विकासन्युज

लमजुङको भुजुङ : मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

नवीन पौडेल काठमाडौं । हरियाली डाँडाकाँडा, ढुङ्गाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा व्यस्त स्थानीय र गुरुङ संस्कृतिको जीवन्त पहिचान बोकेको लमजुङको भुजुङ गाउँ पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गएको छ ।      सदरमुकाम बेँसीसहरबाट करिब ३२ किलोमिटर उत्तरपश्चिममा पर्ने क्व्होलासोथार गाउँपालिका–४ स्थित भुजुङ समुद्री सतहदेखि करिब एक हजार ६०० मिटर उचाइमा अवस्थित छ । गुरुङ समुदायको बाक्लो बसोबास रहेको यो गाउँ परम्परागत संस्कृति, मौलिक जीवनशैली र आत्मीय आतिथ्यका कारण लमजुङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदैछ ।      कच्ची सडक पार गर्दै जिपमार्फत गाउँ पुग्दा बाटोभरि देखिने हरिया पहाड, खोल्साखोल्सी र ग्रामीण जीवनशैलीले जो–कोही यात्रुलाई मोहित गराउँछ । गाउँ छिर्नासाथ ढुङ्गाले छाएका घर, आँगनकै छेवैमा सुकाइएका मकैका झुत्ता, फूलबारी र परम्परागत पहिरनमा देखिने स्थानीयले आगन्तुकलाई स्वागत गरिरहेका भेटिन्छन् ।      क्व्होलासोथार गाउँपालिका उपप्रमुख यमिमाया गुरुङका अनुसार भुजुङमा हाल ३६२ घरधुरी छन् भने ३३ घरमा होमस्टे सञ्चालनमा छन् । 'भुजुङ पर्यटकको रोजाइमा पर्न थालेको छ', उनले भनिन्, 'विशेषगरी गुरुङ संस्कृति, मौलिक परिकार र प्राकृतिक जीवनशैली अनुभव गर्न आउने पर्यटकको सङ्ख्या बढिरहेको छ ।' गुरुङका अनुसार घरबास कार्यक्रमले गाउँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ । घरबास (होमस्टे)बाट प्रत्यक्ष लाभ लिने घरधुरी मात्रै होइन, छिमेकीसमेत कृषि उत्पादन, स्थानीय परिकार, हस्तकला तथा अन्य सेवामार्फत लाभान्वित भइरहेका छन् ।      गाउँमा अधिकांश खाद्यान्न अर्गानिक उत्पादन हुने गरेको छ । खेतबारी घर नजिकै रहेकाले होमस्टेमा बस्ने पाहुनालाई स्थानीय उत्पादनबाट तयार गरिएका परिकार पस्किने गरिएको छ । स्थानीयको मुख्य पेसा कृषि र वैदेशिक रोजगारी भए पनि पछिल्ला वर्षमा पर्यटन व्यवसाय आयआर्जनको महत्वपूर्ण आधार बन्दै गएको उपप्रमुख गुरुङले बताइन् । गाउँपालिकाले भुजुङको पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास, जनचेतना तथा स्थानीयको क्षमता अभिवृद्धिमा सहकार्य गरिरहेको उनको भनाइ छ ।      अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पनि भुजुङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग गर्दै आएको स्थानीय बताउँछन् । सरसफाइ अभियान, पर्यावरण संरक्षण तथा जनचेतनामूलक कार्यक्रममार्फत गाउँलाई व्यवस्थित बनाउन सहयोग पुगेको छ ।      अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीका अनुसार आयोजनाले यस क्षेत्रको जैविक विविधता संरक्षणसँगै स्थानीयको जीविकोपार्जन सुधारका लागि काम गर्दै आएको छ । 'पर्यटन प्रवद्र्धन र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउने प्रयास भइरहेको छ', उनले भने । आयोजनाले लघुजलविद्युत् सञ्चालन, चियाबारी व्यवस्थापन तथा सरसफाइ अभियानमा स्थानीयलाई सहयोग गर्दै आएको छ । 'गाउँलेसँग हातेमालो गरेर वातावरण संरक्षण र पर्यटन विकासमा सँगसँगै काम गरिरहेका छौँ', रेग्मीले भने । स्थानीयवासी गाउँ छाडेर बाहिर बसाइँ सर्नेक्रम अन्यत्रभन्दा कम रहेको पनि यहाँको विशेषता हो । गाउँमै कृषि, पर्यटन र अन्य साना व्यवसायबाट आयआर्जनको अवसर बढ्दै गएपछि अधिकांश स्थानीय आफ्नै ठाउँमा सक्रिय देखिन्छन । भुजुङका होमस्टे सञ्चालक हुमकुमारी गुरुङले पाहुनालाई गाउँकै उत्पादनबाट तयार गरिएका परिकार खुवाउने गरिएको बताए । 'ढिँडो, कोदोको रोटी, लोकल कुखुरा, माछा, खसी, गाउँकै सागपात, निगुरो र अचार पाहुनाले मन पराउनुहुन्छ', उनी थप्छन्, 'स्थानीय स्वाद र आत्मीय व्यवहारकै कारण धेरै पाहुना फेरिफेरि आउनुहुन्छ ।'      भुजुङ केबल प्राकृतिक सौन्दर्यका कारण मात्र चर्चित छैन, यो गाउँ गुरुङ संस्कृतिको जीवित सङ्ग्रहालयका रूपमा पनि परिचित छ । यहाँ स्थानीय लोपोन्मुख सांस्कृतिक नृत्य अझै जोगाइएका छन् । विशेष अवसर र पर्यटकीय मौसममा स्थानीय युवा तथा अग्रज मिलेर  सांस्कृतिक प्रस्तुति देखाउने गर्छन् । स्थानीय लालीगुराँस युवा क्लबका अध्यक्ष नौराजगुरुङका अनुसार असोजदेखि मङ्सिरसम्म र चैत–वैशाखमा पर्यटकको चाप बढी हुन्छ । 'सिजनमा घरबास भरिभराउ हुन्छ', गुरुङ भन्छन्, 'विदेशीभन्दा आन्तरिक पर्यटक अहिले बढी आउन थालेका छन् ।'      भुजुङ पुगेका पर्यटकलाई गाउँको शान्त वातावरण, गुरुङ संस्कृति र आतिथ्यले आकर्षित गर्ने गरेको छ । काठमाडौंबाट घुम्न आउनुभएका सरस्वती गोतामेले गाउँमा पुग्दा आफूले पुरानो नेपाली जीवनशैली नजिकबाट अनुभव गर्न पाएको अनुभव सुनाए ।      'यहाँको वातावरण निकै शान्त र स्वच्छ छ, सहरको भीडभाडबाट टाढा केही दिन बस्नका लागि भुजुङ उत्कृष्ट गन्तव्य रहेछ', उनले थपे । व्यवस्थित सडक हुने हो भने यहाँ पर्यटकको चाप बढ्ने उनको धारणा छ ।      गाउँमा कृषिकर्म पनि चलिरहेको छ । गाउँमा प्रायः सबै मानिस व्यस्त रहेन गरेका छन् । कोही खेतबारीमा गोडमेल गर्दै गरेका त कोही हस्तकलाका सामग्री बुन्ने काममा समेत व्यस्त देखिन्छन् । बाँस, निगालो र ऊनबाट बनाइने सामग्रीले गाउँको मौलिकता झल्काउँछ । गाउँमा पर्यटन प्रवद्र्धनसँगै सडक, सञ्चार र खानेपानीजस्ता पूर्वाधार विस्तार हुँदै गए पनि स्थानीयले मौलिकता जोगाउन प्रयास भने गरेका छन् ।      प्राकृतिक सुन्दरता, गुरुङ संस्कृतिको जीवन्त अभ्यास, स्थानीय परिकार र आत्मीय आतिथ्यका कारण भुजुङ अहिले लमजुङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । सहरको कोलाहलबाट केही समय टाढा रहेर गाउँको मौलिक जीवन अनुभव गर्न चाहनेका लागि भुजुङ आकर्षक रोजाइ बनेको छ । रासस  

सेयरमा बैंकहरूको लगानी १.३६ खर्ब पुग्यो, कर्जा १७९.७१ प्रतिशतसम्म बढाए

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जासम्बन्धी नीतिमा लचिलोपन ल्याएपछि वाणिज्य बैंकहरूले पुँजी बजारमा लगानी उल्लेखनीय रूपमा बढाएका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा मात्रै बैंकहरूको सेयर धितो कर्जा ३४.५५ प्रतिशतले वृद्धि भई ३५ अर्ब १० करोड ९५ लाख रुपैयाँले बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।  चैत मसान्तसम्ममा १९ वटा बैंकहरूले कुल १ खर्ब ३६ अर्ब ७१ करोड ६६ लाख रुपैयाँ बराबर सेयर धितो कर्जा प्रवाह गरेका छन् । गत वर्षको सोही अवधिमा १ खर्ब १ अर्ब ६० करोड ७० लाख रुपैयाँ मात्र रहेको थियो । राष्ट्र बैंकले विगतमा कडाइ गरेको मार्जिन प्रकृतिको कर्जा (सेयर कर्जा) सम्बन्धी नीति पछिल्लो समय खुकुलो बनाएको र साथै सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतमा झारेपछि बैंकहरूको लगानी बढेको बैंकर तथा लगानीकर्ताहरू बताउँछन् ।  यस अवधिमा अधिकांश बैंकहरूले सेयर धितो कर्जा विस्तार गरेका छन् । सबैभन्दा ठूलो वृद्धि कृषि विकास बैंकले गरेको छ, जसले १७९.७१ प्रतिशतले वृद्धि गर्दै ५ अर्ब ४५ करोड रुपैयाँ थपेर कुल ८ अर्ब ४९ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ । गत वर्ष बैंकको सेयरमा लगानी ३ अर्ब ३ करोड रुपैयाँ मात्र थियो । रकमका आधारमा सबैभन्दा बढी सेयर धितो कर्जा दिने बैंक नबिल बैंक बनेको छ । नबिल बैंकले १९.९४ प्रतिशत वृद्धि गर्दै २ अर्ब ८९ करोड रुपैयाँ थपेर कुल १७ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको छ, जुन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा उच्च हो । समीक्षा अवधिमा माछापुच्छ्रे बैंकको १३६.९३ प्रतिशत अर्थात् २ अर्ब ४८ करोड रुपैयाँ बढेर ४ अर्ब २९ करोड रुपैयाँ, सानिमा बैंकको ९९.८३ प्रतिशत अर्थात् २ अर्ब ४८ करोड रुपैयाँ बढेर ४ अर्ब ९० करोड रुपैयाँ, एनएमबि बैंकको ९१.४२ प्रतिशत अर्थात् १ अर्ब ९१ करोड रुपैयाँ बढेर ४ अर्ब रुपैयाँ, एनआईसी एशिया बैंकको ९१.३७ प्रतिशत अर्थात् २ अर्ब २२ करोड रुपैयाँ बढेर ४ अर्ब ६५ करोड रुपैयाँ सेयरमा लगानी गरेका छन् ।  एभरेष्ट बैंकको ८३.३५ प्रतिशत अर्थात् २ अर्ब ३१ करोड रुपैयाँ बढेर ५ अर्ब ८ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ८२.१७ प्रतिशत अर्थात् ४ अर्ब २८ करोड रुपैयाँ बढेर ९ अर्ब ४९ करोड रुपैयाँ, हिमालयन बैंकको ७४.३८ प्रतिशत अर्थात् १ अर्ब ५७ करोड रुपैयाँ बढेर ३ अर्ब ६९ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ६७.९१ प्रतिशत अर्थात् ३ अर्ब ३१ करोड रुपैयाँ बढेर ८ अर्ब २० करोड रुपैयाँ पुँजी बजारमा लगानी गरेका हुन् ।  समीक्षा अवधिमा प्रभु बैंकको ३१.७० प्रतिशत अर्थात् १ अर्ब ४७ करोड रुपैयाँ बढेर ६ अर्ब १२ करोड रुपैयाँ, प्राइम बैंकको २४.४९ प्रतिशत अर्थात् १ अर्ब ९० करोड करोड रुपैयाँ बढेर  ९ अर्ब ६९ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को २०.३६ प्रतिशत अर्थात् ६५ करोड ७६ लाख रुपैयाँ बढेर ३ अर्ब ८८ करोड रुपैयाँ,  कुमारी बैंकको १९.५९ प्रतिशत अर्थात् १ अर्ब ७९ करोड रुपैयाँ बढेर १० अर्ब ९३ करोड रुपैयाँ लगानी गरेका हुन् ।  यस्तै, ग्लोबल आइएमई बैंकको १७.८५ प्रतिशत अर्थात् २ अर्ब ८ करोड रुपैयाँ बढेर १३ अर्ब ७३ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ५.६२ प्रतिशत अर्थात् ४७ करोड ९४ लाख रुपैयाँ बढेर ९ अर्ब ३२ लाख रुपैयाँ लगानी गरेका छन् ।  तर, समीक्षा अवधिमा नेपाल बैंक, सिटिजन्स बैंक र नेपाल एसबिआई बैंकले भने सेयरमा लगानी घटाएका छन् । नेपाल बैंकको १५.०८ प्रतिशत अर्थात् १ अर्ब १८ करोड रुपैयाँ घटेर ६ अर्ब ६४ करोड रुपैयाँ, सिटिजन्स बैंकको १४.०२ प्रतिशत अर्थात् ९६ करोड ५ लाख रुपैयाँ घटेर ५ अर्ब ८८ करोड रुपैयाँ र नेपाल एसबिआई बैंकको ८.६५ प्रतिशत अर्थात् ५ करोड ३१ लाख रुपैयाँ घटेर ५६ करोड रुपैयाँ मात्रै सेयरमा लगानी गरेका छन् । 

प्रहरी महानिरीक्षक कार्कीद्वारा रचयिता ‘अब बन्छ मेरो देश’ गीत सार्वजनिक

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत ‘अब बन्छ मेरो देश’ शुक्रबार सार्वजनिक भएको छ ।  गीतमा सामाजिक रूपान्तरण, अन्याय अत्याचारको अन्त्यसँगै आमनागरिकमा न्यायको लागि पलाएको आशा र भरोसा, आपसी सहिष्णुता, भातृत्वभाव र एकतामार्फत सम्बृद्धि प्राप्त हुने भाव प्रस्तुत गरिएको छ । गीतमा दिपक शर्माको संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ । गायक समिर खरेल, सदिच्छा कट्टेल, सबिन सुबेदी र बेनिसा पौडेलको स्वर रहेको उक्त गीतको भिडियोमा आर्यन सिग्देल, सबिन कार्की, कविता नेपाली, चाहना राना मगर र किरण थापा लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।  किरण थापाको कोरियोग्राफी र निर्देशन रहेको उक्त गीतको भिडियोमा पवन सोस्लिङको छायांकन तथा सरोज ओलीको भिडियो परिकल्पना रहेको छ ।  साथै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचनामा यसअघि सार्वजनिक भएका 'आमा म त खरानीबाट उठेर आए' प्रहरी कर्मचारीहरूको जोखिमपूर्ण जिम्मेवारी र निस्वार्थ सेवाभावमा आधारित मर्मस्पर्शी गीत, 'फूलको बास्ना सरी' प्रहरीका दुःख, भावना र जनताप्रति खटिने चाहना समेटिएको गीत लगायत दशैं, तिहार, बाल र कमर्सियल गीतहरू समेत सर्वसाधारणले निकै रूचाएका थिए ।  

चलचित्रकर्मीहरूको श्रद्धाञ्जलीका लागि कर्रा हस्तान्तरण

काठमाडौं । चलचित्रकर्मीहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आवश्यक सामग्री (कर्रा) पशुपति विकास क्षेत्र कोषलाई हस्तान्तरण गरेका छन् । कलाकारद्वयले पशुपति विकास क्षेत्र कोषका अधिकृत सूर्य भाटलाई पाशुपत क्षेत्रमै कलाकार सविन श्रेष्ठ र अनु शाहले सामग्री हस्तान्तरण गरेका हुन् । महिलाहरूलाई स्यानिटरी प्याड वितरण, अपाङ्ग बालबालिकालाई आर्थिक तथा जिन्सी सहयोग लगायत विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका सविनले आफ्नै खर्चमा चलचित्रकर्मीहरूको अन्तिम यात्रामा सम्मानजनक र व्यवस्थित ढंगले श्रद्धाञ्जली अर्पण गर्न सहयोग पुग्ने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरणपछि श्रेष्ठले चलचित्रकर्मीहरूको निधन हुँदा श्रद्धाञ्जली अर्पण गर्न कहिले कुर्सी, कहिले अन्य सामग्री खोज्नुपर्ने तितो यथार्थले आफूलाई दुःखी बनाउने गरेको बताए । सोही अनुभूतिपछि आफू यस कार्यमा अग्रसर भएको उनले उल्लेख गरे । उनले यो सामग्री चलचित्रकर्मी, पत्रकार लगायत आवश्यक परेका अन्य व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने जानकारी दिए । जन्म र मृत्यु अन्तिम सत्य रहेको उल्लेख गर्दै अभिनेत्री अनु शाहले चलचित्र क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूको अन्तिम श्रद्धाञ्जलीका लागि आवश्यक व्यवस्थापन हुने यस सामाजिक कार्यमा आफू जोडिन पाउँदा खुशी लागेको बताइन् । पशुपति विकास क्षेत्र कोषका अधिकृत सूर्य भाटले कलाकार सविन श्रेष्ठबाट भएको यस सामाजिक कार्यले पशुपतिमा अन्तिम संस्कार हुने चलचित्रकर्मीहरूको बिदाइ व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक तथा मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् । सविन श्रेष्ठले सुदीप पन्त र नरेश कुँवरको सहयोगमा उक्त सामग्री तयार पारिएको जानकारी दिए ।

भन्सार शुल्कपछि अमेरिकामा जर्मन उत्पादन महँगिए

काठमाडौं । अमेरिकाले लगाएको उच्च भन्सार शुल्कका कारण बढेको आयात लागतको असर अहिले प्रत्यक्ष रूपमा अमेरिकी उपभोक्तामाथि पर्न थालेको छ । अमेरिकामा सञ्चालनमा रहेका अधिकांश जर्मन कम्पनीहरूले अतिरिक्त लागत धान्न आफ्ना उत्पादन तथा सेवाको मूल्य वृद्धि गरेका छन् ।  जर्मन उद्योग तथा वाणिज्य मण्डलद्वारा शुक्रबार सार्वजनिक गरिएको एक विस्तृत सर्वेक्षणअनुसार अमेरिकामा व्यवसाय गरिरहेका दुईतिहाइभन्दा बढी जर्मन कम्पनीहरूले अमेरिकी भन्सार नीतिका कारण उत्पन्न अतिरिक्त खर्च ग्राहकबाटै असुल गर्न मूल्य बढाउने रणनीति अपनाएका हुन् । उक्त सर्वेक्षणमा विश्वभर सञ्चालनमा रहेका चार हजार ५०० भन्दा बढी जर्मन कम्पनी सहभागी थिए । सर्वेक्षणले अमेरिकी व्यापार नीति, भन्सार शुल्क तथा नीतिगत अनिश्चितता अझै पनि विदेशी कम्पनीहरूका लागि प्रमुख व्यावसायिक चुनौती बनेको देखाएको छ ।  प्रतिवेदनअनुसार गत वर्ष अमेरिकाले लागू गरेको नयाँ भन्सार शुल्कपछि कम्पनीहरूमा सुरुमा ठूलो अन्योल र दबाब सिर्जना भएको थियो । तर पछिल्लो समय व्यवसायिक वातावरणमा केही सुधार देखिएको छ । अमेरिकामा रहेका ४३ प्रतिशत जर्मन कम्पनीहरूले हालको व्यवसायिक अवस्था राम्रो रहेको बताएका छन् । यो संख्या सन् २०२५ को शरद ऋतुमा ३९ प्रतिशत मात्र थियो । यद्यपि, जर्मन उद्योग तथा वाणिज्य मण्डलले अहिलेको सुधारलाई पूर्ण रूपमा सकारात्मक भन्न नमिल्ने जनाएको छ । संस्थाका अनुसार हालको व्यापारिक अवस्था अझै पनि दीर्घकालीन औसतभन्दा कमजोर रहेको छ, जसले अमेरिकी बजारप्रति कम्पनीहरूको सतर्कता कायम रहेको संकेत गर्छ । सर्वेक्षणले अमेरिकी अर्थतन्त्रप्रति पनि जर्मन कम्पनीहरू पूर्ण रूपमा आशावादी नरहेको देखाएको छ । करिब ३० प्रतिशत कम्पनीहरूले आगामी एक वर्षमा अमेरिकी आर्थिक अवस्था अझ बिग्रिने अनुमान गरेका छन् । त्यसको विपरीत केवल २४ प्रतिशत कम्पनीहरूले मात्र आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गरेका छन् । विशेषज्ञहरूका अनुसार भन्सार शुल्कको दीर्घकालीन असर अन्ततः उपभोक्तामाथि नै पर्ने भएकाले वस्तु तथा सेवाको मूल्य वृद्धि अमेरिकी बजारमा महँगी बढाउने प्रमुख कारण बन्न सक्छ । रासस     

एमालेको सचिवालय बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को शनिबारका लागि तय गरिएको केन्द्रीय सचिवालय बैठक स्थगित गरिएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक अब जेठ ४ गते दिउँसो १ बजे बस्ने गरी सारिएको हो । यसअघि आज बस्ने तय भएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारको कामकारबाही, पार्टीको आन्तरिक व्यवस्थापन तथा आगामी कार्यक्रमबारे छलफल हुने तयारी गरिएको थियो । बैठक स्थगित हुनुको कारण भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । एमाले सचिवालय बैठकलाई पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्रका रणनीतिक विषयका कारण महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सव मनाइयो, डिजिटल रूपान्तरणमा जोड

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सव शुक्रबार ललितपुरको कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच मनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले बीमा क्षेत्रको विकास र पहुँच विस्तारका लागि नीतिगत सुधारलाई प्राथमिकता दिनुपर्ने बताइन् । उनले बीमितको हित सुरक्षा, समयमै दाबी भुक्तानी तथा गुणस्तरीय सेवा प्रवाहलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने धारणा राखिन् । अध्यक्ष पौडेलका अनुसार आगामी दिनमा प्राधिकरणले नीतिगत कमजोरीहरू सुधार गर्दै बीमितको हित संरक्षण, बीमक संस्थाहरूको सुदृढीकरण, जोखिममा आधारित निरीक्षण प्रणाली, सुशासन प्रवर्द्धन तथा डिजिटल रूपान्तरणलाई प्राथमिकताका साथ अघि बढाउनेछ । उनले बीमित, बीमक तथा सम्बन्धित निकायबीचको सहकार्यले बीमा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा सरोकारवालाहरूको सुझावका आधारमा नयाँ ढङ्गले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रलाई अझ समावेशी, डिजिटल र जोखिम सचेत बनाउँदै आर्थिक विकासको सहयात्रीका रूपमा अगाडि बढाउने लक्ष्य रहेको बताए । उनले नियमन र निरीक्षणलाई थप प्रभावकारी बनाइएको उल्लेख गर्दै आन्तरिक सुशासन, संस्थागत सुदृढीकरण र क्षमता अभिवृद्धिमा प्राधिकरणले उल्लेखनीय प्रगति हासिल गरेको बताए । कार्यक्रममा विभिन्न बीमा सम्बन्धित संघ–संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यस अवसरमा प्राधिकरणमा २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो । साथै, वार्षिकोत्सवका अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजेताहरूलाई पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा प्राधिकरणका पदाधिकारी, बीमा तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन उपनिर्देशक श्रद्धा श्रेष्ठले गरेकी थिइन् ।  

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौं । नबिल बैंक लिमिटेडले बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार गरेको छ । लगानी सेवालाई अझ सहज, सुरक्षित र डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ । यही वैशाख ३१ गते नबिल बैंक लिमिटेड र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबीच भएको समझदारीसँगै यो सुविधा सुरु भएको हो । समझदारी पत्रमा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए  । एउटै प्लेटफर्मबाट सम्पूर्ण वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले एनबैंकमार्फत उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार एकीकृत लगानी सेवा सुरु भएसँगै नबिल बैंकका ग्राहकहरू अब ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान’ (एसआइपी)मा दर्ता हुन र किस्ता भुक्तानी गर्ने काम मोबाइबाटै गर्न सकिने छ । एनबैंकका प्रयोगकर्ताहरूले एनबैंकको होमपेजमा गई ‘इन्भेस्टमेन्ट, एसआइपी, टीएमएस’ आइकनमा क्लिक गरी एसआइपीमा दर्ता हुन र भुक्तानी गर्न सक्नेछन् । यस सुविधा प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने बैंकले जनाएको छ । 'ग्राहकलाई लगानी गर्नका लागि सरल, पहुँचयोग्य र पूर्ण रूपमा डिजिटल सेवा प्रदान गर्नु नै बैंकको उद्देश्य हो,' बैंकका नायब प्रमुख बजगाईंले भने, 'एनबैंकमा यो सुविधा थपिएसँगै ग्राहकलाई लगानीतर्फ आकर्षित गर्ने विश्वास लिएका छौं ।' उक्त सेवामार्फत विदेशमा रहेका नेपालीले पनि नेपालको वित्तीय बजारमा सहज रूपमा सहभागी हुन र आर्थिक रूपमा जोडिन पाउने बैंकको भनाइ छ । विस्तारीत सुविधासँगै एनबैंकले आफ्ना डिजिटल सेवाहरुलाई निरन्तर सुधार गर्दै सेवाग्राहीहरुलाई एकिकृत प्लेटफर्ममार्फत वित्तिय सेवा थप विस्तार गर्दै लैजाने बैंकले जनाएको छ।