कांग्रेसको नीति प्रतिष्ठानमा केन्द्रीय पदाधिकारीलाई नयाँ जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यलाई विभिन्न उपसमितिको सहजीकरण गर्ने जिम्मेवारी बाँडफाँड गरेको छ ।

प्रतिष्ठानका प्रमुख तथा पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानअन्तर्गत सञ्चालित विभिन्न उपसमितिको कार्यलाई प्रभावकारी बनाउन केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।

बैठकमा पार्टी सभापति गगनकुमार थापाले जिम्मेवारी पाएका नेताहरूलाई उक्त कार्यलाई पार्टीको मुख्य दायित्वका रूपमा लिएर सक्रियतापूर्वक अघि बढाउन निर्देशन दिएका छन् । 

उनले हरेक उपसमितिले पार्टीको अवधारणा र अभियानसँग जोडिएर नागरिक सरोकारका विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

सभापति थापाले कांग्रेसले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित विषयलाई पार्टीको नीतिगत एजेन्डाका रूपमा विकास गर्ने उद्देश्य रहेको पनि उल्लेख गरे ।

बैठकमा मानसिक स्वास्थ्य सचेतना अभियान उपसमितिका संयोजक मोहना अन्सारी, आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिका संयोजक रेशम गुरुङ तथा दुव्र्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमितिका संयोजक डा. डीबी सुनारले आ–आफ्नो विषयगत अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए ।

प्रतिष्ठानको आगामी बैठक साउन ११ गते बिहान ११ः३० बजे पुनः बस्ने जनाइएको छ ।

Share News