कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दुई घण्टामा १ हजार २९३ मत खसेको छ । बिहान ८:३० बजेदेखि १०:३० बजेसम्मको विवरणअनुसार विभिन्न प्रदेशबाट उक्त संख्यामा मत खसेको हो । मतदानको विवरणअनुसार कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णालीबाट २५७, लुम्बिनीबाट २०२, गण्डकीबाट १८८ र बागमती प्रदेशबाट २१७ मत खसेको छ । मतदान प्रक्रिया निर्वाध रूपमा चलिरहेको छ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन् ।
२ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक
काठमाडौं । राष्ट्र बैंकले २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदैछ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ७० अर्ब रुपैयाँ उठाउन लागेको हो । राष्ट्र बैंकले शुक्रबार (आज) अपरान्ह ३ बजे बोलकबोल हुनेगरी निक्षेप संकलनको सूचना जारी गरेको छ । यसमा निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकले निक्षेप संकलनको बोलकबोल ब्याजदरमा आधारित हुने जनाएको छ । यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् । दुई महिनाका लागि जारी गरिएको निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी मंसिर २३ गते गरिने राष्ट्र बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यस उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट निश्चित अवधिका लागि रकम खिचेर बजारमा उपलब्ध तरलता व्यवस्थापन गर्ने गरिएको छ ।
मञ्जुश्री फाइनान्सका सेयरधनीले पाउने भए २० प्रतिशत लाभांश
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको सञ्चालक समितिको ३३८औँ बैठकले असोज २२ गते उक्त लाभांश प्रस्ताव पारित गरेको हो । प्रस्तावअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले ६ करोड ७५ लाख ७७ हजार ६४२ रुपैयाँ ४४ पैसा बराबरको बोनस सेयर वितरण गर्नेछ । त्यस्तै, कम्पनीले १५ प्रतिशतका दरले २० करोड २७ लाख ३२ हजार ९२७ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश हुने कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ । राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।
आरविवि मर्चेन्ट बैंकिङद्वारा विद्यार्थीलाई पुँजीबजार र सेयर लगानीबारे सचेतना
काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२६ को अवसरमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले विद्यार्थीलाई पुँजीबजार तथा सेयर लगानीबारे जानकारी दिन सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । कम्पनीले असोज २१ गते काठमाडौंको थापाथलीस्थित इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी, प्राध्यापक तथा कर्मचारीका लागि कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा आरविवि मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेल, वरिष्ठ प्रबन्धक अजय घिमिरे र सहायक प्रबन्धक सृजना बाँस्कोटाले सहजीकरण गरेका थिए । सहभागीले उठाएका प्रश्नको जवाफ पनि कम्पनीका प्रतिनिधिले दिएका थिए । कार्यक्रममा लगानीकर्ताको अधिकार, डिजिटल कारोबार तथा सेयर बजारसँग सम्बन्धित विषयमा छलफल गरिएको थियो । साथै, मर्चेन्ट बैंकिङका काम तथा सेवाबारे पनि जानकारी दिइएको कम्पनीले जनाएको छ । यस्ता कार्यक्रमले पुँजीबजार र सेयर लगानीसम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै लगानीकर्तालाई सचेत र सशक्त बनाउन सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भएको संस्था हो ।
ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकलाई युआरएलमा प्रयोगशाला परीक्षण गर्दा २० प्रतिशतसम्म छुट
पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले युनाइटेड रेफरेन्स ल्याबोरेटरी (यूआरएल) मा उपलब्ध प्रयोगशाला परीक्षण सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । यससम्बन्धमा ग्रीन डेभलपमेन्ट बैंक र यूआरएल प्रालिबीच सम्झौता भएको हो । सम्झौताअनुसार बैंकका ग्राहकले प्रयोगशाला परीक्षण सेवामा २० प्रतिशतसम्म छुट पाउनेछन् । त्यस्तै, बैंकका कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । यो सुविधा कास्कीको शिशुवा, हस्पिटलचोक, खुदी, बिरौटा र लेकसाइड, लमजुङको बेँसीसहर र सुन्दरबजार, स्याङ्जाको पुतलीबजार र वालिङ तथा तनहुँको दुलेगौँडा, बेलचौतारा र दमौलीस्थित यूआरएलका शाखाबाट लिन सकिनेछ । त्यसैगरी बागलुङ र नवलपुरको कावासोतीस्थित शाखाबाट पनि यो सुविधा उपलब्ध हुनेछ । सम्झौतापत्रमा ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र यूआरएल प्रालिका अध्यक्ष ठाकुरप्रसाद पन्थले हस्ताक्षर गरेका छन् । यस सम्झौताबाट बैंकका ग्राहक तथा कर्मचारीले प्रयोगशाला परीक्षण सेवा सहुलियत दरमा प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकका कर्मचारीले बाढीपीडितका लागि दिए ४६ लाख रुपैयाँ
काठमाडौं । त्रिशूली–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि कुमारी बैंक लिमिटेडका कर्मचारीले ४५ लाख ९७ हजार रुपैयाँभन्दा बढी सहयोग गरेका छन् । बैंकका कर्मचारीले स्वेच्छिक रूपमा आफ्नो तलबबाट रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख ९७ हजार ३५३ रुपैयाँ ५० पैसा योगदान गरेका हुन् । बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका समुदायलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम संकलन गरिएको बैंकले जनाएको छ । संकलित रकम कोषमार्फत प्रभावित समुदायको सहयोगमा उपयोग हुने विश्वास बैंकले लिएको छ । कुमारी बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्दै आएको जनाएको छ । कर्मचारीको यो योगदानले सामाजिक एकता र राष्ट्रप्रतिको उत्तरदायित्वलाई थप बलियो बनाउने बैंकको विश्वास छ । यसअघि पनि बैंकले त्रिशूली–भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको थियो । त्यसैगरी, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन बैंकले गृह मन्त्रालयलाई ३९ लाख रुपैयाँ बराबरका अत्याधुनिक ड्रोन, पावर बैंक, जेनेरेटरलगायत विपद् व्यवस्थापन सामग्री उपलब्ध गराएको थियो ।
आइजीआई प्रुडेन्सियल र जनकपुर बोल्ट्सबीच सम्झौता, खेलाडीको बीमा सुरक्षा गरिने
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र जनकपुर बोल्ट्सबीच क्रिकेट खेलको विकास, खेलाडीको वित्तीय सुरक्षा अभिवृद्धि तथा संस्थागत सहकार्य विस्तार गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र जनकपुर बोल्ट्सका महाप्रबन्धक निरोज खतिवडाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार जनकपुर बोल्ट्ससँग आबद्ध नेपाली खेलाडी, प्रशिक्षक, कर्मचारी तथा पदाधिकारीको खेल अवधिमा आवश्यक बीमा गरिनेछ । साथै, जनकपुर बोल्ट्सले आफ्नो संस्था र त्यससँग आबद्ध व्यक्तिहरूको बीमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समार्फत गर्नेछ । यस सहकार्यले क्रिकेट खेलाडीको विकास, उनीहरूको मनोबल अभिवृद्धि र क्लबको संस्थागत सुदृढीकरणमा सहयोग पुग्ने दुवै संस्थाले विश्वास व्यक्त गरेका छन् । सम्झौताअन्तर्गत दुवै संस्थाले आ–आफ्नो क्षेत्रको विशेषज्ञता, पहुँच र स्रोत उपयोग गर्दै पारस्परिक हितका विभिन्न गतिविधिमा सहकार्य गर्नेछन् । सम्झौताबारे बोल्दै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कम्पनीले क्रिकेट, भलिबल, फुटबल तथा फुटसललगायत विभिन्न खेलकुद गतिविधिमा सहभागिता जनाउँदै आएको बताए । उनले भविष्यमा पनि खेलकुद क्षेत्रको विकास र विस्तारमा योगदानलाई निरन्तरता दिने बताए । नेपालको ऐतिहासिक क्लब जनकपुर बोल्ट्ससँग सहकार्य गर्न पाउँदा गौरव महसुस भएको उल्लेख गर्दै श्रेष्ठले नेपाली क्रिकेटले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा हासिल गरिरहेको प्रगतिलाई थप प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता गरिएको बताए । उनले दुवै संस्थाबीचको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरे । त्यस्तै, जनकपुर बोल्ट्सका महाप्रबन्धक खतिवडाले खेलाडीको विकास र क्रिकेटको विस्तारमा सहयोग गरेकोमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स परिवारप्रति आभार व्यक्त गरे । उनले यस सहकार्यले खेलाडीको मनोबल बढाउनुका साथै क्लबको दीर्घकालीन विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप
काठमाडौं । मलेसियामा आयोजित ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा नेपालकी प्राची तोमरले चौथो रनरअपको उपाधि जितेकी छिन् । हाउस अफ फेसन नेपालका अनुसार अन्तर्राष्ट्रिय पेजेन्टको मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै प्राचीले यो उपलब्धि हासिल गरेकी हुन् । प्रतियोगितामा प्राचीले चौथो रनरअपको उपाधिसँगै ‘क्विन अफ एजुकेसन’ को विशेष सबटाइटलसमेत प्राप्त गरेकी छिन् । शिक्षा, ज्ञान, व्यक्तिगत विकास तथा महिलालाई शिक्षामार्फत सशक्त बनाउने विषयमा उनको प्रतिबद्धतालाई सम्मान गर्दै उक्त उपाधि प्रदान गरिएको बताइएको छ । प्रतियोगिताको क्रममा प्राचीले आत्मविश्वास, शालीनता, दृढता र उद्देश्यपूर्ण प्रस्तुतिमार्फत नेपालको प्रतिनिधित्व गरेकी थिइन् । उनको सहभागिताले व्यक्तिगत उपलब्धिसँगै अन्तर्राष्ट्रिय पेजेन्टको मञ्चमा नेपालको उपस्थितिलाई समेत थप बलियो बनाएको हाउस अफ फेसन नेपालले जनाएको छ । प्राचीको यो सफलतालाई नेपाली महिलाका लागि प्रेरणादायी उपलब्धिका रूपमा लिइएको छ । आफ्ना सीमालाई तोड्दै आत्मविश्वासका साथ अघि बढ्न, आफ्नो लक्ष्य पछ्याउन र छुट्टै पहिचान निर्माण गर्न उनको यात्राले प्रेरणा दिने अपेक्षा गरिएको छ । ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा नेपालका तर्फबाट सहभागिता जनाउँदै प्राचीले हासिल गरेको चौथो रनरअपको उपाधि नेपाली फेसन तथा पेजेन्ट क्षेत्रका लागि समेत महत्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धिका रूपमा हेरिएको छ ।