लक्ष्यअनुसार राजश्व संकलन नहुनेमा अर्थमन्त्री चिन्तित
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले समग्र अर्थतन्त्र दवावमा रहेकाे बताएका छन् । बिहीबार भन्सार व्यवस्था गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले सरकारले धेरै आर्थिक दायित्व भुक्तानी गर्नुपर्ने अवस्था रहेको भन्दै राजश्व संकलनमा सचेत रहन भन्सार र आन्तरिक राजस्व विभागलाई निर्देशन दिए । उनले राजश्व लक्ष्यअनुसार राजश्व संकलनमा ध्यान दिन भनेका हुन् । लक्ष्यअनुसार राजश्व संकलन नहुने हो कि भन्ने कुराले आफूलाई चिन्तित बनाएको भन्दै अर्थमन्त्री पाैडेलले राजश्वले लक्ष्य प्राप्त नगरेमा दावित्व भुक्तान गर्न कठिन हुने बताए । उनले राजश्व परिचालन सन्दर्भमा कुनै कम्प्राेइज नगर्न पनि निर्देशन दिएका छ्न् । कार्यक्रममा भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भन्सार व्यवस्था सुधार र त्यसकाे चुनौतीका बारेमा जानकारी गराएका थिए । यस्तै, निजी क्षेत्रको तर्फबाट प्रतिनिधित्त्व गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले भन्सारसम्बन्धी नीतिका केही व्यवस्थाले व्यावसायीलाई निरुत्साहित गरेको उल्लेख गर्दै त्यसकाे सुधार गर्नका लागि अनुरोध गरेका थिए ।
सानिमा बैंकका ग्राहकहरूलाई दूसित प्रिन्सेस काठमाडौंमा छुटको व्यवस्था
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न दूसित प्रिन्सेस काठमाडौंमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङमार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका सम्पुर्ण खाना लगायतका सेवाहरुमा १५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ ।
कस्तो बनाउने सार्वजनिक सेवा प्रसारण संस्था ? यी हुन् विधेयकमा भएका व्यवस्था
काठमाडौं । राष्ट्रिय आमसञ्चार नीति, २०७३ ले परिकल्पना गरेको ‘सार्वजनिक सेवा प्रसारण’सम्बन्धी व्यवस्था कानुन निर्माणको अन्तिम चरणमा छ । राष्ट्रियसभामा उत्पत्ति भएको ‘सार्वजनिक सेवा प्रसारण विधेयक’ शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भई उक्त समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाको मङ्गलबारको बैठकबाट पारित भएको हो । नेपालमा हाल सञ्चालित सरकारी, निजी तथा सामुदायिक सञ्चारमाध्यमको भन्दा फरक प्रकृतिको स्वामित्व रहनेगरी सञ्चालनमा ल्याउन खोजिएको ‘सार्वजनिक सेवा प्रसारण संस्था’लाई कानुनी आधार प्रदान गर्न ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१’ ल्याइएको हो । दुई सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर पुनःसंरचनासहित स्थापना हुने सार्वजनिक सेवा प्रसारण संस्था कस्तो हुन्छ ? र यसको कार्य सम्पादन कसरी हुन्छ ? भन्ने सवाल संसद्मा पनि उठेका थिए । यस्तो संस्थाको सञ्चालन एवं व्यवस्थापन, आर्थिक तथा प्राविधिक पक्ष, सम्पादकीय स्वतन्त्रता र निष्पक्षतालगायत विषयमा बढी चासो देखिएको छ । संस्था सञ्चालनका लागि सञ्चारमन्त्रीको अध्यक्षतामा एक परिषद् र सरकारबाट नियुक्त कार्यसमिति अध्यक्ष रहने संस्थाको सम्पादकीय स्वतन्त्रता कायम रहनेमा संसद्मा सांसदहरुले प्रश्न उठाएका छन् । यस्तो व्यवस्थापकीय प्रबन्धले सार्वजनिक सेवा प्रसारण संस्था विद्यमान सरकारी सञ्चार संस्थाहरुभन्दा फरक हुनसक्नेमा सांसदहरुले आशंका व्यक्त गर्नुभएको थियो । संस्थालाई संसद् मातहत राख्नसके सरकारको प्रतिच्छायाबाट मुक्त हुने र जनजीविकाका विषय समेट्न सक्ने धारणा पनि सांसदहरुबाट आएको थियो । राष्ट्रिय आमसञ्चार नीतिमा राखिएको सार्वजनिक सेवा प्रसारणको अवधारणाअनुसार सरकारले विधेयक तयार पारेको र लोकतान्त्रिक मूल्य, मान्यता तथा स्वतन्त्र पत्रकारिताको मर्मलाई आत्मसाथ गर्दै स्वच्छ, निष्पक्ष एवम् जनताप्रति उत्तरदायी सञ्चारमाध्यमका रुपमा यो संस्था सञ्चालन गरिने सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको दाबी थियो । विधेयकले सार्वजनिक सेवा प्रसारण संस्थालाई एक अविछिन्न उत्तराधिकारीवाला स्वशासित र सङ्गठित संस्थाका रुपमा परिभाषित गरेको छ । यस्तो संस्थाको नीति निर्माण गर्न तथा सो संस्थाले सम्पादन गर्नुपर्ने कार्यका लागि नीतिगत निर्देशन दिन सञ्चार तथा सूचना प्रविधिमन्त्रीको अध्यक्षतामा एक परिषद् रहने व्यवस्था विधेयकमा राखिएको छ । उक्त परिषद्मा अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सचिवका सचिव सदस्यका रुपमा रहनेछन् । त्यस्तै, विभिन्न पेसाकर्मी र समाजसेवीमध्येबाट प्रत्येक प्रदेश सरकारबाट एक/एक जनाका दरले मनोनीत सात जना सदस्य रहनेछन् । पिछडा वर्ग, अल्पसङ्ख्यक, किसान, श्रमिक, पिछडिएको क्षेत्र, पर्यटन, शिक्षालगायत क्षेत्रको प्रतिनिधित्व गर्नेगरी मन्त्रालयबाट मनोनीत कम्तिमा दुई महिलासहित सात जना पनि उक्त परिषद्मा रहनेछन् । त्यस्तै, जिल्ला समन्वय महासङ्घ, गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घको प्रतिनिधिसमेत परिषद्मा अटाउने व्यवस्था राखिएको छ । स्रोता तथा दर्शक समूहका कम्तीमा एक महिलासहित मन्त्रालयबाट मनोनीत तीन जना, चलचित्र विकास बोर्डको अध्यक्ष, नेपाल पत्रकार महासङ्घको अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष, नेपाल विज्ञापन सङ्घको अध्यक्ष, मान्यताप्राप्त विश्वविद्यालयको पत्रकारिता विषयका प्राध्यापक वा सहप्राध्यापकमध्येबाट मन्त्रालयले मनोनीत गरेका कम्तीमा एक महिलासहित दुई जना सदस्य रहनेछन् । कार्यकारी समिति अध्यक्ष परिषद्को सदस्य सचिव रहने व्यवस्था विधेयकमा राखिएको छ । सार्वजनिक सेवा प्रसारण संस्थाको उद्देश्य प्राप्तिका लागि कार्यकारी समितिलाई आवश्यक निर्देशन दिने, संस्थाको अध्यक्ष, सदस्य र कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागु गर्ने, वार्षिक योजना तथा कार्यक्रमअनुसार भएको कामको समीक्षा गर्ने, सार्वजनिक सेवा प्रसारण सम्बन्धमा अपनाउनुपर्ने नीतिबारे सरकारलाई सुझाव दिनेलगायत विषय परिषद्को काम, कर्तव्य र अधिकारभित्र राखिएका छन् । त्यस्तै, सार्वजनिक सेवा प्रसारण संस्थामा एक कार्यकारी समिति रहने व्यवस्था विधेयकमा राखिएको छ । सरकारले खुल्ला प्रतिस्पर्धाका आधारमा छनोट गरी नियुक्त गरेको व्यक्ति समितिको अध्यक्ष रहनेछन् । त्यस्तै, सञ्चार मन्त्रालयले तोकेको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत र मन्त्रालयले मनोनीत गरेको कम्तीमा एक महिलासहित तीनजना सदस्य रहने विधेयकमा उल्लेख छ । कार्यकारी समितिको अध्यक्ष सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी प्रमुख हुनेछ भने प्रमुख प्रशासकीय अधिकृतले कार्यकारी समितिको सचिव भई काम गर्नेछ । अध्यक्षको पदावधि पाँच वर्षको हुनेछ । विधेयकमा कार्यकारी समितिको अध्यक्ष र सदस्यको योग्यता तोकिएको छ । अध्यक्षको हकमा कम्तीमा स्नातकतह उत्तीर्ण गरी पत्रकारिता, मानविकी, व्यवस्थापन, सूचना प्रविधि वा प्रसारणसम्बन्धी इञ्जिनियरिङ क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ । त्यस्तै, सदस्यको हकमा कम्तीमा स्नातकतह उत्तीर्ण गरी टेलिभिजन, रेडियो वा प्रसारण प्रविधिको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव प्राप्त गरेका व्यक्ति हुनुपर्नेछ । अध्यक्ष र सदस्यका लागि तोकिएको योग्यतामा नियुक्ति हुँदाको बखत कुनै राजनीतिक दलको सदस्य नरहेको र आमसञ्चार संस्थाको पदाधिकारी, सञ्चालक वा सम्पादक नरहेको हुनुपर्नेछ । कार्यकारी समितिले सार्वजनिक सेवा प्रसारण संस्थाको वार्षिक नीति, योजना कार्यक्रम र बजेट स्वीकृत गर्नेछ । त्यस्तै, संस्थाको वार्षिक प्रतिवेदन परिषद्मा पेस गर्ने, संस्थाको आचारसंहिता, मापदण्ड तथा निर्देशिका जारी गर्ने, समग्र व्यवस्थापनको रेखदेख, सुपरीवेक्षण तथा नियन्त्रण गर्ने, सम्पादकीय स्वतन्त्रता र निष्पक्षताको संरक्षणका लागि आवश्यक कार्य गर्नेलगायत काम, कर्तव्य र अधिकार तोकिएका छन् । दुई संस्था गाभिएर बन्ने सार्वजनिक सेवा प्रसारण संस्थाको आफ्नो छुट्टै कोष रहने व्यवस्था विधेयकमा राखिएको छ । उक्त कोषमा सङ्घ, प्रदेश र स्थानीय तहबाट प्राप्त अनुदान, विदेशी सरकार वा विदेशी सङ्घसंस्थाबाट प्राप्त रकम र सार्वजनिक सेवा प्रसारण संस्थाको आम्दानीबाट प्राप्त रकम जम्मा हुने व्यवस्था राखिएको छ । विदेशी सरकार वा विदेशी सङ्घसंस्थाबाट रकम प्राप्त गर्नुअघि अर्थ मन्त्रालयको स्वीकृति भने लिनुपर्नेछ । विधेयकमा स्रोत तथा दर्शक समूह गठन गर्न सकिने व्यवस्थासमेत राखिएको छ । ‘सार्वजनिक सेवा प्रसारण संस्थाले प्रसारण गरेको कार्यक्रम तथा समाचारको सम्बन्धमा आवश्यक राय, सल्लाह, सुझाव लिनका लागि श्रोता तथा दर्शक समूह गठन गर्न सकिनेछ’, विधेयकमा भनिएको छ । यस्तो समूहका कम्तीमा एक महिलासहित तीन जना परिषद्मा रहनेछन् । त्यस्तै, प्रसारण फ्रिक्वेन्सीको पहिलो प्राथमिकतामा सार्वजनिक सेवा प्रसारण संस्थालाई राखिनुपर्ने पनि विधेयकमा उल्लेख छ । सरकारले यस्तो संस्थालाई उपलब्ध गराउने प्रसारण फ्रिक्वेन्सीमा कुनै शुल्क लाग्ने छैन । यो विधेयक प्रमाणीकरण भएर ऐनका रुपमा लागु भएपछि ऐन प्रारम्भ हुँदाका बखत नेपाल टेलिभिजन र रेडियो नेपालमा स्वीकृत दरबन्दीलाई सार्वजनिक सेवा प्रसारण संस्थाको आवश्यकता र औचित्यका आधारमा पुनरावलोकन गरी दरबन्दी पुनःसंरचना गरिनेछ । ऐन कार्यान्वयनमा जाँदाको बखत नेपाल टेलिभिजन र रेडियो नेपालमा कार्यरत स्थायी कर्मचारी मिल्दो दरबन्दीअनुसार पद, तह र श्रेणीमा समायोजन हुनेछन् । करारमा नियुक्त वा सम्झौता भई कार्यरत कर्मचारीको हकमा संस्थाको आवश्यकताअनुसार मात्र व्यवस्थापन गरिने विधेयकमा उल्लेख गरिएको छ । संस्थाका लागि सिर्जना गरिएको दरबन्दी बमोजिम मिल्दो पद, तह र श्रेणीमा समायोजन हुन नसकेका कर्मचारीलाई निजको बाँकी अवधि गणना गरी अवकाश दिने व्यवस्था विधेयकमा राखिएको छ । समायोजन भएका कर्मचारीको सेवा सुविधा खाईपाई आएको सेवा सुविधाभन्दा कम हुने छैन भने नेपाल टेलिभिजन र रेडियो नेपालको अहिलेको सम्पत्ति तथा दायित्व संस्थाको नाममा सर्नेछ । विधेयकको प्रस्तावनामा संविधानद्वारा पदत्त नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हक प्रत्याभूत गर्न, तटस्थ, निष्पक्ष, तथ्यपरक र वस्तुनिष्ठ सूचना, समाचार, शिक्षा मनोरञ्जनात्मक कार्यक्रम उत्पादन र प्रसारण गरी राष्ट्रिय एकता एवं राष्ट्रिय हित प्रवर्द्धन गर्न तथा समावेशी लोकतन्त्रको सुदृढीकरण गर्न जनउत्तरदायी सार्वजनिक सेवा प्रसारण संस्थाको स्थापना र सञ्चालनका लागि यो कानुन आवश्यक रहेको उल्लेख छ । सार्वजनिक सेवा प्रसारण संस्थाका कार्य पनि विधेयकमा राखिएका छन् । यस्तो संस्थाले सार्वजनिक सरोकार र नागरिकका आवस्यकताअनुसारको विषयमा कार्यक्रम उत्पादन तथा प्रसारण गर्नेछ । नागरिकको सूचनाको हक कार्यान्वयनका लागि मुलुकका सबै भूभागमा प्रसारण सेवाको पहुँच पुर्याउन संस्थाले काम गर्नेछ । सूचना सम्प्रेषणद्वारा राष्ट्रभाषा, लोपोन्मुख मातृभाषा, कला संस्कृति र सभ्यताको संरक्षण तथा प्रवरद्धनका लागि यो संस्थाले भूमिका खेल्नेछ । जनस्वास्थ्य, जनहित, वातावरण, जलवायु परिवर्तन, विपद् र अन्य आपतकालीन अवस्थासम्बन्धी सूचना तथा पूर्व जानकारी प्रवाह गरी जनचेतना जगाउने काम सार्वजनिक सेवा प्रसारण संस्थाले गर्नेछ । सचेतना र मनोरञ्जनात्मक कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने, ज्ञान विज्ञान र प्रविधि प्रवर्द्धन गर्ने, कृषि पर्यटन र प्राकृतिक स्रोतजस्ता विषयमा खोजमूलक तथ्य प्रचारमा ल्याई रोजगारमूलक कार्यक्रम प्रवर्द्धन गर्दै नेपालको अर्थ व्यवस्थालाई सबल बनाउन सहयोग पुर्याउने कार्यक्रम प्रसारण गर्ने संस्थाका रुपमा सार्वजनिक सेवा प्रसारण संस्थालाई विकास गर्न खोजेको विधेयकको व्यवस्थाबाट प्रष्ट हुन्छ । रासस
१० लाख खर्चेर राधाकृष्ण मन्दिर पुनःनिर्माण
गोरखा । सिरानचोक गाउँपालिका–५, छोप्राकस्थित फौदर गाउँको राधाकृष्ण मन्दिर पुनःनिर्माण भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा मन्दिरको पुनर्निर्माण सम्पन्न भएको हो । मन्दिर व्यवस्थापन समितिका संयोजक शिवचन्द्र पोखरेलका अनुसार गाउँपालिकाबाट प्राप्त १० लाख रुपैयाँ तथा दुई लाख ५० हजार चन्दाका साथै जनश्रमबाट मन्दिर निर्माण भएको हो । सोही रकममध्येबाट राधाकृष्णको मूर्ति पनि खरिद गरिनेछ । ‘पुनःनिर्माण गरिएको मन्दिर यस क्षेत्रको सबैभन्दा पुरानो हो,’ उनले भने, ‘भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण नहुँदा धार्मिक अनुष्ठानका लागि हामीलाई समस्या थियो ।’ रासस
सीट भन्दा बढि यात्रु नराख्न सर्वोच्च अदालतको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतद्धारा सीट भन्दा बढि यात्रु नराख्न र लामोदुरीमा दुई सवारी चालक अनिवार्य राख्न अन्तिरिम आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता विष्णु लुईटेल लगायतले दायर गरेको रिटमा मंगलबार सर्वोच्च अदालतका न्यायाधिस अब्दुल अजिज मुसलमानको एकल इजालसले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न पाँच वटा विषयमा अन्तिरिम आदेश जारी भएको हो । रिट निवेदकले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०२ विपरित सीट क्षमता भन्दा बढी यात्रु सार्वजनिक यातायातमा सवार नचढाउन नराख्न तथा यातायात व्यवस्था सम्बन्धी प्रचलित नेपाल कानुनको प्रभाकारी कार्यान्वयन गरी नागरिकलाई सुरक्षित, विश्वसनिय, सरल र सुलभ सेवा सञ्चालन गर्नु गराउनु र हाल अव्यवस्थित सार्वजनिक सवारीका कारण सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको हुदा सो लाई न्यूनिकरण गर्ने उपाय अवलम्बन गराउन विपक्षीका नाममा परमादेश निर्देशनात्कम आदेशको माग गरिएको थियो । त्यसैगरी सवारी साधान भित्र यात्रुको इच्छा विपरित ठूलो स्वरमा म्यूजिक सिस्टम नबजाउन, उच्च बाहन शक्ति मोटरसाइकल चालकहरुले सडक यात्रु र समाजलाई आंतकित हुने गरी ठुलो स्वर र तिव्र गतिमा मोटरसाइकल नचलाउन, १८ वर्ष उमेर नभएका नावालकलाई परिचालकको काममा नलगाउन, लामो बाटोमा यातायात सेवा सञ्चालकले गर्ने यात्रीबाहक सार्वजनिक सवारीमा चालक फेर्नु पर्ने हुँदा कम्तिमा दुइवटा चालक अनिवार्य रुपमा राख्ने व्यवस्था गराउन र चाँडवाडको समयमा यातायात व्यवसायीले जोखिमपूर्ण यात्रा गराउदा दुर्घटना हुने भएकोले कडाइका साथ नियमन तथा निगरानी गर्न विपक्षीहरुका नाममा अन्तरिम आदेशसगै अग्राधिकारको माग गरिएको थियो । यातायात सञ्चालनको नियमन निकायका दश वटा संस्थालाई विपक्षी वनाएको सो रिटमा वरिष्ट अधिवक्ता विष्णु लुईटेल ,अभिवक्ताहरु टंक प्रसाद भटट्राई, शिवकुमार अधिकारी, भुवन प्रसाद वाग्ले, धनेन्द्र बहादुर श्रेष्ठ, शुसिला कुमारी रोकाय, आशिष लुईटेल, इलाज पुन मगर, अच्यूत लुइटेल र सञ्चारकर्मी राधाकृष्ण कटवाल लगायतले रिट दर्ता गरेका थिए भने वरिष्ट अधिवक्ता लुईटेल र अधिवक्ता वाग्लले वहस गरेका थिए । सवारी तथा यातायात व्यवस्था ऐनमा स्पष्ट व्यवस्था भएपनि सार्वजनिक यातायात सञ्चालकहरुले पालना नगरेको नियमन निकायहरुले कार्यान्वयमा ध्यान नदिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबार काठमाडौं, गृह मन्त्रालय सिंहदरबार काठमाडौं, यातायात व्यवस्था विभाग, मिनभवन काठमाडौं, महानिर्देशक यातायात व्यवस्था विभाग मिनभवन काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाडौं, काठमाडौं महानगर पालिका कमलादी काठमाडौं, ललितपुर महानगरपालिका पुल्चोक ललितपुर र भक्तपुर नगरपालिका व्यासी भक्तपुरलाई विपक्षी बनाएको सो रिटमा निवेकको माग बमोजिम नै सर्वोच्चले अन्तिरिम आदेश जारी गरेको हो । सर्वोच्चको आदेशमा भनिएको छ–निवेदकले अन्तरिम आदेशसमेत माग गरेतर्फ विचार गर्दा निवेदकले निवेदनमा उठाएका धेरै विषयहरु भएको र अधिकांश विषयमा लिखित जवाफ पेस भई प्रस्तुत निवेदनको अन्तिम सुनुवाई हुँदा सम्वोधन हुने प्रकृतिको देखिदा हाललाई सर्वोच्च अदालत नियामावली २०७४ को नियम ४९९२० को ९ख० बमोजिम देहायका विषयहरुमा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ, सो पालना गर्नु,गराउनु भन्दै हाललाई पाँच वटा विषयमा आदेश भएको हो । पहिलो नम्बरमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०२ ले निर्धारण गरेको सिट क्षमता भन्दा बढी यात्रुलाई सार्वजनिक सवारीमा नचढाउनु र सवारी भित्र यात्रुको इच्छा विपरित ठुलो स्वरमा म्यूजिक सिस्टम नबजाउनु । त्यसैगरी उच्च बाहन शक्ति मोटरसाइकल चालकहरुले सडक यात्रु र समाजलाई आंतकित हुने गरी ठुलो स्वर र तिव्र गतिमा मोटरसाइकल नचलाउन, र १८ वर्ष उमेर नभएका नावालकलाई परिचालकको काममा नलगाउन पनि आदेश भएको छ । त्यस्तै चाँडवाडको समय नजिकिै गरेको अवस्थामा यात्रु बाहक सवारीमा यातायातको चाप अत्याधिक बढ्न गई सडह दुर्घटना समेत बढ्न सक्न जोखिमलाई मध्यनजर गरी प्रभावकारी अनुगमन एवम् निगरानीको व्यवस्था मिलाउन विपक्षीका नाममा आदेश भएको छ ।
दशैं र तिहारमा सिप्रदीले ल्यायो ‘उपहारै उपहार’ कार्यक्रम
काठमाडौं । सिप्रदी अटोपार्टसले दशैं र तिहार उपहारै उपहार कार्यक्रम सार्वजनिक गरेको छ । सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडले ग्राहकहरूका लागि चार्डपर्व विशेष कार्यक्रम सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यस दशै, तिहार र छठ पर्वको अवसरमा टाटाका जेन्युइन पार्टस, टाटा मोटर्स जेन्युइन आयल र ड्युराफट पार्टस खरिद गरि स्क्र्याच कुपन मार्पत नगद उपहार प्राप्त गर्न सकिनेछ । यसका साथै लक्की ड्र मार्फत अन्य आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् । यस चाडपर्व बिशेष उपहार नेपालभरी रहेका सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडका ४० वटा रिटेलर हरूमा लागु गरिएको कम्पनीले बताएको छ ।
आर्थिक मन्दीको प्रभाव : मकवानपुरमा ६ सय उद्योग बन्द
फाइल फोटो बागमती । आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा छ सय १० वटा उद्योग बन्द भएका छन् । मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फका तीन सय ३६ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका दुई सय ८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो । आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको लगत कट्टा बढेको कार्यालय प्रमुख रामप्रसाद भुसालले बताए । मकवानपुरमा आव २०८०/८१ मा नयाँ उद्योग र वाणिज्यतर्फको व्यवसायी दर्ता घटेको छ । सो आवमा उद्योगतर्फ तीन सय ६६ र वाणिज्यतर्फ तीन सय ३५ गरी सात सय एक नयाँ उद्योग दर्ता भएका कार्यालय प्रमुख भुसालले बताए । आव २०७९/८९ मा उद्योगतर्फ पाँच सय ७९ र वाणिज्यतर्फ चार सय ३० गरी एक हजार नौ उद्योग व्यापार दर्ता भएका थिए । आव २०८०/८१ मा उद्योगतर्फ ४६ वटा उद्योगको नामसारी, २४ वटा ठाउँसारी, एक हजार एक सय आठ वटा नवीकरण, चार सय ९८ वटाको पुँजी वृद्धि गरिएको थियो । सो अवधिमा वाणिज्यतर्फ १९ वटा उद्योगको नामसारी, ३१ वटा उद्योगको ठाउँसारी, आठ सय ५८ वटा उद्योगको पुँजी वृद्धि, एक हजार चार सय २२ वटा उद्योगको नवीकरण भएको छ । नयाँ उद्योग दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा तीन करोड २२ लाख ४९ हजार नौ सय १० रुपैयाँ राजस्व संकलन भएको प्रमुख भुसालले बताए । रासस
दमौली अस्पताललाई उपकरण सहयोग
दमौली । दमौली अस्पतालमा शल्यक्रिया सुविधा थपिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक उपकरण प्रदान सेवा प्रारम्भ भएको हो । अस्पतालमा ‘एनेस्थेसिया वर्किङ स्टेसन’ नहुँदा मध्यमखालका शल्यक्रिया सेवा उपलव्ध थिएन । मन्त्री भएलगत्तै अस्पताल भ्रमणमा पुगेका बेला स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका अस्पताल व्यवस्थापन समिति अध्यक्ष शान्तिरमण वाग्ले र अस्पताल प्रमुख डा परिवर्तन बरालले उपकरण सहयोगका लागि आग्रह गरेका थिए । मन्त्रीकै पहलमा उपकरणको प्रबन्ध भएको हो । अस्पताल प्रमुख बरालले एनेस्थेसिया वर्किङ स्टेसन निर्माणका लागि चाहिने उपकरण, बेहोस बनाउने उपकरण एक थान र मोनिटर एक थान मन्त्रालयबाट प्राप्त भएको जानकारी दिए । हाल दुई चिकित्सकको व्यवस्था गरेको अस्पतालले अब मध्यमखालका शल्यक्रिया गर्नसक्ने प्रमुख बरालले बताए । पित्तथैली तथा स्त्रीरोग र हड्डीको शल्यक्रिया गर्ने तयारी गरेको उनले बताए ।