काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका ३ सय ४७ जना नागरिकहरुको सकुशल उद्धार गरेको छ ।
सशस्त्र प्रहरीले नदी, ताल तथा खहरे खोलाहरूमा डुबेका तथा बगाएका २ सय ११ वटा घटनाहरुबाट ८६ जनाको जीवितै उद्धार गरेको छ, भने सो घटनामा परी मृत्यु भएका १ सय २२ जनाको शव निकालेको छ । त्यस्तै, विपद्को उच्च जोखिम लगायत बाढी, डुबान तथा कटानका घटनामा परेका २ सय ३९ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।
देशका विभिन्न स्थानमा भएको सडक दुर्घटनाहरूमा ६ जनाको तत्काल सकुशल उद्धार गरेको छ भने ८ सय ७ जनाको घाइते अवस्थामा उद्धार गरी उपचारको लागि विभिन्न अस्पतालतर्फ पठाएको छ । त्यसैगरी हावाहुरीमा परेका १२ जनाको उद्धार गरेको छ ।
त्यस्तै, देशको पहाडी क्षेत्रमा गएको पहिरोमा परेका ४ जनाको जीवितै उद्धार गरिएको छ । त्यस्तै सशस्त्र प्रहरीले देशभर २ सय २६ स्थानमा भएको आगलागी नियन्त्रणमा परिचालित भई सो आगलागीमा परी घाईते भएको ४ जनाको समेत सकुशल उद्धार गरेको छ ।
जटिल प्रकृतिका जल विपद्का ३१ वटा घटनामा सशस्त्र प्रहरीको गोताखोरले ३ जनाको सकुशल उद्धार गरेको छ, भने १४ जनाको शव फेला पारेको छ ।
विपद्को जोखिम न्यूनीकरणका लागि सशस्त्र प्रहरीले ४ सय ६४ वटा विद्यालय र ५ सय ४१ वटा क्लव तथा समुदायस्तरमा जनचेतनामूलक कक्षा संचालन गरेको छ । जसमा ४७ हजार ६ सय ८१ जना सहभागी रहेका थिए ।
त्यसैगरी विपद् प्रतिकार्यको पूर्वतयारीका लागि सशस्त्र प्रहरी बल नेपालको एकल आयोजनामा १ सय १७ वटा र अन्य निकायहरुसँगको समन्वयमा १२ वटा गरी जम्मा १ सय २९ वटा कृत्रिम घटना अभ्यास सञ्चालन गरेको थियो ।
जसमा २० हजार ३ सय ६६ जना सहभागी रहेका थिए । त्यस्तै सो अवधिमा सशस्त्र प्रहरीले समुदायस्तरमै दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले ४० वटा विपद् स्वयंसेवक तालिम संचालन गरेको छ ।
उक्त तालिमबाट ३ सय ५३ जना महिला र ७ सय ३१ पुरुष गरी १ हजार ८४ जना स्थानीय नागरिकहरु समुदाय विपद् स्वयंसेवकका रूपमा तयार भएका छन् ।
त्यसैगरी देशभर २८ हजार २ सय ८१ सय जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन सम्बन्धी विशेष अनुशिक्षण तालिम प्रदान गरी तयारी हालतमा साथै कुनै पनि स्थानमा विपद्को सूचना प्राप्त हुनासाथ तत्काल परिचालन हुनसक्ने गरी ८ हजार १ सय ८० जना जनशक्ति २४सै घण्टा तयारी अवस्थामा रहेका छन् ।
त्यसैगरी विपद् उद्धारमा लाग्ने समयलाई कम गर्न सशस्त्र प्रहरी बल नेपालले देशभर ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य टोली खटाइएको छ, भने १६ वटा अति जोखिमयुक्त स्थानहरुमा आवश्यक जनशक्ति र स्रोतसाधनसहित विपद् व्यवस्थापन बेस स्थापना गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपालमा रहेका १ सय ३४ जना गोताखोरहरुलाई देशको अति जोखिमयुक्त ११ स्थानमा आवश्यक उपकरणसहित तत्काल परिचालन हुने गरी तयारी हालतमा राखिएको छ ।
मनसुन शुरु हुन अगावै उद्धार कार्यका लागि सशस्त्र प्रहरीले ८२ वटा राफ्ट बोट र ५३ वटा मोटर बोटहरू तयारी हालतमा तथा घाइतेहरूको तत्काल उपचार र स्थानान्तरणका लागि ८ वटा मास क्याजुअल्टी भेइकल, ८ वटा ’ए’ क्लास एम्बुलेन्स, १० वटा आई.आर.टी भेइकल र सडक अवरोध हटाउन १३ वटा हेभी इक्विपमेन्टहरू तयारी अवस्थामा र १३ जिल्लाका विभिन्न स्थानमा २८ वटा डिजास्टर रिलिफ सिस्टम कन्टेनरहरू समेत राखेको छ ।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपालले आफ्नो वेभसाईट तथा फेसबुक, ट्वीटर मार्फत आपद् विपद्मा परेका नागरिकहरुको तत्काल उद्वार तथा सहयोग गर्नको लागि टोल फ्रि नम्बर १११४ मा सम्पर्क गर्न सकिने उल्लेख गरेको छ भने विपद्मा परेका नागरिकहरुले तत्कालै उद्वारको लागि सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।
त्यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले उपलब्ध गराएको टोल फ्रि नम्बर १२३४ मा समेत देशभरका सबै जिल्लाहरुमा आपद् विपद्मा परेका आम नागरिकहरुले तत्काल उद्धार, राहत र सहयोगको लागि सम्पर्क गर्न सकिने बताएको छ ।