आइएमई लाइफ इन्स्योरेन्सका डीसीईओ अमात्यले दिए राजीनामा
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका उपकार्यकारी प्रमुख (डीसीईओ) दिनेशबहादुर अमात्यले पदबाट राजीनामा दिएका छन् । डीसीईओ अमात्यले साउन ८ गते शुक्रबार पदबाट राजीनामा दिएका हुन् । आइएमई लाइफ छाडेर अमात्य हिमालयन लाइफ इन्स्योरेन्समा प्रवेश गर्ने भएको छ। हिमालयन लाइफमा पनि उनी डीसीईओ भएर नै जान लागेको बताइएको छ।
किताबखानाका महाशाखा खारेज, तीन सहसचिवको दरबन्दी कटौती
काठमाडौं । सरकारले संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षणपछि राष्ट्रिय किताबखानाको संरचनामा व्यापक पुनर्संरचना गरेको छ । पुनर्संरचनासँगै यसअघि राष्ट्रिय किताबखाना अन्तर्गत महाशाखाका रूपमा सञ्चालन हुँदै आएका शिक्षक, प्रहरी र निजामती किताबखाना अब महाशाखामा कायम नरहने भएका हुन् । ती महाशाखाहरूलाई शाखामा रूपान्तरण गरिएको छ भने नेतृत्व गरिरहेका सहसचिव तहका दरबन्दी पनि कटौतीमा परेका छन् । पुनर्संरचनापछि अब राष्ट्रिय किताबखानाको नेतृत्व एक जना सहसचिवले महानिर्देशकका रूपमा गर्ने व्यवस्था गरिएको छ । यसअघि महाशाखाको नेतृत्व गर्ने उपमहानिर्देशक तहका सहसचिवहरूको पद खारेज भएसँगै शाखा प्रमुखको जिम्मेवारी उपसचिवहरूले सम्हाल्नेछन् । राष्ट्रिय किताबखानाका सूचना अधिकारी सुदन ख्वाखली श्रेष्ठका अनुसार पुनर्संरचनाअघि तीनवटै किताबखानाको नेतृत्वका लागि तीनवटा सहसचिवको दरबन्दी रहेको थियो भने एक सहसचिव महानिर्देशक रहन्थे । नयाँ संरचनामा तीमध्ये तीनवटा सहसचिव दरबन्दी कटौती गरिएको छ भने प्रशासनतर्फको एक जना सहसचिवले मात्रै सम्पूर्ण राष्ट्रिय किताबखानाको महानिर्देशकका रूपमा नेतृत्व गर्नेछन् । दरबन्दी संरचनामा पनि उल्लेख्य कटौती गरिएको श्रेष्ठले जानकारी दिए । यसअघि राष्ट्रिय किताबखानामा कुल १३८ कर्मचारी दरबन्दी रहेकोमा पुनर्संरचनापछि त्यो संख्या घटेर १०६ मा झरेको छ । ओ एण्ड एमपछि ३२ वटा दरबन्दी कटौती गरिएको छ । सरकारले सार्वजनिक प्रशासनलाई छरितो, मितव्ययी र प्रभावकारी बनाउने उद्देश्यअनुसार विभिन्न निकायमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेको थियो । सोही अनुसार राष्ट्रिय किताबखानाको संरचनामा पनि परिवर्तन गरिएको हो । सरकारको अपेक्षा अनुसार एउटै संस्थामार्फत निजामती, शिक्षक तथा प्रहरी कर्मचारीको सेवा अभिलेख, व्यक्तिगत विवरण र पेन्सनसम्बन्धी कामलाई एकीकृत रूपमा सञ्चालन गर्दा प्रशासनिक दोहोरोपन हट्ने, निर्णय प्रक्रिया छोटिने तथा सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास किताबखानाको रहेको छ । पुनर्संरचनापछि शाखाहरूको कार्यविभाजन, कर्मचारी व्यवस्थापन तथा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन आवश्यक आन्तरिक कार्यविधि र जिम्मेवारी बाँडफाँटको काम पनि अघि बढाइने राष्ट्रिय किताबखानाले जनाएको छ ।
नागढुङ्गा सुरुङमार्ग प्रभावित स्थानीयद्वारा धर्ना
काठमाडौं । नागढुङ्गा सुरुङमार्ग निर्माणका कारण सिर्जित समस्याहरूको स्थायी समाधान र विगतका सहमति कार्यान्वयनको माग गर्दै प्रभावित क्षेत्रका बासिन्दाले शान्तिपूर्ण धर्ना तथा प्रदर्शन गरेका छन् । सुरुङमार्गको उद्घाटनका समयमा स्थानीयले आफ्ना विभिन्न मागहरूप्रति सरकार र आयोजनाको ध्यानाकर्षण गराएका हुन् । प्रदर्शनका क्रममा स्थानीयले खानेपानी आयोजना सञ्चालनको सुनिश्चितता, निर्माणका क्रममा चर्किएका घरहरूको उचित प्राविधिक मूल्याङ्कन र क्षतिपूर्ति तथा सिस्ने खोला पानी लिफ्टिङ आयोजना कार्यान्वयनको माग गरेका छन् । त्यसैगरी, सुरुङमार्गमा स्थानीय बासिन्दालाई सहज रूपमा आवतजावत गर्ने व्यवस्था मिलाउनुपर्ने, प्रभावित क्षेत्रका जनशक्तिलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने र यस क्षेत्रलाई ‘विशेष प्रभावित क्षेत्र’ घोषणा गरी सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ । धर्ना कार्यक्रममा बोल्दै स्थानीय प्रतिनिधिहरूले राज्यले आफूहरूको समस्या समाधानमा तदारुकता नदेखाएको गुनासो गरे । उनीहरूले भने, ‘हामी राष्ट्रिय गौरवको यो आयोजनाको बाधक बन्न चाहँदैनौँ, तर हाम्रा आधारभूत समस्याहरू सम्बोधन हुनुपर्छ । विदेशी कूटनीतिज्ञहरू सहभागी हुने कार्यक्रममा राज्यले आफ्ना नागरिकको पीडा बेवास्ता गर्नु दुःखद् छ । हाम्रा मागहरू सम्बोधन भएमा हामी मन्त्रीज्यूलाई स्वागत गर्न तयार छौँ ।’ एक स्थानीय पीडितले सरकारी निकायबाट यसअघि भएका निर्णयहरू र गरिएका प्रतिबद्धताहरू तत्काल कार्यान्वयन गर्न समेत आग्रह गरेका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनीहरूको चेतावनी छ ।
देवानगञ्ज घटनापछि मन्त्री मेहता भन्छिन् - अफवाहमा नलागौं, शान्ति कायम गरौं
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दुःख व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गरेकी छन् । मन्त्री मेहताले घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेकी छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा आवश्यक समन्वय भइरहेको जानकारी दिएकी छन् । घटनाबारे जानकारी प्राप्त हुनासाथ मन्त्री मेहताले सम्बन्धित सुरक्षा निकाय तथा प्रशासनसँग सम्पर्क गरी घटनास्थलको अवस्था नियन्त्रणमा लिन, घाइतेहरूको उपचारको व्यवस्था मिलाउन तथा शान्ति–सुरक्षा कायम गर्न आवश्यक समन्वय सुरु गरेकी थिइन् । मन्त्री मेहताले संवेदनशील परिस्थितिमा कुनै पनि अपुष्ट सूचना वा अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव तथा आपसी भाइचारामा असर पुग्ने गतिविधिबाट टाढा रहन सबै नागरिकसँग आग्रह गरेकी छन् । सम्बन्धित निकायबाट घटनाको निष्पक्ष छानबिन गरी यथाशीघ्र सत्यतथ्य सार्वजनिक हुने विश्वास व्यक्त गर्दै यस कठिन घडीमा सबै पक्षले धैर्य, संयमता र जिम्मेवारीका साथ प्रस्तुत भएर शान्ति कायम राख्न सहयोग गर्न पनि अपिल गरेकी छन् ।
कोदारी राजमार्गमा दुई मन्त्रीको निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चत
काठमाडौं । विगत ११ दिनदेखि अवरुद्ध कोदारी राजमार्ग सुचारु गर्ने प्रयासस्वरुप सरकारको एक उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको छ । साउन १० गते पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसहितको टोलीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पर्ने डाक्लाङ र कोदारी इको क्षेत्रका पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेको हो । राजमार्ग खुलाउने र स्थानीय बस्तीको जोखिम न्युनिकरण गर्ने उद्देश्यले गरिएको यस निरीक्षणका क्रममा स्थानीय बासिन्दाले भने आफ्नो थाँतथलो र घरको सुरक्षाको ग्यारेन्टी नभएसम्म काम अघि बढाउन असहमति जनाएका छन् । पहिरोका कारण बस्ती नै जोखिममा परेको भन्दै आक्रोशित स्थानीयलाई मन्त्री लम्सालले सरकारले बस्ती स्थानान्तरणदेखि भौतिक सम्पतीको सुरक्षाको पूर्ण जिम्मेवारी लिने आश्वासन दिएका छन् । यद्यपि, सरकारको यस आश्वासनप्रति स्थानीयले पूर्ण विश्वास भने व्यक्त गरिसकेका छैनन् । मन्त्री लम्सालले भने, ‘केही समस्या छैन, हामी एकदम पोजिटिभ छौँ र हामी लागि पर्छौं ।’ निरीक्षणका क्रममा सडक विभागका महानिर्देशक डा. विजय जैसीकाअनुसार डाक्लाङ क्षेत्रमा रहेका तीनवटा ठूला पहिरोमध्ये पहिलो पहिरोको काम भइरहेको छ भने दोस्रो र तेस्रो पहिरोको व्यवस्थापनका लागि प्रक्रियागत ढिलाइ भएको थियो । महानिर्देशक जैसीले स्थानीयको आशंका निवारण गर्न विशेषज्ञ टोली परिचालन गरिसकिएको र जमिनभित्रको पानीलाई पाइपमार्फत सुरक्षित तवरले बाहिर निकाल्ने प्रविधि प्रयोग गरिने बताए । स्थानीयसँग समन्वय गर्न डाक्लाङ र कोदारीबाट दुई–दुई जना प्रतिनिधि तोक्न आग्रह गर्दै विशेषज्ञको सल्लाह र नागरिकको सुरक्षालाई प्राथमिकता दिएर मात्रै काम अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘चिनियाँ पक्षको संलग्नतामा अत्यन्तै बलियो र भरपर्दो डिजाइन तयार भएको छ । नदीको सतहबाटै पाइल हालेर पर्खाल उठाउने र डेढ अर्ब रुपैयाँभन्दा बढीको लागतमा कोदारी क्षेत्रको पहिरो दीर्घकालीन रूपमा समाधान गर्ने गरी ठेक्का सम्झौता भइसकेको छ ।’ निरीक्षण टोलीमा योजना आयोगका सदस्य अर्जुनजंग थापा, पूर्वाधार सचिव गोपाल सिग्देल, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू र सडक विभागका इन्जिनियरहरूको सहभागिता रहेको छ । कोदारी राजमार्ग अन्तर्राष्ट्रिय व्यापारिक नाकासमेत भएकाले यसलाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन सरकारले जोड दिएको छ । तर स्थानीयको अवरोध र भौगोलिक जटिलताका कारण राजमार्ग कहिलेसम्म पूर्ण रूपमा खुल्ने भन्ने विषय अझै निश्चित हुन सकेको छैन ।
सानिमा बैंकको नाफा साढे ३.५५ अर्ब, लाभांश क्षमता २०.८५ रुपैयाँ
काठमाडौं । सानिमा बैंकको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा खुद नाफा ३८ प्रतिशत बढेर ३ अर्ब ५५ करोड १ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आव २०८१/८२ मा बैंकले २ अर्ब ५७ करोड २४ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १० प्रतिशत बढेर ६ अर्ब ९९ करोड ५ लाख ८३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ३५ करोड ५९ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा वर्षमा बैंकले १ अर्ब ३२ करोड ८० लाख ५७ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ९ अर्ब ७३ करोड २३ लाख १४ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र ५ अर्ब १६ करोड ५१ लाख ७२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । समीक्षा वर्षमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड १७ लाख ७६ हजार रुपैयाँ पुगेको छ । सो आधारमा बैंकको लाभांश क्षमता २०.८५ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष २ अर्ब १० करोड २९ लाख ६ हजार रुपैयाँ वितरणयोग्य नाफा थियो भने १५.४८ प्रतिशत लाभांश क्षमता । १५ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब १२ करोड ४५ लाख १५ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन ११ प्रतिशत बढेर २ खर्ब ४९ अर्ब ११ करोड ८० लाख १७ हजार रुपैयाँ र कर्जा प्रवाह १० प्रतिशत बढेर १ खर्ब ९५ अर्ब ८८ करोड ४७ लाख ३० हजार रुपैयाँ पुगेको छ । अघिल्लो असारसम्म बैंकले २ खर्ब २३ अर्ब ९५ करोड ४६ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७६ अर्ब ४४ करोड ५ लाख ५ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । समीक्षा वर्षमा बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८०.७७ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा अनुपात ३.०१ प्रतिशतबाट घटेर २.८७ प्रतिशतमा झरेको छ भने खुद खराब कर्जा १.२० प्रतिशतबाट १.०२ प्रतिशतमा सीमित रहेको छ । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १८.९४ रुपैयाँबाट बढेर २५.७५ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८८.४२ रुपैयाँ रहेको छ भने मूल्य-आम्दानी अनुपात (पीई रेसियो) १३.५९ गुणा रहेको छ । इक्विटीमा प्रतिफल १४.३९ प्रतिशत कायम भएको छ ।
झडपपछि सुनसरीका ५ बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
काठमाडौं । दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँच संवेदनशील बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार साउन ११ गते बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो । कर्फ्यु हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा लागू गरिएको छ । हरिनगर बजार क्षेत्रको पूर्वमा नुनियाटोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोडसम्म कर्फ्यु लागू गरिएको छ । त्यसैगरी, भुटाहा बजार क्षेत्रको पूर्वमा मोरिया धार खोला, पश्चिममा इदगाह फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालयसम्म कर्फ्यु तोकिएको छ । कप्तानगञ्ज बजार क्षेत्रमा पूर्वमा यादव टोल, पश्चिममा सिमल माध्यमिक विद्यालय, उत्तरमा कृष्ण माध्यमिक विद्यालय र दक्षिणमा नेपाल–भारत सीमासम्म कर्फ्यु आदेश लागू गरिएको छ । घुस्की बजार क्षेत्रमा पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुलसम्म कर्फ्यु जारी गरिएको छ । यस्तै, देवानगञ्ज बजार क्षेत्रमा पूर्वमा विराटनगर जाने सडकस्थित मुसहर टोल, पश्चिममा मोरिया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालय क्षेत्रभित्र कर्फ्यु लागू गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु अवधिमा अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ ।
नारायणगढ-मुग्लिन सडक मर्मतको काम अघि बढ्यो, एमसीए–नेपालले खोल्यो ठेक्का
काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए-नेपाल) ले नारायणगढ-मुग्लिन सडक खण्डको आवधिक मर्मत सम्भारका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ । एमसीए-नेपालले सोमबार सार्वजनिक सूचना जारी गर्दै ‘नारायणगढ-मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भार’का लागि योग्य निर्माण व्यवसायीबाट प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको हो । यो खरिद प्रक्रिया एमसीए-नेपालको खरिद नीति तथा निर्देशिका (पीपीजी) बमोजिम प्रतिस्पर्धात्मक बोलपत्र विधिमार्फत सञ्चालन हुनेछ । यस प्रक्रियामा पीपीजीअनुसार योग्य ठहरिएका सबै निर्माण व्यवसायीले सहभागिता जनाउन सक्नेछन् । इच्छुक निर्माण व्यवसायीले एमसीए-नेपालले उपलब्ध गराएको अनलाइन फाराम भरेर बोलपत्रसम्बन्धी सम्पूर्ण कागजात प्राप्त गर्न सक्नेछन् । कागजात प्राप्त गर्न समस्या भएमा एमसीए-नेपालले तोकेका इमेलमार्फत सम्पर्क गर्न सकिने जनाएको छ । नेपाल सरकारअन्तर्गत स्थापना भएको एमसीए-नेपालले ७४ करोड ७० लाख अमेरिकी डलर बराबरको पूर्वाधार कार्यक्रम कार्यान्वयन गरिरहेको छ । उक्त कार्यक्रमका लागि अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले ५५ करोड अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ भने नेपाल सरकारले १९ करोड ७० लाख अमेरिकी डलर बराबरको योगदान गरेको छ । कार्यक्रम अन्तर्गत विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना सञ्चालनमा छन् । नारायणगढ-मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भार सडक मर्मत आयोजनाअन्तर्गत सञ्चालन हुने एमसीए-नेपालले जनाएको छ ।