आरविवि मर्चेन्ट बैंकिङद्वारा विद्यार्थीलाई पुँजीबजार र सेयर लगानीबारे सचेतना

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२६ को अवसरमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले विद्यार्थीलाई पुँजीबजार तथा सेयर लगानीबारे जानकारी दिन सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीले असोज २१ गते काठमाडौंको थापाथलीस्थित इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी, प्राध्यापक तथा कर्मचारीका लागि कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा आरविवि मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेल, वरिष्ठ प्रबन्धक अजय घिमिरे र सहायक प्रबन्धक सृजना बाँस्कोटाले सहजीकरण गरेका थिए । सहभागीले उठाएका प्रश्नको जवाफ पनि कम्पनीका प्रतिनिधिले दिएका थिए ।

कार्यक्रममा लगानीकर्ताको अधिकार, डिजिटल कारोबार तथा सेयर बजारसँग सम्बन्धित विषयमा छलफल गरिएको थियो । साथै, मर्चेन्ट बैंकिङका काम तथा सेवाबारे पनि जानकारी दिइएको कम्पनीले जनाएको छ ।

यस्ता कार्यक्रमले पुँजीबजार र सेयर लगानीसम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै लगानीकर्तालाई सचेत र सशक्त बनाउन सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।

आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भएको संस्था हो । 

Share News