विकासन्युज

दशैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन

काठमाडौं । दशैंमा घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि अग्रिम बस टिकट बुकिङ खुला गरेको छ । टिकट पाउन सहज हुने अपेक्षासहित यात्रुहरू गएरातिदेखि नै काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टरमा लाइन बसेका छन् । यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरबीच असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । केही जिल्लाका यात्रु भने टिकट लिन बिहीबार रातिदेखि नै लाइनमा बसेका छन् । नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार सुदूरपश्चिमका विभिन्न जिल्लामा जाने यात्रु बिहीबार राति ९ बजेदेखि नै टिकट काउन्टर अगाडि लाइनमा बसेका थिए । दशैंको अग्रिम टिकट बुकिङलाई व्यवस्थित बनाउन लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ वटा काउन्टर थप गरेको जनाएको छ । यात्रुको चापलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा प्रबन्धसमेत मिलाइएको कम्पनीले जनाएको छ ।

नयाँ कार्यसमिति चयनका लागि आज मतदान, ७ हजार ३१७ प्रतिनिधिले मत हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज शुक्रबार मतदान हुँदैछ । बिहीबारका लागि तय गरिएको मतदान आवश्यक तयारी पूरा नभएको भन्दै आजका लागि सारिएको हो । निर्वाचन समितिले आज बिहान ७ बजेदेखि मतदान सुरु हुने जनाएकाे छ । आवश्यक तयारी पूरा भए पनि साँझ मतदान सुरु गर्दा रातिको समयमा मतदातालाई कठिन हुने भएकाले बिहानदेखि मतदान गर्ने निर्णय गरिएको हाे ।  महाधिवेशनमा ७ हजार ३१७ जना प्रतिनिधि सहभागी छन् । प्रत्येक प्रतिनिधिले २३ वटा मतपत्रमा मतदान गर्नुपर्नेछ । मतदानस्थल निर्माणमा संलग्न व्यक्तिहरूका अनुसार एक जनालाई मतदान गर्न करिब ३० मिनेट लाग्ने अनुमान छ । बिहान ७ बजेदेखि मतदान सुरु भए दिउँसो ३ बजेसम्म सम्पन्न हुने निर्वाचन समितिको अनुमान छ । निर्वाचन समितिले मतदानका लागि प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र खुलामञ्चमा मतदान केन्द्र स्थापना गरेको छ । राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । खुलामञ्चमा भने बाँकी छ प्रदेशका साथै विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । खुलामञ्चस्थित तराई–मधेश हलमा कोशी र मधेश प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । हिमाल हलमा गण्डकी प्रदेशका प्रतिनिधिका लागि मतदानको व्यवस्था गरिएको छ । त्यस्तै, पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै जनसम्पर्क समितिबाट आएका प्रतिनिधिले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ । मतदानअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ । रुजु प्रक्रिया पूरा भएपछि मात्रै मतदान गर्न दिइने समितिले जनाएको छ । मतदान सम्पन्न भएपछि मतपेटिका सङ्कलन गरी ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा लगिने र त्यहीँ मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।

महिला चिकित्सकलाई वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान अभिवृद्धि गर्न साक्षरता कार्यक्रम

काठमाडौं । कामना सेवा विकास बैंकको सहकार्यमा नेपाल चिकित्सक संघले महिला चिकित्सकका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल चिकित्सक संघको आयोजनामा बिहीबार सम्पन्न भएको कार्यक्रममा ६० भन्दा बढी महिला चिकित्सकको सहभागिता थियो ।  कार्यक्रममा वित्तीय व्यवस्थापन, बजेट निर्माण, बचत, लगानी तथा कर व्यवस्थापनसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने विषयमा प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो । नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षकहरूले प्रस्तुतीकरण, अन्तरक्रिया तथा व्यावहारिक सहजीकरणमार्फत सहभागी चिकित्सकलाई वित्तीय व्यवस्थापनका विभिन्न पक्षबारे जानकारी दिएका थिए । कार्यक्रमको सुरुवात गर्दै डा. सुजिता हिराचनले चिकित्सकका लागि वित्तीय व्यवस्थापन, बजेट निर्धारण तथा कर व्यवस्थापनको आवश्यकता र महत्त्वबारे प्रकाश पारेकी थिइन् । कार्यक्रममा वित्तीय साक्षरतासम्बन्धी विषयमा डा. अनुपमा सङ्ग्रौला तथा कामना सेवा विकास बैंकका डिजिटल अपरेसन विभाग प्रमुख जिनुसा पलिखे श्रेष्ठ र कर्जा अधिकृत सूर्यकान्त न्यौपानेले सहजीकरण गरेका थिए ।  उनीहरूले व्यक्तिगत वित्तीय योजना, बजेट निर्माण, बचत, लगानी, कर व्यवस्थापन तथा दीर्घकालीन वित्तीय सुरक्षालगायत विषयमा व्यावहारिक जानकारी दिएका थिए । कार्यक्रममा अध्यक्ष डा. रिजालले चिकित्सकले आफ्नो पेसासँगै वित्तीय व्यवस्थापनलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताए । उनले चिकित्सकको व्यावसायिक जीवनसँगै व्यक्तिगत तथा पारिवारिक आर्थिक सुरक्षाका लागि वित्तीय ज्ञान र व्यवस्थित वित्तीय योजना महत्त्वपूर्ण रहेको उल्लेख गरे । कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा कामना सेवा विकास बैंकसहित सम्बन्धित सबै पक्षलाई उनले धन्यवाद दिए । कार्यक्रम संयोजक डा. निशा आचार्यले महिला चिकित्सकका लागि वित्तीय साक्षरता महत्त्वपूर्ण र आवश्यक विषय भएकाले यस्ता कार्यक्रमले आर्थिक निर्णय क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताइन् । महिला चिकित्सकको व्यावसायिक विकाससँगै आर्थिक सशक्तीकरण र वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले सहभागीलाई आम्दानीको उचित व्यवस्थापन, भविष्यका लागि वित्तीय योजना निर्माण तथा आर्थिक निर्णय लिन थप सक्षम बनाउने बैंकले विश्वास व्यक्त गरेको छ । कामना सेवा विकास बैंकले वित्तीय पहुँच, वित्तीय साक्षरता तथा वित्तीय समावेशीकरण अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।  आगामी दिनमा पनि नेपाल सरकारले लिएको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी यस्ता कार्यक्रमलाई निरन्तरता दिने बैंकले प्रतिबद्धता जनाएको छ ।

युक्रेन : यात्रुबाहक बसमा रुसी हमला, ३३ जनाको मृत्यु

काठमाडौं । युक्रेनको क्रामातोर्स्क सहरमा यात्रुबाहक दुई बसलाई लक्षित गरी रुसी ग्लाइड बम हमला भएको छ । उक्त हमलामा ३३ जनाको मृत्यु भएको र १८ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् । डोनेत्स्क क्षेत्रका प्रमुख वादिम फिलाश्किनका अनुसार रुसी सेनाले सर्वसाधारण यात्रु सवार बसलाई निशाना बनाएर हमला गरेको हो ।  उनले धेरैभन्दा धेरै सर्वसाधारणको ज्यान लिने उद्देश्यले बसलाई लक्षित गरिएको आरोप लगाएका छन् । स्थानीय अधिकारीहरूले सार्वजनिक गरेका तस्बिरमा सडकमा छरिएको भग्नावशेष र आगलागी भएको बस देखिएको छ । क्रामातोस्र्क र छिमेकी सहर स्लोभियांस्क रुसी सेनाले कब्जा गर्ने प्रयास गरिरहेको किल्लाबन्दी गरिएको क्षेत्रमा पर्छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको औद्योगिक क्षेत्र डोनबासमाथि आफ्नो दाबी गर्दै आएका छन् । रुसले भने पछिल्लो हमलाबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । यो घटना युक्रेनभर रुसी हमलामा वृद्धि भइरहेका बेला भएको हो । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२६ को अगस्टसम्म युक्रेनमा रुसी हमलामा मारिएका सर्वसाधारणको संख्या सन् २०२५ को पूरै वर्षमा मारिएका सर्वसाधारणको संख्याभन्दा बढी भइसकेको थियो ।

डोलेश्वर भिलेजको ११ औं साधारणसभा सम्पन्न, १६ लाख कित्ता आईपीओ ल्याउने

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आफ्नो जारी पुँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।  कम्पनीले १६ लाख २० हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदनसमेत दिइसकेको जनाएको छ । बिहीबार सम्पन्न कम्पनीको ११औं वार्षिक साधारणसभाले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव अघि बढाएको हो । साधारणसभाले रामनाथ मैनाली, बुद्धिप्रसाद पोखरेल, डोरबहादुर भण्डारी, सृष्टि पोखरेल, छविलाल लुइँटेल र ध्रुवराज पोख्रेललाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ ।  निर्वाचित सञ्चालक समितिको पहिलो बैठकले रामनाथ मैनालीलाई अध्यक्ष तथा टिकाध्वज भण्डारीलाई स्वतन्त्र सञ्चालकमा चयन गरेको छ । २०७२ सालदेखि सञ्चालनमा रहेको रिसोर्टले आईपीओबाट प्राप्त पुँजीलाई व्यवसाय विस्तार तथा पूर्वाधार विकासमा परिचालन गर्ने योजना बनाएको छ ।  कम्पनीले रिसोर्टलाई चारतारे स्तरमा स्तरोन्नति गर्दै थप आवासीय कोठा, स्विमिङ पुल, स्पा, ज्याकुजी, सेमिनार हल तथा मनोरञ्जन क्षेत्र विस्तार गर्ने जनाएको छ । कम्पनीले पर्यटन व्यवसायसँगै कृषि, ऊर्जा, उद्योग, पूर्वाधार, स्वास्थ्य, शिक्षा लगायतका उत्पादनशील क्षेत्रमा समेत लगानी विस्तार गर्ने लक्ष्य लिएको छ । यसबाट व्यवसायको दायरा विस्तार गर्दै शेयरधनीलाई उचित प्रतिफल दिने कम्पनीको योजना छ ।

बालबालिकाको आँखा समयमै जाँच्न तीलगंगा प्रतिष्ठानको आग्रह

काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानले बालबालिकाको दृष्टि जोगाउन जन्मेदेखि नै नियमित रूपमा आँखा परीक्षण गराउन आग्रह गरेको छ । विश्व दृष्टि दिवस २०२६ को अवसरमा प्रतिष्ठानले बिहीबार विज्ञप्ति जारी गर्दै बालबालिकामा देखिने आँखाका समस्या समयमै पहिचान गरी उपचार गर्न सके दृष्टि जोगाउन सकिने जनाएको हो । प्रतिष्ठानका अनुसार विश्वभर कम्तीमा २ अर्ब २० करोड मानिस कुनै न कुनै प्रकारको दृष्टि दुर्बलताबाट प्रभावित छन् । तीमध्ये करिब १ अर्ब व्यक्तिको दृष्टि समस्या रोकथाम गर्न सकिने वा उपचारमार्फत सम्बोधन गर्न सकिने अवस्था रहेको छ ।  सम्बोधन हुन नसकेको दृष्टि दुर्बलता वा अन्धोपन भएका व्यक्तिमध्ये करिब ९० प्रतिशत न्यून तथा मध्यम आय भएका मुलुकमा रहेका छन् । नेपालमा कुल जनसंख्याको ०.२८ प्रतिशतमा कुनै न कुनै प्रकारको अन्धोपना रहेको प्रतिष्ठानले जनाएको छ ।  ५० वर्षभन्दा माथिको जनसंख्यामा यो दर १.०५ प्रतिशत रहेको छ । पुरुषको तुलनामा महिलामा अन्धोपनको समस्या बढी देखिएको पनि प्रतिष्ठानको भनाइ छ । नेपालमा अन्धोपना तथा गम्भीर दृष्टि दोषका प्रमुख कारणमा मोतीविन्दु, दृष्टिदोष, आँखाको नानीमा फुलो पर्ने समस्या, जलविन्दु र मधुमेहका कारण हुने आँखाका रोग रहेका छन् । बालबालिकामा पनि कम उमेरमै आँखासम्बन्धी समस्या देखिन थालेको प्रतिष्ठानले जनाएको छ । प्रविधिको बढ्दो प्रयोगसँगै दृष्टिदोषका कारण चश्मा प्रयोग गर्नुपर्ने बालबालिकाको संख्या बढिरहेको छ ।  समयअगावै जन्मिएका शिशुमा देखिने रेटिनोपेथी अफ प्रिम्याचुरिटी, आँखाको क्यान्सर, जन्मजात मोतीविन्दु, जलविन्दु लगायतका समस्या पनि बालबालिकामा देखिन सक्ने प्रतिष्ठानले जनाएको छ । यी समस्या समयमै पहिचान र उपचार गर्न सके बालबालिकाको दृष्टि जोगाउन सकिने भएकाले नियमित आँखा परीक्षणमा जोड दिइएको छ । प्रतिष्ठानले बच्चा जन्मिएको एक महिनामा, विद्यालय भर्ना गर्नुअघि र त्यसपछि प्रत्येक वर्ष अनिवार्य रूपमा आँखा परीक्षण गराउन अभिभावकलाई आग्रह गरेको छ । आँखा रातो हुने, डेढो हुने, धमिलो देख्ने, दुख्ने, लगातार चिप्रा लाग्ने वा आँसु बग्ने, आँखाको आकार सामान्यभन्दा सानो वा ठूलो हुने तथा आँखाको कालो भागमा सेतो देखिने जस्ता समस्या देखिए तत्काल नजिकको आँखा केन्द्र वा अस्पतालमा परीक्षण गराउनसमेत प्रतिष्ठानले अनुरोध गरेको छ ।  त्यसैगरी, आँखामा चोटपटक लागेको, समयअगावै वा कम तौलमा बच्चा जन्मिएको अवस्थामा पनि सकेसम्म छिटो आँखा जाँच गराउनुपर्ने जनाएको छ । विश्व दृष्टि दिवसको अवसरमा प्रतिष्ठानले साताव्यापी रूपमा विद्यालय तथा समुदायमा सचेतनामूलक कार्यक्रम र आँखा शिविर सञ्चालन गरेको थियो ।  काठमाडौंसहित देशभरका सामुदायिक आँखा अस्पताल, सर्जिकल आँखा केन्द्र तथा सामुदायिक आँखा केन्द्रमार्फत विद्यालय आँखा परीक्षण शिविर, निजामती कर्मचारीका लागि आँखा परीक्षण, कारागारमा रहेका कैदीबन्दी तथा कर्मचारीका लागि आँखा जाँच र सचेतनामूलक र्‍यालीलगायत कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । आँखा परीक्षणपछि आवश्यकताअनुसार निःशुल्क औषधी तथा चश्मा वितरण गर्नुका साथै मोतीविन्दुका बिरामीका लागि निःशुल्क शल्यक्रिया तथा आँखा परीक्षणसमेत गरिएको प्रतिष्ठानले जनाएको छ । आँखामा लाग्ने चोटपटक र बालबालिकामा हुने आँखाका समस्याबारे जनचेतना अभिवृद्धि गर्न अडियो–भिडियो तथा अन्य प्रचार सामग्री तयार गरी सामाजिक सञ्जाल र समुदायमा प्रसारण गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

बुढानीलकण्ठबाट २० किलो बढी सुन बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको बुढानीलकण्ठबाट २० किलो बढी सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बिहीबार (आज) सुन बरामद गरेको हो । प्रहरीले विशेष सूचनाको आधारमा सुन बरामद गरेको जनाएको छ । बरामद सुनमध्ये ११ किलो तयारी अवस्थाको र १० किलो बढी प्रशोधन गर्ने तयारीमा राखिएको अवस्थामा फेला परेको हो । शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर थप जानकारी गराउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

‘विश्व लगानीकर्ता सप्ताह’ मा ग्लोबल आइएमई क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । धितोपत्र तथा पुँजी बजारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रम बुधबार भरतपुर महानगरपालिकास्थित बोस्टन इन्टरनेशनल कलेजमा सञ्चालन गरिएको हो । कार्यक्रममा कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो ।  कार्यक्रममा सहभागी विद्यार्थीलाई धितोपत्र बजार, सेयर लगानीका आधारभूत सिद्धान्त, जोखिम व्यवस्थापन तथा सुरक्षित लगानीका उपायबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो । कार्यक्रममार्फत विद्यार्थीलाई पुँजी बजारका आधारभूत पक्ष, लगानी गर्दा अपनाउनुपर्ने सावधानी तथा जोखिम पहिचान र व्यवस्थापनका विषयमा जानकारी गराइएको क्यापिटलले जनाएको छ । ग्लोबल आइएमई क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व र पूँजी बजारको दीगो विकासलाई ध्यानमा राख्दै आगामी दिनमा पनि यस्ता वित्तीय साक्षरता तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।  यस्ता कार्यक्रमले पुँजी बजारसम्बन्धी ज्ञान र सचेतना अभिवृद्धिमा योगदान पुग्ने क्यापिटलको विश्वास छ ।