काठमाडौं । नेकपा एमालेबाट दल त्याग गरेको भन्दै निर्वाचन आयोगले चार जना स्थानीय जनप्रतिनिधिको पद रिक्त भएको घोषणा गरेको छ ।
आयोगले २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भएका भोजपुर र कपिलवस्तुका चार जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।
आयोगका अनुसार भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पा र वडा नम्बर ८ का अध्यक्ष नवीन प्रधानको पद रिक्त भएको छ । त्यस्तै, कपिलवस्तुको विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी र वडा नम्बर ५ का अध्यक्ष अनवर मोमम्द मुसलमानको पदसमेत रिक्त भएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको जानकारी सम्बन्धित दलको केन्द्रीय समितिले आयोगलाई गराउनुपर्ने व्यवस्था छ ।
एमालेको केन्द्रीय सचिवालयको निर्णयको प्रतिलिपिसहित ती जनप्रतिनिधिले पार्टीको विधानविपरीत कार्य गरी दल परित्याग गरेको जानकारी आयोगमा प्राप्त भएको थियो ।
सोही आधारमा आयोगले असोज २२ गते उनीहरू निर्वाचित भएका स्थानीय तहका पद रिक्त भएको निर्णय गरेको जनाएको छ ।