राइड सेयरिङ चालकका लागि ‘वन स्टप’ सेवा : गङ्गबुमा खुल्यो राइड केयर नेपाल

काठमाडौं । काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै ‘राइड केयर नेपाल’ सञ्चालनमा आएको छ । टोखा नगरपालिका–९ वडा कार्यालयसँगै स्थापना गरिएको राइड केयर नेपालको उद्घाटन असोज २१ गते गरिएको हो ।  

राइड सेयरिङ क्षेत्रमा आबद्ध चालकलाई आवश्यक सेवा, सुविधा तथा सहयोग उपलब्ध गराउने उद्देश्यले राइड केयर नेपाल सञ्चालनमा ल्याइएको सञ्चालकहरूले बताएका छन् । पठाओ, इन्ड्राइभर, याङ्गगो, उबर लगायतका राइड सेयरिङ प्लेटफर्ममा आबद्ध चालकलाई प्राथमिकता दिँदै विभिन्न सेवा तथा सुविधाहरू उपलब्ध गराउने तयारी गरिएको छ ।

राइड केयर नेपालमा बाइक सर्भिसिङमा विशेष सुविधा, पार्टपुर्जामा छुट तथा एमआरपीमा विशेष छुट उपलब्ध गराइने जनाइएको छ । दसैँलाई लक्षित गर्दै विशेष अफरसमेत सञ्चालन गरिएको छ । जसअनुसार फुल सर्भिस गराउने ग्राहकलाई निःशुल्क थकाली खाना उपलब्ध गराउने व्यवस्था गरिएको सञ्चालकहरूको भनाइ छ ।

त्यस्तै, बाइकको मर्मतसम्भारका लागि फाइनान्सिङ सुविधा, रिकन्डिसन बाइकको कारोबार, बाइक रेन्टल, रेस्टुरेन्ट तथा सैलुन सेवा सञ्चालन गर्ने योजना रहेको राइड केयर नेपालले जनाएको छ । ग्राहक तथा राइडरलाई लक्षित गर्दै विभिन्न कार्यक्रम तथा इभेन्टसमेत आयोजना गरिने बताइएको छ ।

राइड केयर नेपालले आफ्नै ५० वटा बाइक सञ्चालनमा ल्याएर राइड सेयरिङ सेवा प्रदान गर्ने तयारी समेत गरेको छ । यसबाट राइडर तथा यात्रुलाई थप सहज, व्यवस्थित र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्य रहेको सञ्चालकहरूले बताएका छन् ।

राइड सेयरिङ क्षेत्रमा आबद्ध चालकका लागि एउटै स्थानबाट सर्भिसिङदेखि अन्य आवश्यक सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा आएको राइड केयर नेपालले आगामी दिनमा सेवा विस्तार गर्ने जनाएको छ ।

राइड केयर नेपालका सञ्चालकहरूमा श्रीराम थपलिया, रुपक कुँवर र मनिष कुँवर रहेका छन् ।

Share News