विकासन्युज

‘महिनाको ५ करोड भाडा उठिरहेको छ, बचतकर्ता भने पैसा नपाएर मर्दैछन्’

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका पीडित बचतकर्ताले सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशका कारण आफूहरूको सम्पत्ति जोखिममा परेको आरोप लगाएका छन् । पीडितहरूले शनिबार पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतले समेत सहकारी पीडितलाई न्याय नदिएको आरोप लगाएका हुन् । उनीहरूका अनुसार सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ र सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ मिलेर सहकारीको रकम हिनामिना गरेका थिए । दुई हजारभन्दा बढी बचतकर्ताको करिब ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ तामाङ र श्रेष्ठको मिलेमतोमा सिभिल ग्रुपका अन्य कम्पनीमा ऋण लगानी गरिएको थियो । उनीहरूले सहकारीको रकम सिभिल होम्समार्फत सहकारी ऐनको व्यवस्था विपरीत काठमाडौंको सिभिल मलमा ५० प्रतिशत सेयर लगानी गरेका थिए । तर सिभिल मल सञ्चालक लालकाजी गुरुङले सहकारीको रकम तिरेनन् । उक्त मलबाट मासिक रूपमा ५ करोडभन्दा बढी भाडा उठ्ने र त्यसको ५० प्रतिशत सिभिल सहकारीको हक हुने गरेको थियो । ऋण असुली गर्न नसकेपछि सहकारी समस्याग्रस्त हुन पुग्यो । सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि पीडितहरूको रकम उठाउन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कर्मचारी खटाएको थियो । पीडितहरूका अनुसार २०८३ वैशाख ४ गते मिना गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेपछि वैशाख ७ गते न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले अन्तरिम आदेश जारी गरी सिभिल मलको भाडा सहकारी पीडितलाई तत्काल नदिनु भन्ने आदेश दियो । उक्त आदेशका कारण समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सिभिल मलमा सहकारीको हिस्सासम्बन्धी व्यवस्थापन तथा आम्दानी संकलन गर्न नसकेको पीडितहरूको आरोप छ । उक्त आम्दानी सहकारीमा नआएका कारण हजारौं बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन नसकेको पीडितहरूले बताएका छन् । बचत फिर्ता नपाउँदा २० भन्दा बढी बचतकर्ताको मृत्यु भइसकेको पीडितहरूको दाबी छ । उनीहरूले प्रधानन्यायाधीशसमक्ष मुद्दाको सुनुवाइ छिटो गराउन आग्रह गरेका छन् । आफूहरूले पटकपटक मुद्दाको छिटो सुनुवाइ गर्न आग्रह गरे पनि ‘हेर्न नमिल्ने’ वा ‘हेर्न नभ्याइने’ इजलासमा पर्दै आएको उनीहरूको गुनासो छ । मुद्दाको अन्तिम टुंगो लाग्न ढिलाइ हुँदा पीडितहरू थप पीडित भएको सहकारी पीडित दिलीपप्रसाद भट्टराईले बताए । सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण सिभिल मलबाट उठ्ने मासिक भाडा सहकारी पीडितको हितमा प्रयोग हुन नसकेको उनको आरोप छ । न्यायिक प्रक्रियामा भएको ढिलाइले हजारौं बचतकर्ताको अधिकार प्रभावित भएको भन्दै उनले सर्वोच्च अदालत र सरकार दुवैले संवेदनशील ढंगले यस विषयलाई सम्बोधन गर्नुपर्ने बताए । उनले भने, ‘लालकाजी गुरुङको श्रीमतीले सर्वोच्च अदालतमा रिट हालेपछि एकजना न्यायाधीशले अन्तरिम आदेश दिनुभएछ, यी लालकाजी गुरुङलाई कसैले पनि नछुनु, केही पनि नगर्नु, यो समस्याग्रस्त समितिले जुन प्रतिनिधिहरू पठाएको छ, तिनलाई पनि काम गर्न नदिनु, यसको मुद्दाको अन्तिम किनारा नलागुञ्जेलसम्म भनेर दिनुभएछ । आउँदो १० वर्षसम्म मुद्दाको अन्तिम किनारा लागेन भने उसले त महिनाको ५ करोड भाडा खाइरहन पाउने भयो नि ।’ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट सिभिल मलको सञ्चालक समितिमा प्रतिनिधिका रूपमा खटाइएका विश्वप्रसाद घिमिरेले सुरुमा आफूहरूलाई मलमा प्रवेश नै गर्न नदिएको दाबी गरे । उनका अनुसार समितिको उद्देश्य भाडा संकलन गरी खर्च कटाएर बाँकी रकम पीडित बचतकर्तालाई वितरण गर्नु थियो । तर सुरुमा मलमा प्रवेश गर्न नदिएको र पछि अदालतको अन्तरिम आदेशपछि आफूहरूले कुनै काम गर्न नपाएको उनले बताए । सिभिल सहकारीसँग सम्बन्धित सम्पत्ति बचतकर्ताकै भएको उनको भनाइ छ । ती सम्पत्तिको संरक्षण र व्यवस्थापन गरी बचतकर्ताको रकम फिर्ता हुने वातावरण बनाउन उनले सरकार, अदालत र सम्बन्धित निकायले पहल गर्नुपर्ने बताए । उनले भने, ‘यो सिभिल सहकारीको जति पनि सम्पत्ति छ, सिभिल मल होस्, सीटीसी मल होस्, सिभिल ट्रेड होस्, सिभिल होम्स होस्, जग्गाजमिन होस्, सम्पूर्ण सम्पत्तिको मालिक तपाईँहरू हो । तर यो सम्पत्ति सरकारले अथवा बैंकले अथवा कसैले लिलाम नगरेन्जेलसम्म मात्रै तपाईँहरूको हो ।’ पीडितहरूले सरकार, न्यायपालिका र सम्बन्धित निकायसँग मुद्दाको शीघ्र सुनुवाइ, सहकारीको सम्पत्तिको संरक्षण तथा बचतकर्ताको हित सुनिश्चित हुने गरी आवश्यक कानुनी प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन् । सहकारीको रकम अपचलन गर्नेहरू भने हाल जेलमा रहेका छन् ।

मञ्जुश्री फाइनान्सको १० करोडको सेयर बिक्रीमा, मूल्य १२० रुपैयाँ

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले करिब १० करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहअन्तर्गतका ८ लाख ३९ हजार ५८३ कित्ता सेयर शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १२० रुपैयाँ तोकेको छ । यस आधारमा बिक्रीमा राखिएको सेयरको कुल न्यूनतम मूल्य १० करोड ७ लाख ४९ हजार ९६० रुपैयाँ बराबर रहेको छ । इच्छुक योग्य व्यक्ति तथा संगठित संस्थाले साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन न्यूनतम ५० हजार कित्ता वा सोभन्दा बढी १० ले भाग जाने संख्यामा तथा अधिकतम सम्पूर्ण सेयरका लागि दिन सकिनेछ । सेयर बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र फाराम १०० रुपैयाँ शुल्क तिरेर एनआइएमबि एस क्यापिटलबाट प्राप्त गर्न सकिनेछ । आवेदनसँग आफूले खरिद गर्न चाहेको सेयरको कुल मूल्यको ५ प्रतिशत बराबर धरौटी रकम जम्मा गरेको प्रमाण अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । प्राप्त शिलबन्दी बोलपत्र साउन १९ गते दिउँसो ३ बजे खोलिने कम्पनीले जनाएको छ। बिक्रीका लागि आह्वान गरिएको सेयरभन्दा बढी आवेदन परेमा मागका आधारमा समानुपातिक रूपमा सेयर बाँडफाँड गरिनेछ ।

‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं १३ घर भई हाल ओमसतिया–४ स्थित बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणालाई पक्राउ गरेको हो ।       भैरहवास्थित बजारमा ‘म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा हुँ’ भन्दै पेस्तोल देखाई बजारमा रु १० हजार पैसा मगिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले राणालाई नियन्त्रणमा लिएको लिएको थियो ।       राणालाई नियन्त्रणमा लिई कानुन बमोजिम खानतलासी गर्दा निजले कोठामा लुकाई छिपाई राखेको नक्कली रिभल्वर थान–१, सवारी चालक अनुमतिपत्र थान–१, लागु औषध गाँजासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।   

८० प्रतिशत ज्येष्ठ नागरिकमा उच्च रक्तचाप, दैनिक ५ देखि १५ औषधिमा निर्भर

काठमाडौं । काठमाडौं महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकमा गरेको घरदैलो स्वास्थ्य सर्वेक्षणले राजधानीका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको देखाएको छ । सर्वेक्षणअनुसार अधिकांश ज्येष्ठ नागरिक दैनिक ५ देखि १५ प्रकारसम्मका औषधि सेवन गरिरहेका छन् भने करिब ७५ प्रतिशतलाई घरमै नियमित स्वास्थ्य निगरानी र हेरचाह आवश्यक पर्ने अवस्था रहेको छ । महानगरपालिकाले २०८२ माघ १८ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म सबै ३२ वडामा पुगेर प्रारम्भिक स्वास्थ्य परीक्षणसहित स्वास्थ्य सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा २ हजार ८४७ जना ज्येष्ठ नागरिक सहभागी भएका थिए । कार्यक्रमकी फोकल पर्सन कल्पना श्रेष्ठका अनुसार सर्वेक्षणले काठमाडौंका ज्येष्ठ नागरिकमा नसर्ने दीर्घरोगको उच्च भार रहेको देखाएको छ । अध्ययनमा सहभागीमध्ये ८० प्रतिशत अर्थात् २ हजार २८२ जनामा उच्च रक्तचाप भेटिएको छ । कतिपयको रक्तचाप २१०/११० सम्म पुगेको पाइएको छ, जसले पक्षघातको जोखिम बढाउने चिकित्सकहरूको भनाइ छ । मधुमेह पनि अर्को ठूलो समस्या बनेको छ । सर्वेक्षणमा सहभागी करिब ४० प्रतिशत महिला र ४२ प्रतिशत पुरुष मधुमेहबाट प्रभावित रहेको पाइएको छ । केही बिरामीको रगतमा चिनीको मात्रा ४९० सम्म पुगेको भेटिएको छ भने धेरैजसो इन्सुलिनको भरमा जीवनयापन गरिरहेका छन् । अध्ययनले महिला र पुरुषमा देखिने स्वास्थ्य समस्या फरक–फरक रहेको पनि देखाएको छ । महिलामध्ये ५५ प्रतिशत बाथ तथा हाडजोर्नीसम्बन्धी समस्याबाट पीडित छन् भने पुरुषमध्ये ४५ प्रतिशतमा प्रोस्टेटको समस्या देखिएको छ । स्वास्थ्य अवस्था र आवश्यक हेरचाहका आधारमा महानगरले ज्येष्ठ नागरिकलाई तीन समूहमा वर्गीकरण गरेको छ । करिब २ हजार १३५ जना 'यलो जोन'मा परेका छन्, जसलाई चिकित्सक, स्वास्थ्यकर्मी र परिवारको नियमित निगरानी आवश्यक छ । २८५ जना 'रेड जोन'मा छन्, जसलाई तत्काल अस्पतालको सेवा आवश्यक पर्ने अवस्था रहेको छ । बाँकी ४२७ जना 'ग्रीन जोन'मा परेका छन्, जसको स्वास्थ्य अवस्था तुलनात्मक रूपमा स्थिर रहेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणले बहु–औषधि सेवन पनि अर्को चुनौतीका रूपमा औँल्याएको छ । एक जना ज्येष्ठ नागरिकले दैनिक अधिकतम २१ प्रकारका एलोप्याथिक र आयुर्वेदिक औषधि सेवन गरिरहेको भेटिएको छ । औषधि कुन समयमा र कति मात्रा सेवन गर्ने भन्ने जानकारी नहुँदा स्वास्थ्य जोखिम थप बढेको अध्ययनको निष्कर्ष छ । महिलामध्ये करिब ४० प्रतिशत निरक्षर रहेकाले औषधि व्यवस्थापनमा थप समस्या देखिएको छ । परिवारका सदस्य घरबाहिर हुँदा औषधि छुट्याउन नसक्ने र मात्रा मिलाउन कठिन हुने अवस्था रहेको सर्वेक्षणले देखाएको छ । अध्ययनअनुसार ८० प्रतिशत ज्येष्ठ नागरिक परिवारसँगै बस्ने गरे पनि आवश्यक हेरचाह पर्याप्त नभएको पाइएको छ । करिब ८ प्रतिशत भने एक्लै वा भुक्तानीमा राखिएका हेरचाहकर्ता र नर्सको सहारामा बसिरहेका छन् । यस्तै, १३ प्रतिशतमा डिमेन्सिया वा अल्जाइमर्सका लक्षण र १५ प्रतिशतमा डिप्रेसनको संकेत देखिएको छ । महानगरले सर्वेक्षणका क्रममा रक्तचाप, रक्तमा ग्लुकोज, अक्सिजनको मात्रा, ज्वरो, पिसाब परीक्षणलगायत आधारभूत स्वास्थ्य परीक्षण गरेको थियो । साथै, घरमै सामान्य उपचारका लागि आवश्यक औषधि र प्राथमिक उपचार सामग्रीसहित स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । सर्वेक्षणले काठमाडौंमा ज्येष्ठ नागरिकमैत्री स्वास्थ्य सेवा विस्तारको आवश्यकता औँल्याएको महानगरको निष्कर्ष छ । वडा तहका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा 'ज्येष्ठ नागरिक नर्सिङ डेस्क' स्थापना, 'मोबाइल हेल्थ युनिट' मार्फत घरदैलो सेवा विस्तार तथा निरक्षर ज्येष्ठ नागरिकका लागि रङ–संकेत (कलर–कोडेड) आधारित औषधि व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने सुझाव अध्ययनले दिएको छ ।

देशव्यापी विरोधबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

काठमाडौं । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले ‘एनइइटी–युजी २०२६’ को प्रश्नपत्र चुहावटसम्बन्धी विवादपछि शनिबार पदबाट राजीनामा दिएका छन् ।      प्रधानले देशभर जारी विरोध प्रदर्शनका बीच विद्यार्थीहरूको हितलाई केन्द्रमा राख्दै र युवाहरूलाई भ्रममा पर्न नदिन आफूले केन्द्रीय मन्त्रिपरिषद्बाट राजीनामा दिएको बताएका छन् ।      प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा उनले शिक्षा क्षेत्रसँग चार दशकभन्दा बढी समयदेखि आबद्ध रहेको उल्लेख गर्दै सशक्त, समावेशी र दूरदर्शी शिक्षा प्रणाली राष्ट्र निर्माणको आधार भएको बताएका छन् ।      उनले मे ३ मा सञ्चालित ‘एनइइटी–युजी २०२६’ परीक्षामा अनियमितता देखिएपछि सरकारले तत्काल केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) लाई अनुसन्धानको जिम्मेवारी दिएको, परीक्षा रद्द गरी पुनः परीक्षा गराएको तथा आगामी वर्षदेखि परीक्षा कम्प्युटर–आधारित परीक्षण (सिबिटी) प्रणालीमार्फत सञ्चालन गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।      सम्बलपुरबाट निर्वाचित सांसदसमेत रहनुभएका प्रधानले पुनःपरीक्षा प्रक्रियामा २० लाखभन्दा बढी विद्यार्थीको हित संरक्षण सरकारको मुख्य प्राथमिकता रहेको बताए । परीक्षासम्बन्धी विवादका कारण कुनै पनि योग्य विद्यार्थीको भविष्य प्रभावित हुन नदिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।      उनका अनुसार जुलाई १६ मा सार्वजनिक गरिएको ‘एनइइटी–युजी २०२६’ को नतिजामा आर्थिक रूपमा कमजोर पृष्ठभूमिका धेरै योग्य विद्यार्थीले पनि सफलता हासिल गरेका छन् ।      राजीनामा पत्रमा प्रधानले केही जिम्मेवार व्यक्तिले विद्यार्थीहरूलाई भ्रममा पार्ने प्रयास गरेको भन्दै असन्तुष्टि जनाएका छन् । पछिल्ला घटनाले आफूलाई दुःखी बनाएको उल्लेख गर्दै उनले जन्तर मन्तरलगायत विभिन्न स्थानमा जारी आन्दोलनको फाइदा राष्ट्रविरोधी शक्तिले उठाउन नपाउन् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन् ।      प्रधानले शिक्षामन्त्रीका रूपमा काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गर्दै मन्त्रिपरिषद्का सहकर्मी तथा शिक्षा मन्त्रालयका अधिकारी र कर्मचारीलाई धन्यवाद दिएका छन् । राष्ट्रसेवा आफ्नो सर्वोच्च प्राथमिकता रहने उनले उल्लेख गरेका छन् ।          यसैबीच, ‘एनइइटी–युजी २०२६’ विवादलाई लिएर भारतभर विरोध प्रदर्शन जारी छ । आन्दोलनका क्रममा सामाजिक अभियन्ता सोनम वाङचुकले जन्तर मन्तरमा २६ दिन लामो अनशन गरेका थिए ।      उता, भारत सरकारले प्रश्नपत्र चुहावट रोक्न विशेष फास्ट–ट्र्याक अदालत र विशेष कार्यदल (एसटीएफ) गठनसहित कडा पेपर चुहावट विरुद्धको कानुन ल्याउने तयारी गरिरहेको जनाएको छ ।  

न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं तारकेश्वर नगरपालिका–१० बस्ने रूपन्देही घर भएका ५१ वर्षीय राजकुमार भण्डारी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने ओखलढुङ्गा घर भएका २९ वर्षीय सुरेश घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।   पक्राउमध्ये राज कुमारले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट तीन लाख रुपैयाँ र सुरेशले पोर्चुगल पठाइदिन्छु भन्दै एक जना पीडितबाट १८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौं तारकेश्वर नगरपालिका–१० बाट र सुरेशलाई काठमाडौं महानगरपालिका–७ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।   

विदेश पठाइदिने भन्दै ठगी गर्ने ओसिस टुरिज्ममा प्रहरीको छापा, २ सञ्चालक पक्राउ

काठमाडौं । विदेश भ्रमणको प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौं रुपैयाँ ठगी गरेको आरोपमा पोखरास्थित ओसिस टुरिज्म इन्टरनेशनलका दुई सञ्चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा-५ पर्स्याङस्थित कम्पनीको कार्यालयमा छापा मारेर दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका-१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्यको सान्तीनगरका मोहम्मद यासेर रहेका छन् । वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक (डीएसपी) नमराज भट्टराईको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले कार्यालयबाट कम्प्युटरलगायत अनुसन्धानका लागि आवश्यक सामग्री पनि बरामद गरेको जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कम्पनी नेपाली नागरिकको नाममा दर्ता भए पनि यसको मुख्य योजनाकार भारतीय नागरिक रहेको खुलेको छ । कम्पनीले दुबई, सिंगापुर, मलेसिया र थाइल्याण्डलगायतका देशमा सस्तो प्याकेजमा घुम्न लैजाने प्रलोभन देखाएर ग्राहकलाई आकर्षित गर्ने गरेको प्रहरीको आरोप छ । प्रतिव्यक्ति ४ देखि ५ लाख रुपैयाँसम्मका प्याकेज बिक्री गरी सुरुमा अग्रिम रकम संकलन गर्ने र पूर्ण भुक्तानी भएपछि कम्पनी बन्द गरेर सञ्चालकहरू फरार हुने योजनाअनुसार ठगी गरिएको प्रहरीको दाबी छ । डीएसपी भट्टराईका अनुसार विभिन्न आकर्षक अफर देखाएर ग्राहकलाई किस्ताबन्दीमा रकम बुझाउन लगाइन्थ्यो। पर्याप्त रकम संकलन भएपछि कार्यालय बन्द गरी सम्पर्क विहीन हुने योजना बनाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । छापा मार्ने क्रममा कार्यालयमा कार्यरत १५ जना युवती फेला परेका थिए । उनीहरूमाथि आवश्यक सोधपुछपछि अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य दुई सञ्चालक फरार रहेकाले उनीहरूको खोजी तीव्र पारिएको छ । साथै, ठगीमा परेको हुन सक्ने अन्य पीडितको विवरण संकलन गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भोड्का र डायमन्ड बेच्ने कम्पनीको नाम परिवर्तन, ९ महिनामा १.२३ अर्ब आम्दानी

काठमाडौं । रुस्लान भोड्कालगायत विभिन्न ब्रान्डका मदिरा उत्पादन तथा बिक्री गर्दै आएको विजय डिस्टिलरी प्रालिले आफ्नो नाम परिवर्तन गरेको छ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गत सञ्चालित कम्पनीले अबदेखि ’जावलाखेल डिस्टिलरी प्रालि’का नामबाट व्यवसाय सञ्चालन गर्ने भएको हो । सन् २०१३ मा स्थापना भएको कम्पनी ब्लेन्डिङ तथा बोटलिङ व्यवसायमा सक्रिय छ । कम्पनीले ब्राउन स्पिरिटतर्फ ’काला पत्थर’, ह्वाइट स्पिरिटतर्फ ’रुस्लान भोड्का’ र ’ब्लु डायमन्ड जिन’ तथा रेडी–टु–ड्रिंक श्रेणीमा ५ प्रतिशत अल्कोहलयुक्त ’रुस्लान आइस टी’ उत्पादन गर्दै आएको छ । यी सबै कम्पनीका स्वदेशी ब्रान्ड हुन् । कम्पनीको शतप्रतिशत स्वामित्व विजय कुमार शाहको रहेको छ । सन् २०२६ को अप्रिलसम्म कम्पनीको एकमात्र उत्पादन केन्द्र लुम्बिनी प्रदेशको परासी जिल्लामा सञ्चालनमा रहेको छ, जहाँ ब्लेन्डिङ तथा बोटलिङ कार्य हुँदै आएको छ । कम्पनीले देशभर २४० भन्दा बढी डिलरको सञ्जालमार्फत आफ्ना उत्पादनको बिक्री–वितरण गर्दै आएको छ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको सुरुआत सन् १९७३ मा उद्योगी विजय कुमार शाहले जावलाखेल डिस्टिलरी स्थापना गरेसँगै भएको हो । हाल समूहअन्तर्गत चार डिस्टिलरी, एक ब्रुअरी, फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि, एक होल्डिङ कम्पनी र एक वितरण कम्पनी गरी आठ कम्पनी सञ्चालनमा छन् । कारोबारमा सुधार, नाफा पनि बढ्यो कम्पनीले आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा १ अर्ब २३ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ६४ करोड ५० लाख रुपैयाँ रहेको थियो भने २०८०/८१ मा १ अर्ब १० करोड रुपैयाँमा सीमित भएको थियो । त्यसअघि आर्थिक वर्ष २०७९/८० मा २ अर्ब १२ करोड ९० लाख रुपैयाँ, आव २०७८/७९ मा २ अर्ब ८ करोड ५० लाख रुपैयाँ, आव २०७७/७८ मा २ अर्ब ६७ करोड ८० लाख रुपैयाँ, आव २०७६/७७ मा १ अर्ब ५४ करोड ४० लाख रुपैयाँ, आव २०७५/७६ मा ८२ करोड ५० लाख रुपैयाँ र आव २०७४/७५ मा ३ अर्ब ६६ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । आर्थिक वर्ष २०८०/८१ मा करिब ४८ प्रतिशतले घटेको कारोबार आर्थिक वर्ष २०८१/८२ मा करिब ५० प्रतिशतले बढ्दै पुनः सुधारको मार्गमा फर्किएको कम्पनीले जनाएको छ । बिक्री वृद्धि, उत्पादनको मूल्यमा गरिएको सन्तुलित समायोजन तथा लागत नियन्त्रणका कारण सञ्चालन नाफा पनि सुधारिएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन नाफा मार्जिन २७ प्रतिशत पुगेको थियो भने आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा यो बढेर करिब ३१ प्रतिशत पुगेको छ । ब्लु डायमन्ड जिनमै बढी निर्भर कम्पनीका प्रमुख उत्पादनमध्ये ब्लु डायमन्ड जिनले नेपालको ह्वाइट स्पिरिट बजारमा बलियो ब्रान्ड पहिचान बनाएको छ । कम्पनीको कुल आम्दानीमध्ये ६० प्रतिशतभन्दा बढी हिस्सा यही उत्पादनबाट आउने गरेको  छ। यद्यपि एउटै उत्पादनमा उच्च निर्भरता दीर्घकालीन रूपमा जोखिमपूर्ण हुन सक्ने जनाएको छ । नेपाल सरकारले तयारी मदिराको आयातमा उच्च भन्सार शुल्क तथा अन्य आयात अवरोध कायम राखेकाले स्वदेशी मदिरा उद्योगले संरक्षण पाउँदै आएको छ । तर भविष्यमा आयात शुल्क घटाइए वा हटाइए विदेशी ब्रान्डसँगको प्रतिस्पर्धा बढ्न सक्ने र त्यसले कम्पनीको आम्दानी, नाफा तथा ऋण भुक्तानी क्षमतामा असर पार्न सक्ने जनाएको छ । त्यसैगरी, मदिरामा प्रत्येक वर्ष अन्तःशुल्क वृद्धि हुँदै जाँदा बढेको लागत पूर्ण रूपमा उपभोक्तामा सार्न नसकिए कम्पनीको नाफा खुम्चिन सक्ने जोखिम रहेको छ । साथै, मदिराको विज्ञापन, बिक्री तथा वितरणसम्बन्धी सरकारी नीतिमा थप कडाइ गरिए व्यवसायमा प्रत्यक्ष असर पर्न सक्ने कम्पनीले जनाएको छ ।  आर्थिक वर्ष २०८२/८३ को सुरुदेखि कम्पनीले राष्ट्रिय वितरकमार्फत हुने बिक्री प्रणाली हटाएर प्रत्यक्ष वितरण सुरु गरेपछि ग्राहकबाट उठाउन बाँकी रकम र मौज्दात बढेको छ । यसले कार्यशील पुँजीमा थप दबाब सिर्जना गरेको कम्पनीले जनाएको छ । अप्रिल २०२६ सम्म कम्पनीसँग करिब २१ प्रतिशत अर्थात् २२ करोड २० लाख रुपैयाँ बराबरको थप कर्जा उपयोग गर्ने क्षमता बाँकी रहे पनि बढ्दो मौज्दात, ग्राहकबाट उठाउन बाँकी रकम तथा सम्बन्धित कम्पनीसँगको अग्रिम रकम फछ्र्योट गर्नुपर्ने अवस्थाले आगामी दिनमा कार्यशील पुँजीको आवश्यकता बढ्न सक्ने कम्पनीको भनाइ छ ।  हाल कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४७ करोड २० लाख रुपैयाँ दीर्घकालीन र ८७ करोड ५० लाख रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब ३४ करोड ७० लाख रुपैयाँ ऋण लिएको छ । कम्पनीले आगामी दिनमा ऋणको स्तर नियन्त्रण, नाफाको वर्तमान दर कायम राख्ने तथा ऋण भुक्तानी क्षमता सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ ।