मोकोले ल्यायो फ्लाइट टिकट किन्दा क्यासब्याक र बम्पर उपहार जित्ने मौका
काठमाडौं । फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि. द्वारा सञ्चालित मोको डिजिटल वालेटले वार्षिक दशैं क्यासब्याक अफर अभियान ‘उडानमा उमङ्ग’ शुरु गरेको छ। असोज २२ (अक्टोबर ९) बाट सुरु भएको यो अभियानले दशैं पर्वलाई अझ विशेष बनाउँदै प्रयोगकर्ताहरूका लागि अन्य अफरहरू पनि रहेको कम्पनीको भनाई छ । यस अभियानको क्रममा मोकोबाट फ्लाइट टिकट खरिद गर्दा प्रयोगकर्ताहरू मध्ये हरेक दिन १ जनाले १०० प्रतिशत क्यासब्याक जित्न सक्ने साथै १० जना भाग्यशाली प्रयोगकर्ताहरूले १ दिनको लागि २ जनालाई हिमालयन दृश्य रिसोर्ट मा नाइट स्टे प्याकेज जित्ने सक्नेछन् । फ्लाइट टिकेट किन्दा क्यासब्याक वा १ दिनको लागि २ जनालाई हिमालयन दृश्य रिसोर्ट नाइट स्टे प्याकेज वा दुबै जित्नको लागि मोकोका प्रयोगकर्ताहरूले मोकोमा आबद्ध बैंक तथा वित्तीय संस्थाको भिजा कार्ड प्रयोग गरि टिकेट काट्न सक्नेछन् । यस ‘उडानमा उमाङ्गग’ क्यासब्याक अफर अभियान मंसिर ४ (नोभेम्बर २०) सम्म (४३ दिनको लागी) सञ्चालनमा रहनेछ । हाल मोको डिजिटल वालेटमा २० वटा बैंक तथा वित्तीय संस्थाको भिजा डेबिट र क्रेडिट कार्डहरु लिंक गरी विभिन्न भुक्तानीहरु गर्न सकिनेछ । भिजा कार्ड प्रयोग गरी बिल भुक्तानी गर्ने नेपालकै पहिलो र एकमात्र भुक्तानी सेवा प्रदायक कम्पनी फोकसवान पेमेन्ट सोलुसन्स् हो । विशेष गरी क्रेडिट कार्डबाट बिजुली, खानेपानी, हवाइ टिकट तथा इन्टरनेटको भुक्तानी गर्न मिल्ने भएकोले यसको प्रयोग बढ्दो छ । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।
सेल्सबेरीले महारागञ्जको आफ्नै भवनबाट दिन थाल्यो सेवा, दशैंको अवसरमा आकर्षक अफर
काठमाडौं । सेल्सवेरी डिपार्टमेन्टल स्टोर्सले दशैंको तथा कम्पनीको ३०औं वार्षिकोत्सवको अवसरमा आकर्षक छुट योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहक तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै विशेष छुट प्रदान गर्ने गरी अफर ल्याएको हो । उक्त अफरमा क्यास ब्याक तथा आकर्षक उपहार योजनासमेतलाई समावेश गरिएको छ । त्यस्तै, वाइनमा २० प्रतिशतसम्म छुट प्रदान गरिएको छ भने इलेक्ट्रोनिक्स र हाउसहोल्ड सामग्रीमा १० देखि ३० प्रतिशत छुट प्रदान गरिएको सेल्सवेरीले जनाएको छ । हिमालयन बैंकको एमेक्स क्रेडिट कार्डको प्रयोगमा एक हजार रुपैयाँसम्म क्यास ब्याक पाउन सकिने व्यवस्थासमेत सेल्सवेरीले मिलाएको छ । यो अफर सेल्सवेरीका काठमाडौं उपत्यकामा रहेका सबै स्टोरहरु र पोखरा क्षेत्रमा सेलवेजका सबै शाखाहरुमा लागु हुनेछ । घरायासी, खाद्यान्न तथा किचनका सामानहरुमा प्रदान हुने आकर्षक छुटले धेरै ग्राहक लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ । सेल्सवेरीले काठमाडौंको महारागञ्जमा नेपालकै ठूलो र सुविधासम्पन्न भवनबाट सेवा प्रदान सुरु गरेको छ । स्थापनाको ३०औं वार्षिकोत्सवको सन्दर्भ र दशैंको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न भवनबाट कम्पनीले सेवा सञ्चालनमा ल्याउन सफल भएको हो । अत्याधुनिक सुविधा सम्पन्न र आकर्षक भवन निर्माण गरेर सपिङमा नयाँ पनको झझल्को दिन सेल्सवेरी सफल भएको प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङगले जानकारी दिए । ‘यो भवन सपिङमा नयाँ गन्तव्यका रुपमा विकसित हुनेछ,’ उनले भने, ‘नेपालमै विश्वस्तरीय सेवा प्रदान गर्न सकिन्छ भन्ने उदाहरण हामीले दिँदैछौं ।’ ग्राहकले ग्रोसरी, घरायसी, इलेक्ट्रोनिक्स लगायत सम्पूर्ण सामानहरु एकै भवनबाट ग्राहकले खरिद गर्न सक्नेछन् । साथै निकट भविष्यमा रुफटप रेष्टुरेन्ट, स्विमिङ पुल, ज्याकुजी, स्पा, रेडिमेट गार्मेन्ट्स, फर्निचर लगायत होम डेकोरका सामानहरुसमेत कम्पनीले जनाएको छ ।
सलिकोले मधेश प्रदेशका कर्मचारीहरुलाई दियो प्रशिक्षण कार्यक्रम
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले मधेश प्रदेशमा कार्यरत कर्मचारीहरुलाई प्रशिक्षण कार्यक्रम दिएको छ । कम्पनीले कर्मचारीहरुको पेशागत दक्षता अभिवृद्धि गर्ने उदेश्यका साथ उक्त कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख कुशुम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । जहाँ सहभागिहरुलाई सलिकोका नेशनल कोअर्डिनेटर, प्रदेश प्रमुख, विभागिय प्रमुखहरुले आ-आफ्नो प्रस्तुतिकरण दिएका थिए । मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, ब्राण्डिङ र ग्राहक सेवा लगायतका विषयहरुको प्रस्तुतिकरणले समग्र मधेश प्रदेशमा कार्यरत कम्पनीका कर्मचारीहरुमा ज्ञान र उत्साहको सञ्चार भएको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
सिन्धु विकास बैंकको २६औं शाखा चितवनको खोलेसिमल बजारमा
काठमाडौं । सिन्धु विकास बैंकले २६औं शाखा चितवनको खोलेसिमल बजारमा विस्तार गरेको छ । उक्त विस्तारित शाखाको उद्घाटन असोज २९ गते कालिका नगरपालीकाका नगर प्रमुख बिनोद रेग्मी तथा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले स्वागत मन्तव्य तथा बैंकको बारेमा प्रकाश पारे । बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बैंकले आगामी दिनमा ग्राहकहरुलाई अझ थप सेवाहरु प्रदान गर्दै लगिने बताए । सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २६ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण व्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत मोवाईल बैकिङ्ग, एससीटी डेबिट कार्ड, एसएमएस बैंकिङ्ग, क्यूआर कोड, सीआस्वा, कनेक्ट आईपीएस, आरटीजीएस लगायत सेवाहरु प्रदान समेत गर्दै आईरहेको छ ।
एनआरएनएको निर्वाचन ‘फेसियल भेरिफिकेशन’बाट हुने, ५९ देशका ४ हजार बढी सहभागी हुँदै
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्वज्ञान सम्मेलन भोलि अर्थात् मंगलबारबाट सुरु हुँदै छ । मंगलबारबाट सञ्चालन हुने उक्त महाधिवेशन कार्तिक ३ गतेसम्म चल्ने छ भने सो महाधिवेशनले नयाँ कार्यसमितिको पनि चयन गर्ने छ । नयाँ कार्य समितिको लागि उम्मेदवारीहरूले आफ्नो उम्मेदवारको घोषणा गरिसकेका छन् । एनआरएनको नयाँ नेतृत्वको निर्वाचन भने यस पटक फेसियल भेरिफिकेशन मार्फत अनलाइन भोटिङ हुने भएको छ । अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका ४ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिने एनआरएनएले जनाएको छ । निर्वाचनमा विश्वका जुनसुकै स्थानमा बसेर पनि सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको संघले मिलाएको हो । एनआरएनएका अध्यक्ष डा. बद्री केसीले नेपालमा आएका मतदाताको लागि सम्मेलन स्थलमै अनलाइन भोटिङको व्यवस्था गरिएको बताए । उनका अनुसार सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरू, एनआरएनएका अभियन्ताहरू र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्व गरी करिब एक हजारभन्दा बढीको नेपालबाट सहभागिता रहने छ । सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्दै छन् । सम्मेलनमा विज्ञान, प्रविधि र आविष्कारलाई उच्च मूल्य दिँदै नेपाली जनताको हितमा प्रयोग गरिने विभिन्न रणनीतिहरू तर्जुमा गर्न जीवन्त फोरम हुने आशा आयोजक टिमले लिएको छ । अध्यक्ष केसीले नेपालको आर्थिक तथा सामाजिक विकासको लागि सरकार, निजी क्षेत्र र गैरआवासीय नेपालीहरूले सामूहिक रूपमा विज्ञान तथा प्रविधि र आविष्कारहरूको उपयोग गर्दै अगाडी बढ्नुपर्ने बताए । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान २० वर्ष पूरा गरेर नयाँ वर्षको अध्याय सुरु गरेको छ । स्थापनाको २० वर्षको अवधिमा ८६ देशमा औपचारिक सञ्जालको विस्तार गरेर विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई एउटै मालामा पंक्तिबद्ध गर्न संघ सफल भएको पनि बताइएको छ । ‘विदेशमा रहेका सबै नेपालीले नेपालको समृद्धिमा क्षमता अनुसारको भूमिका निर्वाह गर्ने गहिरो चाहना प्रकट गर्नुले सन् २००३ मा समृद्ध नेपालका लागि गैरआवासीय नेपालीले देखेको समृद्ध नेपालको सपना विस्तारै साकार हुने दिशामा अगाडि बढेको ठानेका छौं,’ उनले भने । सम्मेलनको समापन कार्तिक ३ गते प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने छन् । यसैगरी नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्तिकको २ गते गरिने छ ।
महानगरको बत्ती काट्ने कुलमानको चेतावनी, बत्ती काटेर देखाउन चुनौति
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत असोज २१ गते एक सूचना प्रकाशन गर्दै विद्युत महशुल रकम नतिर्ने स्थानीय तहको नाम र रकम सार्वजनिक गर्याे । प्राधिकरणका अनुसार ३३२ स्थानीय तहले ६ अर्ब ८ करोड ९४ लाख ३११ रुपैयाँ विद्युत महशुल तिरेका छैनन् । प्राधिकरणले सार्वजनिक गरेको सूचीमा ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको ५० प्रतिशत हिस्सा रहेको छ । १७ वटा महानगरपालिका र उपमहानगरपालिकाले ३ अर्ब ७ करोड ६९ लाख रुपैयाँ बराबरको विद्युत महशुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । जुन कूल रकमको ५०.५२ प्रतिशत हो । विद्युत महशुल तिर्न बाँकी रहेका स्थानीय तहहरुमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिकाको छ । काठमाडौं महानगरले १ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ बराबरको विद्युत महशुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । यस्तै, नेपालगञ्ज उपमहानगरले १९ करोड ९१ लाख ३८ हजार रुपैयाँ, वीरगञ्ज महानगरले १७ करोड २८ लाख ६९ हजार रुपैयाँ, ललितपुर महानगरले १४ करोड ४१ लाख ३० हजार रुपैयाँ र पोखरा महानगरले १३ करोड ३५ लाख १४ हजार रुपैयाँ विद्युत महशुल तिर्न बाँकी रहेको प्राधिकरणले बताएको छ , यस्तै, भरतपुर महानगरपालिकाले १३ करोड ३४ लाख ३३ हजार रुपैयाँ, धनगढी उपमहानगरले १० करोड ५७ लाख ३० हजार रुपैयाँ, विराटनगर महानगरले ८ करोड ६६ लाख ८ हजार रुपैयाँ, बुटवल उपमहानगरले ८ करोड १७ लाख ७७ हजार रुपैयाँ, जनकपुर उपमहानगरले ७ करोड ३९ लाख १३ हजार रुपैयाँ, कलैया उपमहानगरले ६ करोड ८९ लाख ६२ हजार रुपैयाँ तिर्न बाँकी छ । यस्तै, इटहरी उपमहानगरले २ करोड ९९ लाख ५८ हजार रुपैयाँ, धरान उपमहानरले २ करोड ५९ लाख ८१ हजार रुपैयाँ, जीतपुरसिमरा उपमहानगरले १ करोड २२ लाख ५ हजार रुपैयाँ, तुलसीपुर उपमहानगरले ९ करोड ५८ लाख १ हजार रुपैयाँ, हेटौँडा उपमहानगरले ९० लाख ५५ हजार रुपैयाँ र घोराही उपमहानगरले ३० लाख ७ हजार रुपैयाँ विद्युत महशुल तिर्न बाँकी रहेको प्राधिकरणको भनाइ छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्थानीय तहले सडक बत्तिवापत रकम तिर्न नमानेको बताउँछन् । यदि उक्त रकम स्थानीय तहले नतिर्ने हो भने सरकारसँग समायोजन गर्न आग्रह गरेको भएपनि नमानेको कार्यकारी निर्देशक घिसिङले बताए । २०७४ सालसम्मको रकमलाई सरकारसँग समायोजन गर्ने भनिएको थियो । तर, काठमाडौं महानगरापालिकाले स्वीकार नगर्दा उक्त रकम बढ्दै गएको उनको भनाइ छ । ‘प्राधिकरणले अधिकांश ठाउँमा सडक बत्ति जडान गरेको छ, बिलिङ आफैं गणना हुने स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ तर, प्राधिकरणले मात्रै सडक र बस्ति उज्यालो कार्यक्रम सम्भव छैन, त्यसको लागि स्थानीय तहले पनि भूमिका निर्वाह गर्नु पर्याे,’ उनले भने । यदि ४५ दिनभित्र उक्त करम नतिरेमा विद्युत महशुल सङ्कलन विनियमावली, २०७८ को विनियम १० को बमोजिम कारबाही गर्ने कार्यकारी निर्देशक घिसिङ बताउँछन् । उक्त विनियम १० मा मिटर रिडङ्ग गरेको ६० औं दिनसम्म विद्युत महशुल नबुझाएमा बिना सूचना जुनसुकै समयमा पनि विद्युत लाइन काटिने उल्लेख छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर भने विद्युत महशुल वापतको कुनै पनि रकम तिर्न बाँकी नरहेको बताउँछन् । सडक बत्ति जडान गर्नु महानगरको मात्रै दायित्व नभएर प्राधिकरणको समेत रहेको उनको भनाइ छ । ‘कुन पैसा तिर्न बाँकी हो, कुन भवनमा जडान गरेर आएको बिल हो ? तर, महानगरले कुनै पनि भवनको विद्युत महशुल तिर्न बाँकी छैन,’ उनले भने, ‘सडक बत्तिमा महानगरको मात्रै नभएर प्राधिकरणको समेत दायित्व हुन्छ, बिल भुक्तानी गर्दा बत्ति हेरेर तिर्नु की मिटर हेरेर तिर्नु ?’ मिटरमा आएको बिल सम्बन्धित निकायमा तिर्ने उनको भनाइ छ । प्राधिकरणले प्रकाशन गरेको सूचनामा उल्लेख भएको रकम काठमाडौं महानगरपालिकाले नतिर्ने उनले बताए । ‘अब सूचनामा उल्लखे गरेको रकम तिर्ने की नतिर्ने भन्ने प्राधिकरणलाई नै थाहा होला, उहाँहरुसँग नभएको उत्तर हामीसँग नै छैन, ४५ दिनभित्र हामी तिर्दैनौं, त्यसपछि कारवाही गरे भैगो नी त, महानगरपालिकाको काठमाडौं प्लाजाको विद्युत मिटर काटे भैगो नी त,’ उनले भने । हिसाब किताब मिलान गर्ने भए कानुन अनुसार अघि बढ्न उनले सुझाव दिए । बिना मिटर जडान गरिएको पोलको बिल महानगरले नतिर्ने उनको भनाइ छ । प्राधिकरणले प्रकाशन गरेको सूचना बारे आफूलाई जानकारी नभएको उनले बताए । प्राधिकरणले सीएसआर अन्तर्गत रहेर सडक बत्ति जडान गर्नु पर्ने उनको भनाइ छ । ‘उहाँहरुले निकालेको सूचनामा काठमाडौं महानगरपालिका उल्लेख छ तर हामीलाई थाहा नै छैन, हामीलाई चिठी लेखेर पठाउनुस न त्यसपछि हामी के गर्छाै, हेर्छाैं,’ उनले भने, ‘यदि भोलिका दिनमा सडक बत्ति बन्द गर्याे भने उसले सीएसआर अन्तर्गत त्यो बत्ति काट्न पाउँदैन, बत्ति उत्पादन गरेपछि त्यो समुदाय, सहर वा गाउँमा २० प्रतिशत बत्तिहरु सीएसआरमा बाड्नु पर्छ, महानगरपालिका भित्र कार्यालय राखेपछि बत्ति जडान गर्नु पर्छ ।’
पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालकलाई कारबाही गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने ‘अफलाइन राइड ट्रिप’ क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले सोमबार जारी गरेका प्रेस विज्ञप्तिमा विगतका केही आपाराधिक घटनामा यस्ता सवारी चालकको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलतालाई दृष्टिबाट सदैव जोखिम सिर्जना हुने भएको कारणले अफलाइन राइड सेयर नगर्नेतर्फ सचेत रहन अनुरोध गरिएको छ । रासस
हराउँदै चर्खे पिङ, संरक्षणमा छैन चासो
बागलुङ । बागलुङ नगरपालिका(५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खेपिङ हालियो । चर्खेपिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खेपिङ हालिएको थियो । यसअघि साझखोलामा लिङ्गे पिङ मात्रै हाल्ने चलन थियो । गत वर्ष बनाइएको चर्खेपिङ अहिले फेरि हाल्ने तयारी भइरहेको साझखोलाका स्थानीय जुना न्यूरेले बताए । “यहाँ पहिले लिङ्गे पिङ थियो, गतवर्ष सामुदायिक वनको सक्रियतामा परम्पराको संरक्षण गर्ने उद्देश्यले लिङ्गेपिङको सट्टा चर्खेपिङ हालियो”, न्युरेले भने, “दश वर्षअघि मालिकाको पञ्चासेमा चर्खेपिङ हालिएको थियो, त्यसयता चर्खेपिङ थिएन, गत वर्षबाट साझोखोलामा चर्खेपिङ हाल्न थालिएको हो ।” न्यूरेका अनुसार लिङ्गे पिङभन्दा चर्खेपिङ महँगो हुन्छ । उनका अनुसार गत वर्ष सुनाखरी सामुदायिक वन उपभोक्ता समितिमार्फत २० हजार रुपैयाँमा काठ खरिद गरी पिङ तयार गरिएको थियो । लिङ्गे पिङ भने पाँच हजार रुपैयाँमै तयार गर्न सकिने उनको भनाइ छ । यस्तै बागलुङ नगरपालिका–८ सिगानाको सायकोट गाउँमा दशैं तिहारमा चर्खे पिङ नहालेको १० वर्ष पुग्यो । दश वर्ष अघिसम्म हालिँदै आइएको चर्खेपिङ गाउँमा युवाको सङ्ख्या कम हुन थालेपछि हराउँदै गएको हो । सिगानाको कायमारेमा १० वर्ष अघिसम्म दशैं र तिहारमा हालिएको चर्खेपिङ लोप भएपछि पुन लिङ्गे पिङ हाल्न सुरु भएको थियो । दशैंमा भूँइ छाड्नुपर्छ भन्ने मान्यताले पनि पिङको महत्व बढेको पाइन्छ । पहिले लिङ्गे पिङमा प्रयोग हुने घाँस (बाबियो)को सट्टा अचेल डोरीको प्रयोग गर्न थालिएको छ । गाउँमा दशैं सुरु हुनु महिना अघिदेखि चर्खेपिङ बनाउनेको निकै उत्साह हुनेभए पनि पछिल्लो पुस्ताको बेवास्ता र बढ्दो युवा पलायनका कारण चर्खेपिङ लोप हुन थालेको हो । झन्डै दुई दशकअघि गाउँ–गाउँमा हुने मेला पर्वमा चर्खेपिङ अनिवार्य जस्तै थियो । तर अहिले यस्ता पिङको सङ्ख्या निकै कम भएको बागलुङ बजारका स्थानीय काजी गाउँले श्रेष्ठको भनाइ छ । “कतिपयले संरक्षणका लागि भए पनि चर्खेपिङ बनाउनुभएको छ, तर अहिले गाउँनैपिच्छे चर्खेपिङ देख्न पाइदैन”, श्रेष्ठले भने, “अब स्थानीय तहले चर्खेपिङ संरक्षण नगरे भविष्यमा चर्खेपिङ देख्न नपाउने अवस्था आउन सक्छ ।” गाउँका युवाहरु जम्मा भएर जङ्गलमा काठ काटेर चर्खेपिङ बनाउँदा निकै रमाइलो हुने भए पनि पछिल्लो समय गाउँमा युवाको सङ्ख्या कम भएपछि पिङ हाल्ने चलन पनि हराउँदै गएको उनको भनाई छ । चर्खेपिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यकपर्ने हुँदा पनि अहिले लोप हुँदै गएको हो । हिजोआज वनमा काठ काट्न नपाइने नियम लगाएपछि काठ अभावले चर्खेपिङ राख्न छाडेको स्थानीय हरि सुनारको बुझाइ छ । केहीले जसोतसो संस्कृति जोगाउन फ्याट्टफुट्ट लिङ्गेपिङ राख्ने गरेको पाइए पनि पहिलेजस्तो गाउँघरमा पिङ राख्ने र खेल्नेको रौनक नभएको उनको भनाइ छ । युवा जनशक्ति विदेश पलायन हुनु, बाह्य संस्कृतिको प्रभाव गाउँघरमा पर्न थालेपछि यतिबेला दशैंले ढपक्कै छोए पनि गाउँघरमा पिङ राख्ने र खेल्नेको उत्साह नदेखिएको सुनारको भनाइ छ । रासस