काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शनिबार विभिन्न उद्योग तथा फर्ममा बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा एक फर्मलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ भने अन्य फर्मलाई आवश्यक निर्देशन दिइएको छ ।
विभागका अनुसार ललितपुर महानगरपालिका–१५ खुमलटारस्थित सोफिया स्टोर र महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित राजेन्द्र खाद्य एण्ड सप्लायर्समा अनुगमन गरिएको थियो । राजेन्द्र खाद्य एण्ड सप्लायर्सलाई २ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।
सोफिया स्टोरलाई माग गरिएका कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
त्यस्तै, काठमाडौं महानगरपालिका–६ तिनचुलीस्थित सौगात खाद्यान्न स्टोर, चौधरी खाद्य स्टोर, किसान दाना उद्योग प्रालि र केक प्यालेस प्रालिलाई सामान्य निर्देशन दिइएको छ ।
गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित पूजा किराना पसल तथा फलफूल पसल र महालक्ष्मी नगरपालिका–१८ इमाडोलस्थित प्रदिप लिक्कयरलाई पनि सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन तथा कारबाही गरिएको जनाएको छ ।
विभागले उपभोक्ताको हित संरक्षण तथा बजारमा स्वच्छ व्यापारिक वातावरण कायम गर्न अनुगमनलाई निरन्तरता दिइने जनाएको छ ।