
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्वज्ञान सम्मेलन भोलि अर्थात् मंगलबारबाट सुरु हुँदै छ । मंगलबारबाट सञ्चालन हुने उक्त महाधिवेशन कार्तिक ३ गतेसम्म चल्ने छ भने सो महाधिवेशनले नयाँ कार्यसमितिको पनि चयन गर्ने छ ।
नयाँ कार्य समितिको लागि उम्मेदवारीहरूले आफ्नो उम्मेदवारको घोषणा गरिसकेका छन् । एनआरएनको नयाँ नेतृत्वको निर्वाचन भने यस पटक फेसियल भेरिफिकेशन मार्फत अनलाइन भोटिङ हुने भएको छ ।
अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका ४ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिने एनआरएनएले जनाएको छ । निर्वाचनमा विश्वका जुनसुकै स्थानमा बसेर पनि सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको संघले मिलाएको हो ।
एनआरएनएका अध्यक्ष डा. बद्री केसीले नेपालमा आएका मतदाताको लागि सम्मेलन स्थलमै अनलाइन भोटिङको व्यवस्था गरिएको बताए । उनका अनुसार सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरू, एनआरएनएका अभियन्ताहरू र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्व गरी करिब एक हजारभन्दा बढीको नेपालबाट सहभागिता रहने छ ।
सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्दै छन् । सम्मेलनमा विज्ञान, प्रविधि र आविष्कारलाई उच्च मूल्य दिँदै नेपाली जनताको हितमा प्रयोग गरिने विभिन्न रणनीतिहरू तर्जुमा गर्न जीवन्त फोरम हुने आशा आयोजक टिमले लिएको छ ।
अध्यक्ष केसीले नेपालको आर्थिक तथा सामाजिक विकासको लागि सरकार, निजी क्षेत्र र गैरआवासीय नेपालीहरूले सामूहिक रूपमा विज्ञान तथा प्रविधि र आविष्कारहरूको उपयोग गर्दै अगाडी बढ्नुपर्ने बताए ।
‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान २० वर्ष पूरा गरेर नयाँ वर्षको अध्याय सुरु गरेको छ । स्थापनाको २० वर्षको अवधिमा ८६ देशमा औपचारिक सञ्जालको विस्तार गरेर विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई एउटै मालामा पंक्तिबद्ध गर्न संघ सफल भएको पनि बताइएको छ ।
‘विदेशमा रहेका सबै नेपालीले नेपालको समृद्धिमा क्षमता अनुसारको भूमिका निर्वाह गर्ने गहिरो चाहना प्रकट गर्नुले सन् २००३ मा समृद्ध नेपालका लागि गैरआवासीय नेपालीले देखेको समृद्ध नेपालको सपना विस्तारै साकार हुने दिशामा अगाडि बढेको ठानेका छौं,’ उनले भने ।
सम्मेलनको समापन कार्तिक ३ गते प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने छन् । यसैगरी नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्तिकको २ गते गरिने छ ।