काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारको सूचीलाई आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएपछि थापाले पार्टीभित्र कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पारेका हुन् ।
विभिन्न उम्मेदवारको सूचीलाई आफ्नो नामसँग जोडेर प्रचार गरिएकोप्रति ध्यानाकर्षण गराउँदै उनले त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थनका रूपमा नलिन आग्रह गरे । उनले कुनै पनि अफवाहमा नलाग्नसमेत महाधिवेशन प्रतिनिधिहरूलाई भनेका छन् ।
थापाले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यानमा राखेर स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न आग्रह गरेका छन् ।
उनले यसपटकको निर्वाचनलाई पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक अभ्यासका रूपमा व्याख्या गर्दै प्रतिनिधिहरूलाई मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले सहभागी हुन आह्वान गरेका छन् ।
बिहीबारका लागि तय भएको निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो भएको उल्लेख गर्दै थापाले त्यसबाट महाधिवेशन प्रतिनिधिहरूमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेका छन् ।
प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले पार्टी सङ्गठनलाई नयाँ उचाइमा पुर्याउने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।