नक्सा संशोधन गरिदिने भन्दै एक लाख घुस लिएको आरोपमा नापीका सर्वेक्षकविरुद्ध मुद्दा
काठमाडौं । महोत्तरीको बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गाको अंशबण्डाअनुसार नक्सा परीक्षण गरी संशोधन गरिदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा साहविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारको बर्दिवासस्थित कार्यालयमा परेको सूचना तथा उजुरीका आधारमा खटिएको टोलीले साहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा साहले जग्गाको अंशबण्डाअनुसार नक्सा परीक्षण गरी त्यसका आधारमा नक्सा संशोधन गरिदिने काममा आलटाल गर्दै सेवाग्राहीलाई दुःख–हैरानी दिएको र घुस मागेको पुष्टि भएको अख्तियारको दाबी छ । अख्तियारले साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख रुपैयाँ बिगो कायम गरेको छ । सोही ऐनअनुसार कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।
रूसमा देखिएको शंकास्पद प्लेगबारे नेपालमा उच्च सतर्कता, जोखिम न्यून
काठमाडौं । रूसको इर्कुत्स्क क्षेत्रमा प्लेगको शंकास्पद घटना देखिएपछि नेपालले पनि अवस्थाको निगरानी थालेको छ । इर्कुत्स्कमा देखिएको शंकास्पद प्लेगसम्बन्धी घटनालाई अन्तर्राष्ट्रिय रूपमा निगरानी गरिरहेका बेला नेपालले भने हाल देशबाहिरबाट प्लेग फैलिने जोखिम अत्यन्त न्यून रहेको जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक सूचना जारी गर्दै उपलब्ध सूचनाका आधारमा नेपालमा यस विषयमा अनावश्यक चिन्ता वा त्रास लिन आवश्यक नरहेको जनाएको हो । महाशाखाका अनुसार नेपालले अवस्थाको निरन्तर निगरानी गरिरहेको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित स्वास्थ्य डेस्कलाई उच्च सतर्कतामा राखिएको छ । त्यस्तै, नेपालमा प्लेगको परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा आवश्यक सुविधा उपलब्ध रहेको महाशाखाले जनाएको छ । सम्भावित संक्रमित भेटिएमा उपचारका लागि आवश्यक स्वास्थ्य सेवा पनि नेपालमा उपलब्ध रहेको जनाइएको छ । महाशाखाले प्लेगसम्बन्धी सूचना तथा अवस्थाबारे आधिकारिक स्वास्थ्य निकायबाट जारी हुने जानकारीलाई मात्र आधार मान्न सर्वसाधारणलाई आग्रह गरेको छ । रूसको इर्कुत्स्क क्षेत्रमा देखिएको शंकास्पद घटनालाई लिएर सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलिन सक्ने अपुष्ट सूचनाका कारण अनावश्यक त्रास उत्पन्न हुन सक्ने भन्दै स्वास्थ्य निकायले आधिकारिक सूचनालाई प्राथमिकता दिन आग्रह गरेको हो । ईडीसीडीले नेपालमा हाल प्लेगको जोखिम अत्यन्त न्यून रहेको स्पष्ट पार्दै अवस्था निरन्तर निगरानीमा रहेको जनाएको छ ।
एआईमा खर्बौं डलर लगानी ‘खेर’ जाने र त्यसपछि क्रिप्टो उकालो लाग्ने दाबी
काठमाडौं । बिटमेक्सका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) आर्थर हेजले कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा भइरहेको ठूलो लगानी अन्ततः अत्यधिक पूर्वाधार निर्माण, बजारमा गिरावट र सरकारी उद्धारसम्म पुग्न सक्ने दाबी गरेका छन् । उनका अनुसार त्यसपछि बजारमा आउने अतिरिक्त तरलताबाट क्रिप्टोकरन्सीले ठूलो लाभ लिन सक्छ । क्रिप्टो लगानी कम्पनी मेलस्ट्रमका सहसंस्थापक तथा प्रमुख लगानी अधिकृत हेजले सिंगापुरमा आयोजित गामा प्राइम इन्भेस्टिङ कन्फरेन्समा सीएनबीसीसँग कुरा गर्दै विश्वले एआई डेटा सेन्टर निर्माणमा ‘खर्बौं डलर खेर फालिरहेको’ बताएका हुन् । उनका अनुसार एआईका लागि अहिले भइरहेको विशाल डेटा सेन्टर निर्माणले भविष्यमा कम्प्युटिङ पावर अत्यन्तै सस्तो र प्रशस्त बनाउनेछ । तर, अहिले निर्माण भइरहेका पूर्वाधारको क्षमता आवश्यकताभन्दा धेरै हुन सक्ने उनको अनुमान छ । हेजले प्रविधिको इतिहासमा ठूला प्राविधिक परिवर्तनसँगै अत्यधिक लगानी र पूर्वाधार निर्माण हुने गरेको बताए । त्यसपछि बजारमा गिरावट आउने र अन्ततः सरकार वा केन्द्रीय बैंकबाट उद्धार प्याकेज आउने उनको दाबी छ । ‘वित्तीय इतिहास र हरेक ठूला प्राविधिक विस्तारलाई हेर्ने हो भने त्यहाँ सधैं अत्यधिक निर्माण भएको देखिन्छ । त्यसपछि संकट आउँछ र अन्ततः उद्धार हुन्छ,’ हेजले भने । उनका अनुसार यस्तो अवस्थामा बजारमा आउने अतिरिक्त तरलताबाट बिटक्वाइनसहितका क्रिप्टो सम्पत्तिले फाइदा लिन सक्छन् । सन् २००८ को विश्वव्यापी वित्तीय संकटपछि बजारमा आएको तरलताको उदाहरण दिँदै उनले भविष्यमा पनि यस्तै अवस्था आउन सक्ने बताए । ‘सौभाग्यवश त्यो अतिरिक्त तरलता सोस्न बिटक्वाइन र अन्य क्रिप्टो छन्। त्यसैले उद्धारपछि सबैभन्दा राम्रो प्रदर्शन गर्ने सम्पत्ति कुन हुनेछ भन्ने हामीलाई थाहा छ,’ उनले भने । त्यसका लागि लगानीकर्ताले धैर्य गर्नुपर्ने उनको भनाइ छ । हेजका अनुसार स्पेसएक्स, ओपनएआई र एन्थ्रोपिकजस्ता कम्पनीले ठूलो मात्रामा कम्प्युटिङ पावरको माग गरिरहेका छन् । तर यीमध्ये कुनै पनि कम्पनीले हालसम्म नाफा कमाइरहेको अवस्था नरहेको उनको दाबी छ । अहिले निर्माण भइरहेका अधिकांश डाटा सेन्टर पूरा भएपछि पूर्वाधार प्रदायकले एआई कम्पनीसँग उनीहरूले प्रतिबद्धता जनाएको कम्प्युटिङ पावरको भुक्तानी माग्नेछन् । यस्तो अवस्था सन् २०२७ को अन्त्य वा २०२८ सम्ममा देखिन सक्ने हेजको अनुमान छ । यद्यपि, एआईका लागि सकारात्मक सम्भावना पनि रहेको उनले स्वीकार गरेका छन् । आगामी १२ महिनामा एआई अझ उपयोगी बन्ने र यसको माग बढेर एआई कम्पनीहरू नाफामा जान सक्ने उनी बताउँछन् । एआई क्षेत्रलाई आपूर्ति गर्ने केही कम्पनीले भने अहिले नै राम्रो आम्दानी गरिरहेको हेजले बताए । उनले मेमोरी चिप निर्माता कम्पनीहरू र एनभीडीयालाई यसको उदाहरणका रूपमा प्रस्तुत गरे । तर, लगानीकर्ताले ती कम्पनीको भविष्यको आम्दानीको तुलनामा अहिले तिरिरहेको मूल्य उचित छ कि छैन भन्ने प्रश्न महत्त्वपूर्ण रहेको उनको भनाइ छ । हेजले एआई कम्पनीहरूको मूल्य घट्ने अनुमानमा ‘सर्ट’ गर्ने रणनीतिलाई पनि राम्रो लगानी अवसरका रूपमा नहेरेको बताए । उनका अनुसार ठूला प्राविधिक परिवर्तनमा अत्यधिक लगानी हुने प्रवृत्ति भने इतिहासमा पटक–पटक देखिएको छ । यसैबीच, एआई क्षेत्रमा कम्प्युटिङ पावर प्रशस्त र सस्तो हुने उनको अनुमानकै आधारमा हेजले नयाँ क्रिप्टो परियोजना ‘फ्लप’ अघि बढाइरहेका छन् । यो परियोजना सन् २०२७ को पहिलो त्रैमासिकमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । फ्लपले एआई एजेन्टका लागि आवश्यक कम्प्युटिङ पावरको ‘स्पट मार्केट’ बनाउने लक्ष्य राखेको छ । यसमा जीपीयू उपलब्ध गराउने र एआई इन्फरेन्स सञ्चालन गर्ने सहभागीलाई फ्लप टोकनमार्फत पुरस्कृत गर्ने योजना छ । हेजका अनुसार अहिले एआई एजेन्टका लागि छुट्टै भुक्तानी नेटवर्क छैन । एआई एजेन्टले आफ्नो मुद्रालाई सीधै कम्प्युटिङ पावरमा रूपान्तरण गर्न सके त्यही मुद्रा उनीहरूले प्रयोग गर्ने उनको विश्वास छ । यही अवधारणामा आफ्नो नयाँ परियोजनाको मुख्य दाउ रहेको उनले बताएका छन् ।
गोकर्णेश्वरमा बिक्रीका लागि भण्डारण गरिएको वाइनमा लेदो भेटियो
काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा बिक्रीका लागि भण्डारण गरिएको वाइनमा आँखाले देखिने गरी लेदो जस्तो अखाद्य वस्तु भेटिएपछि २ हजार ७ सयभन्दा बढी बोतल तथा पाकेट वाइनको बिक्री–वितरण रोक्का गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अगुवाइमा गरिएको अनुगमनका क्रममा गोकर्णेश्वर नगरपालिका–४ स्थित शुभ ओजस सप्लायर्सको स्टोरमा भण्डारण गरिएको वाइनमा यस्तो कैफियत भेटिएको हो । अनुगमन टोलीका अनुसार संखुवासभास्थित मकालु वाइन इन्डष्ट्रिजबाट उत्पादित ६५० मिलिलिटरका २ हजार २३२ बोतल र ४ लिटरका ६६ पाकेट वाइनमा लेदो देखिएको थियो । त्यस्तै, ललितपुरको गोदावरी–झरुवारासीबाट उत्पादित ६५० मिलिलिटरका ४२० बोतल वाइनमा पनि आँखाले स्पष्ट देखिने गरी लेदो जस्तो वस्तु तैरिएको पाइएको विभागले जनाएको छ। कैफियत भेटिएका सबै वाइन स्थानीय जनप्रतिनिधिको रोहबरमा व्यवसायीकै नियन्त्रणमा रहने गरी बिक्री–वितरण रोक्का गरिएको छ । अनुगमन टोलीले थप परीक्षणका लागि वाइनका नमुनासमेत संकलन गरेको छ । वाइनमा देखिएको लेदो के कारणले बनेको हो र त्यसले उपभोक्ताको स्वास्थ्यमा कस्तो असर पार्न सक्छ भन्ने विषय प्रयोगशाला परीक्षणपछि मात्रै यकिन हुने विभागले जनाएको छ। संयुक्त अनुगमन टोलीले बुढानीलकण्ठ–२ स्थित विआइईटीबाट उत्पादित ‘तिखालाल’ ब्रान्डको धुलो खुर्सानीमा अफ्लाटक्सिन बी–१ तथा कुल अफ्लाटक्सिनको मात्रा उच्च पाइएपछि उद्योगी स्वयंले २० किलो धुलो खुर्सानी नष्ट गरेका छन् । त्यस्तै, बुढानीलकण्ठ नेचर क्याम्पिङ, महिमा मिनी मार्ट, न्यु डिडिएस स्टोर, कल्प वृक्ष जनरल स्टोर र न्यु पाण्डे सप्लायर्सलगायतका पसलमा अनुगमन गर्दा म्याद गुज्रिएका विभिन्न खाद्य सामग्री फेला परेका विभागे जनाएको छ । अनुगमन टोलीले ती पसलबाट बरामद बेसन, मेथी, दूध, अचार, मसला, तेल, सस, कन्फ्लेक्स, पिस्तालगायतका म्याद नाघेका सामग्री तत्काल नष्ट गराएको छ। बुढानीलकण्ठ नेचर क्याम्पिङमा भने खाद्य स्वच्छतासम्बन्धी थप गम्भीर कैफियत भेटिएको विभागले जनाएको छ । अनुगमनका क्रममा भान्सामा साङ्लाको बाक्लो उपस्थिति देखिनुका साथै अखाद्य सिन्थेटिक रङ प्रयोग गरिएको र फ्रिजमा शाकाहारी तथा मांसाहारी परिकार सँगै राखिएको भेटिएपछि विभागले उक्त व्यवसायलाई तीन दिनभित्र स्पष्टीकरणसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, चन्द्रागिरी नगरपालिका र प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले असोज १८ र १९ गते काठमाडौंका विभिन्न स्थानमा २३ वटा खाद्य तथा किराना व्यवसायमा अनुगमन गरेको थियो । विभागले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुन उल्लंघन गर्ने उद्योग तथा व्यवसायमाथि कानुनबमोजिम कारबाही गर्ने र अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।
३० अर्ब रूपैयाँ निक्षेप तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ३० अर्ब रूपैयाँ निक्षेप तान्ने भएको छ । बैंकहरूमा अधिक तरलता कायमै भएपछि केन्द्रिय बैंकले एक महिनाका लागि ३० अर्ब रूपैयाँ निक्षेप तान्न लागेको हो । यसका लागि मध्यान्ह ३ बजे बोलकबोल हुँदैछ । यसमा बाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उनीहरुले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ । बैंकहरुले ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिनेछ । अहिले बैंकहरूमा अधिक तरलता रहेको छ । त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले पटक पटक बोलकबोलबाट पैसा तान्दै आएको छ । सोही क्रममा राष्ट्र बैंकले एकै पटक ३० अर्ब रूपैयाँ निक्षेप बोलकबोल गर्न लागेको हो । बोलकबोलमा बैंकहरुले घटीमा १० करोड रूपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रश्ताव गर्न सक्नेछन् । बैंकहरूले यसरी राष्ट्र बैंकमा राखेको निक्षेप यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि धितोको रुपमा प्रयोग गर्न सक्नेछन् । २८ दिन अर्थात् आगामी कात्तिक १८ गते बैंकहरुलाई सावाँ र ब्याज भुक्तानी गरिनेछ । कर्जाको माग न्यून हुँदा अहिले बैंकहरुमा पैसा थुप्रिएको छ । अहिले बैंकहरूमा करिव ८४ खर्ब ५८ अर्ब निक्षेप हुँदा कर्जा प्रवाह ६० खर्ब ६१ अर्ब रूपैयाँ छ । सीडी रेसियोको सीमाअनुसार बैँकहरूसँग साढे १६ खर्ब रूपैयाँ ऋण दिन मिल्ने पैसा छ । तर कर्जाको माग बढ्न नसक्दा बैंकहरूमा उक्त पैसा थुप्रिएको छ । त्यसपछि राष्ट्र बैंकले बैंकहरूमा भएको पैसा तान्दै आएको छ ।
पाल्पामा ३ दशकपछि कांग्रेसको खाता खोलेका रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता सन्दिप रानाले पार्टीको पन्ध्रौं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । उनले खुलातर्फ उम्मेदवारी दर्ता गराएका हुन् । राना पाल्पा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत हुन् । ‘सक्षम युवा नेतृत्व, स्पष्ट दृष्टिकोण’ भन्ने नाराका साथ उम्मेदवारी दिएका राना भन्छन्, ‘कांग्रेसको अग्रज पुस्ताले गरेको क्रान्तिले १०४ वर्षे जहानिया राणा शासन फाल्यो । देशमा प्रजातन्त्र स्थापना भयो, बहुदलिय व्यवस्था हूँदै लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा हामी पुग्यौं ।’ ‘अबको कांग्रेसले देश विकासको खाका बनाएर त्यसमा क्रान्ति गर्नुपर्छ,’ उनले थपे । २०४८ सालको बहुदलीय निर्वाचनयता कांग्रेसले जित हात पार्न नसकेको उक्त क्षेत्रमा रानाले ३४ वर्षपछि २०८२ फागुन २१ गते भएको निर्वाचनमा जित निकालेका थिए । राना स्कुले जीवनदेखि नै कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)सँग आबद्ध रहेर राजनीतिमा सक्रिय थिए । ३८ वर्षीय राना भारतबाट राजनीतिशास्त्र तथा कानुनमा स्नातक तहसम्म अध्ययन गरेका उम्मेदवार हुन् । त्यही क्रममा उनी विद्यार्थी संघ भारतका अध्यक्ष बनेका थिए । त्यस्तै, उनले विश्व विद्यार्थी तथा युवा संगठनका अन्तर्राष्ट्रिय सचिव र अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानको अध्यक्षको भूमिका समेत निर्वाह गरिसकेका छन् ।
स्क्रब टाइफस नियन्त्रणका लागि मन्त्रालयको समन्वय र निगरानी तीव्र
काठमाडौं । देशका ७४ जिल्लामा स्क्रब टाइफस संक्रमण देखिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रोगको निगरानी, परीक्षण, उपचार, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तथा जोखिम सञ्चारका गतिविधि तीव्र बनाएको छ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२६ को जनवरीदेखि हालसम्म ७४ जिल्लाबाट १० हजार २१० जना स्क्रब टाइफस संक्रमितको विवरण प्राप्त भएको छ । तीमध्ये सात जनाको मृत्यु भएको महाशाखाले पुष्टि गरेको छ । संक्रमणको अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयअन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले असार महिनादेखि नै सातै प्रदेशका सबै जिल्लाका साथै केही स्थानीय तहका प्रमुख र प्रदेश सचिवसँग स्क्रब टाइफस रोकथाम तथा नियन्त्रणका विषयमा छलफल गर्दै आएको छ । मन्त्रालयले संक्रमणको अवस्था र प्रवृत्तिको नियमित निगरानीका लागि प्रारम्भिक चेतावनी तथा प्रतिवेदन प्रणाली, रोग निगरानी, प्रकोप प्रतिकार्य व्यवस्थापन तथा विश्लेषण प्रणाली लगायतका रोग निगरानी प्रणालीमार्फत अनुगमन गरिरहेको छ । संक्रमणको जोखिम बढी देखिएका क्षेत्रमा परीक्षण तथा उपचारका लागि आवश्यक सामग्री र औषधिको उपलब्धतासमेत सुनिश्चित गर्ने काम भइरहेको छ । स्क्रब टाइफस परीक्षणका लागि आवश्यक द्रुत परीक्षण किट प्रदेश तथा स्थानीय तहमा आवश्यकताका आधारमा पठाइएको छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा हाल ५ हजार परीक्षण किट बफर स्टकमा राखिएको छ । संक्रमण देखिएका क्षेत्रमा उपचारका लागि आवश्यक एन्टिबायोटिकलगायत औषधिसमेत उपलब्ध गराइएको छ । रोगको समयमै पहिचान र प्रभावकारी उपचारका लागि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा पनि मन्त्रालयले जोड दिएको छ । स्क्रब टाइफसको निदान तथा केस व्यवस्थापनसम्बन्धी भर्चुअल तथा प्रत्यक्ष तालिम र अभिमुखीकरण सञ्चालन भइरहेको छ । असार महिनामा मात्रै करिब एक हजार चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिम तथा अभिमुखीकरण दिइएको महाशाखाले जनाएको छ । मन्त्रालयले रोगसम्बन्धी जनचेतना अभिवृद्धिका लागि राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमार्फत स्क्रब टाइफस रोकथाम तथा नियन्त्रणसम्बन्धी स्वास्थ्य शिक्षा सामग्रीसमेत प्रसारण गरिरहेको छ । यससँगै संक्रमण बढी देखिएका क्षेत्रमा नियमित निगरानी, परीक्षण तथा उपचारको पहुँच विस्तार, स्वास्थ्यकर्मीको परिचालन र स्थानीय तहसँगको समन्वयलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ ।
टिकटकबाटै प्रधानमन्त्री र गृहमन्त्रीलाई जानकारी गराएपछि पाण्डे पक्राउ
काठमाडौं । कोरिया पठाउने भनी ठगी गर्ने एक कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन् । सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक गणेश पाण्डेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । कन्सल्टेन्सीले आफ्नो छोरालाई कोरिया पठाउने भनी २ वर्ष देखि अलपत्र पारेको भन्दै एक महिलाले टिकटकमा बताएकी थिइन् । ती महिलाले प्रधानमन्त्री र गृहमन्त्रीलाई सम्बोधन गरेर सामाजिक सञ्जाल टिकटक मार्फत कारवाहीको माग गर्दै गरेको थिइन् । प्रहरीले भिडियोमा महिलाले बोलेको सम्बन्धमाअनुसन्धानका गरेको थियो । प्रहरीको अनुसन्धानपछि न्यू सफल ग्लोबल कन्सल्टेन्सीका संचालक नुवाकोट बेलकोटगढी ११ का काठमाडौं सामाखुसी बस्ने पाण्डेलाई रानीबारी चोकबाट नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार उनीमाथि ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ ।