काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडले पोखरामा मुद्रा बजार तथा पुँजी बजारसम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ‘विश्व लगानीकर्ता सप्ताह, २०२६’ को अवसरमा क्यापिटलले उक्त कार्यक्रम आयोजना गरेको हो ।
असोज २३ गते शुक्रबार पोखरा–३०, तालचोकस्थित त्रिवेणी इन्टरनेशनल कलेजमा कार्यक्रम भएको थियो । कार्यक्रममा १०० जनाभन्दा बढी विद्यार्थी, प्राध्यापक तथा कलेजका कर्मचारी सहभागी भएका थिए ।
कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीले लगानी तथा बचतसम्बन्धी जानकारी दिएका थिए । उनले विद्यार्थी जीवनदेखि नै सानो रकम बचत गर्ने र त्यसलाई उपयुक्त क्षेत्रमा लगानी गर्ने तरिकाबारे जानकारी गराए ।
उनले धितोपत्रको प्राथमिक तथा दोस्रो बजार, मुद्रा बजारका उपकरण र सामूहिक लगानी कोषबारे पनि जानकारी दिए । साथै, सूचीकृत कम्पनीमा लगानी गर्दा ध्यान दिनुपर्ने विषयबारे प्रकाश पारे ।
कार्यक्रममा लगानीसम्बन्धी निर्णय लिँदा आवश्यक अध्ययन र सावधानी अपनाउनुपर्ने विषयमा समेत चर्चा गरिएको थियो । सहभागी विद्यार्थी तथा प्राध्यापकहरूले मुद्रा बजार र पुँजी बजारको अवस्थाबारे अन्तरक्रिया गरेका थिए ।
एनआईसी एसिया क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजित यस कार्यक्रमले युवा पुस्तामा वित्तीय साक्षरता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।