काठमाडौं । नेपालमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले नेपाल आयल निगमको ध्यानाकर्षण गराएको छ ।
महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै ग्यास उद्योगबाट हुने खुद्रा बिक्री तत्काल रोक्न माग गरेको हो । उद्योगबाट नभई डिलरमार्फत मात्रै ग्यास बिक्री वितरणको व्यवस्था गर्न महासंघले आग्रह गरेको छ ।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकभन्दा धेरै ग्यास सिलिन्डर हुनु नै अभावको मुख्य कारण रहेको बताएका छन् ।
तर, विभिन्न ग्यास उद्योगले २ हजार ५ सयदेखि २ हजार ७ सय रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेको भन्दै महासंघले आपत्ति जनाएको छ ।
उद्योगले नयाँ सिलिन्डर बिक्री गरिरहँदा पनि आयल निगम र सरकार मौन बसेको महासंघको आरोप छ । यसले ग्यासको वितरण प्रणालीप्रति थप प्रश्न उठाएको महासंघको भनाइ छ ।
महासंघले बजारमा रहेका अनावश्यक सिलिन्डरको धरौटी रकम फिर्ता गर्नुपर्ने माग पनि गरेको छ । त्यसको सट्टा ५ किलो, १९ किलो, ५० किलो र ४५० किलोका नयाँ सिलिन्डर बिक्री गर्ने योजना ल्याउनु उचित नभएको महासंघको भनाइ छ ।
ग्यास वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन उद्योगबाट हुने खुद्रा बिक्री रोक्नुपर्ने महासंघले जनाएको छ । डिलरमार्फत मात्रै ग्यास बिक्री गर्ने व्यवस्था गर्न पनि उसले माग गरेको छ ।
त्यस्तै, ग्यास अभावको वास्तविक कारण पहिचान गरी सरोकारवालासँग छलफल गरेर सहज आपूर्तिको व्यवस्था गर्न महासंघले आग्रह गरेको छ ।
हाल सर्वसाधारणले प्रयोग गर्दै आएको १४.२ किलोको ग्यास सिलिन्डरको उचित व्यवस्थापन गर्न पनि महासंघले निगमसमक्ष माग गरेको छ ।