आज देशका विभिन्न क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशका थोरै स्थानमा, लुम्बिनी र कोशी प्रदेशको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी हिमाली, पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ विभागको भनाइ छ । कोशी प्रदेशका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशको हिमाली, पहाडी भू-भागका र मधेस प्रदेशको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हुरीको पनि सम्भावना रहेको छ । आज राति कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना छ ।
आज नेपाल र अमेरिका भिड्दै, नेपालका लागि निकै महत्वपूर्ण
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९:३० बजे सुरु हुनेछ । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म दुई खेल सकिएका छन् । दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो । आइसिसी क्रिकेट विश्वकप लिग-२ को अङ्क तालिकामा नेपाल सातौं स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै ११ वटा खेल जित्नुपर्छ भने एक दिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । नेपाल अहिले २५ खेलपछि आठमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै १८ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । साथै अमेरिका २५ खेलबाट १८ मा जित, सातमा हारसँगै ३६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा स्कटल्याण्ड पहिलो स्थानमा छ । स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, ८ मा हार र ६ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।
मौद्रिक नीतिको समीक्षा सार्वजनिक, स्थायी निक्षेप सुविधा पुनरावलोकन गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइँदै आएको स्थायी निक्षेप सुविधा पुनरावलोकन गर्ने जनाएको छ। वित्तीय प्रणालीमा तरलता व्यवस्थापनलाई थप प्रभावकारी तथा ब्याजदर स्थायित्व कायम गर्ने उद्देश्यले स्थायी निक्षेप सुविधासम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्न लागेको हो । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात (सीआरआर) तथा वैधानिक तरलता अनुपात (एसएलआर) सम्बन्धी विद्यमान व्यवस्थाहरू यथावत् कायम राखिएको जनाएको हो । राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति लक्ष्यअनुरूप रहने प्रक्षेपणका आधारमा न्यून आर्थिक वृद्धिको अवस्थालाई ध्यानमा राख्दै चालु आर्थिक वर्षको सुरुदेखि अवलम्बन गरिएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको छ ।
सीईओ पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालत ले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले शुक्रबार बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथिको सुनुवाइपछि हाजिर जमानीमा थुनामुक्त गर्न आदेश दिएको हो । आदेशमा पाण्डेलाई प्रतिनिधित्व गर्ने कुनै एक वरिष्ठ अधिवक्ताको रोहवरमा राख्ने, देश छोडेर बाहिर जानु परेमा अदालतको अनुमति लिनुपर्ने तथा अनुसन्धान तहकिकातका क्रममा आवश्यक परेका बखत उपस्थित हुनुपर्ने उल्लेख गरिएको छ । साथै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हाजिर जमानीमा राखी आरोपित कसुरको अनुसन्धान अघि बढाउन आदेश दिइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्मार्ट टेलिकमको विषयलाई लिएर पाण्डेलाई गत वैशाख २९ गते पक्राउ गरेको थियो । पाण्डेका पत्नी निरु दाहालले गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै गत वैशाख ३० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
विदेश पठाइदिने बहानामा ठगी गर्ने ६९ कन्सल्टेन्सी सञ्चालक प्रहरी नियन्त्रणमा
काठमाडौं । ठगी तथा अवैध रूपमा सञ्चालनमा रहेका कन्सल्टेन्सीविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कानुनी कारबाही अघि बढाएको छ। उच्च शिक्षाका लागि विदेश पठाइदिन्छु भन्दै नेपाली नागरिकहरूलाई ठगी गरेको आरोपमा कार्यालयमा निरन्तर उजुरी, गुनासो तथा निवेदन प्राप्त भएपछि प्रहरीले उक्त कारबाही थालेको हो । यसै क्रममा खटिएको विशेष प्रहरी टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अपरेसन सञ्चालन गर्दै कानुनी मापदण्ड पूरा नगरी अवैध रूपमा सञ्चालन भइरहेका ९५ वटा शैक्षिक परामर्श केन्द्रमा छापा मारेको छ। ती कन्सल्टेन्सीहरूले शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका २०७३ अनुसार आवश्यक दर्ता, नवीकरण तथा मापदण्ड पूरा नगरी सेवा सञ्चालन गरिरहेको पाइएको छ। गैरकानुनी रूपमा ठगी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६९ जना कन्सल्टेन्सी सञ्चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले यस्ता ठगीमा परेका पीडितहरूलाई आवश्यक कानुनी प्रक्रिया तथा न्यायका लागि टेकुस्थित कार्यालयमा सम्पर्क गर्न आग्रह समेत गरेको छ । कोरिया जाँदा ६ दर्जन बढी कन्सल्टेन्सीले पौने १ अर्ब ठगेको भन्दै उजुरी, कुन-कुन कन्सल्टेन्सी परे ?
राष्ट्रिय गौरवका आयोजनाको लागत २४ खर्ब १५ अर्ब पुग्यो
काठमाडौं । सरकारले आमनागरिकलाई विकासको प्रवाहमा समाहित गर्ने र तीव्र आर्थिक विकासका लागि भनेर अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनामा गरिएको लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको पाइएको छ । महालेखापरीक्षकको ६३औं प्रतिवेदनअनुसार राष्ट्रिय गौरवका आयोजनामा ५ खर्ब ४ अर्ब ५५ करोडबराबर लगानी भएको छ । त्यसमध्ये हालसम्म तीनवटा मात्रै त्यस्ता आयोजना सम्पन्न भएका छन् । कुल २७ वटा राष्ट्रिय गौरवका आयोजनामा गरिएको लगानीअनुसारको प्रतिफल हासिल हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय गौरवका आयोजनाको संशोधित लागत अनुमान २४ खर्ब १५ अर्ब ६ करोड ९७ लाख र ६९ दशमलव सात करोड अमेरिकी डलर रहेको छ । गौतमबुद्ध विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमात्रै सम्पन्न भएका छन् । समष्टिगत रूपमा भौतिक प्रगति ८० प्रतिशत वा सोभन्दा माथि हासिल गर्ने पाँचवटा आयोजना छन् । यस्तै, ५० देखि ८० प्रतिशत हासिल गर्ने चारवटा छन् । पचास प्रतिशतभन्दा न्यून प्रगति भएका आयोजनाको सङ्ख्या नौ, भौतिक प्रगति नखुलेका चार र सुरु नै नभएका दुई आयोजना छन् । आव २०७८/७९ सम्म सम्पन्न गर्नुपर्ने अवधि रहेको पशुपति क्षेत्र विकास कोषको हालसम्मको प्रगतिसमेत नखुलेको प्रतिवेदनमा उल्लेख छ । अधिकांश आयोजना कार्यक्षेत्र थप गर्दै जाने तथा निर्माण सम्पन्न गर्नुपर्ने अवधिमा नसकिएका कारण लगानीअनुसारको प्रतिफल हासिल हुनसकेको छैन । तोकिएको अवधिमा सम्पन्न हुनेगरी आयोजनाको व्यवस्थापन हुनुपर्नेमा प्रतिवेदनले जोड दिएको छ । यस्तै, आयोजनाको बारम्बार म्याद थपिने प्रवृत्ति देखिएको छ । सोही कारणले लागत वृद्धि हुनुका साथै आयोजनाको प्रभावकारितामा समेत प्रश्न उठेको छ ।
काठमाडौंमा २ लाख ७९ हजार धारा जडान
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले २ लाख ७९ हजार धारा मात्र जडान गरेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ३ लाख ५४ हजार धारा जडान गर्ने उल्लेख भए तापनि २ लाख ७९ हजार धारा मात्र जडान गरिएको महालेखा परीक्षकले जनाएको छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची, याङ्ग्री र लार्के नदीबाट दैनिक करिब ५१ करोड लिटर पानी आपूर्ति गर्ने लक्ष्य थियो । मेलम्ची नदीबाट करिब १७ करोड लिटर मात्र प्रशोधन केन्द्रमा पठाएर भई वितरण भइरहेको प्रतिवेदनले जनाएको छ । काठमाडौं उपत्यकामा दैनिक करिब ५१ करोड ४० लाख लिटर माग छ । वर्षायाममा दैनिक १६ करोड २७ लाख लिटर र हिउँदमा २८ करोड ३७ लाख लिटर आपूर्ति हुँदा मागअनुसार खानेपानी आपूर्ति हुन नसकेको प्रतिवेदनले औंल्याएको छ ।
श्रीलंकास्थित नेपाली दूतावासको जग्गा व्यक्तिलाई बिक्री
काठमाडौं । श्रीलंकाको कोलम्बोस्थित नेपाली दूतावासका लागि खरिद गरिएको जग्गा व्यक्तिको स्वामित्वमा पुगेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनमा कोलम्बोस्थित नेपाली दूतावासका लागि खरिद गरिएको जग्गाको स्वामित्व व्यक्तिको नाममा पुगेको देखिएको उल्लेख छ । प्रतिवेदनअनुसार श्रीलंकाको राजगिरियामा नेपाली राजदूतावास स्थापना गर्न सन् १९८९ मे १८ मा ३ लाख ६० हजार अमेरिकी डलरमा १.५ एकड जग्गा खरिद गरिएको थियो। तर हालसम्म उक्त जग्गा उपयोग विहीन अवस्थामा रहेको छ । महालेखापरीक्षकको कार्यालयका अनुसार चालु आर्थिक वर्षमा उक्त जग्गामा कम्पाउण्ड वाल निर्माण गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको भए पनि जग्गाको स्वामित्व स्पष्ट हुन नसक्दा रकम खर्च हुन सकेन। प्रतिवेदनमा उल्लेख भएअनुसार श्रीलंकाको सरकारी मूल्याङ्कनअनुसार हाल उक्त जग्गाको मूल्य करिब ६५ लाख अमेरिकी डलर पुगेको छ। तर नेपाल सरकारको नाममा रहेको आधिकारिक जग्गाधनी पुर्जा हालसम्म प्राप्त हुन सकेको छैन। यसैबीच, श्रीलंकाको सरकारी घरजग्गा व्यवस्थापन निकायमा गरिएको खोजीका क्रममा नेपाल सरकारको नाममा रहेको जग्गामध्ये एक एकड जग्गा सन् १९९४ मे ९ सम्म दुई पटक निजी व्यक्तिलाई बिक्री भएको विवरण फेला परेको प्रतिवेदनमा उल्लेख छ। महालेखापरीक्षकको कार्यालयले उक्त जग्गा पुनः नेपाल सरकारको स्वामित्वमा ल्याई संरक्षण तथा उपयोग सुनिश्चित गर्न आवश्यक पहल गर्न सरकारलाई सुझाव दिएको छ।