एनआईसी एशियाको छैठौं बन्दमुखी योजनाको इकाई बाँडफाँड सम्पन्न, कसले कति पाए ?
काठमाडौं । एन आई सी एशिया क्यापिटलको योजना व्यवस्थापन तथा निष्काशन एवं बिक्री प्रबन्धकत्वमा सञ्चालन हुन लागेको छैठौँ बन्दमुखी योजना ‘एन आई सी एशिया इक्विटी अपोर्चुनिटी फण्ड’को इकाई बाँडफाँड सम्पन्न भएको छ । प्रति इकाई अंकित मूल्य १० का दरले कूल ८ करोड इकाईमध्ये १५ प्रतिशत (१ करोड २० लाख इकाई) कोष प्रवद्र्धक एन आई सी एशिया बैंकका लागि सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि असोज ७ गतेदेखि बिक्री खुला गरिएको थियो । सर्वसाधारणका लागि निष्काशन गरिएको इकाई पहिलो चार कार्यदिनमै मागभन्दा बढी आवेदन परेकाले असोज १३ गते नै बिक्री बन्द गरिएको थियो । उक्त अवधिमा सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुमार्फत ४१ हजार १८९ जना आवेदकबाट कूल ८ करोड ७४ लाख ४४ हजार २०० इकाई (मागभन्दा १.२९ गुणा बढी) का लागि आवेदन परेको थियो । प्राप्त आवेदनहरु छानबिन गर्दा ४७ जना आवेदकको ६ हजार २०० इकाई बराबरको आवेदन रितपूर्वक नदेखिएकाले रद्द गरिएको र बाँकी ४१ हजार १४३ आवेदकबाट बीज पूँजीसहित कूल १ अर्ब २ करोड ४३ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन सदर भएको क्यापिटलले जनाएको छ । मागभन्दा बढी आवेदन प्राप्त भएकाले धितोपत्र बोर्डको स्वीकृत विवरण पत्र तथा सामूहिक लगानी कोष निर्देशिका, २०६९ बमोजिम फण्डको आकार २५ प्रतिशतले वृद्धि गरी ८० करोडबाट १ अर्ब रुपैयाँ कायम गरिएको छ । बुधबार क्यापिटलको कार्यालय थापाथलीमा गरिएको बाँडफाँड अनुसार १०० इकाईदेखि ३० लाख इकाईसम्म माग गर्ने आवेदकलाई मागबमोजिम र ४० लाखदेखि ५० लाख इकाईसम्म माग गर्ने आवेदकलाई ३८ लाख ९० हजार ५२५ इकाईका दरले इकाई बाँडफाँड गरिएको छ । बाँडफाँडको नतिजा निष्काशनकर्ताको वेबसाइट www.iporesult.cdsc.com.np/meroshare.cdsc.com.np तथा सिडिएससीका सम्बन्धित पोर्टलमार्फत हेर्न सकिने जनाइएको छ।
मैले सभापतिको उम्मेदवारी फिर्ता लिएको छैन: श्यामकृष्ण खड्गी
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका श्यामकृष्ण खड्गीले उम्मेदवारी फिर्ता नलिएको बताएका छन् । बुधबार उनले आफ्नो उम्मेदवारी कायमै रहने बताएका हुन् । ‘मैले उम्मेदवारी फिर्ता लिन्नँ। लोकतान्त्रिक प्रक्रियामा प्रतिस्पर्धामा भाग लिन्छु,’उनले भने । कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत बुधबार उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो । मंगलबार सभापतिमा तीन जनाले उम्मेदवारी दिएका थिए । सभापतिमा गगन थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका थिए । त्यसमध्ये राठौरले बुधबार उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भाेलि निर्वाचन हुँदैछ ।
मिस ग्ल्याम वल्र्ड नेपाल २०२६ को अडिसन सम्पन्न
काठमाडौं । राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वल्र्ड नेपाल–२०२६’ को अडिसन काठमाडौंमा सम्पन्न भएको छ । क्रिएटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (सिआईएफटी) को आयोजनामा भएको अडिसनमा १६ देखि ३२ वर्ष उमेर समूहका युवतीहरुको उल्लेख्य सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ । प्रतियोगिताका लागि एक महिनाअघि नै आवेदन फर्म खुला गरिएको थियो । अडिसनमा मिस नेपाल २००० उषा खड्गी, अन्तर्राष्ट्रियस्तरका कोरियोग्राफर रोजिन शाक्य, कलाकर्मी डटकमकी समाचार सम्पादक अरुणा भट्टराई तथा आयोजक संस्था सिआईएफटीकी प्रमुख सुचिता सची निर्णायकको रुपमा रहेको थिए । अडिसनबाट छनोट हुने २५ जना प्रतिस्पर्धीलाई कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा प्रशिक्षण दिइने छ । प्रतियोगिताको ग्राण्ड फिनाले भने आगामी मंसिर ५ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ । सिआईएफटीकी प्रमुख सुचिता सचीका अनुसार प्रतियोगिताले फेसन र सौन्दर्यसँगै व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा, प्रस्तुति शैली तथा सामाजिक चेतनालाई समेत प्राथमिकतामा राखिएको थियो । ‘प्रतियोगिताको उद्देश्य बाह्य सौन्दर्यलाई मात्र आधार बनाएर विजेता छनोट गर्नु होइन । व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा र सामाजिक चेतनालगायतका पक्षलाई पनि मूल्यांकन गरिने छ’, सचीले बताइन् । सिआईएफटीले ‘मिस ग्ल्याम वल्र्ड नेपाल-२०२६’ मार्फत विभिन्न उमेर समूहका प्रतियोगीलाई समेट्दै तीन अन्तर्राष्ट्रिय उपाधिका लागि नेपाली प्रतिनिधि छनोट गर्ने जनाएको छ । आयोजकका अनुसार एउटै राष्ट्रिय मञ्चबाट ‘मिस ग्ल्याम युनिभर्स नेपाल’, ‘मिस ग्ल्याम वल्र्ड नेपाल’ तथा ‘मिस टिन ग्ल्याम वल्र्ड नेपाल’ का लागि योग्य प्रतियोगी छनोट गरिँदैछ । ‘मिस ग्ल्याम वल्र्ड नेपाल-२०२६’ की विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वल्र्ड २०२६’ मा नेपालको आधिकारिक प्रतिनिधित्व गर्नेछिन् । आयोजकका अनुसार ‘मिस ग्ल्याम वल्र्ड २०२६’ भारतमा सन् २०२६ को अन्त्यतिर आयोजना गर्ने तयारी भइरहेको छ । सिआईएफटीले फेसन तथा सौन्दर्य क्षेत्रमा रुचि राख्ने युवतीका लागि आफ्नो प्रतिभा प्रस्तुत गर्नुका साथै भविष्यमा यस क्षेत्रमा व्यावसायिक अवसर खोज्न प्रतियोगिताले प्लेटफर्म प्रदान गरेको जनाएको छ ।
यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय
काठमाडौं । सरकारले भूमिसहित तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसहित विभिन्न ६ वटा निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि, वन तथा विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशहरू जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । यसैगरी बैठकले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस अनुसार १५३ जना पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्नुका साथै काठमाडौंमा पोर्चुगलको महावाणिज्यदूतावास स्थापना गर्न सहमति दिने निर्णय गरेको छ । त्यस्तै, मन्त्रिपरिषद्ले नेपाल इन्जिनियरिङ सेवाका नवीनराज सिंह र नेपाल प्रशासन सेवाका चक्रबहादुर बुढालाई सचिव (राजपत्राङ्कित विशिष्ट श्रेणी) पदमा बढुवा गरेको छ भने नेपाल लेखापरीक्षण सेवाका नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
बाढी पीडितको सहयोगका लागि ब्रिटिस गोर्खा नेपाली र रिब्डीकोट बुद्व बिहारद्वारा ऊर्जामन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण
काठमाडौं । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकोट बुद्व बिहार पाल्पाले भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेको छ । दुवै संस्थाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठमार्फत प्रधानमन्त्री देवी प्रकोप उद्वार कोषमा रकम हस्तान्तरण गरेका हुन् । भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्वार, पुनस्थापना तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग भन्दै दुवै संस्थाले बुधबार ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरेको प्रमुख स्वकिय सचिव सन्जिव महर्जनले जानकारी दिए । उनकाअनुसार ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरताले २८ लाख ९८ हजार ६७९ रूपैयाँ सहयोग गरेको हो । भुतपूर्व सैनिक कल्याणकारी समिति नेपालका अध्यक्ष होमबहादुर थापा र सिएनसिबिसीका उपाध्यक्ष दलबहादुर बुढाथोकीले मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिए । यसैगरी रिब्डीकोट बुद्व बिहार पाल्पाले ४० हजार रूपैयाँ सहयोग गरेको छ । बिहारका अध्यक्ष हुमबहादुर थापाले मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिए ।
उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बन्द सत्रमा उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयसम्बन्धी प्रस्ताव पनि पारित भएको छ । शर्माले प्रस्तुत गरेको प्रस्तावमा लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषयलाई समेटिएको छ । बन्दसत्रले उक्त प्रस्ताव पारित गरेको हो । प्रस्ताव पारित भएपछि शर्माले कांग्रेसको बन्दसत्रलाई खुला संसारले सुन्ने गरी प्रस्तुत गरिएको भन्दै यसलाई पनि ऐतिहासिक विषयका रूपमा व्याख्या गरे । ‘बन्दसत्र पनि खुला संसारले सुन्ने गरी हामीले पेश गरेका छौँ । यो पनि ऐतिहासिक हो,’ उनले भने । उनले कांग्रेसले हार र जित दुवै अवस्थामा जनताको कुरा सुन्ने संस्कार विकास गर्नुपर्ने बताए । ‘कांग्रेस सुन्न चाहन्छ, हार्दा र जित्दा पनि हाँस्छ। यस्तो कांग्रेस बनाउन खोजेको हो,’ उनले भने । शर्माले कांग्रेसलाई गुनासो गर्नेभन्दा आशा, विश्वास र भरोसा गर्न सकिने पार्टीका रूपमा विकास गर्नुपर्ने बताए । ‘उत्तर भएको कांग्रेस, भएको कांग्रेस, गुनासो होइन, आशा र विश्वास र भरोसा गर्ने कांग्रेस हो । अब निराशा होइन, यस्तो कांग्रेस बनाउने हो,’ उनले भने । महाधिवेशनबाट कसले कुन पद जित्छ भन्ने विषयमा मात्रै केन्द्रित नहुन प्रतिनिधिहरूलाई आग्रह गर्दै शर्माले कांग्रेसको मूल उद्देश्य पार्टीलाई लोकतान्त्रिक मूल्य र संस्कृतिअनुसार अघि बढाउनु रहेको बताए । ‘कसले के पद जित्छ, लान्छ भनेर नलाग्नुस्,’ उनले भने, ‘लोकतान्त्रिक संस्कृतिको क्षयलाई हामीले उठाउने छौँ ।’ उनले कांग्रेसभित्र लोकतान्त्रिक संस्कृतिलाई थप बलियो बनाउँदै पार्टीलाई जनताले सुन्ने, विश्वास गर्ने र भरोसा गर्ने राजनीतिक शक्तिका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
चाडपर्वमा ५० हजारभन्दा बढी प्रहरी परिचालन, ४०८ ठाउँमा यात्रु सहायता कक्ष
काठमाडौं । नेपालीका ठूला चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले विशेष सुरक्षा योजना, २०८३ लागू गरेको छ । बडादशैँ, दीपावली, नेपाल संवत् र छठ पर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको गुनासो व्यवस्थापन तथा जनधनको सुरक्षा गर्ने उद्देश्यले विशेष सुरक्षा योजना लागू गरिएको नेपाल प्रहरीले जनाएको छ । चाडपर्वका बेला ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, सट्टेबाजी, नक्कली नोटको कारोबार र अवैध हुण्डी कारोबार नियन्त्रणमा प्रहरी परिचालन गरिनेछ । अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुन सक्ने अवैध हातहतियार, पटका, विस्फोटक पदार्थ र लागूऔषधको ओसारपसार तथा तस्करी नियन्त्रणमा समेत विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । ५० हजारभन्दा बढी प्रहरी परिचालन चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीसहित सातवटै प्रदेश प्रहरी कार्यालयबाट ५० हजार ४५८ प्रहरी जनशक्ति परिचालन हुनेछन् । काठमाडौं उपत्यकामा ७ हजार ६६८, कोशीमा ८ हजार १३३, मधेशमा ७ हजार २३०, बागमतीमा ४ हजार ४९९, गण्डकीमा ५ हजार १८८, लुम्बिनीमा ७ हजार ९२१, कर्णालीमा ५ हजार ३१४ र सुदूरपश्चिममा ४ हजार ५०५ जना प्रहरी परिचालन हुनेछन् । सुरक्षा व्यवस्थापनमा स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवाला निकायसँग सहकार्य तथा समन्वय गरिने प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार चाडपर्वमा परम्परागत सुरक्षाभन्दा प्रविधिमा आधारित सुरक्षा निगरानीलाई प्राथमिकता दिइएको छ । ४०८ यात्रु सहायता कक्ष चाडपर्वमा लामो दूरीका सार्वजनिक सवारीमा यात्रुको चाप बढ्ने भएकाले यात्रु तथा राजमार्ग सुरक्षालाई ध्यानमा राख्दै देशभर ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यी सहायता कक्षमा १ हजार १६५ प्रहरी जनशक्ति परिचालन गरिएको छ । यात्रु सहायता कक्षबाट आवश्यक सूचना तथा सहायता प्रदान गर्ने, हराएका व्यक्ति तथा सामानको खोजीमा समन्वय गर्ने र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष सहायता उपलब्ध गराइनेछ । त्यस्तै, अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा हेल्प डेस्क स्थापना गरी थप ७०५ जना प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनका चालकको अनुमतिपत्र, मादक तथा लागूऔषध सेवन, सिट क्षमताअनुसार यात्रु राखे–नराखेको लगायतको जाँच गरिनेछ । लामो दूरीका सवारीमा दुई जना चालक भए–नभएको र सवारीको यान्त्रिक परीक्षण प्रमाणपत्रसमेत जाँच गरिने प्रहरीले जनाएको छ । सीसीटीभी, ड्रोन र सामाजिक सञ्जालबाट निगरानी चाडपर्वमा सुरक्षा निगरानीका लागि सीसीटीभी क्यामेरा, शरीरमा लगाउने क्यामेरा, ड्रोन तथा तालिम प्राप्त कुकुरको प्रयोग गरिनेछ । प्रहरी सञ्चार प्रणालीमार्फत वास्तविक समयमै सूचना आदानप्रदान गर्नुका साथै सामाजिक सञ्जालमा प्रवाह हुने सूचनाको निगरानी र विश्लेषण गरिनेछ । त्यस्तै, नक्कली अनलाइन किनमेल, बैंकिङ ठगी, ओटीपी, पिन तथा पासवर्ड मागेर हुने फिसिङलगायत डिजिटल अपराध नियन्त्रणमा विशेष निगरानी गरिनेछ । नेपाल प्रहरीले सर्वसाधारणलाई ओटीपी, पिन, पासवर्ड तथा बैंकिङसम्बन्धी गोप्य विवरण कसैलाई नदिन आग्रह गरेको छ । शंकास्पद लिङ्क, क्यूआर कोड, चिठ्ठा तथा अनलाइन चाडपर्वका अफरमा विश्वास नगर्न र कृत्रिम बुद्धिमत्ताबाट बनाइएको आवाज वा भिडियोका आधारमा तत्काल विश्वास नगर्न पनि प्रहरीले सचेत गराएको छ । बजारदेखि विमानस्थलसम्म विशेष निगरानी मुख्य बजार, ठूला किनमेल केन्द्र, बैंक तथा वित्तीय संस्था, बसपार्क, सार्वजनिक यातायात केन्द्र, विमानस्थल, धार्मिक तथा पर्यटकीय स्थल, मनोरञ्जन स्थल, मुख्य सडक तथा चोक र शहरका प्रवेश तथा निकास नाकामा विशेष प्रहरी परिचालन गरिनेछ । सुनचाँदी तथा बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रलाई समेत सुरक्षा प्राथमिकतामा राखिएको छ । सीमा क्षेत्रमा अवैध गतिविधि तथा तस्करी रोक्न पैदल, मोबाइल, ग्रामीण तथा राजमार्ग गस्तीलाई प्रभावकारी बनाइने प्रहरीले जनाएको छ । नेपाल प्रहरीले लामो समयका लागि घर छाडेर जाँदा झ्यालढोका, ग्यास तथा विद्युत् राम्रोसँग जाँच गर्न, घर खाली रहेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न र भीडभाडमा नगद, गरगहना तथा महँगा मोबाइल बोक्दा सावधानी अपनाउन आग्रह गरेको छ । मादक तथा लागूऔषध सेवन गरी सवारी नचलाउन, ट्राफिक नियम पालना गर्न, बालबालिका तथा ज्येष्ठ नागरिकलाई भीडभाडमा एक्लै नछाड्न र कुनै शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३/८४–२०८७/८८) स्वीकृत गरेको छ । रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ । नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्णरूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ । आर्थिक वर्ष २०८१/८२ मा कुकुर तथा रेबिज गराउन सक्ने अन्य जनावरको टोकाइका २ लाख २३ हजार ५१० घटना रिपोर्ट भएकोमा ९६ प्रतिशत घटना कुकुरको टोकाइबाट हुने र रेबिजका ९९ प्रतिशत कारण कुकुरको टोकाइ रहेको उल्लेख छ । रणनीतिअनुसार रेबिज नियन्त्रणका लागि निगरानी तथा प्रयोगशाला परीक्षण सुदृढीकरण, कुकुरमा सामूहिक खोप अभियान, कुकुरको सङ्ख्या व्यवस्थापन, कुकुरको टोकाइ तथा चिथोराइको एकीकृत व्यवस्थापन, मानिसमा रेबिजविरुद्धको खोप तथा इम्युनोग्लोबुलिनको पहुँच विस्तार लगायतका कार्यक्रम सञ्चालन गरिनेछ । साथै क्षमता विकास, जोखिम सञ्चार, सामुदायिक सहभागिता र अनुसन्धानलाई समेत प्राथमिकता दिइएको छ । रणनीतिले कुकुरमा ७० प्रतिशत खोप कभरेज पु‍र्याउने, मानिसमा सहज खोप पहुँच सुनिश्चित गर्ने तथा प्रयोगशाला र रोग निगरानी प्रणाली सुदृढ गर्ने लक्ष्यसमेत अघि सारेको छ । रणनीति कार्यान्वयनका लागि संघीय तथा प्रादेशिक संरचनाका साथै जिल्ला र स्थानीयस्तरमा परिकल्पना गरिएका समितिमार्फत सम्बन्धित निकायले वार्षिक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ । कार्यान्वयनबाट रेबिजको निगरानी सुदृढ हुने, जोखिममा रहेका कुकुरमा खोपको पहुँच बढ्ने र कुकुरको टोकाइ व्यवस्थापनलाई एकीकृत बनाउने अपेक्षा गरिएको छ । रेबिजविरुद्धको रोकथाममूलक तथा उपचार सेवाको पहुँच र उपलब्धता सुधार गर्ने तथा सरकार, स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबीच समन्वय बढाउने लक्ष्यसमेत रणनीतिले राखेको छ ।