क्यानडाकी कवयित्री एनी कार्सनले पाइन् साहित्यतर्फको नोबेल पुरस्कार
काठमाडौं । क्यानडाकी कवयित्री तथा निबन्धकार एनी कार्सनलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । ७६ वर्षीया कार्सन कविता, कथा साहित्य र शैक्षिक अध्ययनबीचका सीमालाई प्रायः पार गर्ने आफ्ना सिर्जनाका लागि प्रसिद्ध छन् । नोबेल पुरस्कार समितिले समकालीन साहित्यका लागि नयाँ रूपहरू स्थापना गर्दै शास्त्रीय परम्परासँग रोचक संवाद गर्ने उनका साहसी र सिर्जनात्मक साहित्यिक कृतिका लागि पुरस्कार प्रदान गरिएको जनाएको छ । नोबेल पुरस्कार कुनै लेखकको समग्र साहित्यिक योगदानका लागि प्रदान गरिन्छ । यसलाई विश्व साहित्यको सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ । पुरस्कारसँगै विजेताले १२ लाख अमेरिकी डलर प्राप्त गर्नेछन् । कार्सनका प्रमुख कृतिमा ‘द ग्लास एसे’, ‘अटोबायोग्राफी अफ रेडः अ नोभेल इन भर्स’, ‘नक्स’, ‘फ्लोट’ र ‘द ब्यूटी अफ द हसब्यान्डः अ फिक्सनल एसे इन २९ ट्याङ्गोज’ पर्छन् । कार्सनले प्राचीन युनानी साहित्यका कृतिहरूको अनुवादसमेत गरेकी छन् । उनी ३० वर्षभन्दा बढी समयसम्म क्लासिक्स अर्थात् प्राचीन युनानी तथा रोमन साहित्य र संस्कृतिकी प्राध्यापकका रूपमा कार्यरत थिइन् ।
प्रदूषणको जोखिम बुझेका काठमाडौंबासी, भरपर्दो तथ्यांकबाट भने टाढा
काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश बासिन्दाले वायु प्रदूषणलाई स्वास्थ्यका लागि गम्भीर जोखिमका रूपमा बुझे पनि आफूले श्वास फेर्ने हावाको गुणस्तरबारे भरपर्दो तथ्यांकमा पहुँच भने कमजोर रहेको एक सर्वेक्षणले देखाएको छ । सन् २०२६ मा स्थापना भएको गैरनाफामूलक संस्था ताजा इनिसिएटिभ नेपालले काठमाडौं उपत्यकाका १ हजार २ सय बासिन्दामाझ गरेको सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणमा सहभागीमध्ये ८१.२ प्रतिशतले उपत्यकाको वायु प्रदूषणलाई स्वास्थ्यका लागि हानिकारकदेखि अत्यन्त हानिकारक रहेको बताएका छन् । तर वायु गुणस्तर जाँच्ने गरेका उत्तरदातामध्ये ९४.१ प्रतिशतले आधिकारिक तथ्यांक वा निगरानी प्रणालीको सट्टा गन्ध, दृश्यता र आँखामा हुने जलनजस्ता आफ्नै इन्द्रियमा निर्भर हुने बताएका छन् । सर्वेक्षणअनुसार ५२.३ प्रतिशत बासिन्दाले आफ्नो स्थानीय वायुको गुणस्तर खराबदेखि अति खराब रहेको मूल्यांकन गरेका छन् । सहरी केन्द्रमा यो धारणा अझ बढी देखिएको छ । ललितपुरमा ६०.९ प्रतिशत, काठमाडौंमा ५९.२ प्रतिशत र भक्तपुरमा ५६ प्रतिशतले स्थानीय वायुको गुणस्तरलाई नकारात्मक रूपमा मूल्यांकन गरेका छन् । उत्तर काठमाडौंमा भने यस्तो धारणा राख्नेको संख्या ३५.९ प्रतिशत छ । वायु गुणस्तर जाँच्ने ज्ञानमा शैक्षिक स्तरअनुसार ठूलो अन्तर देखिएको छ । प्राथमिक शिक्षा वा सोभन्दा कम शिक्षा भएका उत्तरदातामध्ये १०.८ प्रतिशतले मात्र वायु गुणस्तर कसरी जाँच्ने भन्ने थाहा भएको बताएका छन् । स्नातकोत्तर वा सोभन्दा माथिको शैक्षिक योग्यता भएकामा यस्तो दर ६३ प्रतिशत छ । युवा पुस्तामा डिजिटल माध्यमबाट वायु गुणस्तर निगरानी गर्ने प्रवृत्ति तुलनात्मक रूपमा बढी भए पनि समग्र पहुँच भने न्यून देखिएको छ । १८ देखि २४ वर्ष उमेर समूहका वायु गुणस्तर सक्रिय रूपमा ट्र्याक गर्ने उत्तरदातामध्ये ६०.३ प्रतिशतले वेबसाइट र ४२.५ प्रतिशतले मोबाइल एप प्रयोग गर्ने बताएका छन् । तर वेबसाइट र एप प्रयोग गर्नेको हिस्सा सो उमेर समूहका क्रमशः १४.१ प्रतिशत र १० प्रतिशतमा मात्र सीमित छ । सर्वेक्षणले मोटर सवारीसाधन र यातायातबाट निस्कने धुवाँलाई ९८.६ प्रतिशतले वायु प्रदूषणको प्रमुख स्रोत मानेको देखाएको छ । त्यस्तै, ९४.८ प्रतिशतले सडक निर्माणबाट उत्पन्न धुलोलाई वायु प्रदूषणको महत्त्वपूर्ण कारणका रूपमा औंल्याएका छन् । वायु प्रदूषण नियन्त्रणका लागि सरकारी तथा संस्थागत उपायप्रति पनि ठूलो जनसमर्थन देखिएको छ । ७९.९ प्रतिशतले सार्वजनिक यातायात विस्तार र विद्युतीय गतिशीलतालाई समर्थन गरेका छन् भने ७१.५ प्रतिशतले कडा धुलो नियन्त्रण तथा सहरी हरियाली प्रवद्र्धनको पक्षमा मत दिएका छन् । तर ७०.४ प्रतिशत उत्तरदाताले वायु प्रदूषण न्यूनीकरणका लागि भइरहेका सरकारी प्रयासप्रति असन्तुष्टि व्यक्त गरेका छन् । व्यक्तिगत तहमा भने प्रदूषणबाट बच्ने उपायको प्रयोग कमजोर देखिएको छ । ८२ प्रतिशतले सर्जिकल मास्क वा स्कार्फ प्रयोग गर्ने बताएका छन् । तर ४३.४ प्रतिशतले वायु प्रदूषणबाट आफूलाई जोगाउन कुनै पनि व्यक्तिगत कदम नचालेको बताएका छन् । वायु प्रदूषणले काठमाडौं उपत्यका छाड्ने सोचमा समेत प्रभाव पार्न थालेको सर्वेक्षणले देखाएको छ। उपत्यका छाड्ने विचार गरिरहेका ७.२ प्रतिशत उत्तरदातामध्ये ३९.१ प्रतिशतले खराब वायु गुणस्तरलाई त्यसको कारण बताएका छन् । आर्थिक दबाब र महँगी ४७.८ प्रतिशतसहित पहिलो कारण रहेको छ । ताजा इनिसिएटिभ नेपालकी कार्यकारी निर्देशक रोशनी गिरीले सर्वेक्षणले काठमाडौंवासीमा वायु प्रदूषणबारे चासो भए पनि भरपर्दो सूचनामा पहुँचको ठूलो खाडल रहेको देखाएको बताइन् । उनका अनुसार पाँचमध्ये चार बासिन्दाले हावा स्वास्थ्यका लागि हानिकारक रहेको स्वीकार गरे पनि अधिकांश मानिस आफूले श्वास फेर्ने हावाको अवस्था बुझ्न वैज्ञानिक तथ्यांकभन्दा आफ्नै इन्द्रियमा निर्भर हुनुपर्ने अवस्था छ । दशमध्ये करिब छ जनालाई प्रदूषणको स्तर कसरी जाँच्ने भन्ने जानकारीसमेत नरहेको उनले बताइन् । संस्थाले आगामी चरणमा काठमाडौं उपत्यकामा वायु गुणस्तरसम्बन्धी अनुसन्धान विस्तार गर्ने, सर्वसाधारणका लागि सहज र पहुँचयोग्य डेटा प्लेटफर्म विकास गर्ने तथा वायु गुणस्तरसम्बन्धी साक्षरता कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । संस्थाका अनुसार भरपर्दो र बुझ्न सकिने वायु गुणस्तरसम्बन्धी सूचना सर्वसाधारणसम्म पुर्याएर प्रदूषणको वास्तविक अवस्था बुझ्न, सचेत निर्णय लिन र वायु गुणस्तर सुधारका प्रयासमा नागरिकको अर्थपूर्ण सहभागिता बढाउन सहयोग गर्ने लक्ष्य राखिएको छ ।
सञ्चालनमा आएको ८ महिनामा रमाडाको आम्दानी ४ करोड, १.६६ अर्बमा नयाँ होटल खोल्दै बस्नेत
काठमाडौं । ग्रान्ड सेन्ट्रल होटल लिमिटेडले सञ्चालनमा आएको पहिलो आर्थिक वर्ष २०८२/८३ मा ४ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सुनसरीको इटहरीमा ८० कोठाको पाँचतारे होटल सञ्चालन गरिरहेको छ । कम्पनीले ‘रमाडा बाई विन्डह्याम इटहरी पशुपति मार्ग’ नाममा होटल सञ्चालन गरिरहेको हो । होटल सञ्चालनका लागि कम्पनीले विन्डह्याम होटल एसिया प्यासिफिक कम्पनी लिमिटेडसँग ब्रान्ड सञ्चालनसम्बन्धी सम्झौता गरेको छ । सम्झौताअनुसार होटल अन्तर्राष्ट्रिय ब्रान्ड ‘रमाडा बाई विन्डह्याम’ अन्तर्गत सञ्चालनमा रहेको छ । कम्पनीले सन् २०२६ फेब्रुअरीदेखि होटलको व्यावसायिक सञ्चालन सुरु गरेको हो । कम्पनीमा देशबन्धु बस्नेतको ९९ प्रतिशतभन्दा बढी स्वामित्व रहेको छ । विन्डह्याम विश्वका ठूला होटल फ्रेन्चाइज समूहहरूमध्ये एक हो । समूहअन्तर्गत ९० भन्दा बढी देशमा ९ हजारभन्दा बढी होटल रहेको कम्पनीले जनाएको छ । ग्रान्ड सेन्ट्रलको प्रमुख सकारात्मक पक्ष यसको रणनीतिक स्थानलाई मानिएको छ । भारत-नेपाल सीमाबाट करिब ३० किलोमिटरको दूरीमा रहेकाले भारतीय पर्यटकलाई लक्षित गरी व्यवसाय विस्तार गर्न सक्ने सम्भावना रहेको छ । विशेषगरी मनोरञ्जन, घुमफिर तथा विवाहसम्बन्धी कार्यक्रमका लागि भारतीय ग्राहक आकर्षित गर्न सकिने अपेक्षा गरिएको छ । त्यस्तै, होटल आसपास विभिन्न कर्पोरेट तथा व्यावसायिक प्रतिष्ठान रहेकाले सम्मेलन, बैठक, गोष्ठी तथा अन्य कार्यक्रमबाट समेत व्यवसायिक अवसर सिर्जना गर्न सक्ने देखिएको छ । भारतीय पर्यटक र स्थानीय कर्पोरेट क्षेत्रबाट आउने मागलाई लक्षित गर्न सकेमा होटलले आम्दानीका स्रोत विस्तार गर्न सक्ने अपेक्षा गरिएको छ । तर, होटल सञ्चालनमा आएको करिब ८ महिना मात्रै भएकाले यसको सञ्चालन तथा वित्तीय प्रदर्शन अझै प्रारम्भिक चरणमा रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा होटलको कोठा उपयोग दर १४ प्रतिशत मात्रै रहेको थियो । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा समेत उपयोग दर १३ प्रतिशतमा सीमित रहेको छ । न्यून उपयोग दरका कारण पर्याप्त आम्दानी तथा आन्तरिक नगद प्रवाह सिर्जना गर्न कम्पनीलाई चुनौती देखिएको छ । आगामी दिनमा ऋण तथा सञ्चालन खर्च धान्न कोठा उपयोग दरसँगै औसत कोठा दरमा सुधार ल्याउनुपर्ने देखिएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ३७ करोड रुपैयाँ ऋण लिएको छ । डेढ अर्बभन्दा बढीमा अर्को होटल थप्दै बस्नेत ग्रान्ड सेन्ट्रल होटल सञ्चालनमा ल्याएको केही समयमै देशबन्धु बस्नेतको लगानीको एबी हस्पिटालिटी प्रालिले इटहरीमै १ अर्ब ६६ करोड ४० लाख रुपैयाँ लागतमा विलासी रिसोर्ट तथा ठूलो क्षमताको सम्मेलन केन्द्र निर्माण गरिरहेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका-१६ मा निर्माण हुने परियोजनामा ३० वटा विलासी कोठा तथा भिल्ला, ३ हजार जनासम्म अट्ने सम्मेलन तथा भोज हल, रेस्टुरेन्ट तथा बार, स्पा, पौडी पोखरी र बाहिरी कार्यक्रमका लागि खुला क्षेत्र रहनेछ । पुरानो दरबारको शैली झल्किने विलासी संरचनामा निर्माण गर्न लागिएको परियोजनाले उच्च आय भएका नेपाली तथा भारतीय ग्राहक, गन्तव्य विवाह, कर्पोरेट तथा सरकारी कार्यक्रम, सम्मेलन, प्रदर्शनी तथा ठूला जमघटलाई लक्षित गरेको छ । कम्पनीले परियोजना सन् २०२८ को अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ । एबी हस्पिटालिटी प्रालि सन् २०२२ नोभेम्बर १० मा स्थापना भएको हो । कम्पनीमा बस्नेतको ७४.४७ प्रतिशत र एबी इन्भेस्टमेन्ट होल्डिङ प्रालिको २५.५३ प्रतिशत स्वामित्व रहेको छ । सन् २०२६ सेप्टेम्बर मध्यसम्म कम्पनीको चुक्ता पुँजी १५ करोड ७० लाख रुपैयाँ रहेको छ । परियोजना पूर्व-पश्चिम राजमार्ग र कोशी राजमार्गको प्रमुख जंक्शनमा अवस्थित छ । विराटनगर, धरान तथा नेपाल-भारत सीमाका प्रमुख नाकासँगै विराटनगर विमानस्थलबाट समेत परियोजनामा सहज पहुँच रहनेछ । भारततर्फ बागडोगरा र पूर्णियाजस्ता विमानस्थलसँगको पहुँचलाई समेत लक्षित ग्राहक आकर्षित गर्ने आधारका रूपमा लिइएको छ । तर, १ अर्ब ६६ करोड ४० लाख रुपैयाँ लागतको परियोजनाको निर्माण प्रगति भने प्रारम्भिक चरणमै छ । सन् २०२६ सेप्टेम्बर मध्यसम्म परियोजनाको वित्तीय प्रगति करिब १६ प्रतिशत मात्रै भएको छ । कुल लागतमध्ये हालसम्म २६ करोड १० लाख रुपैयाँ खर्च भएको छ । परियोजनाका लागि आवश्यक जग्गा तथा जग्गा विकासको काम करिब ९८ प्रतिशत सम्पन्न भइसकेको भए पनि मुख्य भौतिक निर्माणको काम अझै सुरु भएको छैन । हाल परियोजनास्थलमा सीमाना पर्खाल निर्माण भइरहेको कम्पनीले जनाएको छ । परियोजनामा ४२ करोड २० लाख रुपैयाँ स्वपुँजी र १ अर्ब २४ करोड १९ लाख रुपैयाँ ऋण लगानी हुने योजना छ । प्रवद्र्धकले हालसम्म करिब १५ करोड ७० लाख रुपैयाँ लगानी गरिसकेका छन् । परियोजनाको ऋण व्यवस्थापन एभरेष्ट बैंकको नेतृत्वमा हुनेछ भने मुक्तिनाथ विकास बैंकको समेत सहकार्य रहनेछ । कुल परियोजना लागतको करिब ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीबाट वित्तीय व्यवस्थापन गर्ने योजना रहेकाले परियोजना सम्पन्न गर्न निर्माण प्रगति, थप स्वपुँजी परिचालन र ऋणको प्रभावकारी व्यवस्थापन महत्वपूर्ण हुने देखिएको छ ।
काठमाडौं–धनगढी उडान १० हजार ८ सयमै भइरहेको बुद्ध एयरको स्पष्टीकरण
काठमाडौं । बुद्ध एयरले धनगढीको एकतर्फी हवाई भाडा १० हजार ८ सय रुपैयाँमै उपलब्ध गराउँदै आएको जनाएको छ । बिहीबार (आज) प्रेस विज्ञप्ति जारी गर्दै बुद्ध एयरले यस्तो जनाएको हो । सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा फोटोशप र एआईको प्रयोग गरी तयार पारिएका भ्रामक स्क्रिनसटप्रति कम्पनीले आपत्ति जनाएको हो । कम्पनीले तोकेको भाडाभन्दा बढी रकम लिएर टिकट बिक्री गरेको पाइएमा सम्बन्धित व्यक्ति वा ट्राभल एजेन्सीमाथि कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ । बाढी–पहिरोका कारण सडक यातायात प्रभावित भएपछि यात्रुलाई सहज र किफायती हवाई सेवा उपलब्ध गराउने उद्देश्यले न्यूनतम भाडादरमा टिकट उपलब्ध गराइएको बुद्ध एयरले जनाएको हो । कम्पनीका अनुसार रसुवा क्षेत्रमा आएको महाविनाशकारी बाढी तथा पहिरोका कारण राजमार्गमा ठूलो क्षति पुगेपछि लामो समयसम्म सडक यातायात अवरुद्ध भएको थियो । त्यसपछि बाटोघाटो सहज नहुन्जेल तथा दशैं र तिहारसम्म न्यूनतम भाडादरमा टिकट उपलब्ध गराउने घोषणा गरिएको थियो । बुद्ध एयरले यही व्यवस्थाअनुसार धनगढीका लागि एकतर्फी टिकट १० हजार ८ सय रुपैयाँमा उपलब्ध गराउँदै आएको जनाएको छ । न्यूनतम भाडादरका कारण अधिकांश दिनका उडानमा टिकट बिक्री भइसकेको पनि कम्पनीको भनाइ छ । बुद्ध एयरले आफ्नो आधिकारिक प्रणाली तथा बिक्री माध्यममा कायम गरिएको भाडादरभन्दा बढी रकम लिएर कुनै व्यक्ति, ट्राभल एजेन्सी वा अन्य माध्यमबाट टिकट बिक्री गरेको पाइएमा त्यस्ता गतिविधिमाथि कडा कदम चालिने पनि स्पष्ट पारेको छ । प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाही अघि बढाइने कम्पनीले जनाएको छ । कम्पनीले यात्रुहरूलाई सामाजिक सञ्जाल वा अन्य अनधिकृत माध्यमबाट फैलाइएका सूचना तथा स्क्रिनसटका आधारमा हवाई भाडाबारे धारणा नबनाउन पनि आग्रह गरेको छ । भाडादर तथा टिकटसम्बन्धी आधिकारिक जानकारीका लागि बुद्ध एयरको वेबसाइट, मोबाइल एप तथा आधिकारिक बिक्री माध्यम प्रयोग गर्न कम्पनीले अनुरोध गरेको छ ।
९.७७ प्रतिशतले बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति ?
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले बृद्धि भएको हो । बिहीबार (आज) बसेको त्रिवि सभाले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजारको बजेट विनियोजन गरेको छ । विश्वविद्यालयको ६७ औं सभामा रजिष्ट्रार डा. रविन्द्र सिवाकोटीले प्रस्तुत गरेको उक्त बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा नौ दशमलव ७७ प्रतिशतले बढी हो । विश्वविद्यालयले प्रस्ताव गरेको कुल बजेटमध्ये ४९ दशमलव ३८ प्रतिशत अर्थात १५ अर्ब २४ करोड २७ लाख ५ हजार आन्तरिक स्रोतबाट र ५० दशमलव ६२ प्रतिशत अर्थात् रु १५ अर्ब ६२ करोड ८४ लाख ३ हजार नेपाल सरकारबाट बेहोर्ने अनुमान गरेको छ । तर, चालु आर्थिक वर्षका लागि नेपाल सरकारले त्रिविलाई ७ अर्ब ३१ करोड ६ लाख ५६ हजार मात्र अनुदान विनियोजन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा रु ४ अर्ब ८० करोड कम हो । शिक्षक तथा कर्मचारीको तलब वृद्धि र प्रोत्साहन भत्ताबाट थप दायित्व सिर्जना हुने भएकाले विश्वविद्यालयलाई कुल ८ अर्ब ३१ करोड ७७ लाख ४७ हजार अपुग हुने त्रिविले जनाएको छ । विश्वविद्यालयका अनुसार उक्त रकम सरकारले उपलब्ध नगराए अनिवार्य दायित्वअन्तर्गतका खर्चसमेत धान्न कठिन हुने अवस्था छ । आवश्यक रकमको व्यवस्था गर्न नेपाल सरकारसँग पहल भइरहेको त्रिविले जनाएको छ । विश्वविद्यालयले अपुग रकम व्यवस्था गरिदिन प्रधानमन्त्री एवं त्रिविका कुलपतिसमक्ष आग्रहसमेत गरेको छ । प्रस्तावित बजेटमध्ये सञ्चालन खर्चमा ८६ दशमलव १४ प्रतिशत र पुँजीगत खर्चमा १३.८६ प्रतिशत विनियोजन गर्ने प्रक्षेपण गरिएको छ । त्रिविले प्राध्यापक तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम, सेमिनार तथा गोष्ठी सञ्चालन गर्न २१ करोड ७७ लाख ८९ हजार विनियोजन गरेको छ । अनुसन्धान तथा विकासका लागि रु। ४३ करोड ७५ लाख ५२ हजार छुट्याइएको छ। यो कुल बजेटको १.४१ प्रतिशत हो । त्यस्तै, सूचना प्रविधि तथा प्रशासनिक संयन्त्र व्यवस्थापनका लागि ८ करोड विनियोजन गरिएको छ । करार सेवामा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्तरिक स्रोतबाट दिइँदै आएको महँगी भत्ता र चाडपर्व खर्चलाई समेत निरन्तरता दिने व्यवस्था गरिएको त्रिविले जनाएको छ । नेपाल सरकारको निर्णयअनुसार २०८३ श्रावण १ गतेदेखि लागू हुने नयाँ तलबमान र एक दिनको तलबबराबरको ग्रेड रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ । तलब वृद्धि भएपछि कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्तासमेत सोही मितिदेखि लागू गर्ने प्रस्ताव गरिएको छ । यसैगरी, बजेट सीमाभन्दा बढी खर्च गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न आन्तरिक स्रोतबाट अत्यावश्यक खर्च गर्नुपरे सम्बन्धित निकायले केन्द्रीय कार्यालयबाट अनिवार्य पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, त्रिविले विश्वविद्यालय अनुदान आयोगबाट आर्थिक वर्ष २०८२/०८३ मा १६ वटा कार्यक्रमअन्तर्गत प्राप्त अनुदानबाट भएका खर्चलाई समेत अनुमोदन गर्न सभासमक्ष प्रस्ताव गरेको छ । विश्वविद्यालयले नियमित, आन्तरिक र विकास कार्यक्रमका रूपमा बजेट विनियोजन गर्दै शैक्षिक गुणस्तर, अनुसन्धान, प्रविधिको प्रयोग तथा शिक्षक–कर्मचारीको क्षमता विकासलाई प्राथमिकतामा राखेको जनाएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, १०.५२ प्रतिशत लाभांश पारित
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार (आज) सम्पन्न साधारण सभाले सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले हाल कायम चुक्ता पुँजीको ६.५२६३ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैंकका अनुसार ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसा चुक्ता पुँजीको ६.५२६३ प्रतिशत अर्थात् २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ ४७ पैसा नगद लाभांश (करसहित) वितरण गरिनेछ । यस्तै, ४ प्रतिशत अर्थात १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा बराबरको बोनस सेयर वितरण गरिने बैंकले जनाएको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार २४५ रुपैयाँ ७५ पैसा पुग्नेछ । त्यस्तै, साधारण सभाले आगामी चार वर्षका लागि ६ सदस्यीय सञ्चालक समिति निर्विरोध चयन गरेको छ । संस्थापक सेयरधनीका तर्फबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्यामकुमार शर्मा तथा सर्वसाधारण शेयरधनीका तर्फबाट विष्णुप्रसाद ढकाल, कृष्णप्रसाद रेग्मी र भावना अग्रवाल सञ्चालकमा चयन भएका छन् । नवनिर्वाचित सञ्चालक समितिको बैठकले उज्ज्वल सत्याललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्नुका साथै लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र संशोधन तथा मर्जर र प्राप्तिसम्बन्धी प्रस्तावसमेत पारित गरेको छ । बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।
३ करोडभन्दा बढी क्रिप्टो कारोबार गरेका महतो पक्राउ
काठमाडौं । अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा (क्रिप्टो) कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। सर्लाहीको चन्द्रनगर गाउँपालिका ३ घर भएका हाल काठमाडौं महानगरपालिका- ३२ बस्ने २२ वर्षीय बिक्की कुमार महतो पक्राउ परेका हुन् । काठमाडौं जिल्ला प्रहरी परिसकरा अनुसार बुधबार साँझ माइतीघरस्थित सडकमा शंकास्पद अवस्थामा हिँडिरहेको भेटिएपछि महतोलाई रोकी सोधपुछ तथा जाँच गरेको थियो। जाँचका क्रममा उनले विभिन्न माध्यमबाट अनलाइन सट्टेबाजी तथा जुवा खेल्ने–खेलाउने गरेको थियो। अमेरिकी डलरसँग सम्बन्धित डिजिटल मुद्रा लगायत अभौतिक मुद्राको कारोबार गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा महतोले हालसम्म ३ करोड ३८ लाख ८ हजार ३ सय ५० रुपैयाँ ९१ पैसाभन्दा बढीको कारोबार गरेको खुलेको छ। प्रहरीले उनको साथबाट एउटा मोबाइल बरामद गरी अभौतिक मुद्रा तथा सट्टेबाजीसम्बन्धी कसुरमा पक्राउ गरेको हो। उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दशैंका लागि बस सेवामा अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । बस टिकट सेवा प्रदायक बस सेवाले दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ । बस सेवाले बिहीबार (आज)देखि नै अग्रिम बस टिकट बुकिङ खुला गरेको जनाएको छ । यसअघि गत मंगलबार यातायात व्यवस्था विभागले दशैंका लागि २३ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । विभागको निर्णयअनुसार नै बस सेवाले अग्रिम टिकट बुकिङ खुला गरेको हो । विभागले लाइन लागेर टिकट काट्नभन्दा अनलाइन एपहरूमार्फत टिकट बुकिङ गर्न आग्रह समेत गरेको थियो । यही क्रममा बस सेवाले दशैंको समयमा टिकट लिन बसपार्कमा लामो समय लाइन बस्नुपर्ने अवस्थालाई कम गर्दै यस वर्ष ‘लाइनमा बसेर होइन, अनलाइन बसेर टिकट काटौं’ भन्ने सन्देशसहित डिजिटल टिकट बुकिङलाई प्रभावकारी बनाएको जनाएको छ । बस सेवाको मोबाइल एप र वेबसाइडमा लगइन गरी यात्रुले घरमै बसेर आफ्नो गन्तव्य, यात्रा मिति, बस तथा सिट छनोट गर्न सक्नेछन् । यात्रुलाई सुविधा दिन बस सेवाबाट अग्रिम टिकट बुकिङ गर्नेले १०० रुपैयाँसम्मको छुट पाउने बस सेवाका प्रमुख कार्यकारी निर्देशक पीआर खनालले जानकारी दिए । यसबाहेक विभिन्न बैंक तथा डिजिटल भुक्तानी साझेदारमार्फत क्यासब्याक तथा अन्य छुटका अफरहरू समेत सञ्चालनमा रहेको उनको भनाइ छ । बस सेवाले दशैंको यात्रालाई सहज बनाउन लोकप्रिय रुटमा उपलब्ध बस तथा सिटको अवस्थालाई समेत निरन्तर व्यवस्थापन गर्दै आएको जनाएको छ । यात्रुको मागअनुसार थप सेवा तथा सिट उपलब्ध गराउने प्रयास गरिने कम्पनीले जनाएको छ ।