विकासन्युज

बिजुलीमा भ्याट लागू भएपछि प्राधिकरण अन्योलमा, राजस्व विभागलाई लेख्यो पत्र

  काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएसँगै देखिएका कानुनी तथा प्राविधिक अन्योलबारे आन्तरिक राजस्व विभागसँग प्रष्टीकरण मागेकाे छ । प्राधिकरणले आन्तरिक राजस्व विभागलाई पत्र पठाउँदै आर्थिक ऐन, २०५३ बमोजिम विद्युत शक्तिमा मूल्य अभिवृद्धि कर लागू भएपछि उत्पन्न दुई महत्वपूर्ण विषयमा राय मागेको हो । प्राधिकरणका अनुसार २०८३ साउन १ गतेदेखि मूल्य अभिवृद्धि करमा दर्ता भएको छ ।  त्यसपछि कर विजक जारी गर्ने क्रममा केही विषयमा द्विविधा देखिएकाले विभागको आधिकारिक स्पष्टीकरण मागिएको हो । प्राधिकरणले असार महिनामा उपभोग भएको विद्युतको बिल साउन १ गते जारी भएमा त्यसमा भ्याट लाग्ने वा नलाग्ने भन्ने विषय स्पष्ट पार्न अनुरोध गरेको छ । स्वीकृत ट्यारिफअनुसार उपभोक्ताबाट लिइने न्यूनतम चार्ज तथा डिमान्ड चार्जमा पनि भ्याट लाग्ने वा नलाग्ने विषयमा समेत स्पष्टिकरण मागिएको छ । करसम्बन्धी व्यवस्था स्पष्ट भएपछि सोहीअनुसार बिलिङ प्रणाली कार्यान्वयन गरिने पत्रमा उल्लेख गरिएको छ ।  

माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौं : मन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति बढाउन प्राङ्गारिक मलको प्रयोग गर्नुपर्ने बताएकी छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडका किसानसँगको अन्तरक्रियामा मन्त्री चौधरीले बढ्दो रसायनिक मलको प्रयोगका कारण बर्सेनि माटोको उर्वरा शक्ति ह्रास भइरहेकाले मानव स्वास्थ्य र माटोको बिग्रेको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक र जैविक मलको प्रयोग गर्नुपर्ने बताइन्।  किसानले बर्सेनि उत्पादन बढाउने नाममा अत्यधिक रासायनिक मलको प्रयोग गरिरहेकाले माटोको उर्वरा शक्ति घट्नाका साथै मानव स्वास्थ्यसँगै वातावरणमा नकारात्मक प्रभाव बढ्दै गएको उल्लेख गर्दै मन्त्री चौधरीले विगतमा धान खेतमा पाइने माछा र गँगटो विस्तारै कम हुँदै जानु यसैको प्रभाव भएको जिकिर गरिन् ।       रासायनिक मलको साटो प्राङ्गारिक मललाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै मन्त्री चौधरीले किसानले बर्सेनि भोग्दै आएको सिँचाइ, मल र बीउबिजनको समस्यालाई सरकारले गम्भीरता पूर्वक लिएको बताइन् ।  कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष बबितादेवी यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका पदाधिकारी, किसान लगायतका सहभागिता रहेको थियो । सो क्रममा मन्त्री चौधरीले सहकारी संस्थाको स्थलगत अनुगमनसमेत गरिन् ।   

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डिएपी मल बरामद

जनकपुरधाम । धनुषा प्रहरीले जिल्लाको धनुषाधाम नगरपालिका–५ ९०० बिघास्थित वडा सदस्य सुरेश साहको घरबाट प्रहरीले ठुलो परिमाणमा रासायनिक डिएपी मल बरामद गरेको छ ।  वडा सदस्य साहले लुकाइछिपाइ डिएपी मल घरमा राखेको र रातिको समस्यामा महँगो मूल्यमा बिक्री गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरी चौकी ९०० बिघाबाट खटिएको टोलीले करिब ४०० बोरा डिएपी मल बरामद गरेको हो ।  वडा सदस्य साहको घरबाट बरामद भएको सो रासायनिक मलको स्रोत नभेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । नियन्त्रणमा लिइएको मल ट्याक्टरमा लोड गरेर इलाका प्रहरी कार्यालय धनुषाधाम ल्याउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । उनका अनुसार बरामद भएको मलको यकिन सङ्ख्या र त्यसको स्रोतबारे थप अनुसन्धान भइरहेको छ । वडा सदस्य साह फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ ।    

लाजिम्पाटमा डेढ करोड लगानीमा हाना वेलनेस सञ्चालनमा

काठमाडौं । लाजिम्पाटमा हाना वेलनेस एण्ड स्पा सेन्टर सञ्चालनमा आएको छ। डेढ करोड बढीको लगानीमा हाना वेलनेस सेन्टर सञ्चालनमा आएको हो । लाजिम्पाटस्थित केजी टावरको छैठौ तलामा वेलनेस सेन्टर सुरु भएको हो । ज्याकुजी ( अर्थात तातो पानीमा बस्ने), साउना, स्टीम र (मसाज) थेरापीसहितको वेलनेस सञ्चालनमा आएको हो । हाना वेलनेसका सञ्चालक पदम जिरेलले आधुनिक संरचनासहित थप सुविधासहितको स्पा सेन्टर सुरु गरिएको बताए । व्यस्त सहरमा मानिसहरूको कार्यशैलीलाई आराम दिन वेलनेस सेन्टर सञ्चालनमा ल्याइएको उनको भनाइ छ । ६ तलाको सुविधायुक्त भवनमा सञ्चालित हाना वेलनेस अत्याधुनिक संरचनासहित पारिवारिक वातावरणमा सञ्चालन भइरहेको उनको भनाइ छ । उनका अनुसार ग्राहकको सुविधालाई लक्षित गरेर पार्किङ्ग र लिफ्टको समेत व्यवस्था गरिएको छ ।  थेरापी स्वास्थ्य पर्यटनको महत्वपूर्ण आधार भएको उनले बताए । व्यस्त जीवनशैलीका मानिसलाई शारीरिक आनन्द र तनावमुक्त बनाउन हाना वेलनेस सान्दर्भिक हुने जिरेलको बुझाइ छ । हाना वेलनेस तनाव विसर्जन गर्ने रहेको उनले बताए । युवायुवती तथा महिला, पुरुष र जोडी तथा परिवारका सदस्यहरू जोसुकै आएर पनि यसको मजा लिन सकिने उनको भनाइ छ ।  'आजकालका मानिसहरू स्वास्थ्यप्रतिको सचेतनालाई ख्याल गर्दैनन् । सशारीरिक थकान र तनाव कम गर्न हाना वेलनेस उपयुक्त गन्तव्य हुन सक्छ,’ जिरेलले भने, ‘हाना वेलनेस आयुर्वेदिक उपचार पद्धत्तिमा आधारित रहेकाले हाम्रो सेवाले मानिसलाई स्वस्थ बनाउन मद्दत पुग्छ ।' स्पा शारीरिक थेरापी मात्रै नभएर मानसिक थेरापी पनि भएकाले व्यस्त जीवनबाट फुर्सद मिलाएर स्वस्थ्यकर जीवनका लागि पनि हाना वेलनेस अपरिहार्य भएको जिरेलले बताए । अन्तर्राष्ट्रिय स्तरको सेवासहित वेलनेस सेवा सुरु गरिएको व्यवसायी जिरेलले बताए। स्पा पछिल्लो समय मानिसहरूका लागि वैकल्पिक उपचारको माध्यम पनि बनिरहेको उनले उल्लेख गरे ।   नेचुरोपेथी, आयुर्वेद र पञ्चकर्मका रुपमा लिइन्छ । आयुर्वेद चिकित्साको निगरानीमा सबैखालका मानिसलाई मध्यनजर गरेर ‘हेल्थ प्याकेज’ बनाइने जिरेलको भनाइ छ। हाना वेलनेसलाई आगमी दिनमा चेनको रुपमा विस्तार गर्ने योजना रहेको जिरेलले उल्लेख गरे ।

नेकपा एमाले र नेकपाबीच ३ बुँदे सहमति, कुन प्रदेशमा कसको सरकार ?

काठमाडौं । नेकपा एमाले र नेकपाबीच प्रदेश सरकार सञ्चालन तथा गठनका विषयमा ३ बुँदे सहमति भएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिअनुसार पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेटविहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धालाई अन्त्य गर्दै जनताको चाहनाअनुसार राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले दुवै दल सहकार्य गर्न सहमत भएका छन् । सहमतिको पहिलो बुँदामा प्रदेशसभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने उल्लेख गरिएको छ । दोस्रो बुँदाअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा संयुक्त सरकारको नेतृत्व नेकपा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ । त्यसैगरी, तेस्रो बुँदामा मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने उल्लेख गरिएको छ । उक्त सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् । 

काठमाडौंमै कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव

काठमाडौं । काठमाडौंको तारकेश्वरमा कारभित्र एक महिला जलेको अवस्था फेला परेकी छन् । बिएई ०४१० नम्बरको ईएमजी कारमा एक महिला जलेको अवस्थामा फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख दिलिप घिमिरेले जानकारी दिए । तारकेश्वर नगरपालिका–९ बस्ने ४१ वर्षीया रश्मी रिजाल मृत अवस्थामा भेटिएको एसएसपी घिमिरेले बताए । उनका अनुसार हिजो घरबाट हराएको खबर आएको थियो । प्रहरीले खोजी गरिरहेको थियो । नुवाकोट घर भएकी हाल नेपालटार बस्दै आएकी थिइन । उनी विवाहित महिला हुन् । शनिबार दिउँसो उनी कारको पछाडिपट्टिको सिटमा जलेको अवस्थामा भेटिएकी थिइन् । घटनाबारे अहिले प्रहरीले थप अनुसन्धान अघि बढाएको एसएसपी घिमिरेले बताए ।

सरकारले डा.केसीसँग थाल्यो वार्ता, शिक्षा मन्त्रालयका सचिव पुगे धनगढी

काठमाडौं । सरकारले अनसन बसेका डा. गोविन्द केसीसँग वार्ता गर्ने भएको छ । शनिवार उनीसँग शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेल धनगढी पुगेका हुन् । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख्रेलले डा. केसीसँग टेलिफोनमार्फत संवाद गरेको बताएका छन् । सोही संवादलाई औपचारिक रूपमा अगाडि बढाउने क्रममा मन्त्रालयका सचिव उनीसँग उहाँसँग प्रत्यक्ष संवादका लागि धनगढी पुगेको उनले जानकारी दिएका छन् । सरकार संवादका माध्यमबाट यस विषयको यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न प्रतिबद्ध रहेको मन्त्री पोख्रेलले बताए । भोलि प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल जाने भएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव विकास देवकोटा पनि जाने छन् ।  सरकार संवादका माध्यमबाट यस विषयको यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न प्रतिबद्ध रहेको मन्त्री पोख्रेलले बताए । बिहीबारदेखि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.केसीले अनसन सुरु गरेका थिए । कैलालीको धनगढीबाट उनले २४ औँ सत्याग्रह सुरु गरेका हुन् । उनले बिहीबार दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा आमरण अनसन सुरु गरेका हुन् ।  

कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने

चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलोपटक विदेशी विद्यार्थी भर्ना लिने भएको छ । पहिलो वर्ष चार वटा कार्यक्रममा १० जना विद्यार्थी भर्ना गर्न लागेको हो ।      विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिराम कट्टेलका अनुसार विश्वविद्यालयले स्नातक तहको कृषि सङ्कायमा तीन, वन विज्ञानमा तीन, पशु चिकित्सामा तीन र मत्स्य विज्ञानमा एक जना विदेशी विद्यार्थी भर्ना गर्न लागेको हो । 'ती विद्यार्थी भर्नाका लागि कार्यविधि बनाइँदै छ । पशु चिकित्सकाका  विदेशी विद्यार्थीसँग १० हजार अमेरिकी डलर शुल्क लिने निर्णय गरिएको छ भने अन्य सङ्कायकासँग चार हजार डलर लिइँदै छ', उनले भने ।      विश्वविद्यालयले अहिले खोल्न लागेको प्रवेश परीक्षामा भने विदेशी विद्यार्थी सहभागी हुनु नपर्ने जनाएको छ । भर्नाका लागि कस्ता विदेशी विद्यार्थी योग्य हुने भन्ने विषय कार्यविधिमा समावेश हुने उपकुलपति कट्टेलले बताए । यसअघि मुलुकमा अन्य विश्वविद्यालयले विदेशी विद्यार्थी भर्ना लिए पनि कृषि विश्वविद्यालयले पहिलोपटक भर्ना लिन लागेको हो ।      विश्वविद्यालयका योजना निर्देशक रामहरि तिमिल्सिनाले कुनै पनि विश्व विद्यालयलाई अन्तरराष्ट्रियस्तरको स्तरनिर्धारणका लागि तोकिने विभिन्न मापदण्डमध्ये विदेशी विद्यार्थी अध्यापन गराउने पनि एक मापदण्ड भएकाले विदेशी विद्यार्थी भर्ना गर्न लागिएको बताए ।      नेपालमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले छोटो अवधिका अनुसन्धानका कार्यक्रम एवं विदेशी विद्यार्थीका लागि यहाँ कक्षा सञ्चालन गर्दै आए पनि उपाधि प्राप्त गर्ने गरी विद्यार्थी भर्ना गरी अध्ययन, अनुसन्धानको कार्यक्रम सञ्चालन गरेको थिएन । विश्वविद्यालयले स्नातक, स्नातकोत्तर, विद्यावारिधिको पठनपाठन गर्दै आएको छ ।