विकासन्युज

स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि तयार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहमा ज्येष्ठ नागरिकको हेरचाह, स्वास्थ्य, सामाजिक सहभागिता र सम्मानजनक जीवनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन स्थापना सम्बन्धी कार्यविधि, २०८३’ तयार गरेको छ । कार्यविधिअनुसार स्थानीय तहमा सञ्चालन हुने ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले घरमा एक्लोपन महसुस गरिरहेका वा हेरचाह आवश्यक भएका ज्येष्ठ नागरिकलाई दिनको समयमा भेटघाट, सामाजिक घुलमिल, मनोरञ्जन, स्वास्थ्य सेवा तथा परामर्शको अवसर उपलब्ध गराउनेछ । दिवा सेवा केन्द्रलाई कम्तीमा हप्ताको पाँच दिन सञ्चालनमा राख्नुपर्ने व्यवस्था गरिएको छ। केन्द्रहरू ज्येष्ठ नागरिकमैत्री हुनुपर्ने र शौचालय, भान्सा, र्‍याम्प, आवतजावत गर्ने स्थानमा समाउने रेलिङ तथा आवश्यक अन्य संरचना व्यवस्थित गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षालाई समेत कार्यक्रममा प्राथमिकता दिइएको छ ।  उनीहरूको स्वास्थ्य उपचारका लागि कम्तीमा महिनामा एकपटक सरकारी, निजी वा सामुदायिक अस्पतालका चिकित्सकमार्फत स्वास्थ्य परीक्षण गराउने, आवश्यक औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन सहयोग गर्ने र आवश्यकताअनुसार स्वास्थ्यलगायत अन्य परामर्श सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ । दिवा सेवा केन्द्रमा ज्येष्ठ नागरिकका लागि स्वच्छ खाजा तथा तातो–चिसो पिउने पानीको व्यवस्था गर्नुपर्नेछ ।  सेवा लिने ज्येष्ठ नागरिकको इच्छाअनुसार कम्तीमा तीन महिनामा एकपटक धार्मिक तथा सांस्कृतिक स्थल, पार्क, वनभोज वा अन्य मनोरञ्जनात्मक गतिविधिमा सहभागी गराउन सकिने व्यवस्था पनि कार्यविधिमा समेटिएको छ । कार्यविधिले ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र जीवनअनुभवलाई नयाँ पुस्तासँग हस्तान्तरण गर्ने विषयलाई विशेष प्राथमिकता दिएको छ ।  यसका लागि प्रवचन, अन्तरक्रिया तथा अनुभव आदानप्रदानका कार्यक्रम सञ्चालन गरी अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ ।  यसबाट पुस्ताबीचको दूरी कम गर्दै ज्येष्ठ नागरिकको अनुभवलाई समाजको उपयोगी स्रोतका रूपमा स्थापित गर्ने मन्त्रालयको लक्ष्य छ । त्यस्तै, ज्येष्ठ नागरिकले आफूसँग रहेको सीप प्रयोग गरी कुनै सामग्री उत्पादन, निर्माण वा बिक्री वितरण गर्न चाहेमा त्यसका लागि आवश्यक सहजीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ । सक्रिय बुढ्यौली र उद्यमशीलता प्रवर्द्धन गर्ने वातावरण सिर्जना गर्नु पनि कार्यक्रमको उद्देश्यमा समेटिएको छ । ज्येष्ठ नागरिकलाई उनीहरूको इच्छा विपरीत कुनै कार्यक्रममा सहभागी गराउन नपाइने स्पष्ट व्यवस्था गरिएको छ। केन्द्र सञ्चालनका क्रममा ज्येष्ठ नागरिकको गरिमा, सुरक्षा र स्वेच्छालाई प्राथमिकतामा राख्नुपर्नेछ । कार्यक्रम संघीय सरकारबाट स्थानीय तहमा उपलब्ध गराइने सशर्त अनुदानमार्फत सञ्चालन गरिनेछ । अनुदान रकम सम्बन्धित आर्थिक वर्षभित्र खर्च नभए बाँकी रकम संघीय सञ्चित कोषमा फिर्ता गर्नुपर्ने व्यवस्था छ । कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन संघीय, प्रदेश तथा स्थानीय सरकारका सम्बन्धित निकायबाट गर्न सकिनेछ । स्थानीय तहले आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र कार्यक्रमको भौतिक तथा वित्तीय प्रगति, लाभान्वित ज्येष्ठ नागरिकको विवरण, मुख्य उपलब्धि, समस्या, चुनौती तथा सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पठाउनुपर्नेछ । यस कार्यविधिमार्फत स्थानीय तहमा ज्येष्ठ नागरिकका लागि केवल बस्ने वा भेटघाट गर्ने केन्द्र मात्र नभई स्वास्थ्य, सामाजिक सहभागिता, मनोरञ्जन, सीप, अनुभव हस्तान्तरण र सक्रिय बुढ्यौलीलाई जोड्ने बहुआयामिक दिवा सेवा केन्द्र विकास गर्ने आधार तयार भएको छ । 

मेडिकल कलेजको बेतिथिको निगरानी र कारबाही गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले मेडिकल क्षेत्रमा देखिएको बेतिथि र अनियमितता अन्त्य गर्दै यस क्षेत्रलाई थप जिम्मेवार र व्यवस्थित बनाउन कडा कदम चाल्ने भएको छ । मेडिकल कलेजको निरीक्षणका बेला मात्रै फ्याकल्टीका रूपमा उपस्थित हुने तथाकथित ‘खडेबाबा’ अर्थात् ‘घोस्ट फ्याकल्टी’ विरुद्ध सरकारले कडा कारबाहीको तयारी गरेको हो । शिक्षामन्त्रीको निर्देशनअनुसार अनियमितता तथा बेतिथिमा संलग्न मेडिकल कलेजको निगरानी बढाउँदै दोषीमाथि कारबाही गर्ने तयारी गरिएको छ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा अस्पताल तथा चिकित्सकबाट लापरबाही भएको सम्बन्धमा प्राप्त विशेष सूचनाका आधारमा सरकारले बेतिथि अन्त्य गर्न नयाँ कदम चाल्न लागेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सम्बन्धित सरकारी तथा नियामक निकायले देशभरका मेडिकल कलेजमा कार्यरत फ्याकल्टीहरूको विवरणमाथि सूक्ष्म निगरानी सुरु गर्ने भएका छन् । फ्याकल्टीको नियुक्ति, नियमित उपस्थिति, अध्यापन, अस्पतालमा प्रदान गर्ने सेवा तथा निरीक्षणका क्रममा पेश गरिएका विवरणसमेत जाँचको दायरामा ल्याइनेछ । वास्तविक रूपमा अध्यापन वा स्वास्थ्य सेवा प्रदान नगरी निरीक्षणका लागि मात्रै आफ्नो नाम, उपस्थिति वा कागजात प्रयोग गर्न दिएको प्रमाणित भएमा सम्बन्धित चिकित्सकमाथि समेत कारबाही गरिने स्रोतले जनाएको छ । गम्भीर प्रकृतिको संलग्नता प्रमाणित भए नेपाल मेडिकल काउन्सिलको लाइसेन्स निलम्बनदेखि खारेजीसम्मको प्रक्रिया अघि बढ्न सक्ने बताइएको छ । विद्यार्थी तथा अन्य सरोकारवालाबाट प्राप्त सूचना, फोटो, भिडियोलगायत प्रमाणसमेत अध्ययन गरिनेछ । मन्त्रालयले अब कागजमा मात्रै नभई कक्षामा वास्तविक फ्याकल्टी हुनुपर्नेमा जोड दिएको छ । मेडिकल कलेजले ‘खडेबाबा’ प्रयोग गरेर सिट संख्या वा मान्यता प्रभावित गर्ने अभ्यास गरेको प्रमाणित भएमा त्यसमा संलग्न सबैलाई जवाफदेही बनाइने मन्त्रालयको भनाइ छ । हालै बसेको चिकित्सा शिक्षा आयोगको बैठकमा समेत मेडिकल कलेजमा हुने यस्ता बेतिथिको विषय उठेको थियो । बैठकमा आयोगका उपाध्यक्ष प्रा.डा. देवेन्द्र खत्रीले यस्ता गतिविधिमा संलग्न अस्पताल तथा चिकित्सकप्रति कडाइ गर्नुपर्ने धारणा राखेका थिए ।  यस विषयमा शिक्षा मन्त्रालयले समेत मन्त्रालयमा प्राप्त गुनासोलाई आधार बनाउँदै सम्बन्धित सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरिसकेको जनाएको छ ।  अब मेडिकल कलेजमा फ्याकल्टीको वास्तविक उपस्थिति र जिम्मेवारी सुनिश्चित गर्न अनुगमन तथा कारबाही प्रक्रियालाई थप प्रभावकारी बनाउने तयारी गरिएको छ । 

रुसमा प्लेग फैलिएको हो ? यस्तो छ वास्तविकता

काठमाडौं । रुसको साइबेरियास्थित इर्कुत्स्क क्षेत्रमा प्लेग फैलिएको भन्दै सामाजिक सञ्जालमा विभिन्न दाबी भइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सहितका अन्तर्राष्ट्रिय स्वास्थ्य निकायले घटनालाई नजिकबाट निगरानी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । तर अहिलेसम्म उपलब्ध आधिकारिक विवरणले रुसमा प्लेगको प्रकोप फैलिएको पुष्टि भने गरेको छैन । घटनाको केन्द्रमा इर्कुत्स्कस्थित एन्टी–प्लेग रिसर्च इन्स्टिच्युट अफ साइबेरिया एन्ड द फार इस्टमा कार्यरत २८ वर्षीया प्रयोगशाला कर्मचारी दार्या शिपिलोभाको मृत्यु भएको छ ।  उनको गत अक्टोबर २ मा मृत्यु भएको हो । रुसी अधिकारीहरूले उनको मृत्युको कारण अहिलेसम्म स्पष्ट नभएको ‘अज्ञात निमोनिया’ भएको बताएका छन् । तर शिपिलोभा प्लेगजस्ता खतरनाक रोगका जीवाणुमाथि अनुसन्धान गर्ने संस्थामा काम गर्ने भएकाले उनको मृत्युले अन्तर्राष्ट्रियस्तरमै चासो बढाएको हो । के साँच्चै प्लेगबाट उनको मृत्यु भएको हो ? रुसी स्वास्थ्य निगरानी निकाय (रोस्पोत्रेब्नादजोर)ले शिपिलोभाको मृत्यु प्लेगका कारण भएको पुष्टि गरेको छैन । निकायका अनुसार उनको शरीरमा उनको कामसँग सम्बन्धित कुनै खतरनाक सूक्ष्मजीव फेला परेको छैन । उनीसँग सम्पर्कमा आएका व्यक्तिहरूमा समेत प्लेग संक्रमण भेटिएको छैन । यद्यपि, डब्ल्यूएचओले भने उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ । डब्लूएचओका अनुसार रुसी अधिकारीहरूले आफूलाई दिएको जानकारीमा इर्कुत्स्कमा प्लेगको कुनै पुष्टि भएको केस नरहेको बताएका छन् । तर शिपिलोभाको मृत्युको वास्तविक कारणबारे थप परीक्षण भइरहेको छ । यसको अर्थ अहिलेको अवस्थामा ‘उनी प्लेगबाट मरिन्’ भन्न पनि मिल्दैन र ‘प्लेगको सम्भावना पूर्ण रूपमा खारेज भइसक्यो’ भन्न पनि मिल्दैन । प्रयोगशालामा प्लेगको ट्युब फुटेकै हो त ? यही विषयले घटनालाई थप रहस्यमय बनाएको हो । केही रुसी तथा स्वतन्त्र सञ्चारमाध्यममा शिपिलोभा प्रयोगशालामा काम गर्ने क्रममा ‘यर्सिनिया पेस्टिस’ नामक प्लेग गराउने जीवाणु भएको ट्युब फुटेको र त्यसपछि उनी बिरामी परेको दाबी गरिएको छ । तर यो घटना भने स्वतन्त्र रूपमा पुष्टि भएको छैन । रुसको रोस्पोत्रेब्नादजोरले प्रयोगशालामा त्यस्तो दुर्घटना भएको कुरा अस्वीकार गरेको छ । त्यस्तै, उनको मृत्यु र प्रयोगशालामा काम गरेको अवस्थाबीच प्रत्यक्ष सम्बन्ध रहेको प्रमाण सार्वजनिक गरिएको छैन । त्यसैले अहिले सामाजिक सञ्जालमा देखिएका ‘ल्याबबाट प्लेग लिक भयो’ वा ‘प्लेगको ट्युब फुटेपछि संक्रमण भयो’ भन्ने दाबीलाई तथ्यका रूपमा प्रस्तुत गर्नु हतार हुनेछ । शिपिलोभाको मृत्यु भएपछि उनीसँग सम्पर्कमा आएका करिब २०० जनालाई स्वास्थ्य निगरानीमा राखिएको थियो । उनीहरूको परीक्षणसमेत गरिएको थियो । यसले प्लेग पुष्टि भएको भन्ने अर्थ दिँदैन । तर यदि मृतकलाई न्यूमोनिक प्लेग भएको भए नजिकको सम्पर्कबाट अरू व्यक्तिमा संक्रमण फैलिन सक्ने भएकाले अधिकारीहरूले सम्भावित जोखिमलाई ध्यानमा राखेर सावधानी अपनाएका हुन् । रुसका अधिकारीहरूका अनुसार अहिलेसम्म ती सम्पर्कमा आएका व्यक्तिहरूमा प्लेग वा अन्य खतरनाक संक्रमण भेटिएको छैन । करिब ६० प्रतिशत व्यक्तिलाई निगरानीबाट मुक्तसमेत गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इर्कुत्स्कको अस्पताल र सम्बन्धित संस्थामा पनि सावधानीका उपाय अपनाइएको थियो । अनुसन्धान संस्थाका ६० भन्दा बढी कर्मचारीलाई समेत निगरानीमा राखिएको रिपोर्ट आएको थियो । के भन्छ डब्लूएचओ ? डब्लूएचओका प्रवक्ता क्रिस्टियन लिन्डमायरले अक्टोबर ६ मा घटनाबारे जानकारी दिँदै मृत्युको कारण अहिलेसम्म आधिकारिक रूपमा पुष्टि नभएको जानकारी दिए । उनका अनुसार मृतकसँग सम्पर्कमा आएका सबै व्यक्तिको पहिचान गरिएको र उनीहरूलाई निगरानीमा राखिएको छ । अहिलेसम्म ती व्यक्तिहरूमा रोगका लक्षण देखिएका छैनन् । रुसी अधिकारीहरूबाट प्राप्त जानकारीअनुसार सम्पर्कमा आएका व्यक्तिहरूको परीक्षण गर्दा खतरनाक संक्रामक रोगका जीवाणु पनि भेटिएका छैनन् । डब्लूएचओको प्रारम्भिक जोखिम मूल्यांकनअनुसार इर्कुत्स्कमा जोखिम मध्यमदेखि न्यून, रुसभर न्यून तथा युरोपेली क्षेत्रमा अत्यन्त न्यून रहेको छ । अर्थात, डब्लूएचओको अहिलेको मूल्यांकनले यो घटना कोरोनाभाइरस महामारीजस्तो विश्वव्यापी संकटको अवस्थामा पुगिसकेको छैन भन्ने देखाउँछ । निगरानीमा युरोप पनि  युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल (ईसीडीसी)ले पनि घटनालाई नजिकबाट निगरानी गरिरहेको छ । ईसीडीसीका अनुसार अहिले उपलब्ध सीमित जानकारीमा दोस्रो संक्रमित व्यक्ति भेटिएको छैन र मानिसबाट मानिसमा निरन्तर संक्रमण फैलिरहेको प्रमाण पनि छैन । यदि निमोनिक प्लेग पुष्टि भएमा बिरामीलाई अलग राखेर उपचार गर्नुपर्ने हुन्छ । तर यो रोग समयमै पहिचान भएमा एन्टिबायोटिकबाट उपचार गर्न सकिन्छ । ईसीडीसीले समेत प्लेगको उपचारका लागि प्रभावकारी एन्टिबायोटिक उपलब्ध रहेको जनाएको छ । कस्तो खाले रोग हो प्लेग ? प्लेग ‘यर्सिनिया पेस्टिस’ नामक ब्याक्टेरियाबाट हुने संक्रामक रोग हो । इतिहासमा लाखौं मानिसको ज्यान लिएको ‘ब्ल्याक डेथ’ पनि यही ब्याक्टेरियासँग सम्बन्धित थियो । प्लेगका मुख्य तीन प्रकार हुन्छन्, ब्युबोनिक प्लेग, सेप्टिसेमिक प्लेग र न्युमोनिक प्लेग । ब्युबोनिक प्लेग सामान्यतः संक्रमित मुसा वा अन्य जनावरमा रहेका संक्रमित उपियाँको टोकाइबाट मानिसमा सर्छ । तर न्युमोनिक प्लेग फोक्सोमा संक्रमण गर्ने सबैभन्दा गम्भीर रूप हो । संक्रमित व्यक्तिले खोक्दा वा श्वास फेर्दा निस्कने श्वासप्रश्वासबाट नजिकको व्यक्तिमा संक्रमण फैलिन सक्छ । यसका सुरुवाती लक्षण ज्वरो, चिसो लाग्ने, टाउको तथा शरीर दुख्ने, कमजोरी, खोकीलगायत हुन सक्छन् । उपचार नगरेमा न्युमोनिक प्लेग घातक हुन सक्छ । तर समयमै पहिचान गरी एन्टिबायोटिक उपचार सुरु गरेमा निको पार्न सकिन्छ । रुसमा प्लेग पूर्ण रूपमा नयाँ रोग पनि होइन यहाँ अर्को महत्त्वपूर्ण कुरा के हो भने साइबेरियामा प्लेग गराउने जीवाणु प्राकृतिक रूपमा पाइन्छ । यर्सिनिया पेस्टिस केही जंगली साना स्तनधारी जनावर तथा तिनमा रहेका उपियाँमा प्राकृतिक रूपमा रहन सक्छ । त्यसैले प्लेग संसारबाट समाप्त भइसकेको रोग होइन । रुसमा भने मानिसमा यसको संक्रमण दुर्लभ छ । यसै कारण इर्कुत्स्कस्थित संस्थाको स्थापना पनि प्लेग नियन्त्रण र अनुसन्धानका लागि भएको हो । यो संस्था सन् १९३४ मा स्थापना भएको र पछि हैजा तथा एन्थ्राक्सलगायत अन्य खतरनाक रोगमाथि समेत काम गर्दै आएको छ। अमेरिकाको चासो किन ? घटनाप्रति अमेरिकाले समेत चासो देखाएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसलाई घटनाबारे थप जानकारी पारदर्शी रूपमा सार्वजनिक गर्न आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत रुसलाई आवश्यक सहयोग गर्न आफू तयार रहेको बताएका छन् । यसले गर्दा पनि यो घटना अन्तर्राष्ट्रिय तहमा थप चर्चामा आएको हो । तर अमेरिकाले चासो देखाएको वा थप जानकारी मागेको अर्थ रुसमा प्लेग फैलिएको पुष्टि भयो भन्ने होइन ।

राइड सेयरिङ चालकका लागि ‘वन स्टप’ सेवा : गङ्गबुमा खुल्यो राइड केयर नेपाल

काठमाडौं । काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै ‘राइड केयर नेपाल’ सञ्चालनमा आएको छ । टोखा नगरपालिका–९ वडा कार्यालयसँगै स्थापना गरिएको राइड केयर नेपालको उद्घाटन असोज २१ गते गरिएको हो ।   राइड सेयरिङ क्षेत्रमा आबद्ध चालकलाई आवश्यक सेवा, सुविधा तथा सहयोग उपलब्ध गराउने उद्देश्यले राइड केयर नेपाल सञ्चालनमा ल्याइएको सञ्चालकहरूले बताएका छन् । पठाओ, इन्ड्राइभर, याङ्गगो, उबर लगायतका राइड सेयरिङ प्लेटफर्ममा आबद्ध चालकलाई प्राथमिकता दिँदै विभिन्न सेवा तथा सुविधाहरू उपलब्ध गराउने तयारी गरिएको छ । राइड केयर नेपालमा बाइक सर्भिसिङमा विशेष सुविधा, पार्टपुर्जामा छुट तथा एमआरपीमा विशेष छुट उपलब्ध गराइने जनाइएको छ । दसैँलाई लक्षित गर्दै विशेष अफरसमेत सञ्चालन गरिएको छ । जसअनुसार फुल सर्भिस गराउने ग्राहकलाई निःशुल्क थकाली खाना उपलब्ध गराउने व्यवस्था गरिएको सञ्चालकहरूको भनाइ छ । त्यस्तै, बाइकको मर्मतसम्भारका लागि फाइनान्सिङ सुविधा, रिकन्डिसन बाइकको कारोबार, बाइक रेन्टल, रेस्टुरेन्ट तथा सैलुन सेवा सञ्चालन गर्ने योजना रहेको राइड केयर नेपालले जनाएको छ । ग्राहक तथा राइडरलाई लक्षित गर्दै विभिन्न कार्यक्रम तथा इभेन्टसमेत आयोजना गरिने बताइएको छ । राइड केयर नेपालले आफ्नै ५० वटा बाइक सञ्चालनमा ल्याएर राइड सेयरिङ सेवा प्रदान गर्ने तयारी समेत गरेको छ । यसबाट राइडर तथा यात्रुलाई थप सहज, व्यवस्थित र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्य रहेको सञ्चालकहरूले बताएका छन् । राइड सेयरिङ क्षेत्रमा आबद्ध चालकका लागि एउटै स्थानबाट सर्भिसिङदेखि अन्य आवश्यक सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा आएको राइड केयर नेपालले आगामी दिनमा सेवा विस्तार गर्ने जनाएको छ । राइड केयर नेपालका सञ्चालकहरूमा श्रीराम थपलिया, रुपक कुँवर र मनिष कुँवर रहेका छन् ।

गुल्मीबाट कांग्रेस केन्द्रीय समितिमा १० उम्मेदवार, एक उपसभापतिमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गुल्मीबाट १० जना नेताले केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दिएका छन् । तीमध्ये एक जनाले उपसभापति र नौ जनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् । महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार गुल्मीका नेता डा. चन्द्रकान्त भण्डारीले उपसभापति पदमा उम्मेदवारी दिएका छन् । भण्डारी कांग्रेसभित्र प्रभावशाली नेताका रूपमा परिचित छन् । निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार गुल्मीबाट निवर्तमान केन्द्रीय सदस्य छन्द पहराईले पुनः केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनी यसपटक पनि केन्द्रीय समितिमा निरन्तरता पाउने प्रयासमा छन् । त्यस्तै राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकोटा र लुम्बिनी प्रदेशसभा सदस्य धनेन्द्र कार्कीले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । पूर्वविद्यार्थी नेता मोतीलाल भण्डारी पनि केन्द्रीय सदस्यको दौडमा छन् । गुल्मीबाट महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी सुस्मा पाण्डे र भगवती काफ्लेले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । चार्टर्ड एकाउन्टेन्ट (सीए) पदम भट्टराईले समेत केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । यसैगरी कांग्रेस नेताहरू मुक्ति कँडेल र अमृत ज्ञवालीले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् । यससँगै १५औँ महाधिवेशनमा गुल्मीबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिने नेताको संख्या १० पुगेको छ । उपसभापति पदमा भण्डारीको उम्मेदवारीसँगै गुल्मीको प्रतिनिधित्व पदाधिकारी तहमा समेत पुगेको छ भने बाँकी नौ उम्मेदवार केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धामा छन् । गुल्मीबाट एउटै महाधिवेशनमा यति ठूलो संख्यामा केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी पर्नुले जिल्लामा कांग्रेसको केन्द्रीय राजनीतिमा प्रभाव विस्तार गर्ने प्रतिस्पर्धा बढेको देखिएको छ । यद्यपि, अन्तिम परिणाम भने महाधिवेशन प्रतिनिधिको मतदानबाट तय हुनेछ । 

गगनलाई राठोरको समर्थन

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठोरले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् ।  बुधबार पत्रकार सम्मेलन गर्दै राठोरले पार्टी संकटमा रहेका बेला मिलेर अघि बढ्नुपर्ने गगन थापाको प्रस्तावलाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको बताएका हुन् ।  उनले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै गगन थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको बताए ।  राठोरले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन आफू सक्रिय रहनेसमेत बताएका छन् । 

सेयर बजारमा ३ अर्ब ७४ करोड रुपैयाँको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.३८ अंकले घटेर २५७२.३४ बिन्दुमा झरेको छ ।  नेप्सेका अनुसार १०० कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बुधबार ३५९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रोको भएको छ । घलेम्दीको ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै रिलाइन्स स्पिीनिङको २९ करोड, पिपुल्स हाइड्रोको १६ करोड र सानिमा मिडलको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।   नेप्सेका अधिकांश उपसूचक घटेका छन् । १३ वटा उपसूचकमध्ये बैंकिङ उपसूचक मात्रै बढेको छ भने बाँकी १२ वटा उपसूचक ओरालो लागेका छन् । बैंकिङ उपसूचक १.२७ अंकले बढेर १ हजार ४९४.७१ विन्दुमा पुगेको छ । यसको वृद्धि ०.०८ प्रतिशत रहेको छ । त्यस्तै, विकास बैंक उपसूचक ३.९६ अंकले घटेर ५ हजार ३३५.४७ विन्दुमा झरेको छ । वित्त उपसूचक २.०९ अंकले घटेर २ हजार १७६.७४ विन्दुमा पुगेको छ । होटल तथा पर्यटन उपसूचक ४.१८ अंकले घटेर ६ हजार ९३६.५९ विन्दुमा कायम भएको छ भने जलविद्युत् उपसूचक १.३५ अंकले घटेर ३ हजार ५१०.०३ विन्दुमा झरेको छ । लगानी उपसूचकमा ०.५५ प्रतिशतको गिरावट आएको छ । यो ०.५१ अंकले घटेर ९३.५२ विन्दुमा पुगेको छ । जीवन बीमा उपसूचक ३४.५७ अंकले घटेर ११ हजार ५६८.६७ विन्दुमा आएको छ । उत्पादन तथा प्रशोधन उपसूचकमा भने सबैभन्दा ठूलो अंकगत गिरावट देखिएको छ । उक्त उपसूचक ७७.६९ अंकले घटेर १० हजार ४७९.२६ विन्दुमा झरेको छ । लघुवित्त उपसूचक १७.५७ अंकले घटेर ४ हजार ४२९.२६ विन्दुमा पुगेको छ भने सामूहिक लगानी कोष उपसूचक ०.०३ अंकले घटेर १९.४७ विन्दुमा कायम भएको छ । निर्जीवन बीमा उपसूचक ५७.०९ अंकले घटेर ९ हजार ३४९.१८ विन्दुमा झरेको छ । अन्य समूहको उपसूचक ६.६० अंकले घटेर १ हजार ७९३.३४ विन्दुमा पुगेको छ । त्यस्तै, ट्रेडिङ उपसूचक सबैभन्दा धेरै १.३८ प्रतिशतले घटेको छ । यो ४४.६८ अंकले घटेर ३ हजार १८१.१७ विन्दुमा कायम भएको छ  ।

विमानस्थल निर्माणदेखि सञ्चालनसम्मै निजी क्षेत्रको साथ खोज्दै सरकार

काठमाडौं । सरकारले विमानस्थल निर्माणदेखि स्तरोन्नति, व्यवस्थापन र सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउन कानुनी बाटो खोल्ने तयारी गरेको छ । संघीय संसद्मा पेस भएको ‘नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८३’ ले विमानस्थल पूर्वाधारमा स्वदेशी तथा विदेशी निजी पूँजी परिचालन गर्नसक्ने व्यवस्था प्रस्ताव गरेको हो । विमानस्थलजस्तो ठूलो पूर्वाधार निर्माणमा सरकारी स्रोत मात्र पर्याप्त नहुने भएपछि सरकारले कानून बनाएर स्वदेशी तथा विदेशी लगानी परिचालनको कानूनी आधार तयार गर्न खोजेको छ । विधेयकको दफा ४५ मा संयुक्त लगानीसम्बन्धी व्यवस्था गरिएको छ ।  उक्त व्यवस्थाअनुसार प्राधिकरणले नेपाल सरकारको स्वीकृति लिएर स्वदेशी वा विदेशी लगानीकर्तासँग व्यावसायिक योजनाका आधारमा संयुक्त लगानीमा योजना तथा कार्यक्रम सञ्चालन गर्न सक्नेछ । त्यस्तै, स्वदेशी वा विदेशी सरकार वा संस्थासँग सार्वजनिक–निजी साझेदारी (पीपीपी) वा संयुक्त साझेदारीमा विमानस्थल निर्माण, स्तरोन्नति, सञ्चालन वा व्यवस्थापन गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।  यसले विमानस्थल पूर्वाधार विकासका लागि सरकारको बजेटमा मात्र निर्भर रहनुपर्ने अवस्थाबाट बाहिर निस्केर निजी तथा विदेशी पूँजी परिचालन गर्ने कानूनी आधार तयार गर्ने सरकारी अपेक्षा छ ।  विधेयकले विमानस्थलको सञ्चालन तथा व्यवस्थापनमा समेत निजी क्षेत्रको सहभागिताको बाटो खुला गर्न खोजेको छ । दफा १४ मा प्राधिकरणले विमानस्थल आफैं सञ्चालन गर्न सक्ने व्यवस्था छ । तर सेवा प्रवाहलाई प्रभावकारी बनाउन नेपाल सरकारको स्वीकृति लिएर कुनै सरकारी, गैरसरकारी निकाय वा निजी क्षेत्रलाई विमानस्थल वा विमानस्थलबाट प्रवाह हुने सेवा सञ्चालन तथा व्यवस्थापन गर्न दिन सक्ने प्रस्ताव गरिएको छ ।  गैरसरकारी निकाय वा निजी क्षेत्रलाई विमानस्थल सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिँदा भने प्रतिस्पर्धात्मक प्रक्रिया अपनाउनुपर्ने व्यवस्था विधेयकमा राखिएको छ । यसले विमानस्थल सञ्चालनमा निजी क्षेत्रको सहभागितालाई कानूनी आधार दिनेछ ।  तर विधेयकले विमानस्थल निर्माण तथा सञ्चालनलाई पूर्ण रूपमा खुला भने गरेको छैन । नयाँ विमानस्थल निर्माणका लागि प्राविधिक, भौगोलिक, पर्यटकीय तथा वातावरणीय उपयुक्तता, आर्थिक तथा व्यावसायिक सम्भाव्यता, स्वदेशी तथा वैदेशिक लगानीको सम्भाव्यता, सामाजिक उत्तरदायित्व तथा सामरिक र रणनीतिक महत्वलाई आधार बनाउनुपर्ने व्यवस्था गरिएको छ । प्रस्तावित विधेयकले विमानस्थललाई सरकारी लगानीबाट मात्र निर्माण तथा सञ्चालन गर्ने परम्परागत मोडलसँगै निजी तथा विदेशी लगानी र सार्वजनिक–निजी साझेदारीमार्फत विमानस्थल पूर्वाधार विकास तथा व्यवस्थापन गर्ने विकल्पलाई समेत कानूनी रूप दिन खोजेको देखिएको छ ।