८ संस्थापक सेयर बेचेर प्रभु बैंकबाट बाहिरिने
काठमाडौं । प्रभु बैंकका ८ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेका छन् । बैंकका अनुसार संस्थापक सेयरधनी जमुना कुमारी श्रेष्ठले १ लाख ३१ हजार ७४७ कित्ता, तिलकबहादुर प्रधानले ३८ हजार ४४ कित्ता, भेन्चर होल्डिङ्स प्रालिले १ लाख २६ हजार ५३६ कित्ता र हिमानी शाहले ५ हजार २६२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । त्यस्तै, रन्जीता श्रेष्ठले २८ हजार १३३ कित्ता, मन दाहालले ५ हजार ९४९ कित्ता, कमला अधिकारी सापकोटाले १४ हजार ९०० कित्ता र बेलबहादुर भण्डारीले १ लाख २७ हजार २३१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । बैंकको संस्थापक सेयर खरिद–बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था छ । सोहीअनुसार संस्थापक सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
छाया देवी कम्प्लेक्सले ५ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । छाया देवी कम्प्लेक्स लिमिटेडले ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले करसहित चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने ६ करोड ४६ लाख ८७ हजार ५०० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक १३ गते दिउँसो १ बजे होटल एलफ्ट काठमाडौं ठमेलमा १९औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । यस्तै, सोही आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।
नयाँ कार्यसमिति चयनका लागि आज मतदान
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहीबार बिहान १० बजेदेखि मतदान सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, वर्षा र केही प्राविधिक समस्याका कारण तीन घण्टा ढिलो गरी मतदान सुरु गर्न लागिएको निर्वाचन समितिले जनाएको छ । महाधिवेशनमा सहभागी देशभरका ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् । प्रतिनिधिहरूको सहजताका लागि काठमाडौंका तीन प्रमुख स्थानमा सात वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन समितिका संयोजक खड्काले जानकारी दिएका छन् । बागमती प्रदेशका प्रतिनिधिका लागि राष्ट्रिय सभागृहमा मतदान केन्द्र तोकिएको छ । कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिका प्रतिनिधिका लागि खुलामञ्चमा मतदानको व्यवस्था गरिएको छ । त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधिले प्रज्ञा भवनमा पुगेर मतदान गर्नुपर्नेछ । मतदानका क्रममा प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न दिइने निर्वाचन समितिले जनाएको छ ।
नेपालका लागि भारतको राजदूतमा सुधाकर दलेला प्रस्तावित, नोट भर्वल परराष्ट्र पठाइयो
काठमाडौं । भारत सरकारले नेपालका लागि नयाँ राजदूतका रूपमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलालाई प्रस्ताव गरेको छ । भारतले दलेलाको नियुक्तिको स्वीकृतिका लागि नेपालको परराष्ट्र मन्त्रालयमा नोट भर्वल पठाएको परराष्ट्र स्रोतले जनाएको छ । नेपाल सरकारले गृह मन्त्रालय र मन्त्रिपरिषद्बाट औपचारिक प्रक्रिया पूरा गरी सहमति जनाएपछि भारतले राजदूत नियुक्तिका लागि एग्रिमो पठाउनेछ । नेपालका लागि भारतका २६औं राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरी १ अक्टोबर २०२६ मा स्वदेश फर्किएपछि दलेला नेपालका लागि भारतको २७औं राजदूतका रूपमा आउन लागेका हुन् । भारतीय विदेश सेवा (१९९३ ब्याच) का अनुभवी कूटनीतिज्ञ दलेला हाल भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको भूमिकामा कार्यरत छन् । इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेका दलेलाले यसअघि सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतका रूपमा काम गरिसकेका छन् । नेपाल र भुटान मामिलाका विज्ञ मानिने दलेलाले विदेश मन्त्रालयको उत्तर विभागमा निर्देशक र सहसचिवका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन् । यसका साथै उनले नयाँ दिल्लीस्थित प्रधानमन्त्री कार्यालयमा निर्देशक, वासिङ्टन डीसीस्थित दूतावासमा डेपुटी चिफ अफ मिसन तथा विश्व व्यापार संगठन (डब्लूटीओ) मा भारतको डेपूटी स्थायी प्रतिनिधिका रूपमा समेत काम गरिसकेका छन् ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुँदै
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तालिका सार्वजनिक गरे पनि वर्षा र केही प्राविधिक कारणले तीन घण्टा ढिलो गरी मतदान प्रक्रिया अघि बढाउन लागिएको जनाएको छ । महाधिवेशनमा सहभागी देशभरका ७ हजार २५५ जना प्रतिनिधिहरूले आगामी नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्दैछन् । प्रतिनिधिहरूको सहजताका लागि काठमाडौंका तीन वटा प्रमुख स्थानमा सात वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन समितिका संयोजक खड्काले जानकारी दिएका छन् । जसअनुसार बागमती प्रदेशका प्रतिनिधिहरूका लागि राष्ट्रिय सभागृहमा मतदानको व्यवस्था मिलाइएको छ । त्यसैगरी कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिका प्रतिनिधिहरूका लागि खुलामञ्चमा मतदान केन्द्र तोकिएको छ । गण्डकी र लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधिहरूले भने प्रज्ञा भवनमा पुगेर मतदान गर्नुपर्नेछ । मतदानका क्रममा प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरेपछि मात्र भोट हाल्न दिइने निर्वाचन समितिले जनाएको छ ।
नेपाली कांग्रेस सबैको योगदानले बनेको हो, सबैलाई समेटेर अघि बढ्छुः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति पदका उम्मेदवार गगन थापाले पार्टी सबैको संघर्ष र योगदानबाट बनेको बताउँदै १५औं महाधिवेशनको बन्दसत्रमा पूर्वसभापति शेरबहादुर देउवालगायतका नेताहरू मञ्चमा अनुपस्थित रहेकोमा दुःख व्यक्त गरेका छन् । बन्दसत्रलाई सम्बोधन गर्दै थापाले निवर्तमान सभापति देउवाले पार्टी निर्माण र प्रजातान्त्रिक संघर्षमा लामो समय ठूलो योगदान पुर्याएको स्मरण गर्दै महाधिवेशनमा शीर्ष नेताहरूको उपस्थिति नहुनुले आफूहरूलाई खुसी नतुल्याएको र मञ्चमा अग्रज नेताहरू पनि हुनुपथ्र्यो भन्ने लागेको बताए । गत पुसमा सम्पन्न विशेष महाधिवेशन विधानसम्मत नै भएको दाबी गर्दै थापाले महाधिवेशनपछि सबै पक्षलाई जोडेर पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी आफूले लिने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, अर्को प्रसङ्गमा नेता थापाले अदालतबाट निर्णयको अपेक्षा गरेर बस्नु समयको बर्बादी मात्र हुने टिप्पणी गरे । सर्वोच्च अदालतले नेपाली कांग्रेसको वैधानिकतासम्बन्धी विवादलाई संवैधानिक इजलासमा लैजाने निवेदन दरपीठ गरिदिएको सन्दर्भ उल्लेख गर्दै उनले अदालतबाट भएको यो आठौं निर्णय रहेको बताए । उनले पार्टी मिलाउने र एकताबद्ध बनाएर लैजाने काम आफूले गर्ने भन्दै अन्य नेता-कार्यकर्तालाई आ-आफ्नो जिम्मेवारीअनुसार काममा जुट्न आग्रह गरे ।
उच्च भन्सार मूल्यङ्कन र अधिक करका कारण मूल्यवृद्धि भएको व्यवसायीको गुनासो
काठमाडौं । महान् चाडपर्व नजिकिँदै गर्दा विराटनगर बजारको व्यावसायिक वातावरण, बजार व्यवस्थापन तथा समसामयिक समस्या र समाधानका उपायबारे मोरङ उद्योग व्यापार संघमा सरोकारवाला व्यवसायीहरूबीच छलफल सम्पन्न भएको छ । संघका अध्यक्ष अनिल कुमार साहको अध्यक्षता तथा आमन्त्रित सदस्य पंकज दुगडको सञ्चालनमा आयोजित कार्यक्रममा स्थानीय व्यवसायीहरूले दैनिक व्यापार-व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका नीतिगत र व्यवहारिक कठिनाइहरू प्रस्तुत गरेका थिए । छलफलका क्रममा व्यवसायीहरूले अत्यावश्यक वस्तुको आयातमा उच्च भन्सार मूल्यङ्कन, महसुल, अन्तःशुल्क र भ्याटका कारण मूल्यवृद्धि भई व्यापार प्रभावित भएको गुनासो गरे । साथै एमआरपी लेबलिङको झन्झट, दोहोरो व्यावसायिक कर, घरबहाल कर, फोहोर व्यवस्थापन शुल्क, र डिजिटल कारोबारमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएका थिए । चाडपर्वको मुख्य किनमेलको समय (पिक-आवर) मा हुने अनुगमनलाई व्यवस्थित बनाउन र सीमावर्ती बिहार राज्यका करिब १७ करोड जनसंख्यालाई लक्षित गरी उपभोक्ता अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा उनीहरूले जोड दिए । व्यवसायीका समस्यालाई सम्बोधन गर्दै अध्यक्ष साहले सम्पूर्ण मागहरूलाई स्थानीय, प्रदेश र संघीय सरकारसमक्ष पुर्याएर समाधानका लागि सशक्त पहल गर्ने प्रतिबद्धता जनाउँदै चाडपर्वमा बजारलाई मर्यादित र उपभोक्तामैत्री बनाउन आग्रह गरे ।
नेपालका पाँच प्रविधि संस्थालाई अन्तर्राष्ट्रिय असोसियो डिजिटल र एआई अवार्ड २०२६
काठमाडौं । नेपालका पाँच वटा प्रविधि संस्थाहरू प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘असोसियो डिजिटल र एआई अवार्ड २०२६’ बाट सम्मानित भएका छन् । एसियन-ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गानाइजेसनद्वारा इन्डोनेसियाको जकार्तामा आयोजित ‘असोसियो डिजिटल र एआई समिट २०२६’ (अक्टोबर ५-७) का अवसरमा ती संस्थाहरूलाई सो अवार्ड प्रदान गरिएको हो । पुरस्कृत हुने संस्थाहरूमा सनवे इन्टरनेसनल बिजनेस स्कुलले एआई ट्यालेन्ट डेभलपमेन्ट, इनसाइट टेक्नोलोजी प्रालिले एआई इन साइबर सेक्युरिटी, वाइज याक सोलुसन्स प्रालिले एआई इन हेल्थकेयर, डिभी एक्सेलस प्रालिले एआई इन स्मार्ट एग्रिकल्चर’ र अभियान्ता फाउन्डेसनले एआई इन वर्कफोर्स एण्ड फ्युचर स्किल्स विधामा अवार्ड हात पारेका हुन् । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को सिफारिसमा सहभागी यी नेपाली संस्थाहरूले २४ एसियाली-ओसियनियन देशका प्रतिनिधिहरूबिच प्रतिस्पर्धा गरी यो सफलता हासिल गरेका हुन् । क्यान महासंघका पूर्व अध्यक्ष एवम् असोसियोका उपाध्यक्ष नवराज कुँवर र महासचिव चन्द्र विलास भुर्तेलका अनुसार यस्ता अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त सम्मानले नेपाललाई क्षेत्रीय डिजिटल हबका रूपमा स्थापित गर्न र स्वदेशी प्रविधि कम्पनीहरूलाई विश्वव्यापी प्रतिस्पर्धामा अघि बढ्न ठूलो प्रेरणा मिल्नेछ ।