विकासन्युज

दुर्गम र विपन्न समुदायलाई सहुलियतपूर्ण ऊर्जा कर्जा दिने

काठमाडौं । दुर्गम गाउँ, विपद् प्रभावित क्षेत्र र विपन्न समुदायसम्म नवीकरणीय ऊर्जाको पहुँच विस्तार गर्न सरकारले दिगो ऊर्जा कोष स्थापना गर्ने र प्राथमिकताका आधारमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने व्यवस्था प्रस्ताव गरेको छ । ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ ले नवीकरणीय ऊर्जाको विकास, ऊर्जा बचत र परम्परागत ऊर्जामाथिको निर्भरता घटाउने उद्देश्यसहित वित्तीय स्रोत परिचालन तथा सहुलियतपूर्ण कर्जा प्रवाहको व्यवस्था अघि सारेको हो । विधेयकको दफा ३० मा दिगो ऊर्जा कोष स्थापना गर्ने प्रस्ताव गरिएको छ । उक्त कोषमा नेपाल सरकार, व्यक्ति तथा संघसंस्थाबाट प्राप्त रकम, विदेशी सरकार तथा अन्तर्राष्ट्रिय संघसंस्थाको अनुदान, कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी कार्यक्रमबाट प्राप्त रकम र विभिन्न सेवा तथा अनुमतिपत्रबापत प्राप्त शुल्क जम्मा गरिनेछ । ऊर्जा बचतको तोकिएको लक्ष्य पूरा गर्न नसक्ने प्रतिष्ठानबाट प्राप्त हुने क्षतिपूर्तिसमेत कोषमा जम्मा हुनेछ । यसअघि सञ्चालनमा रहेको केन्द्रीय नवीकरणीय ऊर्जा कोषको रकम पनि नयाँ कोषमा समाहित हुने व्यवस्था प्रस्ताव गरिएको छ । विदेशी सरकार वा अन्तर्राष्ट्रिय संघसंस्थाबाट रकम लिन भने अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य हुनेछ । कोषमा जम्मा भएको रकम नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी कार्यक्रम सञ्चालन गर्न वित्तीय आधारका रूपमा उपयोग गर्ने परिकल्पना विधेयकले गरेको छ । कोषको रकम ‘क’ वर्गको वाणिज्य बैंकमा जम्मा गरिनेछ । केन्द्रको नामबाट हुने खर्च यही कोषबाट व्यहोरिनेछ भने यसको आन्तरिक तथा अन्तिम लेखापरीक्षण क्रमशः कोष तथा लेखा नियन्त्रकको कार्यालय र महालेखा परीक्षकबाट हुनेछ । विधेयकको दफा २५ ले व्यावसायिक कर्जाका आधारमा सञ्चालन गर्न कठिन भए पनि आर्थिक तथा सामाजिक दृष्टिले आवश्यक आयोजनालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरेको छ । यस्तो कर्जा भौगोलिक रूपमा विकट तथा ग्रामीण क्षेत्र, आर्थिक र सामाजिक रूपमा पछाडि परेका तथा विपन्न समुदायको बसोबास भएका क्षेत्र, विपद् प्रभावित क्षेत्र, परम्परागत ऊर्जाको अधिक उपयोग भइरहेका क्षेत्र, ऊर्जा बचत तथा दक्षताको सम्भावना बढी भएका क्षेत्र र मौलिक तथा परम्परागत सीप एवं प्रविधिमा आधारित उद्यमलाई प्राथमिकतामा राखेर प्रवाह गरिनेछ । यो व्यवस्थाले बजारमा सहजै कर्जा प्राप्त गर्न नसक्ने तर सामाजिक तथा आर्थिक दृष्टिले महत्वपूर्ण ऊर्जा आयोजनालाई वित्तीय पहुँच उपलब्ध गराउने लक्ष्य राखेको छ । विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा ऊर्जा प्रविधिको विस्तार र ऊर्जा दक्षतासम्बन्धी उद्यम प्रवर्द्धन गर्न सहुलियतपूर्ण कर्जालाई माध्यम बनाउने प्रस्ताव गरिएको छ । बैंकमार्फत कर्जा, ब्याजदर सञ्चालक समितिले तोक्ने प्रस्तावित व्यवस्थाअनुसार केन्द्रले आफैँ प्रत्यक्ष कर्जा प्रवाह गर्ने छैन । प्रचलित कानुनबमोजिम स्थापित बैंक तथा वित्तीय संस्थामार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ । कर्जाको ब्याजदर सञ्चालक समितिले निर्धारण गर्नेछ भने कर्जा लगानी, साँवा र ब्याजको विवरण केन्द्रले अद्यावधिक राख्नुपर्नेछ । कर्जा प्रवाहका थप प्रक्रिया तथा कार्यविधि पनि सञ्चालक समितिले निर्धारण गर्ने व्यवस्था विधेयकमा छ । दिगो ऊर्जा कोष र सहुलियतपूर्ण कर्जासम्बन्धी प्रस्तावित व्यवस्थाले नवीकरणीय ऊर्जामा लगानीका लागि स्रोत जुटाउने, ऊर्जा बचतलाई प्रोत्साहन गर्ने र वित्तीय पहुँचबाट टाढा रहेका समुदाय तथा उद्यमसम्म ऊर्जा प्रविधि विस्तार गर्ने नीतिगत आधार तयार गर्ने लक्ष्य राखेको छ । यद्यपि, यी व्यवस्थाहरू विधेयकमा प्रस्तावित प्रावधान हुन् । तिनको वास्तविक कार्यान्वयन संसद्बाट विधेयक पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै हुनेछ । 

विद्यार्थीलाई बचत र लगानीबारे सिकाउँदै एनआईसी एसिया क्यापिटल

काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडले पोखरामा मुद्रा बजार तथा पुँजी बजारसम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ‘विश्व लगानीकर्ता सप्ताह, २०२६’ को अवसरमा क्यापिटलले उक्त कार्यक्रम आयोजना गरेको हो । असोज २३ गते शुक्रबार पोखरा–३०, तालचोकस्थित त्रिवेणी इन्टरनेशनल कलेजमा कार्यक्रम भएको थियो । कार्यक्रममा १०० जनाभन्दा बढी विद्यार्थी, प्राध्यापक तथा कलेजका कर्मचारी सहभागी भएका थिए । कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीले लगानी तथा बचतसम्बन्धी जानकारी दिएका थिए । उनले विद्यार्थी जीवनदेखि नै सानो रकम बचत गर्ने र त्यसलाई उपयुक्त क्षेत्रमा लगानी गर्ने तरिकाबारे जानकारी गराए । उनले धितोपत्रको प्राथमिक तथा दोस्रो बजार, मुद्रा बजारका उपकरण र सामूहिक लगानी कोषबारे पनि जानकारी दिए । साथै, सूचीकृत कम्पनीमा लगानी गर्दा ध्यान दिनुपर्ने विषयबारे प्रकाश पारे । कार्यक्रममा लगानीसम्बन्धी निर्णय लिँदा आवश्यक अध्ययन र सावधानी अपनाउनुपर्ने विषयमा समेत चर्चा गरिएको थियो । सहभागी विद्यार्थी तथा प्राध्यापकहरूले मुद्रा बजार र पुँजी बजारको अवस्थाबारे अन्तरक्रिया गरेका थिए । एनआईसी एसिया क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजित यस कार्यक्रमले युवा पुस्तामा वित्तीय साक्षरता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

बुढानीलकण्ठबाट २१ किलो सुनसहित तीन चिनियाँ नागरिक  पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको बुढानीलकण्ठबाट २१.७५० ग्राम किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ गरेको छ । बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुनसहित तीन चिनियाँ नागरिक पक्राउ गरेको हो ।  प्रहरीले विशेष सूचनाको आधारमा सुनसहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ । बरामद सुनमध्ये ११ किलो तयारी अवस्थाको र १० किलो बढी प्रशोधन गर्ने तयारीमा राखिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दियो । प्रहरीले सुनसहित गाडीसमेत बरामद गरेको कार्यालयका प्रमुख सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार दैनिक ८ हजार रूपैयाँ तिरेर कार भाडामा लिएका थिए । उनीहरूले एयरपोर्टको कार रेन्टल कम्पनीबाट भाडामा लिएका हुन् । त्यसैगरी उनीहरूले ३ लाखमा ३० हजार रुपैयाँमा घर भाडामा लिएका थिए । प्रहरीले गाडीको जीपीएस ट्र्याक गर्ने तयारी गरिरहेको जनाएको छ ।

ओमोडा एन्ड जेइकु गाडी किन्दा विशेष छुट, सिद्धार्थ बैंकसँग साझेदारी

काठमाडौं । ओमोडा एन्ड जेइकु गाडी खरिद गर्ने ग्राहकले विशेष छुट पाउने भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को अवसरमा एसपीजी अटोमोबाइल्स र सिद्धार्थ बैंकबीच यससम्बन्धी साझेदारी भएको हो । नेपालमा ओमोडा एन्ड जेइकु तथा आईसीएयू सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच ग्राहकलाई विशेष सुविधा दिने सहमति भएको छ । यस योजनाअन्तर्गत सिद्धार्थ बैंकले ओमोडा एन्ड जेइकुका ग्राहकलाई सर्भिस चार्जमा विशेष छुट दिनेछ । त्यस्तै, सिद्धार्थ बैंकमार्फत गाडी खरिदका लागि कर्जा लिने ग्राहकले सवारीसाधन खरिदमा पनि विशेष छुट पाउनेछन् । यो योजना एनपीएल सिजन ३ को अवधिभर लागू हुनेछ । ग्राहकले नेपालभरका आधिकारिक ओमोडा एन्ड जेइकु डिलरशिप तथा सिद्धार्थ बैंकका शाखामार्फत सुविधा लिन सक्नेछन् । यो साझेदारीले गाडी खरिद र त्यसको वित्तीय व्यवस्थापनलाई थप सहज बनाउने कम्पनीले अपेक्षा गरेको छ । ग्राहकले गाडी खरिद तथा सर्भिस शुल्कमा विशेष लाभ पाउनेछन् । सिद्धार्थ बैंक एनपीएलको टाइटल स्पोन्सर हो भने ओमोडा एन्ड जेइकु प्रतियोगिताको सहप्रायोजकका रूपमा आबद्ध छ। दुवै ब्रान्ड एनपीएलको पहिलो सिजनदेखि नै प्रतियोगितासँग जोडिएका छन् । नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा सहकार्य गर्दै आएका दुवै कम्पनीले यस साझेदारीमार्फत ग्राहकलाई थप सुविधा दिने लक्ष्य राखेका छन् । साथै, नेपाली क्रिकेटप्रतिको समर्थनलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएका छन् । 

कांग्रेसलाई रूपान्तरण गर्न उम्मेदवारी दिएकी हुँ : मृदुला कोइराला

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक सभापति मातृकाप्रसाद कोइरालाकी छोरी मृदुला कोइरालाले पार्टीलाई रूपान्तरण गर्ने उद्देश्यसहित केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताएकी छन् । नेपाली कांग्रेसको १५औं महाधिवेशनस्थलमा भेटिएकी उनले कांग्रेसका लागि महाधिवेशन एउटा ठूलो पर्व भएको बताइन् ।  विकासन्युजसँगको कुराकानीमा उनले ६ वर्षपछि भएको महाधिवेशनमा देशभरबाट हजारौं प्रतिनिधि काठमाडौं आएको उल्लेख गरिन् । ‘यो ६ वर्षपछि भएको महाधिवेशन हो । कांग्रेसका लागि यो पर्व हो । साढे ७ हजार महाधिवेशन प्रतिनिधि काठमाडौं आउनुभएको छ,’ उनले भनिन् । कोइराला परिवारको नेपाली कांग्रेसमा रहेको योगदानबारे चर्चा गर्दै उनले पार्टीलाई स्थापित र चिनाउन परिवारको महत्त्वपूर्ण भूमिका रहेको बताइन् । कोइराला परिवारले अघि सारेका सिद्धान्तलाई पार्टीले अहिले पनि आत्मसात् गरेको छ कि छैन भन्ने प्रश्नमा उनले समयअनुसार पार्टीको धारणा परिवर्तन गर्दै जानुपर्ने बताइन् ।  उनले बीपी कोइरालाको सिद्धान्तलाई कांग्रेसका सबै नेता तथा कार्यकर्ताले आत्मसात् गर्दै आएको उल्लेख गरिन् । ‘बीपीको सिद्धान्त हामी सबैले बोकेर हिँडिरहेका छौं । उहाँ नेपाली कांग्रेसका सबै कार्यकर्ताको आदर्श हुनुहुन्छ,’ उनले भनिन् । आफू विद्यार्थी जीवनदेखि नै कांग्रेसमा आबद्ध रहेको बताउँदै मृदुलाले पार्टीमा २०३५ सालदेखि सक्रिय रहेको उल्लेख गरिन् ।  लामो समयदेखि पार्टीमा आबद्ध रहेकाले कांग्रेसलाई रूपान्तरण गर्न सक्ने विश्वासका साथ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको उनको भनाइ छ । महाधिवेशनमा कांग्रेसको एउटा खेमा बाहिर रहेको विषयमा उनले पार्टीभित्र मतभिन्नता भए पनि अन्ततः सबै एक ठाउँमा आउने विश्वास व्यक्त गरिन् । ‘एउटा खेमा बाहिर छ । कांग्रेस ठूलो लोकतान्त्रिक पार्टी हो । सिद्धान्त एउटै हो, झन्डा एउटै हो । पछि सबै मिल्छ होला नि,’ उनले भनिन् ।

१० लाख घुस लिएको आरोपमा नापी अधिकृतविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीमाथि सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस लिएको आरोप छ । वली काठमाडौंको नापी कार्यालय, डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली माछापोखरीमा कार्यरत थिए । उनी टोली प्रमुखसमेत हुन् । आयोगका अनुसार वलीले छुट जग्गा दर्तासम्बन्धी काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । छुट जग्गा दर्ताको सिफारिससहितको फाइल भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाइदिने उनको आश्वासन थियो । घुस मागेको सूचना र उजुरीपछि अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । आयोगका अनुसार उनलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा वलीले सेवाग्राहीबाट १० लाख रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ । आयोगले उनीविरुद्ध १० लाख रुपैयाँ बिगो कायम गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय र बिगोबमोजिम जरिवाना गर्न माग गरिएको छ । आयोगले असोज २२ गते वलीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

मध्यराति पाँच जना उम्मेदवारमाथि सहमति

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा र नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहलाई छाडेर आएका नेताहरूबीच बिहीबार मध्यराति सहमति भएको छ । संस्थापन समूह र उनीहरूबीच मध्येराति छलफलपछि विभिन्न पदमा सहमति भएको बुझिएको हो ।  नेपाली कांग्रेसका एक शीर्ष नेताका अनुसार देउवा समूह छोडेर आएका  नेताहरूलाई उपसभापति र महामन्त्री पदमा सहयोग गर्ने बारे सहमति भएको हो ।  ती नेताका अनुसार देउवा टिम छोडेर आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संस्थापनतर्फबाट मधु आचार्यलाई उपसभापति जिताउने सहमति भएको हो । उनीहरूले उपसभापतिको खुलातर्फ उम्मेदवारी दिएका हुन् ।  उनीहरूसँगै कांग्रेस उपसभापतिमा गोविन्द भट्टराई, डा. चन्द्रकान्त भण्डारी, प्रा.डा चन्द्र मोहन यादव, दीपक गिरी, धनराज गुरुङ, मधु आचार्य र सुरेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् । यी मध्ये दुई समूहबीच पाण्डे र आचार्यको नाममा सहमति भएको ती नेताको दाबी छ ।  यस्तै, दुई समूहबीच महिला महामन्त्रीमा महालक्ष्मी  (डिना) उपाध्याय र संस्थापन पक्षबाट खुलातर्फ उदय शमशेर राणा र प्रदीप पौडेलमाथि सहमति भएको ती नेताको दाबी छ । गत असोज २ गते यता भएको पटक–पटकको छलफलपछि गयराति अनौपचारिक सहमति भएको हो ती नेताको दाबी छ ।   महामन्त्रीका लागि खुलातर्फबाट अमरसिंह पुन मगर, उदय शम्शेर राणा, गुरुराज घिमिरे, नैनसिंह महर, प्रदीप पौडेल, शंकर तिवारी, डा. सन्तोष उपाध्याय र डा. सुनिल कुमार शर्माले उम्मेदवारी दिएका छन् । महिला महामन्त्रीमा डा. डिला संग्रौला, महालक्ष्मी पन्त र रीता खनालले उम्मेदवारी दिएका छन् ।  गएराति सभापति थापासँगै, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल, उदयशमशेर राणा,  सुरेन्द्रराज पाण्डे, महेन्द्र यादव लगायत नेताहरू बसेर सहमति गरेको स्रोतको दाबी छ ।  असोज २ गते पूर्वसभापति शेरबहादुर देउवा समूहबाट तत्कालीन कार्यवाहक उपसभापति पूर्णबहादुर खड्कासहित ३३ जनालाई विभिन्न सहमतिमा सभापति गगन थापाले संस्थापनतर्फ तानेका थिए ।  कांग्रेसले विधान संशोधन गर्दै दुई उपसभापति र तीन महामन्त्रीको व्यवस्था गरेको छ । सभापति थापाले केहीलाई मनोनयन गर्ने आश्वासन पनि दिएको बुझिएको छ । अहिले खुलामञ्च र राष्ट्रिय सभागृहमा मतदान भइरहेको छ । सभापति थापाकै सहभागितामा उम्मेदवारी दिएका केही नेताहरूबीच मात्रै सहमति गर्दा अन्य उम्मेदवारमाथि अन्याय भएको उनीहरुले गुनासो गरेका छन् । 

सुनको मूल्य एकैदिन २ हजार ९०० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढ्दा चाँदी १५ रुपैयाँले महँगिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँ पुगेको छ । बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४०५ रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।