क्यासिनोको क्षमता बढाउँदा ३ करोडसम्म शुल्क
काठमाडौं । क्यासिनो सञ्चालन गरिरहेका कम्पनीले आफ्नो क्षमता विस्तार गर्दा अब विस्तारको परिमाणअनुसार ५० लाखदेखि ३ करोड रुपैयाँसम्म शुल्क तिर्नुपर्ने भएको छ । सरकारले क्यासिनोको पहिलो संशोधन नियमावली, २०८३ मार्फत क्षमता विस्तारको अनुमति र त्यसबापत लाग्ने दस्तुरको व्यवस्था गरेको हो । सरकारले क्यासिनोको खेलस्थलको क्षेत्रफल, टेबल वा उपकरणको सङ्ख्या बढाएर क्षमता विस्तार गर्न चाहने कम्पनीले विभागमा निवेदन दिनुपर्ने व्यवस्था गरेको छ । विभागले तोकिएको प्रक्रिया पूरा भएपछि क्षमता विस्तारको अनुमति दिने व्यवस्था नियमावलीमा गरिएको छ । नयाँ व्यवस्थाअनुसार क्षमता विस्तार गर्दा लाग्ने शुल्क क्यासिनोको आकारअनुसार फरक हुनेछ । सानो क्यासिनोले आफ्नो स्वीकृत क्षमताको ५० प्रतिशतसम्म विस्तार गर्दा ५० लाख रुपैयाँ शुल्क तिर्नुपर्नेछ । त्यस्तै, ५० प्रतिशतभन्दा बढी क्षमता विस्तार गरेमा एक करोड ५० लाख रुपैयाँ दस्तुर लाग्नेछ । ठूलो क्यासिनोको हकमा ५० प्रतिशतसम्म क्षमता विस्तार गर्दा एक करोड ५० लाख रुपैयाँ र ५० प्रतिशतभन्दा बढी विस्तार गर्दा तीन करोड रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । सानो क्यासिनोलाई ठूलोमा स्तरोन्नति गर्न नयाँ व्यवस्था संशोधित नियमावलीले सानो क्यासिनो सञ्चालन गरिरहेको कम्पनीलाई ठूलो क्यासिनोमा स्तरोन्नति हुन सक्ने व्यवस्था पनि गरेको छ । त्यसका लागि कम्पनीले ठूलो क्यासिनोका लागि तोकिएको बैंक जमानतसहित आवश्यक निवेदन विभागमा पेस गर्नुपर्नेछ । निवेदन प्राप्त भएपछि विभागले क्यासिनोको स्थलगत अनुगमन तथा निरीक्षण गर्न कर्मचारी वा अनुगमन टोली खटाउन सक्नेछ । निरीक्षणबाट ठूलो क्यासिनोका लागि तोकिएका सर्त र मापदण्ड पूरा भएको देखिएमा स्तरोन्नतिको प्रक्रिया अघि बढाउन सकिनेछ । ठूलो क्यासिनो सञ्चालनका लागि आवश्यक इजाजतपत्र दस्तुर, रोयल्टी र जमानतमा नपुग रकम दाखिला गराउनुपर्ने व्यवस्था पनि नियमावलीमा छ । तर, सोही आर्थिक वर्षका लागि सानो क्यासिनोको नवीकरण शुल्क बुझाइसकेको अवस्थामा स्तरोन्नति गर्दा नवीकरण शुल्कमा पहिले बुझाएको रकम घटाएर बाँकी रकम मात्र दाखिला गर्नुपर्ने व्यवस्था गरिएको छ । विभागले अनुगमन गर्न सक्ने क्षमता विस्तारका लागि निवेदन प्राप्त भएपछि विभागले कम्पनीले नियमावलीमा तोकिएका सर्त तथा मापदण्ड पूरा गरे–नगरेको जाँच गर्न सक्नेछ । अनुगमनका क्रममा खटिएको कर्मचारी वा टोलीले स्थलगत निरीक्षण गरी प्रतिवेदन बुझाउनुपर्नेछ । क्यासिनो कम्पनीले स्वीकृत क्षमताभन्दा बढी क्षेत्रफल, टेबल वा उपकरणको सङ्ख्या बढाउन चाहेमा त्यसको विवरण खुलाएर विभागमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । क्षमता विस्तारको अनुमति लिनुअघि तोकिएको प्रक्रिया र दस्तुर पूरा गर्नुपर्नेछ । यसैगरी, नियमावली प्रारम्भ हुनुअघि नै क्षमता विस्तार गरी क्यासिनो सञ्चालन गरिरहेका कम्पनीले पनि नियमावली प्रारम्भ भएको मितिले ९० दिनभित्र विभागमा निवेदन दिनुपर्ने व्यवस्था संशोधनमा गरिएको छ । सरकारले क्यासिनो नियमावली, २०८२ मा संशोधन गर्दै क्षमता विस्तार, स्तरोन्नति, बैंक जमानत तथा दस्तुरसम्बन्धी प्रावधान थप गरेको हो । संशोधित नियमावली तत्काल प्रारम्भ हुने राजपत्रमा उल्लेख छ ।
मातातीर्थ–स्युचाटार प्रसारण लाइनको तार फेरिँदै, उपत्यकामा विद्युत् कटौती हुन सक्ने
काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरण कार्य भइरहेको छ । यसअन्तर्गत पुरानो तार (कन्डक्टर) हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने छ । नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाले मातातीर्थ–स्युचाटार १३२ केभी डबल सर्किट प्रसारण लाइनमा रहेको पुरानो कन्डक्टर परिवर्तन गरी उच्च क्षमताको नयाँ कन्डक्टर जडान गरिरहेको छ । उक्त कार्यका लागि असोज २४ गते शनिबार र २५ गते आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण लाइन बन्द गर्नु पर्नेछ । कम क्षमताको पुरानो कन्डक्टरको सट्टा उच्च क्षमताको एचटिएलएस कन्डक्टर जडान गर्न लागिएको हो । डबल सर्किट लाइनको एउटा सर्किटको करिब चार सय मिटर कन्डक्टर बदल्न बाँकी रहेको छ । उक्त कार्य सम्पन्न भएपछि प्रसारण लाइनको विद्युत् वहन क्षमता अभिवृद्धि हुनुका साथै बढ्दो विद्युत् माग व्यवस्थापन गर्न र विद्युत् प्रणालीलाई थप भरपर्दो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने छ । निर्धारित समयभित्रै काम सम्पन्न गर्ने गरी आवश्यक प्राविधिक तयारी गरिएको र मौसम प्रतिकूल भएमा कार्यतालिका परिवर्तन हुन सक्ने छ । प्राविधिक कार्यका कारण ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।
पोखरामा कालिका बोर्डिङको बस दुर्घटना : पाँच जनाको निधन
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२८ माझथानास्थित ओख्लेभीरमा शुक्रवार बिहान कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । शान्ति मैदानस्थित कालिका बोर्डिङ स्कुलको उक्त बस विद्यार्थी तथा अन्य यात्रु लिएर पोखरा महानगरपालिका–२८ माझथानाबाट फर्कने क्रममा ओख्लेभीर भन्ने स्थानमा सडकबाट खसेर दुर्घटनामा परेको थियो । दुर्घटनालगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले उद्धार कार्य अघि बढाउँदै घाइतेहरूलाई तत्काल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याएका थिए । दुर्घटनास्थलबाट उद्धार गरी ल्याइएका कुल १७ जनामध्ये पाँच जनालाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । दुर्घटनामा परी घाइते भएका १२ जनामध्ये एकको अवस्था गम्भीर रहेकाले उनलाई आईसीयूमा राखेर सघन उपचार गरिँदैछ । बाँकी घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र उनीहरूको आकस्मिक कक्षमा उपचार भइरहेको अस्पताल स्रोतले पुष्टि गरेको छ ।
४ करोडको बैंकिङ कसुरमा दोषी ठहर भएका न्यौपाने पक्राउ
काठमाडौं । चार करोड रुपैयाँ बिगो रहेको बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका फरार प्रतिवादी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६३ वर्षीय दीपक चन्द्र न्यौपानेलाई भक्तपुरबाट पक्राउ गरेको हो । भक्तपुरको चाँगुनारायण नगरपालिका–३ का न्यौपाने बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका थिए । झापा जिल्ला अदालतले २०८१ वैशाख ७ गते उनलाई सजाय सुनाएको थियो । अदालतको फैसलाअनुसार न्यौपानेले चार करोड रुपैयाँ बिगो तिर्नुपर्नेछ । साथै, बिगोबमोजिम जरिवाना र एक महिना १५ दिन कैद सजाय पनि तोकिएको थियो । तर, सजाय कार्यान्वयन नभएपछि उनी फरार रहेका थिए । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुकिछिपी बसेको सूचनाका आधारमा प्रहरीले उनको खोजी गरेको थियो । सीआईबीबाट खटिएको प्रहरी टोलीले असोज २२ गते भक्तपुर नगरपालिका–१, सृजनाटोलबाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका न्यौपानेलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेस गरिएको सीआईबीले जनाएको छ ।
सहकारीको एकीकरण गर्दा सम्पत्ति र दायित्वको यथार्थ मूल्याङ्कन गर्नुपर्ने
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सदस्य सहकारी संस्थाको हित, पुँजीको सुरक्षा र वित्तीय स्थायित्वलाई प्राथमिकता दिने जनाएको छ । सहकारी ऐन, २०७४ मा भएका पछिल्ला परिवर्तनको कार्यान्वयनबारे बैंकले आफ्नो धारणा सार्वजनिक गरेको हो । बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्रचलित कानुन र नियामक निकायका निर्देशन पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएको छ । बैंकको सञ्चालक समितिले असोज २१ गते यससम्बन्धी निर्णय गरेको थियो । बैंकका अनुसार सदस्य सहकारी संस्थाको बचत तथा ऋण कारोबार व्यवस्थापनका लागि नयाँ संरचना बनाउँदा विद्यमान समस्या थप जटिल हुन सक्छन् । त्यसैले एकीकरणलगायतका प्रक्रिया कानुनअनुसार अघि बढाउनुपर्ने बैंकको धारणा छ । त्यस्ता प्रक्रियामा सम्पत्ति र दायित्वको वास्तविक मूल्याङ्कन गर्न स्वतन्त्र ड्यु डिलिजेन्स अडिट (डीडीए) प्रतिवेदनलाई आधार बनाउनुपर्ने बैंकले जनाएको छ । साथै, सदस्य सहकारी संस्थाको सेयर पुँजीको उचित मूल्याङ्कन, सदस्य स्वामित्वको संरक्षण र लोकतान्त्रिक शासन प्रणालीको निरन्तरतामा जोड दिएको छ । बैंकले कर्जा, तरलता र सञ्चालनसम्बन्धी जोखिमको उचित व्यवस्थापन गर्नुपर्ने पनि उल्लेख गरेको छ । यस्ता जोखिमको पहिचान र व्यवस्थापन हुन नसके त्यसको असर समग्र सहकारी वित्तीय प्रणालीमा पर्न सक्ने बैंकको भनाइ छ । राष्ट्रिय सहकारी बैंकले सदस्य सहकारी संस्थालाई थोक कर्जा उपलब्ध गराउँदा कानुनी तथा नियामकीय सीमाले चुनौती सिर्जना गरेको जनाएको छ । बैंकका अनुसार सहकारी संस्थाले आफ्नो कुल सम्पत्तिको पाँच प्रतिशतसम्म मात्र बाह्य कर्जा लिन पाउने व्यवस्था छ । त्यस्तै, सहकारी बैंकले कुनै एक संस्थालाई उक्त संस्थाको कुल सम्पत्तिको १५ प्रतिशतभन्दा बढी कर्जा दिन नपाउने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ । यी सीमाका बाबजुद सदस्य सहकारी संस्थाको हित र सदस्यको पुँजी सुरक्षित राख्न बैंक प्रतिबद्ध रहेको जनाएको छ । सहकारी वित्तीय प्रणालीप्रतिको विश्वास कायम राख्न पनि बैंकले जोड दिएको छ । बैंकले सहकारी क्षेत्रको दीर्घकालीन हित, वित्तीय स्थायित्व र संस्थागत सुशासन सुदृढ बनाउन सदस्य संस्थासँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।
रिलायन्स कलेजमा मुक्तिनाथ क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले काठमाडौंको चाबहिलस्थित रिलायन्स कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा क्यापिटलले उक्त कार्यक्रम आयोजना गरेको हो । असोज २३ गते आयोजित कार्यक्रममा स्नातक तहमा अध्ययनरत करिब १०० जना विद्यार्थी सहभागी भएका थिए । कार्यक्रममा विद्यार्थीलाई धितोपत्र तथा पुँजी बजारसम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रममा धितोपत्र व्यवसायअन्तर्गत मर्चेन्ट बैंकरले गर्ने कामबारे जानकारी गराइएको थियो । साथै, सेयर लगानीका आधारभूत विषयमा पनि चर्चा गरिएको थियो । विद्यार्थीलाई लगानी गर्दा हुन सक्ने जोखिम र त्यसको व्यवस्थापन गर्ने तरिकाबारे जानकारी दिइएको थियो । सुरक्षित लगानीका अभ्यासबारे समेत सहभागीलाई सचेत गराइएको क्यापिटलले जनाएको छ । विद्यार्थीमा वित्तीय ज्ञान र पुँजी बजारसम्बन्धी सचेतना बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । यसले युवा पुस्तालाई लगानीसम्बन्धी निर्णय लिन आवश्यक आधारभूत ज्ञान प्रदान गर्ने अपेक्षा गरिएको छ ।
बजारमा ग्यास नपाए सिधै फोन गर्न निगमको आग्रह, यी हुन् नम्बरहरु
काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यास अभाव भएमा तत्काल उपलब्ध गराउन नेपाल आयल निगमले द्रुत टोली (क्विक रेस्पोन्स टिम) गठन गर्दै उपभोक्तालाई सोझै सम्पर्क गर्न आग्रह गरेको छ । निगमले बजारको आपूर्ति व्यवस्था सहज बनाउन र ग्यास नपाएर समस्यामा परेका उपभोक्तालाई तत्काल सहजीकरण गर्न विशेष नम्बरहरू सार्वजनिक गरेको हो । ग्यास नपाएका उपभोक्ताले निगमको टोलीलाई मोबाइल नम्बर ९८५१४५५१२४, ९८५१४५५१२८ तथा टेलिफोन नम्बर ०१-५९७१९०२ मा सम्पर्क गरी ग्यास माग गर्न सक्नेछन् । फोन प्राप्त हुनासाथ टोलीले उपभोक्तालाई ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउने निगमले जनाएको छ ।
कांग्रेस महाधिवेशन : २ हजार ६४४ मत खस्यो
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खसेको छ । मतदान निर्वाध रूपमा चलिरहेको मिडिया सेन्टरका प्रमुख जीवन भण्डारीले जानकारी दिएका छन् । भण्डारीका अनुसार कोशी प्रदेशबाट ४१०, सुदूरपश्चिम र कर्णालीबाट ६०६, लुम्बिनीबाट ३८९, गण्डकीबाट ३३०, बागमतीबाट ४८७ र मधेश प्रदेशबाट ४२२ मत खसेको छ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न मतदान गरिरहेका छन् ।