साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पु¥याउने उद्देश्यले यही साउन महिनाभित्र काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ३० ‘आउटलेट’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राखेर सेवा विस्तार गरिरहेको डिडिसीले नयाँ अवधारणा तथा मोडेलमा सेवा प्रवाह गर्ने तयारी थालेको हो । काठमाडौंको बूढानीलकण्ठ, बनस्थली, कलङ्की, कोटेश्वर, नयाँ बानेश्वरलगायत क्षेत्रमा नयाँ आउटलेट सञ्चालनमा ल्याउने तयारी भइरहेको डिडिसीका महाप्रबन्धक डा शरणकुमार पाण्डेले जानकारी दिए । यसैबीच, डिडिसीले ऐतिहासिक तथा पर्यटकीय क्षेत्र वसन्तपुर डबलीमा आजदेखि नयाँ सजावटसहितको ‘आउटलेट’ सञ्चालनमा ल्याएको छ । उक्त आउटलेटको महाप्रबन्धक पाण्डेले उद्घाटन गरे । आन्तरिक तथा बाह्य पर्यटकको उच्च आवतजावत हुने वसन्तपुर क्षेत्रलाई लक्षित गर्दै स्थापना गरिएको यो आउटलेटबाट उपभोक्ताले डिडिसीका गुणस्तरीय दूध तथा दुग्धजन्य उत्पादन सहजै प्राप्त गर्न सक्नेछन् । डिडिसीका उत्पादनप्रति उपभोक्ताको आकर्षण निरन्तर बढिरहेको छ । डिडिसीले साधारण र गाईको दूध, दही, मही, पनिर, घ्यू, आइसक्रिम, रसबरी, फ्रेस दूधलगायत दुग्धजन्य उत्पादन बिक्री गर्दै आएको छ । निकट भविष्यमा उपत्यका बाहिरका प्रमुख सहरमा पनि नयाँ आउटलेट सञ्चालन गर्ने लक्ष्य रहेको महाप्रबन्धक पाण्डेको भनाइ छ । डिडिसीले आफ्ना उत्पादनलाई अनलाइन माध्यमबाट पनि बिक्रीवितरण गर्ने योजना अघि सारेको छ । केही दिनभित्र अनलाइन मार्केटिङ सुरु हुने महाप्रबन्धक पाण्डेले जानकारी दिए । ‘हामी अनलाइन डिजिटल मार्केटिङमा जाँदैछौँ, ‘सब्सक्रिप्सन’ गरेका भरमा अनलाइनबाट डिडिसीका उत्पादन पाउन सकिन्छ, यो सेवा दुई÷चार दिनमा सुरु हुन्छ’, उनले भने, ‘सहज ढङ्गबाट डिडिसीको उत्पादन उपभोक्ताको घरमै पुर्याउने उद्देश्यका साथ काम भइरहेको छ ।’
डलर साटिदिने भन्दै ठगी गर्ने ४ जना पक्राउ
काठमाडौं । डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार जना पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बूढानीलकण्ठ नगरपालिका-११ कपनस्थित प्रगति टोलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-३ घर भई हाल गोकर्णेश्वर नगरपालिका-६ बस्ने ३० वर्षीय धनबहादुर तामाङ, सोही ठाउँका ४१ वर्षीय लोकबहादुर तामाङ, ३८ वर्षीय राजकुमार लामा र ३७ वर्षीय विजय तामाङ रहेका छन् । उनीहरुको साथबाट तीन लाख ८४ हजार, अमेरिकी डलर ५० दरको एक थान, सुनको बेरुवा औँठी एक थान, ब्रासलेट एक थान, रिङ एक थान र तिलहरी एक थान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । पक्राउ परेकामध्ये धनबहादुरविरुद्ध विभिन्न मितिमा ठगीसम्बन्धी कसुरमा छ वटा मुद्दा दर्ता र लोकबहादुरविरुद्ध विभिन्न मितिमा खोटा चलन, अभद्र व्यवहार, ठगी मुद्दा दर्ता भएको र बैङ्किङ कसुर मुद्दामा फरार देखिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
माइतीघर डुबानको मुख्य दोषी इन्जिनियरिङ त्रुटि, अतिक्रमण र कङ्क्रिटकरण
काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस आसपास क्षेत्रको पूर्वाधार निर्माणको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रको अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको पाइएको छ । झरीसँगै सो क्षेत्र डुबानमा पर्न थालेपछि यही साउन ५ गते काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायका प्रमुख तथा प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो । अनुगमनपछि कार्यवाहक प्रमुख डङ्गोलले सम्बन्धित कार्यालयका अधिकारीहरूको संयुक्त टोलीलाई प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन दिएकी थिइन् । उक्त निर्देशनपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसी संयोजकत्वको समितिले आज स्थलगत प्रतिवेदन तयार बुझाएको हो । प्रतिवेदनअनुसार माइतीघर मण्डला क्षेत्रको ढल निकास प्रणालीमा इन्जिनियरिङ त्रुटि देखिएको छ । माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भागमा ९० सेन्टिमिटरको ढल छ । यो ढल प्रणाली तल्लो भागमा पुगेपछि ६० सेन्टिमिटरमा साँघुरिएको छ । यसरी माथिल्लो भागबाट आउने पानीको चापलाई तल्लो भागको साँघुरो ढलले धान्न नसक्दा ‘बोटलनेकिङ’ को समस्या भई पानी सडकमा बाहिरिने गरेको सो प्रतिवेदनमा उल्लेख छ । यसबाहेक, टुकुचा खोलाको सतह बढेकाबेला ढलको पानी खोलामा जानुको साटो उल्टै बस्ती र सडकतिर फर्कने (ब्याक फ्लो) समस्याले गर्दा पनि माइतीघर जलमग्न हुने गरेको देखिएको छ । भौतिक पूर्वाधारबाहेक वातावरणीय र सहरी विकास तथा व्यवस्थापनका कारण प्रतिवेदनले डुबानको प्रमुख कडीका रूपमा औंल्याएको छ । विगतमा माइतीघर चोकसँगै जोडिएका खुला क्षेत्रहरूले ‘प्राकृतिक जलाधार’ को काम गर्थे । जसले वर्षाको पानीलाई जमिनमुनि सोस्ने गर्थ्यो । तर, अहिले ती क्षेत्रमा जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिलको कार्यालयलगायत ठूला भवन निर्माण भएपछि जमिन कङ्क्रिटले ढाकियो । यसकारण पानी सोसिने प्राकृतिक प्रक्रिया बन्द भएको छ । यसले गर्दा सतहमा बग्ने पानीको मात्रा अत्यधिक बढ्न गई माइतीघर चोकमा सिधै केन्द्रित हुने गरेको प्राविधिक टोलीको निष्कर्ष छ । अतिक्रमणको समस्या पनि माइतीघर डुबानमा उस्तै जिम्मेवार देखिएको छ । अनुगमनका क्रममा कतिपय स्थानमा ढलमाथि नै व्यक्तिगत र सरकारी भवनका संरचना निर्माण भएका कारण नियमित सरसफाइमा अवरोध पुगेको पाइएको छ । ढलको पाइपभित्र प्लास्टिकजन्य फोहर, बोतल र ढुङ्गा–गिटी थुप्रिनुले पानीको बहावलाई थप रोकेको छ । यस समस्यालाई समाधान गर्न कार्यवाहक प्रमुख डङ्गोलले अनुगमनकै क्रममा स्थानीय प्रशासन र साझेदार निकायको सहकार्यमा सबै प्रकारका अवरोध हटाउन निर्देशन दिएकी थिइन् । प्रतिवेदनले तत्काल र दीर्घकालीन रूपमा चालिनुपर्ने कदम सिफारिस गरेको छ । तत्कालका लागि ढल निकास मार्गमा रहेका अवरोध हटाउने, म्यानहोलहरूको उचाइ बढाउने र नियमित सरसफाइ गर्ने कार्यलाई प्राथमिकता दिइएको छ । दीर्घकालीन समाधानका रूपमा माइतीघर वा पुरानो स्वास्थ्य मन्त्रालय परिसरको सार्वजनिक जग्गाभित्र जमिनमुनि ठूलो क्षमताको पानी भण्डारण ट्याङ्की निर्माण गर्न सुझाव दिइएको छ । यसले वर्षाको पिक समयमा आउने पानीलाई केहीबेर भण्डारण गरेपछि बिस्तारै निकास दिन सहयोग पुग्नेछ । त्यस्तै, टुकुचा खोलाको निकास विन्दुमा पानी फिर्ता हुन नदिने ‘नन रिटर्न भल्भ’ जडान गर्न, समग्र उपत्यकाको ढल सञ्जालको जिआइएस म्यापिङ गर्न र माइतीघर क्षेत्रको क्याचमेन्ट एरियाका आधारमा ढलको क्षमता पुनःडिजाइन गर्न प्रतिवेदनले जोड दिएको छ ।
भदौ अन्तिम सातादेखि सडकमा उत्रिँदै प्रजातान्त्रिक पार्टी
काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालले संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र र भ्रष्टाचारमुक्त शासन व्यवस्थाको माग गर्दै भदौको अन्तिम सातादेखि सडक आन्दोलनमा उत्रिने तयारी गरेको छ । आइतबार राजधानीमा बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी अध्यक्ष डा. तारानाथ लुइँटेलले जानकारी दिए । उनका अनुसार पार्टी केन्द्रीय समितिको बैठकबाट आन्दोलनको औपचारिक निर्णय गरिनेछ । उनले बैठकमा संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र, स्वायत्त शासन प्रणाली तथा भ्रष्टाचार नियन्त्रणका विषयमा गम्भीर रूपमा छलफल भएको पनि बताए । अध्यक्ष लुइँटेलले प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा तथा प्रधानमन्त्री बालेन्द्र साहले विदेशीले बोकाइदिएको भारी बोकिरहेको आरोपसमेत लगाए । उनले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचारविरुद्ध भइरहेको कारबाही प्रभावकारी हुन नसकेको पनि बताए । उनले भ्रष्टाचार नियन्त्रण, संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र तथा धार्मिक स्वतन्त्रतासहित सर्वधर्म समभावको बर्खा सकिने बित्तिकै पार्टी आन्दोलनमा उत्रिने चेतावनी दिए ।
क्यान्सर उपचारमा आर्थिक सहयोगका लागि झापाकी बिमलाको अपिल
काठमाडौं । झापाको अर्जुनधारा ५ निवासी बिमला अधिकारी बस्नेतले क्यान्सर उपचारमा आर्थिक सहयोग गरिदिन अपील गरेकी छिन् । विगत अढाई वर्षदेखि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा डिम्बासयमा हुने क्यान्सरको उपचार गराइरहेकी ५० वर्षीय बस्नेतलाई पछिल्लो पटक कलेजोमा समेत क्यान्सरको संक्रमण देखिएको थियो । न्यून आर्थिक अवस्थाका कारण उपचार असहज बन्दै गएको भन्दै बस्नेतले आफ्नो जीवन बचाइदिन सबैसँग आग्रह गरेकी हुन् । उनले भनेकी छिन्, ‘डिम्बासयमा हुने क्यान्सरको उपचार गर्दै गर्दा कलेजोमा समेत क्यान्सर देखिएपछि उपचार खर्च जुटाउन गाह्रो भयो । मेरो आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोगका लागि आम नेपाली दाजुभाई तथा दिदी बहिनीमा हार्दिक अनुरोध गर्दछु ।’ महालक्ष्मी विकास बैंकमा रहेकोे आफ्नो बैंक खाता नम्बर ०५७१२१००७२११८७०००००१ मा आर्थिक सहयोग गरिदिन उनले अनुरोध गरेकी छिन् । सहयोग गर्न चाहनेहरूले आफ्ना श्रीमान् रुद्र बस्नेतसँग ९८०१९२८८०१ मा सम्पर्क गर्न सक्ने पनि उनले जनाएकी छन् । २०८० फागुन १० गते क्यान्सर पत्ता लागेपछि विभिन्न चरणमा किमोथेरापी पुरा गरेकी बस्नेतको कलेजोमा पनि क्यान्सर संक्रमण देखिएपछि उपचार झनै जटिल बनेको उनले बताएकी छिन् ।
नेपाली बिरामीका लागि ह्याम्सको अन्तर्राष्ट्रिय साझेदारी
काठमाडौं । ह्याम्स अस्पतालले भारतको प्रतिष्ठित व्यास सुपर स्पेसालिटी अस्पताल, साकेतसँग रणनीतिक सहकार्य गरेको छ । नेपाली बिरामीलाई अन्तर्राष्ट्रियस्तरको विशिष्टीकृत स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले ह्याम्सले सहकार्य गरेको हो । सहकार्यको औपचारिक घोषणा काठमाडौंमा आयोजित कार्डियाक तथा थोरासिक शल्यचिकित्सासम्बन्धी चिकित्सकहरूको निरन्तर चिकित्सा शिक्षा (सीएमई) कार्यक्रममा गरिएको हो । सहकार्यले जटिल रोगहरूको उपचार, विशेषज्ञ चिकित्सकीय परामर्श, उपचार व्यवस्थापन तथा उपचारपछिको फलो–अप सेवालाई अझ व्यवस्थित र प्रभावकारी बनाउनेछ। यसबाट नेपाली बिरामीले अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ सेवा सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको अस्पतालले जनाएको छ । कार्यक्रममा नेपाल र भारतका वरिष्ठ कार्डियोथोरासिक तथा थोरासिक शल्यचिकित्सा विशेषज्ञहरूले न्यून चिरफार (मिनिमली इन्भेसिभ) शल्यक्रिया, जटिल बिरामी व्यवस्थापन तथा बहुविषयगत उपचार प्रणालीका नवीन अभ्यासबारे अनुभव र अनुसन्धान आदानप्रदान गरेका थिए । ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीले उक्त सहकार्यले जटिल स्वास्थ्य समस्या भएका नेपाली बिरामीलाई विश्वस्तरीय विशेषज्ञ सेवासँग प्रभावकारी रूपमा जोड्ने विश्वास व्यक्त गरे । उनले यसबाट उपचारको गुणस्तर, समन्वय र उपचारपछिको निरन्तर निगरानी प्रणाली थप सुदृढ हुने बताए । उनका अनुसार सहकार्यअन्तर्गत नेपाली बिरामीले ह्याम्स अस्पतालमार्फत विशेषज्ञ चिकित्सकीय परामर्श, उपचार योजना, आवश्यक परे भारतस्थित व्यास सुपर स्पेसालिटी अस्पतालमा उपचारको समन्वय तथा उपचारपछिको फलो–अप सेवा एकीकृत रूपमा प्राप्त गर्नेछन् । ह्याम्स अस्पतालले यस सहकार्यलाई आफ्नो अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ । साथै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सुरक्षित, गुणस्तरीय र बिरामीकेन्द्रित स्वास्थ्य सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई यसले अझ सुदृढ बनाउने विश्वास अस्पतालले व्यक्त गरेको छ ।
दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित
काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं संस्करणमा दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ताहरू सम्मानित भएका छन् । काठमाडौंमा आइतबार सुरु भएको तीन दिने सम्मेलनमा अभियन्ताहरू सम्मानित भएका हुन् । सम्मेलनमा इन्टरनेट सेवालाई सार्वजनिक पहुँचमा विस्तार गर्न योगदान दिएका नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश र भुटानका अभियन्ताहरु सम्मानित भएका हुन् । सम्मानित अभियन्ताहरुमा नेपालका दीलिप अग्रवाल, भारतका नीरज सोनकर र सूचित नन्दा, पाकिस्तानका तारिक मुस्तफा, बंगलादेशका सुमोन अहमद साबिर र भुटानका जिचेन थिन्ले छन् । इन्टरनेट इनेबलर्सद्वारा जारी विज्ञप्तिअनुसार यी अभियन्ताहरूले इन्टरनेट दैनिक जीवनको हिस्सा बन्नुअघिदेखि नै सर्वसाधारणमा इन्टरनेटको पहुँच पुर्याउन र इन्टरनेटको व्यावसायिक सेवा बिस्तारमा महत्त्वपूर्ण योगदान दिएका छन् । इन्टरनेट इनेबलर्सले यसअघि नै नेपालका गौरवराज उपाध्यायलाई एसिया प्रशान्त क्षेत्रका अभियन्ताका रूपमा सम्मानित गरिसकेको छ । उपाध्याय सानोगका संस्थापक हुन्। भारतका निरज सोनकरले सन् १९९५ मा भीएसएनएलमार्फत प्रथम व्यावसायिक इन्टरनेट सेवा जिआइएएस सुरु गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । भारतकै सूचित नन्दाले व्यावसायिक इन्टरनेट सेवा सुरु हुनुअघि नै बुलेटिन बोर्ड सिस्टममार्फत हजारौं प्रयोगकर्तालाई अनलाइन सञ्चार परिचित गराएका थिए । त्यसैगरी, बंगलादेशका सुमोन अहमद साबिरलाई बिडिकमको विकासलगायत तीन दशक लामो योगदानका कारण सम्मानित गरिएको हो । भुटानका थिन्लेलाई प्रारम्भिक इन्टरनेट तथा जिएसएम मोबाइल नेटवर्क बिस्तारमा गरेको दीर्घकालीन योगदानका निम्ति सम्मान दिइएको विज्ञप्तिमा जनाइएको छ । नेपालको पहिलो इन्टरनेट इनेबलर्स अवार्ड पाएका दीलिप अग्रवालले सन् १९९५ मा एउटा व्यक्तिगत कम्प्युटर र मोडेमबाट वर्ल्डलिंकको सुरुवात गरेका थिए । छोटो समयमै उनले कम्पनीलाई नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकका रूपमा स्थापित गरेका छन् । आज वर्ल्डलिंकको सेवा देशका अधिकांश जिल्लामा पुगेको छ र नेपालमा हुने करिब आधा इन्टरनेट ट्राफिक यसैको सञ्जालमार्फत प्रवाह हुने गरेको छ । उनको योगदानलाई नेपालमा दक्षिण एसियामै उच्च ब्रोडब्यान्ड पहुँच हासिल गर्न मद्दत पुर्याउने प्रमुख आधारहरूमध्ये एक मानिन्छ । इन्टरनेट इनेबलर्सको अवधारणा कोभिड महामारीपछि पहिलो क्षेत्रीय इन्टरनेट सम्मेलनमा जन्मिएको हो । इन्टरनेट इनेबलर्सले यसकै लागि एसिया प्यासिफिकमा इन्टरनेटको इतिहास संरक्षण गर्ने उद्देश्यसहित आफ्नो प्राविधिक नेतृत्व, दूरदृष्टि र समर्पणमार्फत डिजिटल पूर्वाधार निर्माण गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ ।
कांग्रेसको नीति प्रतिष्ठानमा केन्द्रीय पदाधिकारीलाई नयाँ जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यलाई विभिन्न उपसमितिको सहजीकरण गर्ने जिम्मेवारी बाँडफाँड गरेको छ । प्रतिष्ठानका प्रमुख तथा पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानअन्तर्गत सञ्चालित विभिन्न उपसमितिको कार्यलाई प्रभावकारी बनाउन केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई जिम्मेवारी तोक्ने निर्णय गरेको हो । बैठकमा पार्टी सभापति गगनकुमार थापाले जिम्मेवारी पाएका नेताहरूलाई उक्त कार्यलाई पार्टीको मुख्य दायित्वका रूपमा लिएर सक्रियतापूर्वक अघि बढाउन निर्देशन दिएका छन् । उनले हरेक उपसमितिले पार्टीको अवधारणा र अभियानसँग जोडिएर नागरिक सरोकारका विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । सभापति थापाले कांग्रेसले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित विषयलाई पार्टीको नीतिगत एजेन्डाका रूपमा विकास गर्ने उद्देश्य रहेको पनि उल्लेख गरे । बैठकमा मानसिक स्वास्थ्य सचेतना अभियान उपसमितिका संयोजक मोहना अन्सारी, आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिका संयोजक रेशम गुरुङ तथा दुव्र्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमितिका संयोजक डा. डीबी सुनारले आ–आफ्नो विषयगत अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए । प्रतिष्ठानको आगामी बैठक साउन ११ गते बिहान ११ः३० बजे पुनः बस्ने जनाइएको छ ।