विदेशी विद्यार्थी तान्दै मेडिकल शिक्षाबाट ३० अर्ब कमाउने प्रस्ताव
काठमाडौं । नेपाललाई मेडिकल एजुकेशन तथा मेडिकल टुरिजम हबका रूपमा विकास गर्दै विदेशी विद्यार्थीमार्फत वार्षिक करिब ३० अर्ब रुपैयाँ विदेशी मुद्रा आर्जन गर्न सकिने प्रस्ताव निजी मेडिकल तथा डेन्टल कलेज संघले अघि सारेको छ । संघले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै मेडिकल शिक्षामा रहेका पूर्वाधार र जनशक्तिको पूर्ण उपयोग गर्न सरकारले तत्काल नीतिगत निर्णय लिनुपर्ने माग गरेको हो । संघले विदेशी विद्यार्थी आकर्षित गर्न प्रत्येक मेडिकल कलेजलाई प्रमाणित क्षमताअनुसार विद्यार्थी भर्ना गर्न दिने र विदेशी विद्यार्थीका लागि छुट्टै अन्तर्राष्ट्रिय सत्र सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेको छ । संघका अनुसार हाल नेपालमा विदेशी विद्यार्थीका लागि कुल ३४९ सिट मात्र अनुमति छ । पूर्वाधार तथा जनशक्ति क्षमता भएका मेडिकल कलेजलाई पुनः मूल्यांकन गरी भर्ना क्षमता १५० सिटसम्म पुर्याउन सके वार्षिक करिब ५ हजार विदेशी विद्यार्थी नेपाल ल्याउन सकिने संघको दाबी छ । संघले विदेशी विद्यार्थीबाट प्राप्त शुल्कमध्ये ५०० देखि ६०० सिट बराबरको रकम नेपाली विद्यार्थीका लागि पूर्ण छात्रवृत्तिमा प्रयोग गर्न सकिने जनाएको छ । यसबाट चिकित्सा शिक्षामा नेपाली विद्यार्थीको पहुँच विस्तारसँगै विदेशी मुद्रा आर्जनसमेत बढाउन सकिने संघको भनाइ छ । संघका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमान सिंह कार्कीले निजी मेडिकल कलेजले स्वास्थ्य सेवा, चिकित्सक उत्पादन र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताए । संघका अनुसार निजी क्षेत्रमा हालसम्म करिब १ खर्ब रुपैयाँ लगानी भएको छ भने २० हजारभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना भएको छ । कुल चिकित्सक उत्पादनमा निजी क्षेत्रको योगदान करिब ७० प्रतिशत रहेको संघको दाबी छ । संघले चिकित्सा शिक्षा आयोग गठनअघि केही निजी मेडिकल कलेजले पूर्वाधार तथा प्राध्यापकको क्षमताका आधारमा वार्षिक १५० जना एमबीबीएस विद्यार्थी भर्ना गर्न पाउने गरेको जनाएको छ । आयोग गठनपछि भने सबै कलेजको भर्ना क्षमता १०० मा सीमित हुँदा उपलब्ध पूर्वाधार र जनशक्ति पूर्ण क्षमतामा उपयोग हुन नसकेको संघको भनाइ छ । त्यसैले पूर्वाधार र जनशक्ति क्षमता भएका मेडिकल कलेजको पुनः मूल्यांकन गरी १५० सिटसम्म विद्यार्थी भर्ना गर्न दिनुपर्ने संघको माग छ । साथै विदेशी विद्यार्थीका लागि छुट्टै अन्तर्राष्ट्रिय सत्र सञ्चालन गर्नुपर्ने प्रस्ताव पनि अघि सारिएको छ । संघले चिकित्सा शिक्षाको शुल्कसमेत वैज्ञानिक लागत अध्ययनका आधारमा पुनरावलोकन गर्नुपर्ने माग गरेको छ । संघका अनुसार हाल एमबीबीएसको कुल शुल्क ४२ लाख रुपैयाँ रहे पनि एक विद्यार्थी उत्पादन गर्न वास्तविक लागत ५५ देखि ६५ लाख रुपैयाँसम्म पर्ने गरेको छ । बीडीएसको कुल शुल्क भने २० लाख रुपैयाँ रहेको संघले जनाएको छ । मेडिकल शिक्षाको गुणस्तरबारे उठेको प्रश्नमा संघले विश्वविद्यालयले परीक्षा, उत्तरपुस्तिका मूल्यांकन र नतिजा प्रकाशन गर्ने तथा स्नातकपछि नेपाल मेडिकल काउन्सिलले लाइसेन्स परीक्षा लिने भएकाले मेडिकल कलेजले आफ्नै निर्णयमा विद्यार्थीलाई पास वा फेल गराउन नसक्नेसमेत स्पष्ट पारेको छ । त्यस्तै, संघले मेडिकल कलेजहरूको पारदर्शी क्षमता प्रमाणीकरण, सार्वजनिक गुणस्तर सूचक र श्रेणीकरणको व्यवस्था स्वीकार गर्न तयार रहेको जनाएको छ । त्यस्तै, विदेशी विद्यार्थीबाट प्राप्त आम्दानीको केही हिस्सा नेपाली विद्यार्थीका लागि थप छात्रवृत्ति, सुरक्षित मातृत्व, विपन्न नागरिक उपचार, स्वास्थ्य बीमा तथा निःशुल्क बेड सेवामा उपयोग गर्ने प्रतिबद्धता पनि संघले जनाएको छ । संघले यही भर्ना चक्रबाट सरकारले आवश्यक निर्णय गर्नुपर्नेमा जोड दिएको छ । नयाँ बजेट वा नयाँ संरचना निर्माण गर्नुभन्दा पहिले नै निर्माण भइसकेका पूर्वाधार र उपलब्ध जनशक्तिको पूर्ण उपयोग गर्न सके नेपाललाई मेडिकल एजुकेशन तथा मेडिकल टुरिजम हबका रूपमा विकास गर्न सकिने संघको दाबी छ ।
आन्दोलनरत विद्यार्थीलाई जयनुद्दिन अन्सारीले भने – पढ्नूस्, जीवन नबिगार्नूस्
काठमाडौं । नेशनल मेडिकल कलेजमा विद्यार्थीका मागलाई लिएर आन्दोलन चर्किएपछि कलेजका अध्यक्ष डा. जैनुद्दीन अन्सारीले विद्यार्थीलाई आन्दोलन छाडेर पढाइमा फर्किन आग्रह गरेका छन् । काठमाडौंमा निजी मेडिकल तथा डेन्टल कलेजहरूको छाता संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै अन्सारीले कलेजले विद्यार्थीमाथि शोषण नगरेको दाबी गरे । उनले विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको व्यवस्थाअनुसार नै विद्यार्थीले काम गर्नुपर्ने बताए । अन्सारीले आर्थिक वर्षको अन्त्य भएका कारण यसपटक विद्यार्थीको स्टाइपेन्ड भुक्तानीमा केही ढिलाइ भएको स्वीकार गरे । उनका अनुसार एक महिना ढिला भए पनि बैंकबाट ऋण लिएर भए पनि स्टाइपेन्ड उपलब्ध गराउने तयारी कलेजको छ । ‘आर्थिक वर्षको अन्त्यमा भएकाले यसपल्ट स्टाइपेन्ड अलि ढिला हुन्छ भन्यौं । एक महिना भइसक्यो भने तुरुन्तै बैंकबाट ऋण लिएर भए पनि हामी दिन्छौं,’ उनले भने । विद्यार्थीले सातामा ४६ घण्टाभन्दा बढी काम गराइएको र कामको बोझ रहेको गुनासो गरिरहेका बेला अन्सारीले भने कलेजले ४६ घण्टाभन्दा बढी काम नगराउने दाबी गरे । उनले विद्यार्थीले आफूखुसी कामको सीमा तोक्न नमिल्ने बताए । विश्वविद्यालयले तोकेको व्यवस्थाअनुसार नै विद्यार्थीले काम गर्नुपर्ने उनको भनाइ छ । ‘हामीले शोषण गरेका छैनौं । हप्तामा ४६ घण्टाभन्दा बढी हामी काम गराउँदैनौं । तपाईंहरू पढ्न आउनुभएको हो,’ उनले भने, विश्वविद्यालयले जे भन्छ, त्यहीअनुसार हामी गर्ने हो ।’ विद्यार्थीले चिकित्सा शिक्षा आयोगसम्म पुगेर गुनासो गरेपछि विषय थप गम्भीर बनेको पनि उनले बताए । विश्वविद्यालय र आयोगको निर्देशनअनुसार नै समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ । अन्सारीले विद्यार्थीलाई आन्दोलनका कारण आफ्नो पढाइ र भविष्य प्रभावित नपार्न आग्रह गरे । ‘तपाईंहरू आएर पढ्नूस्, आफ्नो जीवन बर्बाद नगर्नूस्,’ उनले विद्यार्थीहरूलाई आग्रह गरे । कलेजभित्र समस्या भए आन्दोलनमा जानुभन्दा पहिले सम्बन्धित निकायमा गुनासो गर्न पनि उनले आग्रह गरेका छन् । प्रिन्सिपल, शिक्षक, पोस्ट ग्राजुएट गाइड, पोस्ट ग्राजुएट कोअर्डिनेटर वा विभागीय प्रमुखसमक्ष समस्या राखे समाधान हुने उनको दाबी छ । कार्यक्रममा अन्सारीले आफूलाई समेत विद्यार्थीले ‘खडेबाबा’को सूचीमा राखेको प्रसंगसमेत उल्लेख गरे । ‘२२ जनाको नाम खडेबाबा भनेर दिएको छ । त्यसमा मेरो पनि नाम छ । म पनि खडेबाबा हुँ,’ उनले भने ।
नबिल बैंकको ४२औं वार्षिक साधारणसभा सम्पन्न, १५.८० प्रतिशत लाभांश पारित
काठमाडौं । नबिल बैंक लिमिटेडको ४२औं वार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस सेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बिहीबार (आज) सम्पन्न बैंकको साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण सेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो । सभाले अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीका लागि आठ प्रतिशत लाभांशसमेत पारित गरेको छ । साधारणसभा उद्घाटन कार्यक्रममा पहिलो पटक मौलिक संस्कृतिको प्रवर्द्धन गर्दै प्रस्तुति प्रस्तुत गरिएको थियो । साधारणसभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट साधारण सेयरधनीलाई पाँच प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपश्चात बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड नाघेको छ । आर्थिक वर्ष २०८२/८३ मा बैंकले ७ अर्ब ९१ करोड खुद मुनाफा आर्जन गरेको थियो । बैंकले गत आर्थिक वर्षको तुलनामा निक्षेप दायित्व ६९ अर्ब ६७ करोड अर्थात् १३.०६ प्रतिशतले बढेर ६ खर्ब २ अर्ब ९३ करोड पुगेको जनाएको छ । साथै सोही अवधिमा कर्जा तथा सापटी ५१ अर्ब ६८ करोड अर्थात् १२.१५ प्रतिशतले बढेर ४ खर्ब ७६ अर्ब ८७ करोड पुगेको छ । बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा वासलातको आकार १५.३८ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब ७६ करोड पुगेको छ । सभामा अध्यक्ष चौधरीले नबिल बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै बैंकिङ सेवालाई आधुनिकीकरण तथा विस्तार गर्दै आएको बताए । बैंक देश, समाज, सेयरधनी, ग्राहक, नियमनकारी निकाय, कर्मचारीलगायतका विभिन्न सरोकारवालाहरूको अधिकार र चासोको कदर गर्दै अत्यन्त सजग र सन्तुलित व्यवहारमा विश्वास राखेर काम गर्दै आएको र सामाजिक उत्तरदायित्वमा पनि सक्रिय रहेको अध्यक्ष चौधरीले उल्लेख गरे । नबिल बैंक स्थापना गर्दाको चुक्ता पुँजी हाल ९६० गुणाले वृद्धि भएको जनाइएको छ । साधारणसभाले संस्थापक सेयरधनीतर्फबाट सञ्चालक समितिमा निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई निर्विरोध निर्वाचित गरेको छ । नबिल बैंकले देशभर २६२ शाखा तथा ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले २८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ ।
११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
काठमाडौं । राहुघाट जलविद्युत आयोजनाको मर्मतसम्भार ११ दिनमै सम्पन्न गरी विद्युत उत्पादन पुनः सुरु गरिएको छ । असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीबाट विद्युतगृहमा डुबान हुनुका साथै महत्त्वपूर्ण संरचना र उपकरणमा क्षति पुगेको थियो । आवश्यक मर्मतसम्भार तथा प्राविधिक कार्य सम्पन्न गरी आयोजनाको एउटा युनिट (२० मेगावाट) बिहीबारबाट सञ्चालनमा ल्याइएको हो । आयोजनाको विद्युतगृहबाट विद्युत उत्पादनपछि पानीलाई कालीगण्डकी नदीमा पठाउन प्रयोग हुने टेलरेस गेटमा बाढीले क्षति पुर्याएको थियो । त्यसपछि टेलरेसबाट विद्युतगृहभित्र पानी प्रवेश गरी डुबानमा परेको थियो । यसले गर्दा भरखरै निर्माण सम्पन्न भई परीक्षणका रूपमा विद्युत उत्पादन सुरु गरेको आयोजना बन्द भएको थियो । विद्युतगृहमा जम्मा भएको पानी हटाई बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरणको मर्मतसम्भार गरी एउटा युनिट सञ्चालनमा ल्याइएको आयोजनाको प्रवर्धक रघुगंगा हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक गणेश केसीले बताए । ‘बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरणको मर्मतसम्भार गरी ११ दिनमै एउटा युनिटबाट विद्युत उत्पादन सुरु गरेका छौं, अर्को युनिट छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ,’ प्रबन्ध–सञ्चालक केसीले भने । राहुघाट जलविद्युत आयोजनामा २० /२० मेगावाट क्षमताका दुईवटा युनिट रहेका छन् । आयोजनाबाट उत्पादित विद्युत कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले बेहोर्ने
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले बेहोर्ने भएको छ । कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार (आज) पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको काठमाडौं बसाइँको खर्च पार्टीले बेहोर्ने जानकारी दिएका हुन् । श्रेष्ठका अनुसार महाधिवेशन असोज २२ गतेभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर निर्वाचन प्रक्रिया एक दिन लम्बिएपछि प्रतिनिधिहरूको थप एक दिनको बसोबास तथा खानपिन खर्च पार्टीले नै बेहोर्ने भएको हो । उनले महाधिवेशन प्रतिनिधिहरूलाई थप आर्थिक भार नपर्ने गरी पार्टीले आवश्यक व्यवस्थापन गर्ने जानकारी दिए ।
एमालेले मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने, वडा अधिवेशन २६ गते
काठमाडौं । नेकपा एमालेले आगामी मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बिहीबार (आज) बसेको पार्टी स्थायी कमिटी बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । भट्टका अनुसार राष्ट्रिय भेलामा प्रदेश र जिल्ला तहका पदाधिकारीसँगै पालिका अध्यक्ष तथा उपाध्यक्ष, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई सहभागी गराइनेछ । पार्टीको सांगठनिक अवस्था, आगामी कार्यदिशा तथा तल्लो तहसम्मको संगठन परिचालनका विषयमा भेलामा छलफल हुने बताइएको छ । स्थायी कमिटी बैठकले वडा र पालिका तहका अधिवेशनको मिति पनि तय गरेको छ । जसअनुसार मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय भएको भट्टले जानकारी दिए । पालिका तथा वडा अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ । यसबाट एमालेले केन्द्रीय तहसँगै स्थानीय र प्रदेश तहका संगठनलाई सक्रिय बनाउने तयारी अघि बढाएको देखिएको छ । स्थायी कमिटी बैठकमा केन्द्रीय कमिटीको तेस्रो बैठकले सचिवालयलाई प्रत्यायोजन गरेका विभिन्न एजेन्डामाथि समेत छलफल भएको छ । ती विषयमा आवश्यक निर्णय गर्न बैठकलाई निरन्तरता दिइने भएको छ । भट्टका अनुसार स्थायी कमिटीको बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्नेछ ।
समयमै मतपत्र छाप्न नसक्दा भोलिलाई सर्यो कांग्रेसको मतदान
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन तोकिएको समयमा सम्पन्न नहुने भएको छ । मतपत्र छपाइमा ढिलाइ हुँदा महाधिवेशन तोकिएको समयमा नहुने भएको हो । पार्टी प्रवक्ता देवराज चालिसेले हालसम्म मतपत्र छपाइको काम सम्पन्न हुन नसकेको जानकारी दिए । ‘मतपत्र छपाइमा समस्या हुँदा मतदानको सार्नुपर्ने भएको हो,’ उनले भने । बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेलाई तोकिएको थियो । आज मतदान सुरु हुन नसकेपछि भोलि बिहान ७ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिका सदस्य राजु कटुवालले जानकारी दिए ।
रेजिडेन्ट डाक्टरको गुनासो सुन्न मन्त्रालयमा छलफल
काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका समस्या समाधानका लागि सरकारसँग विशेष पहल गर्न आग्रह गरेका छन् । २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरहरूले सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालय पुगेर आफ्ना गुनासा र माग प्रस्तुत गरेका हुन् । मन्त्रालयमा आयोजित छलफलमा पहिलो वर्षमा अध्ययनरत ४० भन्दा बढी रेजिडेन्ट डाक्टरले कलेजमा अध्ययन तथा काम गर्ने क्रममा भोग्दै आएका समस्या मन्त्रालयका उच्च अधिकारीसमक्ष राखेका थिए । रेजिडेन्ट डाक्टरहरूले कलेज व्यवस्थापनबाट विद्यार्थीलाई अनावश्यक दबाब तथा टर्चर दिइएको र अध्ययनका लागि आवश्यक शैक्षिक वातावरण नरहेको आरोप लगाएका छन् । उनीहरूले कलेजमा शान्तिपूर्ण र मर्यादित वातावरण निर्माण गरी अध्ययनमा फर्कने अवस्था बनाउन सरकारसँग आग्रह गरेका छन् । छलफलमा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका उच्च अधिकारी सहभागी थिए । रेजिडेन्ट डाक्टरहरूले आफूहरू सरकारप्रति आशावादी रहेकाले समस्या समाधानको पहलका लागि मन्त्रालयसम्म आएको बताएका छन् । ‘यो सरकारसँग आशा छ, त्यही भएर यहाँसम्म आएका हौं,’ उनीहरूले भने । रेजिडेन्ट डाक्टरहरूले अन्य निजी मेडिकल कलेजमा समेत ‘फेक फाइल’ र ‘फेक फ्याकल्टी’ रहेको दाबी गर्दै त्यसबारे छानबिन गर्न माग गरेका छन् । त्यस्ता गतिविधिमा संलग्न चिकित्सक तथा सम्बन्धित व्यक्तिमाथि आवश्यक कारबाही गर्नुपर्ने उनीहरूको माग छ । आन्दोलनरत डाक्टरहरूले कलेजमा तत्काल फर्किएर अध्ययन गर्ने वातावरण नरहेको बताएका छन्। उनीहरूले आफ्ना समस्या सम्बोधन नभएसम्म आन्दोलन जारी रहने संकेतसमेत दिएका छन् । मन्त्रालयले रेजिडेन्ट डाक्टरहरूले उठाएका विषयमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ । शिक्षामन्त्रीका प्रमुख सल्लाहकार झाले रेजिडेन्ट डाक्टरका वास्तविक समस्या उनीहरुबाटै सुन्ने र समस्या समाधानकालागि सरकारकोतर्फबाट के कस्ता पहल गर्न सकिन्छ भन्ने उद्देश्यले छलफल गरिएको बताए । ‘यो विषयमा सरकार गम्भीर छ। शिक्षामन्त्रीज्यूले पनि गम्भीरताका साथ यसलाई हेर्नुभएको छ । तपाईं आशा लिएर जानुस्, हामी यथाशिघ्र छिटो यसलाई सम्बोधन गर्छौं,’ झाले भने । कलेजमा देखिएका समस्या समाधानका लागि सम्बन्धित पक्षसँग समन्वय गरी आवश्यक कदम चाल्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ । रेजिडेन्ट डाक्टरहरूले भने सरकारको पहलबाट आफूहरूको समस्या समाधान हुने र कलेजमा पुनः शान्तिपूर्ण रूपमा अध्ययन गर्ने वातावरण बन्ने अपेक्षा गरेका छन् । त्यस्तै, चिकित्सा शिक्षा आयोगका उपसचिव रामचन्द्र शर्माले पनि विद्यार्थीको समस्यालाई लिएर आयोग गम्भीर रहेको र यसको समाधानमा आवश्यक पहल गर्ने बताएका छन् ।