विकासन्युज

अन्धोपन घट्यो, आँखाका समस्या भने बढ्दै

काठमाडौं । ‘आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं’ भन्ने नाराका साथ बिहीबार (आज) विभिन्न कार्यक्रम आयोजना गरी विश्व दृष्टि दिवस मनाइँदैछ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार मनाइने दिवसले व्यक्तिगत रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नुका साथै सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गराउँदै आएको छ । नेपालमा सन् १९८१ मा अन्धोपनको प्रचलन शून्य दशमलव ८४ प्रतिशत रहेकामा सन् २०२२ को आरएएबी सर्वेक्षणअनुसार यो घटेर शून्य दशमलव २८ प्रतिशतमा पुगेको छ । तर अन्धोपन घट्दै गए पनि आँखासम्बन्धी अन्य समस्या चुनौतीका रूपमा बढिरहेका छन् । नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार ग्लुकोमा, आँखाको पर्दासम्बन्धी रोग, मधुमेहसँग सम्बन्धित दृष्टि समस्या, उमेरसँग सम्बन्धित आँखाका रोग र दृष्टिदोष बढ्दो चुनौती बनेका छन् ।  बढ्दो औसत आयु, नसर्ने रोगको भार, बदलिँदो जीवनशैली र डिजिटल उपकरणको व्यापक प्रयोगले आँखाको स्वास्थ्यमा नयाँ जोखिम थपिरहेको उनले बताए । सङ्घका अनुसार हालसम्म ५ करोड २ लाख ४८९ जनालाई उपचार सेवा प्रदान गरिएको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।  संघले २८ आँखा अस्पताल र ४४ जिल्ला शाखाअन्तर्गतका २२६ उपचार केन्द्रमार्फत नेपालीसहित विदेशी नागरिकलाई आँखा सेवा दिँदै आएको छ ।

मतदान सर्यो, दिउँसो १ बजे सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि हुने भनिएको मतदान अपरान्ह १ बजेका लागि सरेको छ । वर्षा र केही प्राविधिक कारणले मतदान अपरान्ह १ बजेदेखि सुरु गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । महाधिवेशनमा सहभागी देशभरका ७ हजार २५५ जना प्रतिनिधिहरूले आगामी नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।  प्रतिनिधिहरूको सहजताका लागि काठमाडौंका तीनवटा प्रमुख स्थानमा सात वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन समितिका संयोजक खड्काले जानकारी दिएका छन् ।  जसअनुसार बागमती प्रदेशका प्रतिनिधिहरूका लागि राष्ट्रिय सभागृहमा मतदानको व्यवस्था मिलाइएको छ । त्यसैगरी कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिका प्रतिनिधिहरूका लागि खुलामञ्चमा मतदान केन्द्र तोकिएको छ ।  गण्डकी र लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधिहरूले भने प्रज्ञा भवनमा पुगेर मतदान गर्नुपर्नेछ । मतदानका क्रममा प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरेपछि मात्र भोट हाल्न दिइने निर्वाचन समितिले जनाएको छ ।

एनएमबि बैंकको लाभांश घोषणा

काठमाडौं । एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले ७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट हाल कायम चुक्ता पुँजी १९ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँको करसहित ७ प्रतिशतका दरले १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो ।  यस्तै, ३ अर्ब रुपैयाँ एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि ८.२५ प्रतिशतका दरले १२ करोड २० लाख ५४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव प्रमोद कुमार दाहालले जानकारी दिए । 

पहिलोपटक वरिष्ठ नेताका रूपमा भण्डारी एमाले स्थायी कमिटी बैठकमा सहभागी हुँदै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारी पहिलोपटक वरिष्ठ नेताका रूपमा सहभागी हुने भएकी छन् । एमालेको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीलाई पूर्णता दिँदै सबै पदाधिकारीलाई स्थायी कमिटी सदस्य बनाउनुका साथै थप सात नेतालाई मनोनीत गरेपछि आज पहिलोपटक स्थायी कमिटी बैठक बस्न लागेको हो । पार्टी प्रचार प्रमुख नीरज आचार्यका अनुसार बैठक दिउँसो १ बजे च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ ।पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले वरिष्ठ नेताका रूपमा मनोनयन गरेपछि स्थायी कमिटीको बैठकमा उनको यो पहिलो सहभागिता हुनेछ । राष्ट्रपति पदमा रहँदा पार्टीको सक्रिय राजनीतिबाट अलग रहेकी भण्डारी राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् । केन्द्रीय कमिटीको निर्णयअनुसार स्थायी कमिटीमा पार्टीका सबै पदाधिकारी रहने व्यवस्था गरिएको छ । त्यसबाहेक पूर्ववरिष्ठ नेता ईश्वर पोखरेलसहित प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, लालबाबु पण्डित, थममाया थापा र शिवमाया तुम्बाहाङ्फेलाई स्थायी कमिटीमा थप गरिएको छ । नयाँ संरचनाअनुसार बस्न लागेको बैठकलाई एमालेको आगामी राजनीतिक तथा संगठनात्मक दिशाका दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ । विशेषगरी पूर्वराष्ट्रपति भण्डारीको पार्टी राजनीतिमा पुनरागमनपछि उनको स्थायी कमिटी सहभागितालाई एमालेभित्र चासोका साथ हेरिएको छ । आजको बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, संगठनात्मक विषय तथा पछिल्ला केन्द्रीय कमिटीका निर्णयको कार्यान्वयनलगायत विषयमा छलफल हुने बताइएको छ ।

उत्कृष्ट ठहरिँदै माछापुच्छ्रे बैंकले पायो दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको आधारमा माछापुच्छ्रे बैंकले दुई वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड प्राप्त गरेको छ । बैंकले इन्फोसिस फिनाकल इनोभेसन अवाड्र्स २०२६ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट’ (ग्राहक संलग्नता अभिवृद्धि) विधामा प्लेटिनम अवार्ड प्राप्त गरेको हो ।  ग्राहकको खाता खोल्ने लगायत बैंकिङ सेवामा जोडिने प्रक्रियालाई अझ सरल, सहज र प्रभावकारी बनाउन सञ्चालन गरिएको ‘रिइन्भेन्टिङ कस्टमर अनबोर्डिङ’ पहलकदमीको मूल्यांकन गर्दै बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो । विश्वभरका वित्तीय संस्थाले प्रविधि र ग्राहक केन्द्रित सेवामा गरेका उत्कृष्ट कार्यलाई सम्मान गर्ने यस कार्यक्रमको सन् २०२६ को संस्करणमा ९ विधामा ५०० भन्दा बढी आवेदनहरूमध्येबाट विजेता छनौट गरिएको थियो ।  यसैगरी, बैंकले अर्को अन्तर्राष्ट्रिय सम्मानस्वरूप ‘बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट’ (जोखिम व्यवस्थापनमा सर्वोत्कृष्ट प्रदर्शन) अवार्ड समेत प्राप्त गरेको छ । इन्डियन चेम्बर अफ कमर्सद्वारा नयाँ दिल्लीमा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स २०२६’ मा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो ।  कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा तरलता जोखिम व्यवस्थापनका क्षेत्रमा बैंकले गरेको उत्कृष्ट प्रयास र सुरक्षित एवं जिम्मेवार बैंकिङ अभ्यासको कदर गर्दै यो सम्मान दिइएको हो । बैंकले यसअघि पनि भिसा लिडरसिप कन्क्लेभ अवार्ड (२०२३ र २०२४), इन्फोसिस फिनाकल इनोभेसन अवार्ड (२०२३ र २०२५), तथा राइजिङ स्टार इन असेट क्वालिटी अवार्ड (२०२५) जस्ता थुप्रै अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरिसकेको छ । 

तोकिएको भाडाभन्दा बढी लिए कारबाही गर्ने महासंघको चेतावनी

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा सरकारले तोकेकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमले तोकिएभन्दा बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरिने बताए । सरकारले दसैँका लागि असोज २३ गतेदेखि देशभरका यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ । यात्रु तथा मालवाहक यातायात सञ्चालनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, मजदुर संघ–संगठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयबीचको समन्वयमा अग्रिम टिकट बुकिङ खुला गर्न लागिएको हो । महासंघले सातै प्रदेश, जिल्ला समिति तथा सदस्य संघ–संस्थासहित काठमाडौंको गोंगबु बसपार्कमा कार्यरत शाखा प्रमुख तथा कर्मचारीलाई आवश्यक निर्देशन दिएको छ । अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक र परिचयपत्र अनिवार्य लगाउनुपर्नेछ । यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराई सुरक्षित यात्राको सुनिश्चितता गर्न पनि महासंघले निर्देशन दिएको छ । दसैँको भीड व्यवस्थापनका लागि असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ । प्रचलित कानुनअनुसार खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनको आवतजावतमा भने रोक लाग्ने छैन । घटस्थापनादेखि कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि देशभर लामो तथा मध्यम दूरीका मार्गको अनुमति खुला गरिएको छ । सडकको विशेष प्रकृतिका कारण निश्चित आकार तथा प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा लगाइएको प्रतिबन्ध भने यथावत् रहने महासंघले जनाएको छ । काठमाडौं उपत्यकाका प्रमुख नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षको अनुगमन तथा सहजीकरणका लागि यातायात व्यवस्था विभागले सम्पर्क व्यक्तिसहितको टोली परिचालन गर्नेछ । महासंघका तर्फबाट गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, गौशाला तथा चाबहिल क्षेत्रमा जिम्मेवारी तोकिएको छ । यात्रुवाहक सवारीसाधनको सवारी परीक्षणलाई पनि प्राथमिकता दिइएको छ । यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय, टेकुबाट प्राविधिक कर्मचारी खटाएर गोंगबु बसपार्कमै सवारीसाधनको निःशुल्क सवारी परीक्षणको व्यवस्था मिलाइने महासंघले जनाएको छ ।

दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन

काठमाडौं । दिग्गज बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको गोवास्थित निवासमा हृदयाघात भएपछि निधन भएको हो । पाटेकरलाई बिहीबार बिहान ५ बजेर २० मिनेटमा मृत घोषणा गरिएको जनाइएको छ । उनलाई बचाउन चिकित्सकले करिब ४५ मिनेटसम्म लगातार मुटुको पुनर्जीवन प्रक्रिया (सीपीआर) गरेका थिए । नाना पाटेकर हिन्दी र मराठी चलचित्रका चर्चित अभिनेतामध्ये एक थिए । उनको जन्म १ जनवरी १९५१ मा महाराष्ट्रको मुरुड–जञ्जिरामा भएको थियो । उनी अभिनेता मात्र नभई चलचित्र निर्माता, निर्देशक तथा लेखकका रूपमा पनि सक्रिय थिए । भारतीय चलचित्रका प्रभावशाली अभिनेतामध्ये गनिने पाटेकरले आफ्नो फरक अभिनय शैली र दमदार संवाद प्रस्तुतिका कारण छुट्टै पहिचान बनाएका थिए । उनले सन् १९७८ मा ‘गमन’बाट हिन्दी चलचित्रमा पाइला राखेका थिए । सुरुवाती चरणमा उनले मराठी र हिन्दी दुवै चलचित्रमा काम गरे । सन् १९८९ मा आएको ‘परिन्दा’ उनको अभिनय यात्राको महत्वपूर्ण मोड बन्यो । उक्त चलचित्रमा उनले निर्वाह गरेको भूमिकाका लागि राष्ट्रिय चलचित्र पुरस्कार र फिल्मफेयर पुरस्कार प्राप्त गरेका थिए । लामो अभिनय यात्रामा पाटेकरले विभिन्न किसिमका भूमिका निर्वाह गरे । ‘अंकुश’, ‘प्रतिघात’, ‘प्रहार’, ‘तिरंगा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशीः द म्युजिकल’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘राजनीति’, ‘वेलकम’ र ‘वेलकम ब्याक’ उनका चर्चित चलचित्र हुन् । गम्भीर र दमदार भूमिकामा आफूलाई प्रमाणित गरेका पाटेकरले हास्य तथा व्यावसायिक चलचित्रमा पनि प्रभाव छाडेका थिए । ‘वेलकम’मा उदय शेट्टीको भूमिकाले उनको हास्य अभिनयको अर्को पक्षलाई दर्शकमाझ लोकप्रिय बनाएको थियो । पाटेकर पछिल्लो समय पनि चलचित्र क्षेत्रमा सक्रिय थिए । उनको पछिल्लो चलचित्रमा ‘ओ’रोमियो’ पनि रहेको थियो, जसमा शाहिद कपुर र तृप्ति डिमरी मुख्य भूमिकामा थिए । उक्त चलचित्रमा पाटेकरले मुम्बई इन्टेलिजेन्स ब्युरोका प्रमुख इस्माइल खानको भूमिका निर्वाह गरेका थिए ।

दुर्घटनामा परेको हेलिकोप्टर २५.२० करोडमा बिक्री

काठमाडौं । अल्टिच्युड एयर प्रालिले गत आर्थिक वर्ष २०८२/८३ मा ५२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७.२४ प्रतिशत अर्थात् ४ करोड १० लाख रुपैयाँ कम हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ५६ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । गत वर्ष पर्यटन क्षेत्रमा आएको अवरोधका कारण कम्पनीको व्यवसाय प्रभावित भएको हो । गत वर्ष भदौमा भएको आन्दोलनका कारण नेपालमा पर्यटन गतिविधिमा असर परेको थियो । त्यसको प्रत्यक्ष प्रभाव कम्पनीका लक्षित ग्राहक तथा हेलिकोप्टर सेवाको मागमा परेको जनाइएको छ । अल्टिच्युड एयरले दुईवटा एच१२५ एयरबस हेलिकोप्टरमार्फत विभिन्न प्रकारका हवाई सेवा प्रदान गर्दै आएको छ । सन् २०१५ अगस्टमा स्थापना भएको कम्पनीले सन् २०१६ अक्टोबरदेखि व्यावसायिक सञ्चालन सुरु गरेको हो । कम्पनीले चार्टर उडान, पर्वतीय उडान, उद्धार उडान, आकस्मिक स्वास्थ्य उद्धार तथा तीर्थयात्रा उडानलगायत सेवा प्रदान गर्दै आएको छ । त्यस्तै, कम्पनीले चलचित्र तथा भिडियो छायांकन, पछ्याउने उडान तथा स्लिङ उडानजस्ता विशेष हवाई सेवा पनि सञ्चालन गर्दै आएको छ । कम्पनीको दर्ता कार्यालय काठमाडौंको सिनामंगलमा रहेको छ भने इन्जिनियरिङ तथा सञ्चालनसम्बन्धी कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हेलिप्याडमा रहेको छ । तेस्रो हेलिकोप्टर थप्दै  कम्पनीले आफ्नो सञ्चालन क्षमता विस्तार गर्न तेस्रो हेलिकोप्टर खरिद प्रक्रिया अघि बढाएको छ । प्रस्तावित हेलिकोप्टर खरिदमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी गर्ने योजना रहेको छ । खरिदका लागि आवश्यक ऋणको व्यवस्था भइसकेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ८६ करोड ८० लाख रुपैयाँ कर्जा लिएको छ । यसमध्ये ८२ करोड ७६ लाख रुपैयाँ दीर्घकालीन र करिब ४ करोड रुपैयाँ अल्पकालीन कर्जा रहेको छ । नयाँ हेलिकोप्टर सन् २०२७ देखि सञ्चालनमा ल्याउने कम्पनीको योजना छ । तेस्रो हेलिकोप्टर थपिएपछि सञ्चालनको आकार बढ्ने भएकाले त्यसलाई समयमै सञ्चालनमा ल्याउने र व्यवसायलाई स्थिर बनाउने चुनौती कम्पनीसामु रहनेछ । नयाँ हेलिकोप्टरबाट अपेक्षित आम्दानी तथा नगद प्रवाह हासिल गर्न नसके कम्पनीको वित्तीय जोखिम बढ्न सक्ने देखिएको छ । चार्टर उडानमा बढी निर्भर अल्टिच्युड एयरले विभिन्न प्रकारका हेलिकोप्टर सेवा सञ्चालन गरे पनि कम्पनीको अधिकांश आम्दानी चार्टर उडानबाट हुने गरेको छ । कम्पनीका प्रमुख गन्तव्यमा सगरमाथा आधार शिविर, लुक्ला, मुक्तिनाथ र पोखरा रहेका छन् । यी गन्तव्यमा हुने पर्यटकीय तथा चार्टर उडान कम्पनीको व्यवसायका लागि महत्वपूर्ण आम्दानीको स्रोत हुन् । कम्पनीको आम्दानी पनि पर्यटकीय मौसममा बढी हुने गरेको छ । सेप्टेम्बरदेखि नोभेम्बरसम्म तथा फेब्रुअरीदेखि मेसम्म पर्यटकको आवागमन बढ्ने भएकाले उक्त अवधिमा उडान तथा आम्दानी बढ्ने गरेको छ । यसले कम्पनीको आम्दानीलाई पर्यटन क्षेत्रको मौसमी अवस्था र पर्यटक आगमनसँग प्रत्यक्ष जोडेको छ । पर्यटक आवागमनमा अवरोध आएमा कम्पनीको आम्दानी तथा नगद प्रवाहमा समेत असर पर्न सक्ने देखिन्छ । अल्टिच्युड एयरको समग्र नेतृत्व कार्यकारी अध्यक्ष निमा नुरु शेर्पाले गर्दै आएका छन् । शेर्पासँग पर्यटन तथा साहसिक पर्यटन व्यवसायमा तीन दशकभन्दा बढीको अनुभव रहेको छ । उनले नेपाल पर्वतारोहण संघ तथा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्षका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन् । कम्पनीले हेलिकोप्टर सञ्चालनलाई व्यवस्थित बनाउन सफ्रान हेलिकोप्टर इन्जिन्ससँग ‘सपोर्ट बाई द आवर’ सम्झौता गरेको छ । सम्झौताले हेलिकोप्टर इन्जिनको सञ्चालन सहयोग, मर्मत तथा पुनःस्थापना सेवासमेत समेट्ने जनाइएको छ । यसबाट नियमित तथा आकस्मिक मर्मतका कारण हुने सञ्चालन अवरोध र सेवा बन्द रहने समय घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । भूराजनीतिक द्वन्द्वका कारण हवाई इन्धनको मूल्य उच्च रहँदा कम्पनीको सञ्चालन नाफामा दबाब परेको छ । फलस्वरूप ब्याज, कर, मूल्यह्रास तथा परिशोधनअघिको नाफा मार्जिन अघिल्लो आर्थिक वर्षको ३२ प्रतिशतबाट घटेर गत आर्थिक वर्ष २२ प्रतिशतमा सीमित भएको छ । तर, दुर्घटनामा परेको हेलिकोप्टरलगायत सम्पत्ति बिक्रीबाट कम्पनीले एकपटकको ठूलो आम्दानी गरेको छ । सन् २०२५ अक्टोबर २९ मा दुर्घटनामा परेको ९एन–एएमएस हेलिकोप्टर तथा ढुवानीका क्रममा क्षति भएको अर्को हेलिकोप्टर इन्जिनसँग सम्बन्धित सम्पत्तिबाट कम्पनीले २५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको हो । कम्पनीले दुर्घटनासँग सम्बन्धित बीमा रकमसमेत प्राप्त गरेको छ । सम्पत्ति बिक्रीबाट भएको उक्त गैरआवर्ती आम्दानीका कारण कम्पनीको खुद नाफा मार्जिन अघिल्लो आर्थिक वर्षको १२ प्रतिशतबाट बढेर गत आर्थिक वर्ष ३३ प्रतिशत पुगेको छ । त्यस्तै, कम्पनीको कुल नगद आर्जन क्षमता पनि बढेको छ । अघिल्लो आर्थिक वर्ष १२ करोड ८० लाख रुपैयाँ रहेको कुल नगद आर्जन क्षमता गत आर्थिक वर्ष २२ करोड ५० लाख रुपैयाँ पुगेको छ । यद्यपि, नाफा मार्जिन र नगद आर्जन क्षमतामा देखिएको सुधार कम्पनीको मूल सञ्चालन व्यवसायमा आएको सुधारका कारण भने होइन । दुर्घटनामा परेको हेलिकोप्टर तथा अन्य सम्पत्तिबाट भएको २५ करोड २० लाख रुपैयाँको गैरआवर्ती आम्दानीले नाफा र नगद प्रवाहमा ठूलो योगदान गरेकाले यसलाई कम्पनीको नियमित सञ्चालन प्रदर्शनको सूचकका रूपमा लिन नसकिने देखिन्छ ।