विकासन्युज

निरन्तर ओरालो लागेको बजार ६ दिनपछि बढ्यो, ५ कम्पनीको सेयरमा सर्किट

काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजार साताको अन्तिम दिन भने उच्च अंकले बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.९९ प्रतिशत अर्थात् ७८.१७ अंक बढेर २ हजार ६८८.३८ अंकमा बन्द भएको छ । यसअघि हिजो नेप्से परिसूचक २७.७३ अंक घटेर २ हजार ६१०.२१ अंकमा बन्द भएको थियो । निरन्तर ६ दिन ओरालो लागेको नेप्से सातौं दिनमा भने भारि अंकले बढेको हो । आज दिनभरिमा ३१८ कम्पनीको १ लाख ९४ हजार ३३ लाख १५४ कित्ता सेयर १० लाख ३ हजार ४६३ पटक खरिद–बिक्री हुँदा ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो ३१७ कम्पनीको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर ८७ हजार ३६ पटक खरिद–बिक्री हुँदा ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । बिहीबार अधिकांश कम्पनीको सेयर मूल्य बढेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार आज २२९ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ समूह २.६६ प्रतिशत, विकास बैंक समूह २.७० प्रतिशत, फाइनान्स समूह ३.४० प्रतिशत, होटल तथा पर्यटन समूह २.५० प्रतिशत, जलविद्युत समूह ४.२४ प्रतिशत, लगानी समूह ३.७२ प्रतिशत, जीवन बीमा समूह ३.४६ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह २.१४ प्रतिशत, लघुवित्त समूह १.५८ प्रतिशत, निर्जीवन बीमा समूह २.०१ प्रतिशत, अन्य समूह ३.८२ प्रतिशत र व्यापार समूहको ०.६३ प्रतिशत बढेको छ । तर, म्युचुअल फण्ड समूह ०.०९ प्रतिशत घटेको छ । आज विभिन्न पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था, ग्रनी भेन्चर्स, इस्टर्न हाइड्रोपावर, रावा इनर्जी डेभलपमेन्ट र एशियन हाइड्रोको सेयर मूल्य १० प्रतिशत बढेको हो । तर, थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशत नकारात्म सर्किट लागेको छ । नेप्सेका अनुसार आज सीईडीबी हाइड्रो सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ४७ करोड ६५ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै हिमालयन रिइन्स्योरेन्सको २४ करोड ४८ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको २४ करोड १२ लाख रुपैयाँ, अपि पावरको १८ करोड ८२ लाख रुपैयाँ र हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमनेन्ट कम्पनी (एचआईडीसीएलपी) को संस्थापक सेयर १७ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

एक महिना कोटिहोम लगाउँदा पौने २१ करोड रुपैयाँ खर्च, ७२ लाख घाटा

काठमाडौं ।  ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ लगाउँदा घाटा भएको आयोजकले बताएको छ । आयोजकले एक महिनासम्म पशुपतिमा लागेको महायज्ञको हिसाबकिताब सार्वजनिक गर्दै घाटा भएको बताएको हो । आयोजक कृष्णमूर्तिले बिहीबार पत्रकार  सम्मेलन गर्दै कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको बताएका छन् । त्यस्तै, कोटिहोम सञ्चालन गर्नको लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले जानकारी दिए । यसरी संकलन भएको रकम र खर्चलाई हेर्दा ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको कृष्णमूर्तिले दाबी गरेका छन् । महायज्ञमा कबोल भएकोमध्ये डेढ करोडदेखि २ करोड रुपैयाँ उठ्न बाँकी रहेको उनले बताए । ‘एक युगमा एक पटक इतिहासमै पहिलो पटक’ भन्ने नाराका साथ पशुपतिको (वनकाली) हंस मण्डपमा साउन १ गतेदेखि एक महिनाभर कोटिहोम सञ्चालन भएको थियो । कोटिहोम सकिएको करिब एक महिनापछि हिसाबकिताब सार्वजनिक गर्दै घाटा भएको आयोजकले जनाएको हो ।

स्वास्थ्यकर्मीहरूको मागबमोजिम समायोजन संशाेधन हुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनका क्रममा जटिलता देखिएका स्वास्थ्यकर्मीको समायोजनका लागि नीतिगत निर्णय गरेको छ । यसअनुसार फाजिल वा दरबन्दी नभएको तहमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई उनीहरूकै मागबमोजिम समायोजन संशाेधन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दी नभएका तहमा कार्यरत स्वास्थ्यकर्मीहरूको समस्या समाधानका लागि चालु आर्थिक वर्षभित्र एक पटकका लागि त्यस्तो संशाेधन गर्नेगरी कर्मचारी व्यवस्थापन कार्यविधि तयार गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यससम्बन्धी प्रस्ताव लगेकामा मन्त्रिपरिषदले पारित गरेको हो । मन्त्री पौडेलले पर्याप्त स्वास्थ्यकर्मी दरबन्दी नभएको अवस्थामा समायोजनका क्रममा जिम्मेवारी पाउन नसकेका चिकित्सकलाई आवश्यक नीतिगत व्यवस्था गरेर कार्यक्षेत्रमा खटाउने र समायोजन समस्या समाधान गर्ने घोषणा गरेका थिए । उनले गत साउन २७ गते योजना तथा प्राथमिकता सार्वजनिक गर्ने बेला गरेको घोषणाअनुरूप समायोजनका कारण समस्यामा परेका स्वास्थ्यकर्मीहरूको समस्या समाधान हुने देखिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । यसअघि वैकल्पिक व्यवस्था नहुँदा फाजिलमा रहेका एक हजार बढी कर्मचारीले समस्या भोग्दै आएका थिए । प्रस्ताव स्वीकृत भए पछि अब समायोजनका क्रममा रहेका तर पत्राचार हुन बाँकी कर्मचारीहरूका हकमा मन्त्रालयले समायोजनपत्र जारी गर्न सिफारिस समेत गर्ने भएको छ । मन्त्रालयले अब संघ पुल र मेडिकल बोर्डमा सिफारिसमा संघ पुलमा समायोजन भएका स्वास्थ्यकमीहरूलाई चालु आर्थिक वर्षभित्रै दरबन्दी मिलान गर्न सिफारिस गर्ने भएको छ । अब मन्त्रालयले प्रदेश तथा स्थानीय सेवामा समायोजन भएका स्वास्थ्यकर्मीहरूलाई दोहोरो सहमतिका आधारमा दरबन्दी तथा तलबको सुनिश्चितता हुनेगरी संघबाट प्रदेश तथा स्थानीय तह र एक प्रदेशबाट अर्को प्रदेशमा र एक प्रदेशको स्थानीय तहबाट अर्को तहमा काजमा खटाउने भएको छ । मन्त्रालयले स्थानीय तहमा समायोजन भएका तर एमडी एमएस विशेषज्ञता हासिल गरेका चिकित्सकलाई उनीहरू कार्यरत तह वा प्रदेशको सहमतिका आधारमा प्रदेशमा कामकाजमा खटाउन सिफारिस गर्ने भएको छ । मन्त्रालयले स्वीकृत प्रस्तावअनुसार अब प्रदेश तथा स्थानीय तहहरूमा दरबन्दीभन्दा बढी भएका स्वास्थ्यकर्मीहरूका हकमा स्वीकृत दरबन्दीभन्दा बढी नहुने गरी प्रदेशभित्र अन्तर स्थानीय तह समन्वय गरी व्यवस्थापन गर्न प्रदेशमा सिफारिस गर्ने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारी बने पवन रेग्मी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीलाई प्रदान गरिएकाे छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बैंक व्यवस्थापन समितिको भदौ १६ गते बसेको बैठकको निर्णयानुसार उपकार्यकारी अधिकृत पवन रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरिएको हाे । बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउण्टर रहेका छन् ।

पद नहेरेकी भाग्यमानी संगीता, विदेशी कम्पनीसँग टक्कर

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल । फाइल तस्बिर । काठमाडौं । ‘एकैछिन है, कुर्सी अलि सानो बनाउँछु अनि कुरा गरौंला,’ कुर्सीको नट घुमाएर अलि तल झारेपछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल आफ्नो स्कुले जीवन सम्झिन थालिन् । नेपाल टेलिकमको सुरुआती जागिरे जीवनमा हिम्मतका साथ ५० मिटर अग्लो ट्रान्समिटर चढेर टेलिफोन सेवा दिएकी अर्याल जिम्मेवारीसहितको अग्लो कुर्सीप्रति भने अलि संवेदनशील रहेको बताउँछिन् । अग्लो कुर्सीमा बसेर भूइँसम्मै सेवा पुर्‍याउनुपर्छ भन्ने उनको मानसपटलमा स्पष्ट छ । त्यसैले उनी भन्छिन्, ‘मैले कहिल्यै पद हेरिनँ, कर्म हेरें । कर्मले डोर्‍याउँदै यहाँसम्म ल्याइपुर्‍यायाे ।’ काठमाडौंको पुतलीसडकमा जन्मिएकी अर्यालले डिल्लीबजारस्थित पद्म कन्या विद्याश्रम विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी थिइन् । दुई दाजु र दुई दिदीकी कान्छी बहिनी भएकाले सबैले पुलपुलाएर हुर्काएको क्षण उनका लागि सुनौलो समय थियो । बुबा अधिवक्ता हुनुहन्थ्यो भने आमा गृहिणी । तर, लगभग चार दशकअघिको नेपाली समाजमा उनलाई इञ्जिनीयर बन्छु भन्ने सोंच कसरी आयो? उनी यसको सबै श्रेय आफ्ना दुई इञ्जिनीयर दाजुलाई दिन चाहन्छिन् । उनीहरू त्यतिबेला इञ्जिनीयर भइसकेका थिए । स्कुल पढ्दापढ्दै भविष्यमा दाजुहरूको जस्तै पेसा अँगाल्ने रहर पलायो उनमा । छोरीले देखेको सपनामा मलजल लगाउने काम परिवारले पूरा रूपमा निर्वाह गरेकै कारण आफू आज नेृतत्व तहमा पुग्न सफल भएको अर्याल बताउँछिन् । प्रवेशिका परीक्षा पास गरेपछि अर्यालले त्रिचन्द्र कलेजमा विज्ञान संकायको भौतिकशास्त्र विषयमा इन्टरमिडियट गरिन् । उनका अनुसार त्यतिबेला फिजिक्स पढ्ने युवती जम्मा तीन जनामात्रै थिए । तिमीहरूले पढेर के हुन्छ? भन्दै नाक खुम्चाउने समाज थियो । यद्यपि उनले अर्काले के भन्छ भन्ने कुराको पछाडि कहिल्यै लागिनन् र कर्ममै जोड दिइन् । अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बिई गरिन् । त्यतिबेला इञ्जिनीयरिङ पढ्न जाने नेपाली विद्यार्थीमा उनी मात्रै एक महिला थिइन् । ‘उतिबेला छोरीहरू विद्यालय जान त मुस्किल हुन्थ्यो, भारतसम्म जाने कुरा सजिलो थिएन,’ अर्याल भन्छिन्, ‘म भाग्यमानी थिएँ, पढ्न खुलेर पाएँ ।’ भारतबाट अध्ययन गरी फर्किएलगत्तै २०४९ चैत २३ गतेदेखि उनी तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इञ्जिनीयर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरिन् । २०५१ फागुन १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिइन् । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदको शिखरबाट तल नियाल्नुपर्दा अर्याललाई उही पहिलो पटक छाउनीमा पोष्टिङ भएको समय फ्ल्यासब्याक हुन्छ । ३२ वर्षअघिको जागिरे जीवन सम्झिँदै उनी भन्छिन्, ‘ट्रान्समिटरमाथि चढ्नुपर्छ भनेर छाउनीमा महिला कर्मचारी जान मान्दा रहेनछन्, मैले आफैले त्यो पोष्टिङ रोजेकी थिएँ ।’ नेपाल टेलिकममा उतिबेला ट्रान्समिसन विभाग, कम्युटर विभाग, स्वीचिङ विभाग थिए । अर्यालका अनुसार छाउनीमा ‘ट्रान्समिसन विभाग’ मा जाँदा कार्यरत हुँदा ट्रान्समिटरमा चढ्नुपर्थ्याे । त्यसबेला ककनी, धुलिखेल, नगरकोटदेखि दोलालघाटसमेत ट्रान्समिटरको काम गर्न पुग्नुपर्थ्याे । पाटनमा ५० मिटर अग्लो टावरमा चढ्ने कर्मचारीमा महिला अर्याल मात्रै थिइन् । त्यसैले अहिले पनि उनलाई चिनजानहरूले ‘टावर चढ्ने महिला’ भन्दै सम्झाउँछन् । ट्रान्समिटर चढेर कर्मचारीको बहादुरी देखाउन मात्रै होइन, अर्यालले मोबाइल एक्पर्टको रूपमा बौद्धिक क्षमतासमेत प्रदर्शन गर्न अब्बल थिइन् । महिलाले के गर्न सक्छन् र? धेरैको मनमा उठेका प्रश्नमाथि अर्यालले व्यवहारबाटै उत्तर दिँदै आएकी छन् । उनलाई लाग्छ, कुनै पनि विज्ञता लैङ्गिकताले मापन गर्न सक्दैन । ‘मैले यो सुरुदेखि नै कर्मबाट सिद्ध गर्दै आएकी छु,’ उनले भनिन् । २०५६ सालदेखि मोबाइल सञ्चालन सुरु भयो । एक वर्षअघिदेखि नै मोबाइल सेवा ल्याउने योजनाबद्ध समूहमा आबद्ध अर्यालले थिङ्कट्याङ्कको समूहमा काम गरिन् । साथै, यससम्बन्धी प्रविधि ल्याउने योजनाकारका रूपमासमेत उनले धेरै समय बिताइन् । सुरुमा ५० हजार लाइनबाट सुरु भएको मोबाइल सेवा अहिले तीन करोडभन्दा बढी  विस्तार भएको छ । मोबाइलमा काम गर्ने इञ्जिनीयर पनि कम थिए उतिबेला । अहिले जनशक्तिमासमेत वृद्धि भएको छ । निजीस्तरका टेलिकम विश्वमा अनुभव बटुलेर नेपालमा अभ्यास गरेका थिए । उनीहरू बराबर नेपाल टेलिकमले प्रतिस्पर्धा गर्न योग्य बनाउनु भनेको कर्मचारीको मेहनत नै भएको अर्याल बताउँछिन् । जसमा अर्याल पनि त्यो सङ्घर्षको एउटा योद्धा हुँ भन्न रुचाउँछिन् । २०७० सालअघिसम्म नेपाल टेलिकम हार्डकपी सिस्टममा काम गर्थ्याे । जिल्लाभरिको नक्शा ल्याएर काम गर्दा झन्झटिलो प्रक्रिया हुन्थ्यो । त्यसपछि नेपालभरको नक्सालाई सफ्टवेयरमा राखेर कार्य सुरु गरेको अर्याल सम्झन्छिन् । नेपाल टेलिकमका जे-जति प्रगति भएका छन्, यी सबै कर्मचारीले अनुभव बटुल्दै आफ्नै क्षमता प्रदर्शन गरेर भएको उनी बताउँछिन् । ‘नेपाल टेलिकम सरकारको भए पनि अरू देशको कम्पनीसँग प्रतिस्पर्धा गर्न योग्य बनेको छ,’ उनी भन्छिन्, ‘बाहिरी कुनै खाले प्रशिक्षण नलिई अनुभवकै आधारमा हामी यहाँसम्म आयौं । जुन गर्वको विषय हो ।’ अहिले नेपाल टेलिकमको सेवा तीव्र रूपमा विस्तार भएको अर्यालले बताइन् । ‘अहिले ट्रान्समिटरबाट सातवटै प्रदेशमा अप्टिकल फाइबर पुर्‍याउन सकेका छौं भने अब गाउँघरमै फाइबर पुर्‍याउने काममा टेलिकम लागेको छ । माइक्रोवेभ टेक्नोलोजीबाट पनि देशभर सेवा सञ्चालित छ,’ उनले भनिन् । दुर्गम ठाउँमा जहाँ विद्युतकाे सुविधा छैन त्यहाँ सोलारबाट सेवा पुर्‍याउँदै आएको अर्यालले जानकारी दिइन् । टेलिकमको केन्द्रीय कार्यालयअन्तर्गत विभिन्न विषय र क्षेत्रगत छवटा चिफ अफिसर्स हुन्छन् । उनले चिफ कर्मसियल अफिसरको रूपमा पनि दुई वर्ष काम गरिन् । त्यस पदमा रहँदा नेपाल टेलिकमको व्यापारलाई विस्तार गर्ने मुख्य जिम्मेवारी उनले सम्हालिन् । त्यसपछि चिफ कर्मसियल अफिसरसँगै केही समय मिडिया म्यानेजमेन्टको भूमिका निर्वाह गरिन् । प्याकेज सेवा ग्राहकसमक्ष विस्तार गर्न उनको नेतृत्वले कदम चालेको थियो । अर्याल मिडिया समन्वय गर्नसमेत अब्बल थिइन् । फलस्वरूप एनटिसीले चिफ टेक्निकल अफिसरको रूपमा काम गर्ने जिम्मेवारी दियो । यसैक्रममा तत्काल प्रबन्ध निर्देशकको पद खाली भयो । आइपरेका हरेक जिम्मेवारी सम्हाल्दासम्हाल्दै उनी २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशक पदमा नियुक्त भइन् । तत्काल प्रबन्ध निर्देशकको पद रित्त भएको परिस्थितिलाई पुन: उनले सम्हाल्नुपर्ने भयो ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८० असोज १७ को निर्णय (मन्त्रीस्तर) बमोजिम उनले सोही मितिदेखि कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आइन् । एघार महिनासम्म निमित्त प्रबन्ध निर्देशक भई टेलिकमको सेवा गर्दै आएकी अर्यालले भदौ २२ गते प्रबन्ध निर्देशकमा पदवहाली गरिन् । संस्थाले आवश्यक परेको खण्डमा ट्रान्समिटरसमेत चढ्न सक्ने अर्याल अहिले सबै जिम्मेवारी सम्हाल्न सक्ने काँध बलियो भएको छ । काम गर्नेहरूको लागि चुनौती सहज बन्दै जान्छ भन्ने उनको भोगाइले बुझाएको छ । अन्तर्राष्ट्रियस्तरमै दूरसञ्चारमा विप्रेषण घट्दो छ । इन्टरनेट भाइवर, ह्वाट्स एपजस्ता एपले फोन कल घट्दै गए । नेपाल टेलिकमलाई जनस्तरसम्म सुलभ तरिकाले पुर्‍याउनु मुख्य सेवा रहेको अर्याल बताउँछिन् । सरकारको डिजिटल नेपाल बनाउने उद्देश्य पूरा गर्न एनटिसीले सक्दो प्रयासमा जुटेको उनले सुनाइन् । उनका फाइवर टु द होम १ अर्थात अप्टिकल फाइबरबाट सेवा पुराउनमा एनटिसीले जोड दिएको छ । अर्यालले ९० प्रतिशत कपरको सिस्टम विस्तापित भएर अहिले अप्टिकल फाइबरबाट देशभर सेवा प्रवाह भइरहेको बताइन् । उनी भन्छिन्, ‘हामी इन्टरनेट सेवा गाउँगाउँमा पुर्‍याउन चाहन्छौं । जसको लागि निरन्तर प्रयत्नरत छौं ।’ परिस्थितिले दिएका जिम्मेवारी कुशलताका साथ निभाउन अर्याल अनुभवी छिन् । कार्यालयको जिम्मेवारी, परिवार सम्हाल्दै उनले पढाइमा पनि निरन्तरता दिइन् । यसै दौरान उनले थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरिन् । संघर्ष गरेरै ट्रान्समिटर र मोबाइल एक्पोर्टको रूपमा आफूलाई अब्बल बनाएकी उनले महिलाले के गर्न सक्छ र ? भन्नेहरूका लागि शब्दले होइन, व्यवहारबाटै उत्तर दिँदै आएकी छन् । उनलाई लाग्छ, कुनै पनि विज्ञता लैङ्गीकताले मापन गर्न सक्दैन । मैले यो सुरु देखि नै कर्मबाटसिद्ध गर्दै आएकी छु ।’ रासस

साल्ट ट्रेडिङ ६२औं वर्षमा प्रवेश, कारोबार र सेवा क्षेत्र अझै बिस्तार गर्ने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड ६२औं वर्षमा प्रवेश गरेको छ । उपभोग्य वस्तु र रासायनिक मललगायतका वस्तुको कारोबार गरिरहेको साल्ट ट्रेडिङ कर्पोरेशन बिहीबारबाट ६१ वर्ष पुरा गर्दै ६२औं वर्षमा प्रवेश गरेको हो । स्थापना दिवसको अवसरमा कम्पनीले विशेष समारोह आयोजना गरेको थियो । समारोहमा बोल्दै कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले अब कारोबार र सेवा क्षेत्र झनै विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । कर्पोरेशनले आफ्नाे सेवा प्रारम्भ गर्दादेखि नै सुपथ मूल्य, गुणस्तरीयता एवं सर्व सुलभतालाई मूलमन्त्रको रूपमा लिँदै त्यही मूल्य-मान्यताअनुसार आम उपभोक्ताको लागि सेवा प्रवाह गर्दै आएको उनले बताइन् । यही मूल्य-मान्यतालाई निरन्तरता दिन अझ प्रभावकारी रूपमा आम उपभोक्ताको सेवामा सक्रिय रहने प्रतिवद्धता उनकाे छ । राष्ट्रमा आइपर्ने जस्तोसुकै विषम परिस्थितिमा पनि कर्पोरेशनले उपभोक्ताको घर दैलोमा सेवा पुऱ्याउने यात्रालाई निरन्तरता दिएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठकाे‍ भनाइ छ । उनका अनुसार कर्पोरेशन आफ्नाे सेवाका साथै नेपाल सरकारले समय समयमा सुम्पिए‌का जिम्मेवारी पुरा गर्नसमेत प्रतिवद्ध हुँदै आएको छ । ‘हामीलाई विश्वास गरी थप दायित्व प्रदान गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दछौं । यो विश्वासले हामीलाई थप सेवा प्रवाहमा हौसला प्राप्त भएको छ,’ उनी भन्छिन्, ‘कर्पाेरेशनले आम उपभाेक्ताले दैनिक उपभोग गर्ने नुन, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्याससमेत सामान्य अवस्थामा आफ्नै आउटलेटबाट र असामान्य अवस्थामा उपभोक्ताको घरदैलोसम्म पुऱ्याएर भए पनि सेवाप्रवाहलाई निरन्तरता दिएको छ ।’ साथै प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले २०८१ सालको दशैं-तिहार, नेपाल संवत तथा छठको पूर्वसन्ध्यामा समस्त उपभोक्ता वर्गका साथै सबैमा शुभकामनासमेत व्यक्त गरेकी छन् । उक्त समारोहलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कर्पोरेशनले नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराइरहेको बताए । उनले कर्पोरेशनले आफ्नो मूल्य र मान्यतालाई कायम राखेर उपभोक्तालाई सेवा दिइरहेको समेत बताए । प्राकृतिक विपद्का अवस्थामा समेत उपभोक्ताको घरदैलोमा उपभोग्य वस्तु उपलब्ध गराउन कर्पोरेशनले खेलेको भूमिका उल्लेखनीय रहेको उनले बताए । उनी भन्छन्, ‘नेपाल सरकार आम जनताले स्वाभाविक मूल्यमा दैनिक उपभोग्य वस्तु प्राप्त गरून् भन्ने चाहन्छ ।’ मन्त्री रिजालले सरकारले आवश्यकताअनुसार गरेको निर्देशन पालनामा कर्पोरेशनले देखाएको सक्रियतालाई सकारात्मक रूपमा लिएको उल्लेख गरे । त्यस्तै, कर्पोरेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले नेपाल सरकारको नीति निर्देशनलाई पूर्ण रूपमा पालना गरी बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन हर प्रयासले आपूर्ति व्यवस्थालाई सहज बनाउँदै आएको बताए । कर्पोरेशनले सेवा र कार्य क्षेत्र विस्तार गर्दै आम उपभोक्ताको घर दैलोमा सेवा पुर्‍याउन थप पहल गर्नुपर्ने श्रेष्ठले बताएका छन् । वार्षिकोत्सवको अवसरमा कर्पोरेशनले उत्कृष्ट सेवा दिने कर्मचारीहरूलाई प्रशंसापत्र र एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका कर्मचारीका छोरारछोरीहरूलाई छात्रवृत्तिसमेत प्रदान गरेको छ । उक्त समारोहमा बालबालिकाहरूको संरक्षणमा सक्रिय संस्थाहरूलाई बालहितकारी पुरस्कारसमेत प्रदान गरिएको छ ।

सी-चेक गरेर इटालीबाट काठमाडौं फर्कियो नेपाल एयरलाइन्सको वाइडबडी

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० विमान मर्मतपछि बिहीबार काठमाडौं आइपुगेको छ । गत असार ८ मा विमानको विस्तृत परीक्षण विस्तृत परीक्षण (सी–चेक) का लागि इटाली गएको एन एएलवाई कलसाइनको उक्त विमान करिब साढे दुई महिनापछि बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको ए–३३० (अन्नपूर्ण) विमान बिहीबार बिहान ८ बजेर ३६ मिनेटमा काठमाडौं अवतरण गरेको हो । निगमको अर्को वाइडबडी विमान पनि सी-चेकका लागि इटाली गएको छ । निगमले २२ जुन (असार ८) मा इटलीमा मर्मतका लागि पठाएको थियो । निगमसँग अन्तर्राष्ट्रिय उडानमा रहेका ४ एयर बसमध्ये हाल दुई न्यारोबडी मात्रै उडानमा थिए । एक वाइडबडी थपिएपछि अब तीन विमानमार्फत अन्तर्राष्ट्रिय उडान हुने निगमले उल्लेख गरेको छ ।

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउनुपर्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा ल्याउने विषयमा राज्य व्यवस्था तथा सुशासन समिति सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी रहेको बताएका छन् । सिंहदरबारस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आज उनले निजी क्षेत्रमा प्रवेश गर्ने वा नगर्ने  भन्ने विषयमा स्पष्ट हुन समितिमा अझ बढी छलफल हुनुपर्नेमा जोड दिए । ‘निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने की नजाने, जाने हो भने कतिसम्म जाने भन्ने कुरामा स्पष्टता भयो भने लेख्ने कुरामा गाह्रो हुन्न’, लेखकले भने, ‘पहिले प्रिन्सिपल सेट हुनु पर्यो, प्रिन्सिपल सेट भए सोहीअनुसार भाषा लख्ने हो, भाषा लेख्ने कुरा कठिनाइ होइन ।’ उनले छलफलका क्रममा निजी क्षेत्रमा जानु हुन्न भन्ने कुरामा आम सहमति देखिएको बताए । ‘अझै एउटा कुरा टुङ्गिन बाँकी रहेको जस्तो के देखियो भने सरकारी पैसा निजीमा गएको छ भने फेरि हेर्नुपर्छ भन्ने पनि विषय छ’, उनले भने, ‘सरकारी पैसा निजीमा गएमा कस्तो गएको हो ? ऋण गएको कि अनुदान गएको अथवा जाने प्रक्रियालाई समात्ने कि ? जुन सरकारी पैसा गएको छ त्यो हकसम्म मात्रै हेर्ने हो कि, यो कुरामा समिति पहिले सिद्धान्तः स्पष्ट होस् ।’ उनले निजीमा प्रवेश गर्दा कति गर्ने भन्ने कुरामा पनि समिति सैद्धान्तिक रुपले स्पष्ट हुनुपर्नेमा जोड दिए । निजी क्षेत्रलाई पनि अख्तियार दूरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको दायरामा ल्याउने प्रावधानमाथि समितिमा सांसदले छलफल सुरु गरेका छन् ।