विमानस्थलमा खादा र माला प्रयोगमा रोक
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशमा जाने यात्रुले सुरक्षा जाँचका क्रममा आफूले लगाएका खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ । यात्रुहरूले लगाएका खादा र मालाका कारण सुरक्षा जाँचका क्रममा विमानस्थलका जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुर्याइरहेकाले उक्त जाँचका क्रममा खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्ध जगन्नाथ निरौलाले जानकारी दिए । उनले भने, ‘सुरक्षा जाँचका क्रममा यात्रुले लगाएका खादा र माला नलगाउन आज एक सूचना जारी आग्रह गरेका छौँ, अन्य बेला लगाए पनि सुरक्षा जाँचका क्रममा खादा र माला झोलामा राख्नुपर्ने छ ।’ यसैगरी यात्रुले लगाएको खादा र माला विमानस्थलका विभिन्न भागमा अलपत्र छाडी जाने गर्नाले समेत विमानस्थलको सौन्दर्यतामा नकारात्मक असर पुग्ने गरेको महाप्रबन्धक निरौलाको भनाइ छ । खादा र माला आफैसँग लैजानै परे यात्रुले झोलाभित्र राखेर लैजानसक्ने विमानस्थल कार्यालयले जनाएको छ ।
यो हो संसारकै धनी बिरालो, कति छ सम्पत्ति ?
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा रहेको ‘नाला’ नाम गरेको एउटा बिरालो विश्वकै धनी बिरालो हो । उसको कुल सम्पत्ति ९ अर्ब २२ करोड रुपैयाँबराबर छ । नालाले इन्स्टाग्राममा एउटा पोस्टबाट करिब १३ लाख रुपैयाँ कमाउँछ । नालाको कथा एनिमल सेन्टरबाट सुरु भएको हो । नालाकी मालिक वारिसिरी माथाचित्तीफन उर्फ पुकी हुन् । उनले नालालाई लस एन्जलसको एक उद्धार केन्द्रबाट ग्रहण गरेकी थिइन् । पुकीले पहिलो पटक नालालाई देख्नासथ नै मन पराएकी थिइन् । पुकीले इन्स्टाग्राममा नालासँग आफ्ना तस्बिरहरू सेयर गर्न थालिन् । केही समयमै नाला सामाजिक सञ्जालमा चर्चित बन्यो । इन्स्टाग्राममा नालाका ४५ लाखभन्दा बढी फलोअर्स छन् । नालाको कुल सम्पत्ति ८ करोड ४० लाख पाउन्ड छ । यस हिसाबले एक पोस्टको औसत लागत १२ हजार पाउन्ड (लगभग १३ लाख रुपैयाँ) छ । नाला इन्टरनेटमा आफ्नो पोस्टमार्फत ‘कुरा’ गर्ने पहिलो बिरालामध्ये एक भएको पुकीले भर्खरै एउटा टिभी कार्यक्रम ‘दिस मर्निङ’ मा बताएकी थिइन् । यसकै कारण नालाले आफ्नो छुट्टै पहिचान बनाएको हो । मानिसहरूले उसलाई मन पराउन थाले । नालाको लोकप्रियता सामाजिक सञ्जालमा मात्रै सीमित छैन । यो बिरालोको आफ्नै बिरालो फुड ब्रान्ड पनि छ। उसको आफ्नै मर्चेन्डाइज ब्रान्ड पनि लन्च भएको छ । यी सबैबाट राम्रो आम्दानी हुन्छ । नालाले इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गर्ने बिरालोका रूपमा गिनिज वर्ल्ड रेकर्ड पनि राखेको छ । उसले चार जनालाई हराएर ‘टिकटकर अफ द इयर’ को उपाधि पनि जितेको छ । ‘नालाको इन्स्टाग्राम खाता व्यवस्थापन गर्नु मेरो फुल टाइम जब भएको छ,’ पुकी भन्छन् । नालाको अप्रत्याशित लोकप्रियताबाट पुकी धेरै खुसी छिन् । एजेन्सी
शून्यबाट सफलता, साना उद्यमीलाई नबिल बैंकको साथ
काठमाडौं । यदि ५ रुपैयाँबाट सुरु गरेर ६ रुपैयाँ पुग्यो भने त्यति धेरै सफल भएको देखिँदैन । जब शून्यबाट सुरु भएर १ रुपैयाँ पुग्छ, त्यतिबेला ठूलो सफलता हासिल गरेको महसुस हुन्छ । हो, नबिल बैंकले पनि कर्पाेरेट कर्जामा मात्रै जोड दिन्थ्यो, ठूलो रकम कर्पाेरेट कर्जामा प्रवाह भइरहेको पनि छ । पछिल्लो समय बैंकले आफ्नो कर्जालाई विविधिकरण गर्दै नयाँ उद्यमी जन्माउन साना तथा मझौला र विपन्न वर्ग कर्जामा जोड दिन थालेको हो । बैंकहरूले कुल कर्जाको ५ प्रतिशत अनिवार्य विपन्न वर्ग कर्जाका रूपमा प्रवाह गर्नुपर्ने नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको छ । राष्ट्र बैंकको सो व्यवस्थालाई नबिल बैंकले पूर्ण रूपमा पालना गरेको छ । तर, अब बाध्यकारी व्यवस्थाबाट नभई आफै अग्रसर भएर अघि बढ्नेगरी विपन्न वर्ग कर्जामा जोड दिन थालेको बैंकका केन्द्रीय व्यापार सञ्चालक प्रमुख मनोज यादव बताउँछन् । ‘पहिला कर्पाेरेट लेण्डिङ मात्रै गर्थ्याे किनभने त्यतिबेला ठूलो नेटवर्क थिएन, ठूला ग्राहकलाई कर्जा दिन्थ्यौं । साना ग्राहकलाई कर्जा दिन खासै चासो हुँदैनथ्यो,’ उनले भने, ‘अब राष्ट्र बैंकको प्रावधान पुरा गर्न मात्रै होइन, बैंक आफै पनि सानासाना कर्जामा जोड दिइरहेको छ ।’ देशभर नबिल बैंकका २६८ वटा शाखा छन् । शाखा कार्यालयको पहुँचसँगै व्यवसाय वृद्धि गर्न साना कर्जामा बैंकले लगानी गर्नुपर्ने बाध्यता जस्तै छ । नयाँ उद्यमी जन्माउने र साना ग्राहकलाई ऋण दिएर ठूला ग्राहक बनाउन बैंकले मुख्य भूमिका खेलिरहेको छ । बैंकहरूले विपन्न वर्ग कर्जा प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई तरिकाले प्रवाह गरिरहेका छन् । बैंक आफैले प्रत्यक्ष २० लाखसम्म कर्जा दिन्छन् भने अप्रत्यक्ष रूपमा लघुवित्त संस्थाका माध्यमबाट गाउँघरका ऋणीहरूलाई लगानी पनि गरिरहेका छन् । यादवका अनुसार बैंकले आफैले प्रत्यक्ष रूपमा १० हजार बढी ग्राहकलाई २० लाखसम्म कर्जा दिएको छ । उक्त कर्जाको आकार ७ अर्ब ८ करोड रुपैयाँ पुगेको उनले जानकारी दिए । साथै अप्रत्यक्ष रूपमा लघुवित्त संस्थामार्फत प्रवाह भएको कर्जाको आकार १२ अर्ब बढी रहेको उनको भनाइ छ । विपन्न वर्ग, साना तथा मझौला उद्यमी ग्राहकहरूको आवश्यकता परिपूर्ति गर्न बैंकले १७/१८ वटा प्रडक्ट सञ्चालनमा ल्याएको छ । साथै सहुलियतपूर्ण कर्जातर्फ ब्याज अनुदानका १० वटा प्रडक्टमा पनि बैंकले कर्जा दिइरहेको यादवले बताए । विदेशमा लामो समय काम गरेर स्वदेश फर्केर उद्यम गर्न चाहने व्यक्तिका लागि स्किल माइग्रेन्ट प्रडक्ट सञ्चालनमा छ । विदेशमा सिकेको सीप र अनुभवका आधारमा सो प्रडक्टअन्तर्गत कर्जा दिइरहेको पनि उनले बताए । साथै वैदेशिक रोजगारमा गएका व्यक्तिको परिवारले उद्यमशीलता वा स्वरोजगार गर्न चाहेमा स्किल माइग्रेन्ट फेम्ली प्रडक्ट पनि रहेको उनले जानकारी दिए । ‘विदेशबाट फर्किएको व्यक्तिले कस्तो किसिमको व्यापार व्यवसाय गर्न खोजेको हो, उसको अनुभव, ज्ञान कति हो, सो आधारमा कर्जा दिइन्छ, यदि परिवारको सदस्यले पनि उद्यम गर्न चाह्यो भने उनीहरूलाई पनि कर्जा दिन्छौं,’ यादवले भने । स्किमको प्रभावकारिता बैंकले सञ्चालन गरिरहेका स्किमको प्रभावकारिता राम्रो देखिएको यादवकाे भनाइ छ । उनका अनुसार १० जना मान्छेका १० किसिमका आवश्यकता हुन्छन् । लक्षित समूहमध्ये विपन्न वर्ग, कृषक, किराना पसल गर्ने व्यक्तिका आवश्यकता फरकफरक हुन्छन्, सोही अनुसारका प्रडक्ट रहेको उनी बताउँछन् । ‘१ करोड कर्जा दिनु र १ लाख दिनुमा फरक छ, व्यापार व्यवसाय गरेर सफल हुँदा कहाँबाट कर्जा लिएको भनेर कसैले सोध्दा नबिल बैंकबाट लिएर व्यवसाय गरेको भन्नुहुन्छ, त्योबेला जति सन्तुष्टि अरू बेला हुँदैन, त्योबेला गर्व लाग्छ, सफल भएको जस्तो लाग्छ,’ उनले भने । नबिल दीगो बैंकिङ तपाईं घर निर्माणको योजनामा बनाएर बैंकबाट कर्जा लिन चाहनुहुन्छ ? अब बैंकहरूले सहजै कर्जा दिने छैनन् । किनभने घर बनाउँदा नवीकरण ऊर्जा (सोलार) प्रयोग, आकाशे पानी संकलन (रेन वाटर हार्विस्टिङ प्रविधि) गरी प्रयोग, फोहर व्यवस्थापनलगायत मापदण्ड पुरा गरेको हुनुपर्छ । घर बनाउँदा यी सामान्य मापदण्ड पुरा गर्नु भयो भने नबिल बैंकले सहजै कम ब्याजदरमा घरकर्जा उपलब्ध गराउँदै आएकाे छ । जसलाई बैंकले दिगो बैंकिङको अवधारणामा राखेको छ । उद्यमशीलता दीर्घकालसम्म सञ्चालन गर्नुका साथै वातावरणलाई समेत बचाउनु नबिल बैंकको मुख्य उद्देश्य हो । त्यसैले दीगो बैंकिङअन्तर्गत रहेर नबिल बैंकले बैंकिङ प्रडक्ट ल्याइरहेको छ । सस्टेनेबल हाउजिङ, सस्टेनेबल टुरिजम, सस्टेनेबल इनर्जीलाई बैंकले दिगो बैंकिङअन्तर्गत पर्छन् । नबिल बैंकले वेस्ट म्यानेजमेन्टमा काम गरिरहेको डोकोरी साइकल कम्पनीसँग सम्झौता गरेको छ । सो कम्पनीले बैंकका शाखा कार्यालयमा खेर गएका पेपर (कागज) संकलन गरी कच्चा पदार्थका रूपमा पुनः प्रयोगमा ल्याउने काम गर्छ । जसलाई बैंकले दीगो बैंकिङ अभ्यासका रूपमा अघि सारेको छ । यस्तै, बैंकको केन्द्रीय कार्यालयमा रेन वाटर हार्भेस्टिङ प्रविधि प्रयोगमा ल्याएको छ । जसबाट आकाशे पानी संकलन गरेर पुनः प्रयोगमा ल्याइएको छ । अब यो प्रविधिलाई घरमा पनि प्रयोग गर्न ग्राहकहरूलाई बैंकले आग्रह गरिरहेको छ । कर्जा आवश्यक परेर बैंकमा जानुभयो भने आफ्नो व्यवसाय वृद्धिसँगै वातावरणमा समेत टेवा पुग्ने गरी योजना बनाउनुपर्ने हुन्छ । नबिलले दीगो बैंकिङ अभ्यास सुरुवात गरेको ४ वर्ष भयो । दीगो विकासका १७ वटा लक्ष्यअन्तगर्त रहेर बैंकले उद्यमशीलता विकासमा तल्लो तहतप्काका आवश्यकता पुरा गरिरहेको छ । ‘घर त सबैले बनाउनुहुन्छ, स्थानीय सरकारले पनि विभिन्न मापदण्ड तोकेका छन्, त्यसमा पनि पानी रिजर्भ गर्ने, फोहोर व्यवस्थापनलगायत मापदण्ड पुरा गर्नुभयो भने अन्य कर्जामा भन्दा सहुलियत वा छुटको व्यवस्था छ । त्यस्तै सवारीसाधन खरिद गर्दा वातावरणमैत्री इलेक्ट्रिकल भेइकल (ईभी) किन्दा बैंकले ब्याजमा छुट दिन्छ,’ यादवले भने । निक्षेप संकलन र कर्जा प्रवाह गर्नु मात्रै बैंकको काम हो भनेर अधिकांशको बुझाइ छ । पछिल्लो समय दीगो बैंकिङको अवधारणा आएसँगै बैंकले कर्जा विविधिकरण गरिरहेका छन् । तर, एउटै नबिल बैंकले मात्रै दीगो बैंकिङ अभ्यास गरेर सफल नहुने भएकाले सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ छ । ‘एउटा बिरुवा रोपेपछि त्यसको नतिजा १० वर्षपछि देखिन्छ । त्यसैगरी, सस्टेनबल बैंकिङको नतिजा पनि तत्काल नभई दीर्घकालमा देखिन्छ, अर्थतन्त्रमा ठूलो योगदान बैंकको छ, राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेर दीगो बैंकलाई अनिवार्य गर्नुपर्छ,’ उनले भने ।
विदेश पठाइदिने भन्दै २३ लाख ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै २३ लाख ८५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिरहाको सिरहा नगरपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–९ सिनामङ्गल बस्ने ३० वर्षीय सुशान्त सिंह, कपिलवस्तुको कृष्णनगर नगरपालिका–११ घर भई काठमाडौं सिनामङ्गल बस्ने ३६ वर्षीय सल्लउदिन वेग तथा तेह्रथुमको फेदाप गाउँपालिका–८ घर भई हाल बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौंडा बस्ने ५३ वर्षीय राजु दाहाल रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनका अनुसार पक्राउ परेकामध्ये सिंहले दुई जनालाई दुबई पठाउने भन्दै आठ लाख ४० हजार रुपैयाँ, वेगले दुई जनालाई कुवेत पठाउने भन्दै सात लाख २० हजार रुपैयाँ तथा दाहालले तीन जनालाई क्रोएसिया पठाउने भन्दै आठ लाख २५ हजार रुपैयाँ रकम लिई विदेश नपठाइ सम्पर्कविहिन भएको पीडितको उजुरीका आधारमा काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।
हालको भन्सार प्रणालीले निजी क्षेत्रमा अन्याैलता सिर्जना भएको अध्यक्ष अग्रवालको गुनासो
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल । फाइल तस्बिर । काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आयात हुने मालवस्तुको मूल्यांकनका लागि बजार सर्वेक्षण गरी संकलित सूचनाको आधारमा भन्सार प्रणाली विकास गर्ने व्यवस्थाले निजी क्षेत्रमा अन्याैलता सिर्जना भएको बताएका छन् । बिहीवार काठमाडौंमा भन्सार विभागको कार्यक्रममा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् । अध्यक्ष अग्रवालले आर्थिक वर्ष २०८१/०८२ को लागि पारित आर्थिक ऐनमा आयात हुने मालवस्तुको मूल्यांकनका लागि बजार सर्वेक्षण गरी संकलित सूचनाको आधारमा भन्सार प्रणाली विकास गर्ने व्यवस्थाले निजी क्षेत्रमा अन्याैलता सिर्जना भएको बताए । उनले डब्लुटिओलगायत अन्य प्रचलित अभ्यासअनुसार कारोबार मूल्यलाई मान्यता दिनुपर्ने बताए । उनले एलसी खोलेर आयातित वस्तु, एजेन्सीमार्फत आयातित वस्तु, मल्टीनेशनल कम्पनीमार्फत आयातित वस्तु, जेएस्टीको बिलबाट भारतबाट आयातित वस्तु, प्रतिष्ठित कम्पनीमा आयातित वस्तुमा कारोबार मूल्य बिल मूल्यलाई नै आधार बनाएर सामानको जाँच पास गर्न आग्रहसमेत गरे । अध्यक्ष अग्रवालले अन्य कुनै वस्तुमा न्युन बिजीकरणको शंका भएमा भन्सार बिन्दुमा नै नियमअनुसार सामान खरिद गर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न पनि आग्रह गरे । खुला सीमानाका कारण हाल बढिरहेको चोरी पैठारीका कारण सीमानाका बजार सुकेको र सीमा पारी धेरै व्यापार बढेको उनकाे भनाइ छ । उनले अर्थ मन्त्रालयले चोरी पैठारी नियन्त्रण गर्न लिइएको रणनीति सह्रानीय रहेको बताए । चोरी पैठारी नियन्त्रण गर्न हाल विद्यमान उच्च भन्सार दरबन्दीलाई घटाउँदै लैजानुपर्ने र ४० प्रतिशतको भन्सार दरबन्दी खारेज गर्नुपर्नेमा उनले जाेड दिए । अध्यक्ष अग्रवालले व्यापार सहजीकरण गरी व्यपार अभिवृद्धि गर्नु आजको आवश्यकता भएको पनि बताए ।
पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरु
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरु गरेकाे छ । झापाको बिर्तामोडस्थित अलास्का अटोमोबाइल र मोरङको विराटनगरस्थित गोयल अटोमा टाटा लन्च गरिएको हाे । साथै सोही कार्यक्रममा गाडी बुक गरेर बसेका ग्राहकहरूलाई गाडी हस्तान्तरण पनि गरिएको थियाे । कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीको साथै उद्योग वाणिज्य संघका सदस्यहरूको सहभागिता रहेको थियो । पूर्वको बाटो र माटोलाई सुहाउँदो गाडी भएकाले धेरै ग्राहक पन्च इभीको प्रतीक्षा गरिरहेका र लन्च कार्यक्रममा गाडी हस्तान्तरण गर्न पाउँदा आफूहरू उत्साहित भएको कुरा अलास्का अटोमोबाइलको प्रोपाइटर प्रकाश सिवाकोटीले बताए । पूर्वको लन्च सकेर अब टाटा पन्च इभीको रिजनल लन्च मधेश प्रदेशमा हुन लागेको छ । टाटा पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेकाे छ । पन्च इभी ३३.९९ को भेरिएन्टमा योभन्दा दुई सेगमेन्ट माथिका विशेषताहरूमा भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/एप्पल कार प्लेको आनन्द लिन सकिने छ। पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९० मीमी रहेको छ ।
महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्टबीच सम्झाैता, उद्यमको वित्तीय पहुँच निर्माण गर्ने
काठमाडौं । महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्टबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँच तथा लगानीको आधार निर्माण गर्ने सम्बन्धमा बैंक र म्यानेजमेन्टबीच सम्झाैता भएकाे हाे । सम्झौताअनुसार कृषि, कृषि आपूर्ति, कृषि प्रशोधन, पर्यटन, उत्पादन, डिजिटल सेवा, हस्तकला र अन्य उत्पादनशील तथा निर्यात क्षेत्रमा रहेका साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँच अभिवृद्धि तथा लगानीको आधार निर्माण गर्दै प्रतिस्पर्धात्मक क्षमताको विकास तथा आर्थिक प्रतिकूलताको समयमा पनि सञ्चालन सक्षमताको विकास गर्न एक आपसमा साझेदरी गर्ने सम्बन्धमा सहमति भएको हो । यसअन्तर्गत अध्यान्ता फण्ड म्यानेजमेन्ट लिमिटेडले साना तथा मझौला उद्यमहरूको वित्तीय लगानी, बजार विस्तार, व्यावसायिक विकास, वित्तीय व्यवस्थापन, व्यवसाय रणनीतिको निर्माण, अनुपालना तथा सञ्चालन दक्षता वृद्धि गर्न प्राविधिक सहयोग गर्नेछ । यसैगरी, महालक्ष्मी विकास बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा बैंकको नीतिबमोजिम साना तथा मझौला उद्यमहरूको पुँजीको पहुँचलाई सहज बनाउन वित्तीय सेवा, प्रतीत पत्र, विदेशी विनिमय व्यवस्थापन जस्ता सेवाहरू प्रदान गर्नेछ । महालक्ष्मी विकास बैंकको देशभर १०३ शाखा कार्यालय, करिब ८ लाख ग्राहक रहेका छन् । साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औं वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्तावसमेत पारित भएको छ ।
सरकारका निर्णयहरू असंवैधानिक ठहर
काठमाडौं । सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका ट्रक यातायात क्षेत्रका विभिन्न विषयमा भएको मन्त्रिपरिषद्का निर्णयलाई बदर गरेको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले २०७५ श्रावण १ गते दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले महासंघको कानूनी स्थिति र यातायात क्षेत्रमा भएका मन्त्रिपरिषद्का निर्णयहरू बदर गरेको हो । सर्वोच्च अदालतले नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा अन्य संघसंस्थाको दर्ता प्रमाणपत्र नवीकरण नगर्ने, दर्ता खारेज गर्ने र सम्पत्ति जफत गर्ने नेपाल सरकारका निर्णयहरूलाई असंवैधानिक ठहर गरेको छ। यस निर्णयले यातायात व्यवसायीहरूको हकमा महत्त्वपूर्ण राहत ल्याएको नेपाल ट्रक यातायात व्यवसायी महासंघका महसचिव राजेन्द्र बिक्रम बानियाँले बताए । सर्वोच्च अदालतको इजलासले २०७५ वैशाख ०४ र २०७४ असार ३१ मा नेपाल सरकारद्वारा लिइएको निर्णयहरूको पुनरावलोकन गर्दै यी निर्णयहरू संविधान र कानून विपरीत रहेको ठहर गरेको हो । अदालतले सो निर्णयमा भनेको छ, ‘नेपाल ट्रक यातायात व्यवसायी महासंघ र अन्य संघसंस्थाहरूको ऐन २०३४ अन्तर्गत दर्ता प्रमाणपत्रको नवीकरण गर्ने र खारेज गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई मात्र रहेको छ। यस अर्थमा, नेपाल सरकार र मन्त्रिपरिषद्को निर्णय कानूनी अधिकार क्षेत्रको बाहिरको रहेको ठहर गरिएको छ ।’ त्यस्तै, अदालतले नेपाल ट्रक यातायात व्यवसायी महासंघको सम्पत्ति फुकुवा गर्न र दर्ता प्रमाणपत्रको कानूनी प्रक्रियाअनुसार नवीकरण गर्न आदेश दिएको छ। यस निर्णयको कार्यान्वयनलाई सुनिश्चित गर्न महान्यायाधिवक्ताको कार्यालयमा जानकारी पठाउने व्यवस्था गरिएको छ । अदालतको यो ऐतिहासिक निर्णयले नेपालको यातायात क्षेत्रका व्यवसायीहरूको हकमा महत्त्वपूर्ण राहत प्रदान गरेको छ र कानूनी शासनको संरक्षणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा नेपाल ट्रक यातायात व्यवसायी महासचिव बानियाँले उल्लेख गरे । ‘यस निर्णयले व्यवसायीहरूको संस्थागत अस्तित्व र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्ने आशा व्यक्त गरिएको छ,’ उनले भने । अदालतको आदेशमा यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० (संशोधित) को दफा ९.७ को व्यवस्थाले महासंघको अधिकार हनन गरेको उल्लेख गरिएको छ। यस निर्देशिकाले यातायात क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्य राखेपनि महासंघको दर्ता खारेज गर्ने र सम्पत्ति जफत गर्ने निर्णयको कानूनी आधार प्रष्ट गरिएको छैन। यातायात क्षेत्र व्यवस्थित गर्ने विषय व्यवसायी र सरकारको मात्र चासोको विषय नभई आम नागरिकको चासो र सरोकारको विषय बनेको सन्दर्भमा प्रतिष्पर्धासँग सम्बन्धित प्रचलित कानूनका आधारमा यातायात क्षेत्रलाई व्यवस्थित गर्ने गरी निर्णय भएको सर्वोच्चले जनाएको छ । अदालतको निर्णयमा भनिएको छ, ‘कुनै पनि व्यक्ति वा संस्थाविरुद्ध निर्णय गर्दा प्राकृतिक न्यायको सिद्धान्तअनुसार उनीहरूलाई आफ्नो पक्षमा बोल्ने अवसर प्रदान गर्नुपर्ने हुन्छ। तर, नेपाल सरकार र सम्बन्धित मन्त्रीहरूद्वारा गरेको निर्णयमा महासंघलाई सुनुवाइको अवसर प्रदान नगरी निर्णय गरिएको पाइएको छ, जसले गर्दा निर्णय कानूनी आधारविहीन भएको अदालतले ठहराएको हो।’