प्रवासी नेपालीलाई अर्थमन्त्रीको आह्वान- लगानी ल्याउनुहोस्, सरकारले साथ दिन्छ
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन् । अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने हाम्रो मान्यतामा हामी स्पष्ट छौँ । ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ,’ अर्थमन्त्री वाग्लेले भने । प्रवासमा रहेका नेपालीहरू सरकारको विकास र लगानी विस्तारका सद्भावना दूत भएको पनि उनको भनाइ छ । नेपालमा अविश्वसनीय जनमतबाट बनेको नयाँ सरकारले सुशासनको जग बसाल्न र आर्थिक विकासको ढोका फराकिलो बनाउन काम गरिरहेको तथा यसमा प्रवासमा रहेका नेपालीहरूको हातेमालो जरुरी भएको पनि अर्थमन्त्री वाग्लेले बताए । ‘सरकारले बितेका एक सय दिनमा गरेका कामहरू हेर्नुभयो भने हामी उच्च इमानदारीका साथ सुशासन, जनतालाई सरकारी सेवा सहज रूपमा प्रदान गर्न र अर्थतन्त्रको जहाज मोड्न उल्लेखनीय सुरुवात गरेका छौँ,’ अर्थमन्त्री वाग्लेले भने, ‘सरकारको नेतृत्वदेखि मन्त्रीहरूसम्म सबैले उच्च नैतिकताको कसीमा उभिएर काम गरिरहनुभएको छ। मेरिटोक्रेसी, नेतृत्वमा उच्च नैतिकता, भ्रष्टाचारमा शून्य सहनशीलता र अर्थतन्त्रको समुन्नतिका लागि आर्थिक राजकाजको जहाज मोड्ने कदमको थालनी पछिल्लो एक दशककै सुनौलो सुधारको सुरुवात हो ।’ बजेटमार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर, राजस्व, बजेट वितरणमा नयाँ सुरुवात तथा लगानीका नयाँ सम्भावनाका ढोका खोलिएको भन्दै उनले प्रवासमा रहेका नेपालीहरूबाट नेपालमा लगानी भित्र्याउने अपेक्षा सरकारले गरेको बताए । नेपालबाट लगानीको प्रतिफल फिर्ता लैजान सरकारले सहजीकरण गर्ने भन्दै उनले आफ्नो वा विदेशी लगानी नेपाल ल्याउन पहलकदमी लिन अस्ट्रेलियामा रहेका नेपालीहरूलाई आग्रह गरे । ‘डायस्पोरालाई नेपालमा लगानी ल्याउन सहजीकरणका महत्त्वपूर्ण ढोकाहरू खोलिएका छन् । तपाईंहरू हाम्रो सद्भावना दूत हुनुहुन्छ। आफैँले कमाएको वैध र विदेशी लगानी नेपालमा ल्याउन तपाईंहरू सबैभन्दा राम्रो सहजकर्ता हो,’ अर्थमन्त्रीले भने, ‘हामीले सरकारका तर्फबाट एनआरएनए बन्ड, अफसोर बन्ड, वैकल्पिक वित्त परिचालनजस्ता रूपान्तरणकारी अवधारणा अघि सारेका छौँ। यो नेपालमा तपाईंहरूको लगानी विस्तारका लागि हो ।’ सरकारी खाताभन्दा बाहिरबाट अर्थतन्त्रको पुनरुत्थानका लागि यो सहजीकरण गरिएको भन्दै उनले सरकारले थप के-के सहजीकरण गर्नुपर्छ, स्पष्ट रूपमा भन्न पनि उनीहरूलाई आग्रह गरे । अस्ट्रेलियाको कुल जनसङ्ख्याको करिब एक प्रतिशत नेपाली रहेको उल्लेख गर्दै उनले उनीहरू नेपालको समृद्धिका सम्पत्ति भएको बताए । देश बनाउने साझा उद्देश्यका लागि एक भएर हातेमालो गर्न पनि उनले सबैलाई आग्रह गरे ।
ग्रिनप्लाई, जेमिनी र मकालु वाइनले आईपीओ बिक्री गर्ने, कुनको कति ?
काठमाडौं । मकालु वाइन इन्डस्ट्रीज लिमिटेड, जेमिनी रिसाइकल नेपाल कम्पनी लिमिटेड र ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेका छन् । तीनै कम्पनीले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेका हुन् । ग्रिनप्लाई नेपालले साउन २२ गते बिहान ११ बजे मोरङको बुढीगंगा गाउँपालिका–५ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा बोलाएको छ । सभामा जारी पुँजीको २० प्रतिशत बराबर १६ लाख ४० हजार कित्ता सेयर निष्कासन गर्ने प्रस्ताव पेश गरिनेछ । साथै, जगेडा कोषमा रहेको संस्थापक सेयर प्रिमियम मूल्यमा जारी गर्नेछ । यस्तै, जेमिनी रिसाइकलले पनि साउन २२ गते दिउँसो ३ बजे सोही स्थानस्थित रजिष्टर्ड कार्यालयमा सभा बोलाएको छ । सभाले जारी पुँजीको २० प्रतिशत बराबर १० लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । साथै संस्थापक सेयर प्रिमियम मूल्यमा जारी गर्नेछ । त्यसैगरी, मकालु वाइनले साउन २३ गते बिहान ११ बजे इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा सभा आयोजना गर्ने भएको छ। सभाले जारी पुँजीको २० प्रतिशत बराबर १० लाख कित्ता आईपीओ निष्कासन गर्ने, संस्थापक सेयर प्रिमियम मूल्यमा जारी गर्नेछ । तीनै कम्पनीले विशेष साधारण सभाबाट प्रस्ताव पारित भएपछि नियामक निकायबाट आवश्यक स्वीकृति लिएर आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाउनेछन् ।
बाढी-पहिरोले देशका मुख्य सडक अवरुद्ध
काठमाडौं । बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार आज बिहान ५ बजेसम्म काभ्रेपलाञ्चोक-सिन्धुली जोड्ने बीपी राजमार्गमा राति सवारी सञ्चालनमा लगाइए प्रतिबन्ध जारी छ । सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट-नेपालथोक-कटुन्जे बेँसी सडकखण्डमा बेलुका ६ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यसैगरी, कान्ति लोकपथमा पनि वर्षायामका कारण अर्को सूचना नभएसम्म बेलुका ५ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्गमा हिलो थुप्रिएपछि उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जिरोकिलो तथा वडा नं २ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो खसेकाले सो खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लामासाँघु-रामेछाप राजमार्गको केही भाग सामाकोशी खोलाले कटान गरेपछि यातायात सेवा अवरुद्ध भएको छ । खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । पासाङ ल्हामु सडक खण्डमा पहिरो खस्दा त्रिशूली-मैलुङ-स्याफ्रु बेँसी कच्ची सडकखण्ड पनि अवरुद्ध भएको छ । त्यसैगरी, मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ घ्याकर खोलामा जलसतह बढेपछि जोमसोम-कोरला सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । अवरुद्ध सडक सडक विभाग तथा स्थानीय निकायले खुलाउने प्रयास जारी राखेका प्रहरीले जनाएका छन् ।
तीन प्रदेशमा आज भारी वर्षाको चेतावनी, जनजीवन प्रभावित हुन सक्ने
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा आज भारी वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । अहिले कोशी प्रदेशको तराई भागमा मुख्यतया मौसम सफा रहे पनि बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भागमा सामान्यदेखि पूर्ण बदली तथा तराईमा आंशिक बदली रहनेछ । हिमाली र पहाडी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । यसैगरी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । साथै, तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले भारी वर्षाका कारण ती क्षेत्रमा गेग्रान, बाढीपहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन तथा विभागका पछिल्ला मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।
यात्रुलाई बासी खाना खुवाउने पूर्वपश्चिम हाइवे होटललाई २५ हजार जरिवाना
काठमाडौं । यात्रीलाई बासी खाना खुवाउने दाङ देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना गरिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका-३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम बरालले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहित खाद्य खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले २५ हजार रुपैयाँ जरिवाना गरेको हो । टोलीले होटलको फ्रिजमा अस्वस्थकर, बासी खाना भण्डारण गरेको, पकाएर बनाइने खानामा कृत्रिम रङ प्रयोग गरेको, भान्साको संरचना उपयुक्त नभएको, मूल्य सूची नटाँसेको, नालीमा फोहर पानी जमेको, भान्सामा दुर्गन्ध रहेको जस्ता समस्या पाएपछि जरिवाना गरेको प्रमुख बरालले बताए । प्रमुख बरालका अनुसार उक्त होटललाई यसअघि पनि पटकपटक सुधार गर्न निर्देशन गरिएको भए पनि अटेर गरिएपछि सो टोली पुनः अनुगमनका लागि होटलमा पुगेको हो । यसअघि जस्तै यसपटक पनि कुनै पनि सुधार नदेखिएपछि अनुगमन टोलीले जरिवाना गरेको हो । तोकिएको जरिवाना एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउनुका साथै कागजपत्रसमेत ल्याउन निर्देशन दिइएको छ । सो टोलीले शुक्रबार देउखुरी क्षेत्रमा रहेका सात वटा होटलको पनि अनुगमन गरेको थियो ।
पशुपतिका ढोकादेखि मन्दिर परिसरसम्म चिटिक्क, तेस्रो साता पनि चल्यो सफाइ
काठमाडौं । आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएको पशुपति क्षेत्रमा साउनको दोस्रो सोमबारको तयारीस्वरूप सफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारीस्वरूप विगत तीन हप्ताअघिको शनिबारदेखि सफाइ अभियान सुरु गरेको हो । सफाइको तेस्रो साता आज पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक परिषद् सदस्य रहनुभएका स्थानीयवासी एव पशुपतिका भण्डारी केदारमान भण्डारीले जानकारी दिए । शनिबार (आज) को सफाइका क्रममा दर्शनका लागि भक्तजन लाम बस्ने चारै ढोकाअघिको क्षेत्र एवं मूल ढोका प्रवेश मार्ग क्षेत्रमा पनि सफाइ गरिएको उनले बताए । भकुण्डोल, वनकाली, हंसमण्डप, पञ्चदेवल पूर्व हुँदै राजराजेश्वरी, क्रियापुत्री भवन, सुमार्गी भवनका साथै कपाली समुदायको समाधिस्थललगायत क्षेत्रमा पनि सफाइ गरिएको छ । सफाइमा कोषका सदस्यसचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठलगायत कोष सञ्चालक परिषद् सदस्यहरू, कोषका कर्मचारी, स्थानीय सङ्घ संस्थालगायत स्थानीयवासीको पनि सक्रिय सहभागिता रहेको पनि उनले सुनाए । यो वर्ष साउन महिनामा चार वटा सोमबार परेको छ । पहिलो सोमबार साउन ४ गते सम्पन्न भइसकेको छ । यसैगरी, साउनको ११, १८ र २५ गते पनि सोमबार परेको छ । बाँकी तीन वटै सोमबार भक्तजनलाई सहज रूपमा पशुपतिनाथ मन्दिरभित्र पूजा, आराधना एवं दर्शन गराउने उद्देश्यले यो सफाइ गरिएको हो ।
सशस्त्र प्रहरीले तीन महिनामा ३ सय ४७ जनाको गर्यो सकुशल उद्धार
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका ३ सय ४७ जना नागरिकहरुको सकुशल उद्धार गरेको छ । सशस्त्र प्रहरीले नदी, ताल तथा खहरे खोलाहरूमा डुबेका तथा बगाएका २ सय ११ वटा घटनाहरुबाट ८६ जनाको जीवितै उद्धार गरेको छ, भने सो घटनामा परी मृत्यु भएका १ सय २२ जनाको शव निकालेको छ । त्यस्तै, विपद्को उच्च जोखिम लगायत बाढी, डुबान तथा कटानका घटनामा परेका २ सय ३९ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । देशका विभिन्न स्थानमा भएको सडक दुर्घटनाहरूमा ६ जनाको तत्काल सकुशल उद्धार गरेको छ भने ८ सय ७ जनाको घाइते अवस्थामा उद्धार गरी उपचारको लागि विभिन्न अस्पतालतर्फ पठाएको छ । त्यसैगरी हावाहुरीमा परेका १२ जनाको उद्धार गरेको छ । त्यस्तै, देशको पहाडी क्षेत्रमा गएको पहिरोमा परेका ४ जनाको जीवितै उद्धार गरिएको छ । त्यस्तै सशस्त्र प्रहरीले देशभर २ सय २६ स्थानमा भएको आगलागी नियन्त्रणमा परिचालित भई सो आगलागीमा परी घाईते भएको ४ जनाको समेत सकुशल उद्धार गरेको छ । जटिल प्रकृतिका जल विपद्का ३१ वटा घटनामा सशस्त्र प्रहरीको गोताखोरले ३ जनाको सकुशल उद्धार गरेको छ, भने १४ जनाको शव फेला पारेको छ । विपद्को जोखिम न्यूनीकरणका लागि सशस्त्र प्रहरीले ४ सय ६४ वटा विद्यालय र ५ सय ४१ वटा क्लव तथा समुदायस्तरमा जनचेतनामूलक कक्षा संचालन गरेको छ । जसमा ४७ हजार ६ सय ८१ जना सहभागी रहेका थिए । त्यसैगरी विपद् प्रतिकार्यको पूर्वतयारीका लागि सशस्त्र प्रहरी बल नेपालको एकल आयोजनामा १ सय १७ वटा र अन्य निकायहरुसँगको समन्वयमा १२ वटा गरी जम्मा १ सय २९ वटा कृत्रिम घटना अभ्यास सञ्चालन गरेको थियो । जसमा २० हजार ३ सय ६६ जना सहभागी रहेका थिए । त्यस्तै सो अवधिमा सशस्त्र प्रहरीले समुदायस्तरमै दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले ४० वटा विपद् स्वयंसेवक तालिम संचालन गरेको छ । उक्त तालिमबाट ३ सय ५३ जना महिला र ७ सय ३१ पुरुष गरी १ हजार ८४ जना स्थानीय नागरिकहरु समुदाय विपद् स्वयंसेवकका रूपमा तयार भएका छन् । त्यसैगरी देशभर २८ हजार २ सय ८१ सय जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन सम्बन्धी विशेष अनुशिक्षण तालिम प्रदान गरी तयारी हालतमा साथै कुनै पनि स्थानमा विपद्को सूचना प्राप्त हुनासाथ तत्काल परिचालन हुनसक्ने गरी ८ हजार १ सय ८० जना जनशक्ति २४सै घण्टा तयारी अवस्थामा रहेका छन् । त्यसैगरी विपद् उद्धारमा लाग्ने समयलाई कम गर्न सशस्त्र प्रहरी बल नेपालले देशभर ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य टोली खटाइएको छ, भने १६ वटा अति जोखिमयुक्त स्थानहरुमा आवश्यक जनशक्ति र स्रोतसाधनसहित विपद् व्यवस्थापन बेस स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल नेपालमा रहेका १ सय ३४ जना गोताखोरहरुलाई देशको अति जोखिमयुक्त ११ स्थानमा आवश्यक उपकरणसहित तत्काल परिचालन हुने गरी तयारी हालतमा राखिएको छ । मनसुन शुरु हुन अगावै उद्धार कार्यका लागि सशस्त्र प्रहरीले ८२ वटा राफ्ट बोट र ५३ वटा मोटर बोटहरू तयारी हालतमा तथा घाइतेहरूको तत्काल उपचार र स्थानान्तरणका लागि ८ वटा मास क्याजुअल्टी भेइकल, ८ वटा ’ए’ क्लास एम्बुलेन्स, १० वटा आई.आर.टी भेइकल र सडक अवरोध हटाउन १३ वटा हेभी इक्विपमेन्टहरू तयारी अवस्थामा र १३ जिल्लाका विभिन्न स्थानमा २८ वटा डिजास्टर रिलिफ सिस्टम कन्टेनरहरू समेत राखेको छ । त्यस्तै, सशस्त्र प्रहरी बल नेपालले आफ्नो वेभसाईट तथा फेसबुक, ट्वीटर मार्फत आपद् विपद्मा परेका नागरिकहरुको तत्काल उद्वार तथा सहयोग गर्नको लागि टोल फ्रि नम्बर १११४ मा सम्पर्क गर्न सकिने उल्लेख गरेको छ भने विपद्मा परेका नागरिकहरुले तत्कालै उद्वारको लागि सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । त्यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले उपलब्ध गराएको टोल फ्रि नम्बर १२३४ मा समेत देशभरका सबै जिल्लाहरुमा आपद् विपद्मा परेका आम नागरिकहरुले तत्काल उद्धार, राहत र सहयोगको लागि सम्पर्क गर्न सकिने बताएको छ ।
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षासचिव पौडेल धनगढीमा
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा काठमाडौं । अनसनरत चिकित्सक डा. गोविन्द केसीसँग वार्तामामार्फत सहमतिपूर्ण समाधान खोज्ने उद्देश्यले सरकारको पहल जारी रहेको छ । सोही क्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेल शनिबार (आज) धनगढी पुगेका छन् । शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले डा. केसीसँग वार्ताका लागि सचिव पौडेललाई धनगढी पठाएको जानकारी दिए । सचिव पौडेलले डा केसीसँग प्रत्यक्ष संवादगरी उनले उठाएका मागबारे छलफल गर्नेछन् । यसअघि शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोनमार्फत प्रारम्भिक संवाद गरेका थिए । त्यसैको निरन्तरता स्वरूप सचिव पौडेललाई धनगढी पठाइएको जनाइएको छ । सरकारले संवाद र सहमतिका माध्यमबाट डा. केसीले उठाएका विषयको यथाशीघ्र सम्मानजनक तथा सहमतिपूर्ण समाधान खोज्न प्रतिबद्ध रहेको जनाएको थियो ।