गोकर्णेश्वरमा बिक्रीका लागि भण्डारण गरिएको वाइनमा लेदो भेटियो

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा बिक्रीका लागि भण्डारण गरिएको वाइनमा आँखाले देखिने गरी लेदो जस्तो अखाद्य वस्तु भेटिएपछि २ हजार ७ सयभन्दा बढी बोतल तथा पाकेट वाइनको बिक्री–वितरण रोक्का गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अगुवाइमा गरिएको अनुगमनका क्रममा गोकर्णेश्वर नगरपालिका–४ स्थित शुभ ओजस सप्लायर्सको स्टोरमा भण्डारण गरिएको वाइनमा यस्तो कैफियत भेटिएको हो ।

अनुगमन टोलीका अनुसार संखुवासभास्थित मकालु वाइन इन्डष्ट्रिजबाट उत्पादित ६५० मिलिलिटरका २ हजार २३२ बोतल र ४ लिटरका ६६ पाकेट वाइनमा लेदो देखिएको थियो । त्यस्तै, ललितपुरको गोदावरी–झरुवारासीबाट उत्पादित ६५० मिलिलिटरका ४२० बोतल वाइनमा पनि आँखाले स्पष्ट देखिने गरी लेदो जस्तो वस्तु तैरिएको पाइएको विभागले जनाएको छ।

कैफियत भेटिएका सबै वाइन स्थानीय जनप्रतिनिधिको रोहबरमा व्यवसायीकै नियन्त्रणमा रहने गरी बिक्री–वितरण रोक्का गरिएको छ । अनुगमन टोलीले थप परीक्षणका लागि वाइनका नमुनासमेत संकलन गरेको छ ।

वाइनमा देखिएको लेदो के कारणले बनेको हो र त्यसले उपभोक्ताको स्वास्थ्यमा कस्तो असर पार्न सक्छ भन्ने विषय प्रयोगशाला परीक्षणपछि मात्रै यकिन हुने विभागले जनाएको छ।

संयुक्त अनुगमन टोलीले बुढानीलकण्ठ–२ स्थित विआइईटीबाट उत्पादित ‘तिखालाल’ ब्रान्डको धुलो खुर्सानीमा अफ्लाटक्सिन बी–१ तथा कुल अफ्लाटक्सिनको मात्रा उच्च पाइएपछि उद्योगी स्वयंले २० किलो धुलो खुर्सानी नष्ट गरेका छन् ।

त्यस्तै, बुढानीलकण्ठ नेचर क्याम्पिङ, महिमा मिनी मार्ट, न्यु डिडिएस स्टोर, कल्प वृक्ष जनरल स्टोर र न्यु पाण्डे सप्लायर्सलगायतका पसलमा अनुगमन गर्दा म्याद गुज्रिएका विभिन्न खाद्य सामग्री फेला परेका विभागे जनाएको छ । अनुगमन टोलीले ती पसलबाट बरामद बेसन, मेथी, दूध, अचार, मसला, तेल, सस, कन्फ्लेक्स, पिस्तालगायतका म्याद नाघेका सामग्री तत्काल नष्ट गराएको छ।

बुढानीलकण्ठ नेचर क्याम्पिङमा भने खाद्य स्वच्छतासम्बन्धी थप गम्भीर कैफियत भेटिएको विभागले जनाएको छ । अनुगमनका क्रममा भान्सामा साङ्लाको बाक्लो उपस्थिति देखिनुका साथै अखाद्य सिन्थेटिक रङ प्रयोग गरिएको र फ्रिजमा शाकाहारी तथा मांसाहारी परिकार सँगै राखिएको भेटिएपछि विभागले उक्त व्यवसायलाई तीन दिनभित्र स्पष्टीकरणसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, चन्द्रागिरी नगरपालिका र प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले असोज १८ र १९ गते काठमाडौंका विभिन्न स्थानमा २३ वटा खाद्य तथा किराना व्यवसायमा अनुगमन गरेको थियो ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुन उल्लंघन गर्ने उद्योग तथा व्यवसायमाथि कानुनबमोजिम कारबाही गर्ने र अनुगमनलाई निरन्तरता दिने जनाएको छ । 

Share News