विकासन्युज

सचिव बन्ने पालो नआउँदै अवकाशमा जाँदै दुई सहसचिव

काठमाडौं । सचिवमा बढुवा हुने वरिष्ठताको सूचीमा रहेका दुई सहसचिव पदोन्नति नपाउँदै अनिवार्य अवकाशमा जाने भएका छन्। नेपाल प्रशासन सेवाका सहसचिव हरिशरण पुडासैनी र प्रदीपकुमार कोइराला सचिव बन्ने सम्भावना रहे पनि दरबन्दी कटौती र अवकाशको समयसीमाका कारण उनीहरूको बढुवा अन्योलमा परेको हो। नेपाल प्रशासन सेवामा सचिवको दरबन्दी कटौती नभएको भए पुडासैनी र कोइराला यतिबेलासम्म सचिव भइसकेका हुन सक्थे। तर, सचिवको पद सीमित हुँदा वरिष्ठताका आधारमा बढुवाको पालो कुरिरहेका उनीहरू सहसचिवबाटै अवकाशमा जाने अवस्थामा पुगेका हुन्। सहसचिवको वरिष्ठता सूचीमा जयनारायण आचार्य, ज्ञानेन्द्र पौडेल, प्रदीपकुमार कोइराला र हरिशरण पुडासैनी क्रमशः छन्। पुडासैनी र कोइराला एकै दिन सहसचिव बनेका हुन्। वरिष्ठताका आधारमा सचिव बन्ने सम्भावना रहे पनि रिक्त हुने पद र उनीहरूको अवकाश मितिबीचको अन्तरले बढुवाको अवसर प्रभावित भएको छ। नेपाल प्रशासन सेवाका सचिव कृष्णबहादुर राउत आगामी पुस २० गते अनिवार्य अवकाशमा जाँदैछन्। उनको अवकाशपछि सचिवको एउटा पद रिक्त हुनेछ। तर, उक्त पद रिक्त हुनुअघि नै पुडासैनी सेवाबाट बाहिरिनेछन्। उनी आगामी कात्तिक ६ गते ५८ वर्ष पूरा गरी अनिवार्य अवकाशमा जाँदैछन्। त्यसैले राउतको अवकाशपछि हुने सचिव बढुवाको सिफारिसमा पुडासैनीको नाम पर्ने सम्भावना छैन। कोइरालाका लागि भने सचिव बन्ने सम्भावना अझै बाँकी छ। राउत अवकाशमा गएपछि रिक्त हुने पदमा वरिष्ठताका आधारमा आचार्य, पौडेल र कोइराला बढुवाका लागि सिफारिस हुने सम्भावना छ। त्यसक्रममा कोइराला तेस्रो नम्बरमा पर्नेछन्। तर, वरिष्ठताको नियमित क्रमभन्दा फरक निर्णय गर्दै उनलाई बढुवा गरिए छोटो अवधिका लागि भए पनि सचिव बन्ने अवसर मिल्न सक्छ। यसअघि पद्मकुमार मैनालीको बढुवाको उदाहरण दिँदै प्रशासनिक वृत्तमा कोइरालाको हकमा पनि त्यस्तै निर्णय हुन सक्ने चर्चा छ। त्यसो भए उनी करिब १५ दिनका लागि मात्रै सचिव रहने अवस्था बन्न सक्छ। यद्यपि, उनको बढुवा हुने वा नहुने विषयमा कुनै निर्णय भइसकेको छैन। कोइरालाका लागि सचिव बन्ने अर्को सम्भावित अवसर पनि छ। राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थ आगामी पुस ३० गते अवकाशमा जानेछन्। उनको अवकाशपछि रिक्त हुने पदमा कोइराला दोस्रो प्राथमिकतामा सिफारिस हुन सक्नेछन्। त्यसपछि लोक सेवा आयोगका सचिव रामेश्वर दंगाल आगामी माघ १६ गते अवकाशमा जाने भएकाले अर्को पद पनि रिक्त हुनेछ। तर, दंगालको अवकाशपछि पद रिक्त हुने समयसम्म कोइराला सेवामा रहने छैनन्। उनी आगामी माघ ६ गते ५८ वर्ष पूरा गरी अनिवार्य अवकाशमा जाँदैछन्। त्यसैले वरिष्ठताको क्रमअनुसार पहिलो प्राथमिकतामा पुग्ने समयअघि नै उनको अवकाश हुनेछ। कोइरालालाई तेस्रो वा दोस्रो प्राथमिकताबाटै बढुवा गरिए मात्र सचिव बन्ने अवसर प्राप्त हुन सक्छ। महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका पुडासैनी, अवसरको प्रतीक्षामा कोइराला हाल राष्ट्रिय योजना आयोगमा कार्यरत पुडासैनीले ग्वाङझाउस्थित नेपाली महावाणिज्यदूत, भन्सार विभागका महानिर्देशक तथा अर्थ मन्त्रालयको बजेटसम्बन्धी महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। सरकारी सेवाका विभिन्न महत्त्वपूर्ण निकायमा काम गर्ने अवसर पाएका उनी सचिवमा बढुवा नभई अवकाशमा जाने अवस्थामा पुगेका हुन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत कोइरालाले भने राज्यका तर्फबाट त्यति धेरै महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर नपाएको प्रशासनिक वृत्तमा चर्चा छ। वरिष्ठताका आधारमा सचिव बन्ने सम्भावना रहे पनि अवकाशको मितिले उनको अवसरलाई सीमित बनाएको छ। पुडासैनीको सचिव बन्ने सम्भावना लगभग समाप्त भइसकेको छ भने कोइराला अझै बढुवाको सम्भावनामा छन्। तर, उनको हकमा वरिष्ठताको नियमित क्रमअनुसार पालो कुर्दा सचिव बन्ने अवसर गुम्ने देखिन्छ। यसरी सचिवको दरबन्दी कटौती र अवकाशको समयतालिकाले दुई वरिष्ठ सहसचिवको वृत्तिविकासमा प्रत्यक्ष प्रभाव पारेको छ। पुडासैनी सचिव बन्ने अवसर नपाउँदै सेवाबाट बाहिरिने निश्चितजस्तै छ भने कोइरालाको भविष्य बढुवा सिफारिसमा अपनाइने प्राथमिकता र निर्णयमा निर्भर बनेको छ। 

मतदातासँग मत माग्दै गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले मतदातासँग मत मागेका छन् । लाइनमा बसेका मतदातासँग उनले मत मागेका हुन् ।  पार्टीको १५ औँ महाधिशेन गत वर्षको मंसिरमै गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गत वर्षको असोजमै गरेको भए पनि नेतृत्वले आलटाल गरेपछि पार्टीलाई विधिको शासनमा डोहोर्याउनका लागि विशेष महाधिवेशन गराएरै संविधान सम्मत बनाएर थापा नेतृत्वमा आएका थिए ।  उनकै नेतृत्वमा पार्टी गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा होमिएको थियो । उनले यसपालि पनि समयमै महाधिवेशन गराएर पार्टीलाई विधान सम्मत नै अगाडि बढाएका छन् ।  उनले मत मागिरहँदा मतदाता भने निकै उत्साही देखिए ।  उनीसँग काठमाडौं ६ का श्यामकृष्ण खड्गीले सभापतिमा प्रतिस्पर्धा गरेका छन् । खड्गी पहिलो पटक केन्द्रीय कार्यसमितिमा चुनाव लडिरहेका हुन् ।  लामो समयदेखि कांग्रेस राजनीतिमा रहेका गगन थापा भने पहिलो पटक केन्द्रीय सदस्य हुँदा सर्वाधिक मतसहित शीर्ष स्थानमा रहेर चुनाव जितेका थिए । उनी यसअघि महामन्त्रीसमेत भएका थिए ।  जेन–जी आन्दोलनपछि पार्टी नीति पनि समाज सुहाउँदो परिवर्तन गर्दै लैजानु पर्छ भनी अग्रसर भएका थापा विशेष महाधिवेशन सफल पारी पार्टीलाई यहाँसम्म डोहोर्याएर लिएर आएका छन् ।  उनले मतदातालाई कसैको भड्काउमा नपरी स्वेच्छाले मतदान गर्न आग्रह गरेका छन् । उनले बिहानमात्रै सामाजिक सञ्जालमा लेख्दै कुनै समूह नबनेको भन्दै बिना दबाब मतदान गर्न आग्रह गरेका हुन् । 

चाडबाड लक्षित सुरक्षा : पोखराका नाकाहरूमा कुकुरसहितको छड्के जाँच

काठमाडौं । नजिकिँदै गरेका चाडपर्वहरूलाई मध्यनजर गर्दै कास्की प्रहरीले पोखरा भित्रने मुख्य नाकाहरूमा सुरक्षा व्यवस्था मजबुत बनाएको छ ।  आपराधिक गतिविधि नियन्त्रण र लागुऔषध ओसारपसार रोक्ने उद्देश्यका साथ प्रहरीले तालिमप्राप्त कुकुरसहित आकस्मिक ९सप्र्राइज० जाँचलाई तिब्र बनाएको हो । पोखरा अन्य जिल्लाहरूसँग जोड्ने प्रमुख ट्रान्जिटका रूपमा रहेको हुनाले चाडबाडको मौका छोपी हुनसक्ने गैरकानूनी गतिविधि रोक्न प्रहरीले उच्च शतर्कता अपनाएको छ । यसै सिलसिलामा पोखरा महानगरपालिका–२५, हेम्जास्थित सुइखेतमा विशेष सुरक्षा जाँच गरिएको छ । उक्त जाँच अभियानमा गण्डकी प्रदेश प्रहरी कार्यालयको समन्वयमा लागुऔषध र विस्फोटक पदार्थ पत्ता लगाउन सक्ने विशेष तालिमप्राप्त कुकुरहरूको प्रयोग गरिएको छ । कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्र पासवानकाअनुसार यात्रुहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र कुनैपनि आपराधिक घटना हुन नदिन यो अभियान सञ्चालन गरिएको हो ।   जनपद प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरी पोखराका विभिन्न संवेदनशील क्षेत्रमा यस्तो जाँच भइरहेको छ । चाडपर्वको अवधिभर यो आकस्मिक सुरक्षा अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ । नागरिकलाई निर्धक्क भई यात्रा गर्न र सुरक्षा निकायलाई सहयोग पुर्याउन प्रहरीले आग्रह गरेको छ ।  

उखु किसानलाई १ अर्ब ५० करोड अनुदान बाँडिँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान वितरण गर्ने भएको छ ।  उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदान वितरणका लागि आवश्यक कार्यविधि स्वीकृत गरिएको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जानकारी दिइन् । आर्थिक वर्ष २०८३/८४ मा निकासा भएको १ अर्ब ५० करोड ५० हजार रुपैयाँ बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरलगायत जिल्लाका उखु किसानलाई वितरण गरिनेछ । उखु खेतीमा किसानलाई प्रोत्साहन गर्ने, कृषि उत्पादकत्व बढाउने र अनुदान लक्षित किसानसम्म पु¥याउने उद्देश्यले सरकारले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ प्रोत्साहन अनुदान उपलब्ध गराउँदै आएको छ ।

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने

काठमाडौं । शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा (एघारौं संशोधन) नियमावली, २०८३  सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ। प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाख रुपैयाँसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारी साधन खरिद  गर्न सक्नेछन् ।  त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाख रुपैयाँसम्मको दुई पाङ्ग्रे सवारी साधन खरिद  गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा  लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियत स्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ । शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन् ।  शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले व्यहोर्ने व्यवस्था गरिएको हो ।

कांग्रेस महाधिवेशनमा मतदान सुरु, ८१ वर्षीय शोभाचन्द्र बरालले खसाले मत

काठमाडाैं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ । ज्येष्ठ महाधिवेशन प्रतिनिधि ८१ वर्षीय शोभाकान्त बरालले गण्डकी प्रदेशमा पहिलो मत खसालेका छन् ।  मतदानका लागि मतदाता बिहानैदेखि लाइनमा लागेका थिए । अघिल्लो दिन मतदान गर्न नपाएका प्रतिनिधि आज मतदान गर्न पाउने भएपछि उत्साही देखिएका छन् । टाढा घर भएका प्रतिनिधि मतदान सकेर दसैँ मनाउन घर पुग्ने योजनामा छन् । मतदान सुरु भएसँगै कांग्रेस महाधिवेशन प्रतिनिधिमा पुनः उत्साह थपिएको छ । खराब मौसम र प्राविधिक समस्याका कारण मतदानमा ढिलाइ भएको थियो । ढिलो गरी मतदान सुरु गर्दा राति मतदातालाई कठिनाइ हुने भएकाले हिजो अपराह्नदेखि गर्ने भनिएको मतदान आज बिहानका लागि सारिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए । मतदाताको स्वास्थ्यलाई ध्यानमा राखेर मतदानको समय सारिएको उनले जानकारी दिए । उनले दिउँसो ३ बजेसम्म मतदान गर्न कसिने बताए । महाधिवेशन प्रतिनिधिको संख्या ७ हजार ३ सय १७ रहेको पनि सदस्य सचिव कटुवालले बताए ।  निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले साँझमा मतदान शुरू गर्दा रातभर मतदातालाई अप्ठेरो पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै आज बिहानदेखि थालिएको बताए । उनले मतपत्र धेरै भएकाले आफूसँगै ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गरेको बताए । उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाई भएको थियो । आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन एक दिन लम्बिएको भन्दै महाधिवेशन प्रतिनिधिको शुक्रबारको होटल बसाई खर्च र खाना खर्च पार्टीले नै बेहोर्ने बताए ।  कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने ? निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ । प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ - बागमती प्रदेश खुलामञ्च, मतदान केन्द्र ‘ख’ - कोशी प्रदेश तथा तराई-मधेस समूह हिमाल हल - गण्डकी प्रदेश तराई–मधेस हल - मधेस प्रदेश पहाड हल - लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि परिचयपत्र र मतदाता नामावली रुजु गरिने निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ । मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ । निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोन लगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने जनाएको छ। प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउनेछन् । मतदानपछि मतगणना निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना शुरू गर्ने जनाएको छ । मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघि बढाइनेछ । आजै मतगणना थालिने तयारी गरिएको समितिले जनाएको छ  । मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ। त्यससँगै कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ । १५औँ महाधिवेशनले विधान संशोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ। नयाँ संरचनाअनुसार निर्वाचित हुने पदाधिकारी तथा केन्द्रीय सदस्यले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछन् । महाधिवेशनको निर्वाचनमा सभापतिसहित प्रमुख पदमा प्रतिस्पर्धा रहेकाले मतदानलाई कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महत्वपूर्ण मानिएको छ । प्रतिनिधिहरूको मतदानपछि आउने परिणामले पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक नेतृत्वसमेत तय गर्नेछ ।

मेरो नाम जोडिएका उम्मेदवारको सूची आधिकारिक होइन: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारको सूचीलाई आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएपछि थापाले पार्टीभित्र कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पारेका हुन् । विभिन्न उम्मेदवारको सूचीलाई आफ्नो नामसँग जोडेर प्रचार गरिएकोप्रति ध्यानाकर्षण गराउँदै उनले त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थनका रूपमा नलिन आग्रह गरे । उनले कुनै पनि अफवाहमा नलाग्नसमेत महाधिवेशन प्रतिनिधिहरूलाई भनेका छन् । थापाले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यानमा राखेर स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न आग्रह गरेका छन् । उनले यसपटकको निर्वाचनलाई पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक अभ्यासका रूपमा व्याख्या गर्दै प्रतिनिधिहरूलाई मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले सहभागी हुन आह्वान गरेका छन् । बिहीबारका लागि तय भएको निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो भएको उल्लेख गर्दै थापाले त्यसबाट महाधिवेशन प्रतिनिधिहरूमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेका छन् । प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले पार्टी सङ्गठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।

४ जना जनप्रतिनिधिले छाडे नेकपा एमाले

काठमाडौं । नेकपा एमालेबाट दल त्याग गरेको भन्दै निर्वाचन आयोगले चार जना स्थानीय जनप्रतिनिधिको पद रिक्त भएको घोषणा गरेको छ । आयोगले २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भएका भोजपुर र कपिलवस्तुका चार जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । आयोगका अनुसार भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पा र वडा नम्बर ८ का अध्यक्ष नवीन प्रधानको पद रिक्त भएको छ । त्यस्तै, कपिलवस्तुको विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी र वडा नम्बर ५ का अध्यक्ष अनवर मोमम्द मुसलमानको पदसमेत रिक्त भएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको जानकारी सम्बन्धित दलको केन्द्रीय समितिले आयोगलाई गराउनुपर्ने व्यवस्था छ । एमालेको केन्द्रीय सचिवालयको निर्णयको प्रतिलिपिसहित ती जनप्रतिनिधिले पार्टीको विधानविपरीत कार्य गरी दल परित्याग गरेको जानकारी आयोगमा प्राप्त भएको थियो । सोही आधारमा आयोगले असोज २२ गते उनीहरू निर्वाचित भएका स्थानीय तहका पद रिक्त भएको निर्णय गरेको जनाएको छ ।