गरी नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत् स्वदेश फर्काइएको छ । नेपाल फर्काइएका बाहेक स्वदेश फर्कन चाहने दुई सय जनाभन्दा बढीको विवरण प्राप्त भएको छ । नेपाल फर्कन बाँकी रहेका नेपाली नागरिकलाई पनि क्रमशः फर्कन सहजीकरण गर्ने प्रकृया सुरु गरिएको छ । घाइते भई उपचारका क्रममा रहनुभएका चार जनामध्ये डिस्चार्ज हुनुभएका एक जनालाई विमानमार्फत् नेपाल ल्याइएको छ । अन्य उपचाररत हुनुहुन्छ । बेपत्ता विद्यार्थी जोशीको खोजी तीव्रता दिइएको छ । इजरायलमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकलाई संयम रहँदै निरन्तर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गर्न चाहन्छु । निधन भएका विद्यार्थीको शव कहिलेसम्म नेपाल ल्याइन्छ ? आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीको शव सुरक्षित रहेको इजरायली सरकारले स्पष्ट गरिसकेको छ । यसबाहेक एक हजारभन्दा सङ्ख्यामा इजरायली नागरिक र अन्य देशका नागरिकको पनि शव छ । त्यती नै सङ्ख्यामा आक्रमणकारीको पनि शव छ । तसर्थ ती सबै शवको परीक्षण गरी कानुनी प्रक्रियाअनुसार सम्बन्धीत देशलाई हस्तान्तरण गर्ने इजरायल सरकारले जनाएको छ । यस बारेमा इजरायल सरकारले आफू संवेदनशील भएको र आफै ती शव नेपाल ल्याएर नेपाल सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । इजरायलका विदेशमन्त्री र यहाँस्थित इजरायली राजदूतसँग भएको संवादमा पनि उहाँहरुले सो कुरा दोहोर्याउनुभएको छ । हामी पनि सकेसम्म छिटो शव नेपाल ल्याएर सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न लागेका थियौँ । तर विभिन्न प्रक्रियाका कारण पहिलो चरणमा त्यो सम्भव भएन । बेपत्ता विद्यार्थी विपिन जोशीको खोजीमा सरकारले के गरिरहेको छ ? विद्यार्थी विपिन जोशीको हाल वास्तविक स्थिति अज्ञात नै छ । प्रत्यक्षदर्शीका अनुसार विपिन आक्रमणको समय बङ्करमा हुनुहुन्थ्यो । आक्रमणकारीले प्रहार गरेको बमलाई हातले टिपेर सुरक्षाका लागि बङ्करबाहिर फ्याक्नुभएको थियो । पछि हमास विद्रोहीले थाई नागरिकसँगै विपिनलाई पनि आफूसँगै लगेका थिए । त्यसपछि उहाँ कुन अवस्थामा कहाँ हुनुहुन्छ भन्ने यकिन हुन सकेको छैन । इजरायलभित्रको परिस्थितिमा बारेमा हामीले पटक-पटक विभिन्न चरणमा विभिन्न तहमा इजरायल सरकारलाई खोजीका लागि आग्रह गरिरहेका छौं । साथै, प्रहरी, अस्पताललगायत सम्भाव्य सम्पूर्ण माध्यमबाट उहाँको खोजीलाई अझै तीव्र पारिएको छ । हमासको नियन्त्रणमा हो कि भन्ने आशङ्कामा हमाससँग सम्बन्ध भएका भनिएका मुलुकसँग कूटनीतिक पहल पनि सुरु गरिसकेका छौं । पर्खाइमा रहेका बाँकी नेपालीको उद्धार कहिले र कसरी हुन्छ ? उद्धार गर्ने नेपाली नागरिकको सङ्ख्या पर्याप्त भयो भने हामी यहाँबाट पुनः चार्टर्ड विमान लगेर भएपनि उद्धार गर्न तयार छौं । तर त्यसो भएन भने पनि व्यावसायिक उडानमार्फत आउने नागरिकको खर्च सरकारले नै बेहोर्ने निर्णय भएको छ । यस बारेमा हामीले सूचना पनि जारी गरेका छौं । स्वदेश फिर्ता गर्नका लागि हामीले त्यहाँस्थित नेपाली दूताबासलाई निर्देशन दिइसकेका छौं । यसबारेमा सङ्ख्या निर्धारण गरेका छैनौं, तर यो निर्णय त्यहाँ रहेको सबै चार हजार पाँच सय नेपालीको हकमा लागू हुन्छ । तर मलाई सबै नेपाल अहिलेनै आउँछन् जस्तो लाग्दैन । धेरै केयर गिभर रुपमा गएका नेपाली इजरायली समुदायमा परिवार जस्तै भएर बसेका छन् । त्यहाँको सुरक्षा प्रोटोकलसँग उनीहरु अभ्यस्त पनि भइसकेको हुनाले उनीहरु हतार गरेर फर्केलान् जस्तो मलाई लाग्दैन । काम र अध्ययनका लागि लाखौँ नेपाली विदेश गएको अवस्थामा यो घट्नाबाट के पाठ सिक्न सकिन्छ ? विदेशमा हामीले कानुनी रुपमा र सुरक्षित रुपमा पठाएका नागरिकमाथि पनि साङ्घातिक आक्रमण भएको यस घट्नाले हामीलाई पाठ सिकाएको छ । कामदारलाई द्विपक्षीय सरकारको सहमतिमार्फत पठाउँदा सामाजिक सुरक्षा धेरै हुन्छ र कामदार सम्झौता गरेर पठाउनुपर्छ भन्ने हो । वास्तवमा रोजगारको अवस्था, सीप र जनशक्तिको अवस्था, श्रम सुविधा सबै निश्चित गरेर मात्र पठाउनुपर्छ भन्ने हामीले भन्दै आएका छौं । सरकारले निश्चित मापदण्ड निर्धारण नगरी तथा सरकार संलग्न नभइ विदेश पठाउन हुँदैन भनेर हामीले केही दिन अघि मात्र प्रधानमन्त्रीको अध्यक्षतामा श्रम गन्तव्य भएका १० देशका राजदूत, दुई उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री, श्रममन्त्री अन्य सरोकारवालासहितको बैठकमा सो विषयमा छलफल गरेका थियौं । यस विषयमा हामी सहयोग गर्न तयार छौं । इजरायलमा हाल रहेका नेपालीलाई केही सन्देश छ ? इजरायलमा हाल बाँकी रहेका नेपाली नागरिकलाई धैर्य धारण गर्न आग्रह गर्दछु । नेपाली दूताबासमा स्थानीय कर्मचारीलाई भर्ना गरेर भएपनि उपयुक्त जनशक्ति र संयन्त्र बनाउँदैछौं । आवश्यक सहयोगका लागि इजरायल सरकारले सहयोग गर्ने बचनबद्धता पनि व्यक्त गरेको छ । यस बीचमा सबै नेपालीलाई सुरक्षा प्रोटोकल आत्मसाथ गरेर बस्न आग्रह गर्दै फिर्ता गर्नका लागि सहजीकरण गरिरहेको अवगत गराउन चाहन्छु । यसमा आत्तिने कुरा छैन । इजरायल घट्नापछि संयुक्त राष्ट्र सङ्घका महासचिवको नेपाल भ्रमण स्थगित भयो, अब कहिले हुन्छ ? इजरायलको घट्नाक्रमले दुई महत्वपूर्ण भ्रमण स्थगित भएका छन् । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रस यही १३ अक्टोबरदेखि नेपाल भ्रमणमा आउने तालिका थियो । जुन केही हप्ताका लागि सरेकोे छ । उहाँहरुले नयाँ मिति प्रस्ताव गरिसक्नुभएको छ । यस सम्बन्धमा यकिन भएपछि हामी चाँडै भ्रमण तालिका सार्वजनिक गछौँ । नयाँ मितिको भ्रमणका लागि पनि हामीले गृहकार्य गरिरहेका छौं । इजरायल घट्नासँगै प्रधानमन्त्री दाहाललाई आमन्त्रण गरिएको १७ अक्टोबरमा कतारमा हुने एसिया डाइलग फोरममा प्रधानमन्त्रीको प्रतिनिधित्व गरी मैले जाने भ्रमण तय भएको थियो । यही घट्नाका कारण उक्त भम्रण पनि हाल स्थगित गरिएको छ । अन्त्यमा केही भन्न चाहनुहुन्छ ? सम्पूर्ण देशबासीलाई देश बाहिर भएको यो गम्भीर परिस्थितिमा धैर्यता र संयमता अपनाउन आग्रह गर्दछु । राजनीतिक दलले पनि यस्ता घट्नाको कुनै पनि हालतले राजनीतिकरण गर्न हुँदैन । कमी कमजोरी सरकारको तर्फबाट या अन्य निकायबाट पनि भएको हुन सक्छ तर त्यसबारेमा छलफल गर्ने अन्य उपयुक्त मञ्च र समय पनि हुन्छ । त्यसैमा गर्दा राम्रो हुन्छ । तर विपद् र सङ्कटका बेला हामी एक भएर त्यसको सामना गर्ने नेपालीको विशिष्ट परम्परा छ । यसका लागि म सबै राजनीतिक दल र समुदायलाई आग्रह गर्दछु ।