विकासन्युज

इन्टरनेट सेवाप्रदायक कम्पनी हाम्रो टिभि नेटको लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक कम्पनी हाम्रो टि.भि. नेट प्रा.लि.को अनुमतिपत्र खारेज गरेको छ । नवीकरणका लागि नियमानुसार निवेदन पेश नगरेको कारण देखाउँदै उक्त कम्पनीको लाइसेन्स खारेज गरेको प्राधिकरणले जनाएको छ । नविकरणको लागि चाहिने विवरण सहित सम्पर्कमा आउन पटक–पटक पत्राचार गर्दा समेत नआएपछि दूरसञ्चार ऐन, २०५३ बमोजिम वि.सं. २०७८ पुस १० गतेदेखि अनुमतिपत्र खारेज गरिएको प्राधिकरणले जनाएको छ । साथै, कम्पनीले नियमानुसार तिर्न र बुझाउन पर्ने रकम यो सूचना जारी भएको मितिले ३० दिन भित्र दाखिला गर्न आग्रह गरेको छ । अन्यथा असुलिका लागि प्रचलित कानून बमोजिम अघि बढ्ने प्राधिकरणले बताएको छ । हाम्रो टि.भि. नेट प्रालिले २०७३ पुस ११ गते इन्टरनेट तथा ईमेल सेवा सञ्चालनका लागि प्राधिकरणबाट अनुमतिपत्र पाएको थियो ।

मारुती सिमेन्ट्सको लाभांश घोषणा

काठमाडौं । मारुती सिमेन्ट्सले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको असोज २५ गते बसेको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट अग्राधिकार सेयरधनीहरुलाई १० प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न २९ औं वार्षिक साधारण आह्वान गरेको छ । कम्पनीको सभा कात्तिक २१ गते विराटनगरमा बिहान साढे ११ बजे सुरु हुने छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । त्यस्तै, सञ्चालकहरुको सञ्चालक भत्ता अनुमोदन गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरूलाई बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, कम्पनीमा हाल कायम १ सय रुपैयाँ बराबरको ३० लाख थान अग्राधिकार सेयरलाई जारी गर्दाको शर्त, कम्पनीको प्रबन्धपत्र तथा नियमावली एवं प्रचलित कम्पनी ऐन बमोजिम साधारण शेयरमा परिवर्तन गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, अग्राधिकार सेयर साधारण सेयरमा परिणत भएपश्चात कायम हुने चुक्ता पूँजीका आधारमा संचालक समितिले प्रस्ताव गरे बमोजिम हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

राष्ट्रिय वाणिज्य बैंकले ५ वटा शाखा कार्यालय सञ्चालन गर्दै

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न ५ वटा शाखा कार्यालय सञ्चालनका लागि घर भाडामा लिने भएको छ । बैंकले फिदिम, हिले, झापा बजार, सिजुबजार र भुटाहा शाखा कार्यालयका लागि घरभाडामा लिने भएको हो । बैंकको मुख्य बजार क्षेत्रभित्र पानी, बत्ती बिजुली, टेलिफोन, पार्किङ सुविधा, घरको भुई तल्लामा एटिएम मेसिन जडान गर्ने सुविधा, जेनेरेटर, सौर्य ऊर्जा उपकरण राख्ने सुविधा, सुरक्षा एवं बैंकिङ व्यवस्था सञ्चालन गर्न उपयुक्त व्यापारिक क्षेत्रमा कम्तीमा २ वटा ट्वाइलेट भएको सुविधा सम्पन्न पक्की घर भाडामा लिने भएको हो । इच्छुक घरधनीहरूले आफूले मासिक भाडामा दिन चाहेको रकम उल्लेख गरी घरको चार किल्ला प्रमाणपत्र, जग्गा धनीको प्रमाण पुर्जा, नेपाली नागरिकताको प्रतिलिपि, घरको नक्सा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बोलपत्र पेस गर्न आग्रह गरेको छ ।

१५ करोड लगानीमा टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माण

काठमाडौं । टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवनको निर्माण सम्पन्न भएको छ । टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौँको १५ करोड ३८ लाख १५ हजार रुपैयाँ लागतमा सो भवन बनेको हो । नव निर्मित सो भवनको जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र टोखा नगरपालिकाका प्रमुख प्रकश अधिकारीले संयुक्तरुपमा आइतबार शुभारम्भ गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक बुढाथोकीले नयाँ भवन निर्माणसँगै सेवाग्राहीलाई सेवा लिन सहज हुने उल्लेख गरे । “स्थानीय तहमा जनप्रतिनिधि आएपछि यहाँका नगरवासीले विकासको अनुभूति गर्न पाएका छन्, अब भवनको अभाव छैन, संस्थागत विकास र कर्मचारीको क्षमता अभिवृद्धि गर्दै थप सहज र छिटोछरितो सेवा प्रवाह गर्न आग्रह गर्दछु”, उनले भने । टोखा नगर प्रमुख अधिकारीले टोखाको विकासका लागि नगरपालिका लागेको जनाउँदै सबैले साथ र सहयोग गर्न आग्रह गरे । उनले छरिएर रहेको सेवालाई नयाँ भवन निर्माणसँगै एकै ठाउँबाट प्रवाह गरिने बताए । विसं २०७६ माघ १२ गते सम्झौता भएर विसं २०७६ फागुन २८ गते शिलान्यास गरी निर्माण सुरु गरिएको उक्त भवन सम्झौताभन्दा ढिलो गरी निर्माण सम्पन्न भएको हो । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले जग्गा, स्रोत साधनका अभावका कारण समयमै निर्माण सम्पन्न गर्न कठिन भएको जानकारी दिए । विसं २०७८ मा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको उक्त भवन दुई वर्ष ढिला गरी विस २०८० असार २५ गते सम्पन्न भएको थियो । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा छन् ।

बिक्री भएन केदार शर्माको सम्पत्ति, एसबिआई बैंकले फेरी राख्यो लिलामीमा

काठमाडौं । शिव शिखर सहकारीको अर्बाैं रकम ठगी गर्ने केदारनाथ शर्मा न्यौपाने र गिता शर्माको सम्पत्ति बिक्री नभएपछि नेपाल एसबिआई बैंकले पुनः लिलामीमा राखेको छ । शर्मा दम्पत्तिले बैंकबाट कर्जा लिएर समयमा चुक्ता नगरेपछि धितो वापतको सम्पत्ति लिलामीमा राखेको थियो । बैंकले यसअघि गत भदौ २९ गते ३५ दिने सूचना प्रकाशन गर्दै धितो लिलामीमा राखेको थियो । सो समयमा उक्त सम्पत्ति बिक्री नभएपछि बैंकले पुनः १५ दिने सूचना जारी गर्दै लिलामीमा राखेको हो । बैंकले केदारनाथ शर्मा र गिता शर्माले सञ्चालन गरेका शिखर अर्गनाइजेशन लिमिटेड, शिखर स्पाइस एण्ड फुड फ्रुट इण्डष्ट्रिज प्रा.लि., शिव शिखर खाद्य उद्योग प्रा.लि. र नटराज फुड ईण्डष्ट्रिज प्रा.लि.का सम्पत्ति लिलामीमा राखेको हो । यी कम्पनीको नामबाट एसबिआई बैंकबाट करिब २ अर्ब रुपैयाँ बराबरको कर्जा लिएको बुझिएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने बैंकले बताएको छ । केदार शर्माले ऋण नतिरेपछि नेपाल एसबिआई बैंकले लिलामीमा राख्यो ४ कम्पनी

दसैँको अवसरमा असोज ३० गते खसीबोका प्रदर्शनी हुँदै

काठमाडौं । दसैँको अवसर पारी पोखरा महानगरपालिकाको आयोजनामा तेस्रो खसीबोका प्रदर्शनी गरिने भएको छ । बाख्रपालन व्यवसायलाई प्रोत्साहित गर्दै यसतर्फ आकर्षण बढाउने उद्देश्यका साथ पोखरा महानगरपालिका वडा नं २८ को सौर्यबजारमा असोज ३० गते खसीबोका प्रदर्शनी गर्न लागिएको पोखरा महानगरपालिका पशुसेवा शाखाका प्रमुुख नवराज अधिकारीले जानकारी दिए । यसअघि पनि सोही स्थानमा महानगरपालिकाको आयोजनामा २०७६ सालको दसैँ र गत वर्ष खसीबोका प्रदर्शनी गरिएको जानकारी दिदै उनले गत वर्ष स्थानीय किसानका ६५ वटा खसीबोका प्रदर्शनीमा राखिएको बताए । किसानले पालेका खसीबोकाको उचित मूल्यसहित बजारीकरणका साथै पशुपालनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहन गर्न प्रदर्शनी आयोजना गरिएको उनले बताए । महानगरपालिकाले उक्त क्षेत्रमा व्यावसायिक बाख्रापालनका लागि अनुदान समेत उपलब्ध गराउँदै आएको छ । प्रदर्शनीमा कृषकले खसीबोका निःशुल्क राख्न पाउने व्यवस्था मिलाइएको छ । प्रदर्शनीमा एकै घरबाट धैरै सङ्ख्यामा र ठूला खसीबोका बोका ल्याउनेका लागि प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको व्यवस्था गरिएको प्रमुख अधिकारीले जानकारी दिए ।

ग्लोबल आइएमई बैंकले यी ५ शाखाबाट मात्रै दशैंका लागि नयाँ नोट साट्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न ५ वटा शाखा कार्यालयबाट मात्रै दशैंका लागि नयाँ नोट सटही सुविधा दिने भएको छ । बैंकका अनुसार आज असोज २९ गतेदेखि उपत्यकाका लागि विभिन्न ५ शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिने छ । काठमाडौंको कान्तिपथ, कमलादी, धापासी शाखा, ललितपुरको पुल्चोक (जावलाखेल) र भक्तपुरका लागि सुर्यविनायक शाखाबाट मात्रै नयाँ नोट सटही सुविधा प्रदान गर्ने बैंकले जनाएको छ । साथै, उक्त शाखाबाट बिहान ११ बजेदेखि २ बजेसम्म र शुक्रबार बिहान १ बजेसम्म मात्रै नोट सटही सेवा दिने बैंकले जनाएको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ नयाँ नोट साट्न पाउने छन् । जसमा ५, १०, २०, ५० र १०० रुपैयाँदरका नयाँ नोट उपलब्ध हुने छन् ।

१ सय रुपैयाँमै मल्टीपर्पस फाइनान्सको डेढ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । मल्टीपर्पस फाइनान्सले आज असोज २९ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १ लाख ४२ हजार ७७३ कित्ता अवितरित हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले गत साउन भदौ १० गतेदेखि भदौ ३१ गतेसम्म चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात् १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । जसमध्ये बिक्री नभएको संस्थापक समूह तर्फको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूह तर्फको ६० हजार ६५० कित्ता गरी कूल १ लाख ४२ हजार ७७३ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने कम्पनीले जनाएको छ । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले कात्तिक १३ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।