अमेरिकामा टाट पल्टिने कम्पनी संख्याले कीर्तिमान राख्दै
काठमाडौं । पछिल्लो केही समयदेखि अमेरिकाको अर्थतन्त्र संकटमा छ । अर्थतन्त्र सुस्त छ र मुद्रास्फीति पनि तीव्र गतिमा बढिरहेको छ यसैबीच एसएन्डपी ग्लोबलले एक डाटा सेयर गरेको छ जसमा अमेरिकामा सन् २०२४ को पहिलो आठ महिनामा ४ सय ५२ कम्पनीले खारेज प्रक्रियाका लागि आवेदन दिएका छन् । यसको अर्थ अमेरिकामा ४५२ कम्पनी टाटा पल्टिएका छन् । यो तथ्यांक २०२० पछिको उच्च हो । कोभिड महामारीका बेला २०२० को पहिलो आठ महिनामा ४ सय ६६ कम्पनी टाट पल्टिएका थिए । अमेरिकामा यति ठूलो संख्यामा कम्पनीहरू टाट पल्टिएर बन्द भएको पछिल्लो १४ वर्षमा यो दोस्रो ठूलो संख्या हो । यो वर्ष भदौमा सबैभन्दा बढी ६३ कम्पनीले खारेजीका लागि आवेदन दिएका छन् भने जुलाईमा ४९ कम्पनीले कारोबार बन्द गरेका छन् । अगस्ट महिना अमेरिकी उद्योगको लागि यो वर्षको तेस्रो सबैभन्दा खराब महिना भएको छ। एसएन्डपी ग्लोबल मार्केट इन्टिलिजेन्सका अनुसार यस वर्षको जुनमा सबैभन्दा बढी ७२ कम्पनी र अप्रिलमा ६८ कम्पनी टाट पल्टिएका छन् । किन संघर्ष गरिरहेका छन् अमेरिकामा कम्पनीहरू ? विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाका कम्पनीहरू यस वर्ष धेरै कारणले संघर्षमा छन् । यसमा उच्च ब्याजदरदेखि भूराजनीतिक अनिश्चिततासम्म सबै समावेश छ । यद्यपि, अगस्ट २९ मा जारी गरिएको ब्युरो अफ इकोनोमिक एनालाइसिसका अनुसार अमेरिकी अर्थतन्त्रले अझै आफ्नो लचिलोपन प्रमाणित गर्न सकेको छैन र वास्तविक कुल गार्हस्थ उत्पादन (जीडीपी) पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा ३ प्रतिशतको वार्षिक दरले बढिरहेको छ । अगस्टमा खारेजीमा आएका तीन वटा फाइलिङमध्ये प्रारम्भिक फाइलिङको समयमा १ अर्ब डलरभन्दा बढीको दायित्व भएका कम्पनीहरू समावेश थिए । यसमा सौर्य प्रविधि र ऊर्जा सेवा प्रदायक सनपावर कर्पोरेसन, अत्तर र सौन्दर्य प्रशाधन थोक वितरक र अन्तर्राष्ट्रिय अपरेसन इंक ग्यास स्टेसन र सुविधा स्टोर अपरेटर एलएलसी जस्ता कम्पनी समावेश थिए । जबकि, एवन और एसक्यूआरएल निजी कम्पनी हुन् । यो वर्ष उपभोक्ता स्वविवेक क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ, यहाँबाट ६९ ठूला कम्पनीले आफ्नो कारोबार बन्द गरेका छन् । यसपछि औद्योगिक क्षेत्रका ५३ कम्पनीको कारोबार ठप्प भएको छ । स्वास्थ्य क्षेत्रका ४५ कम्पनी बन्द भएका छन् भने उपभोक्ता स्टेपल क्षेत्रका २५ कम्पनी बन्द भएका छन् । उपयोगिता क्षेत्रका तीन कम्पनी मात्रै खारेजीका लागि गएका छन् । यस्तो अवस्थामा अमेरिकी अर्थतन्त्रले यो वर्ष गम्भीर संकटको सामना गरिरहेको सजिलै अनुमान गर्न सकिन्छ । उद्योगहरू बन्द हुने अवस्थामा पुग्नु, मन्दी र बेरोजगारी दर वृद्धिले अमेरिकाको अवस्था चिन्ताजनक रहेको देखाउँछ । यो अवस्था सुधार भएन भने लामो समयसम्म आर्थिक अस्थिरताको कारण बन्न सक्छ । एजेन्सी
अब अन्तरमन्त्रालय स्वास्थ्य समन्वय बैठक वर्षमा २ पटक बस्ने
काठमाडौंः स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न सरकारी मन्त्रालय तथा सरकारी र गैरसरकारी निकायहरूबीचको अन्तरमन्त्रालय समन्वय गर्ने जनस्वास्थ्य समितिको बैठक २ वर्षमा पहिलो पटक बसेको छ । समिति बनेयता एक पटक मात्र बैठक बसिएकामा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालय सम्हालेपछि बैठक डाकेर एक आपसमा समन्वय बढाउने घोषणा गरेका थिए । सोहीअनुरूप बिहीबार मन्त्रालयमा बैठक बसेको हो । बैठकमा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य सुधारमा आवश्यक समन्वय गर्न सकिने विषयलाई वैधानिक प्रक्रियाअनुसार ल्याए नीतिगत सुधार गर्न तयार रहेको बताए । बैठकमा सहभागी मन्त्रालय तथा निजी क्षेत्रका व्यवसायीका प्रतिनिधिले २ वर्षमा बैठक बसेको भन्दै अब नियमित बैठक हुने आशा पलाएको बताएका थिए । नियमित बैठक बस्दा धेरै समस्या समाधान गर्न सकिने बताउँदै बैठकका सहभागी एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले अब तीनै तहबीच पनि यही प्रकृतिको अन्तरसरकारी समिति बनाउनुपर्नेमा जाेड दिए । श्रमसचिव मुकुन्दप्रसाद निरौलाले स्वास्थ्य प्रमाणपत्र फेल भएर नागरिकले समस्या पाएको भन्दै अब यसको समाधान खोजिनुपर्ने बताए । जवाफमा मन्त्री पौडेलले नेपाली नागरिकले विदेशमा स्वास्थ्य परीक्षण फेल भएकै कारण दुःख पाउने अवस्था आउन नदिन आवयश्यक सुधार गर्न तयार रहेको प्रतिबद्धता जनाए । बैठकले कार्यविधि संशाेधनसहित पारित गरेको छ । अब वर्षमा २ पटक समितिको बैठक बसिने भएको छ । यसैगरी, महामारी स्वास्थ्य सुरक्षा तथा आपतकालिन व्यवस्थापन उपसमिति र मासिक स्वास्थ्य, लागुपदार्थ तथा दुर्व्यसनी नियन्त्रण उपसमितिसमेत गठन गर्ने बैठकले निर्णय गरेको छ ।
भेनस अस्पताल र प्रभु बैंकबीच सम्झौता
काठमाडौं । प्रभु बैंक र मध्यबानेश्वरस्थित भेनस अस्पतालबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरूलाई भेनस अस्पतालका सेवामा छुट दिनेगरी उक्त सम्झौता भएको हो । एक समारोहकाबीच भेनस हस्पिटलका तर्फबाट जनरल म्यानेजर मनिषा ढकाल र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । सो समारोहमा प्रभु बैंक, बानेश्वर शाखा प्रमुख रचिता विष्ट र भेनस हस्पिटलकी प्रशासन प्रमुख मनिषा न्यौपाने समेतको उपस्थित रहेको थियो । सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले भेनस अस्पतालमा उपचार सेवा लिँदा फार्मेसी, हेल्थ प्याकेज, डाईग्नोष्टिक, अन्तर्गतका सेवाहरुमा ७ प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआरबाट समेत भुक्तानी गर्न सक्नेछन् । साथै भेनस हस्पिटलले अन्तरङ तथा बहिरङ, रेडियोलोजी, प्याथोलोजी लगायत का सेवा समेत प्रदान गर्दे आईरहेको छ ।
मोरङको कञ्चनबारीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा विस्तार
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोरङको कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं. ०४ मा बिहीबारदेखि कञ्चनबारी शाखा सञ्चालनमा ल्याएको हो । यो शाखा सहित बैंकको शाखा संख्या २७३ पुगेको छ । नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ । बैंकका कोशी प्रदेश प्रमुख यशपाल कुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा प्रदेश प्रमुखले नयाँ शाखाबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने जानकारी दिए ।
मुक्तिनाथ विकास बैंकका ग्राहकले बुद्ध एयरको टिकट किन्दा छुट पाउने
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले बुद्ध एयरको टिकट किन्दा छुट पाउने भएका छन् । बैंक र बुद्ध एयरबीच बैंकका कर्मचारी र ग्राहकहरूलाई हवाई टिकट खरिद गर्दा विशेष छुट प्रदान गर्न व्यवसायिक सम्झौता भएको छ । एक कार्यक्रमबीच उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका मार्केटिङ विभाग प्रमुख विनय रत्न शाक्य र बुद्ध एयरको तर्फबाट मार्केटिङ सेल्स्का निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका थिए । उक्त सम्झौता बमोजिम अगामी दिनमा मुक्तिनाथ विकास र्बैकको मोबाईल बैंकिङ तथा भिजा कार्ड प्रयोग गर्ने सबै ग्राहकहरुले बुद्ध एयरको टिकट काउन्टरबाट हवाई टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउने छन् । बुद्ध एयरका मार्केटिङ सेल्स्का निर्देशक रुपेश जोशीले अब केहि दिन भित्रमा बुद्ध एयरको मोबाइल एपबाट समेत सो सुविधा लिन सक्ने व्यवस्था मिलाउने जानकारी दिए ।
नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु
काठमाडौं । नेपालमा उत्पादन गरिएको तरकारी आजबाट कतारमा निर्यात गर्न सुरु गरिएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा बिहीबार काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार किलो तरकारी कतार पठाइएको दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेतले जानकारी दिए । उनले भने, ‘त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई तरकारी हस्तान्तरण गरेका छौँ ।’ यसैगरी कृषि विभागका महानिर्देशक डा नरहरीप्रशाद घिमिरेले नेपालबाट कतारका लागि तरकारी निर्यात हुनु निकै खुसीको कुरा भएको बताए । ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत दक्षिणकालीमा तरकारीखेती गरिएको थियो । त्यहाँका किसानले उत्पादन गरेका तरकारी निर्यातसँगै यसले मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्ने र किसानलाई प्रोत्साहन हुने विश्वास लिइएको छ । तरकारी उत्पादनका लागि ग्रामीण विकासका लागि चाइना फाउन्डेसनले किसानलाई विशेष तालिमका साथै आवश्यक कृषि सामग्रीसमेत उपलब्ध गराएको थियो । कतारमा नेपाली ताजा तरकारी निर्यात समारोहमा चीनको प्राविधिक तथा आर्थिक सहयोगमा नेपालको कृषि विकासमा महत्वपूर्ण पहल भएको बताइएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टको कृषि प्रवद्र्धन कार्यक्रमद्वारा समर्थित किसानले खेती गरेका विभिन्न बाली समावेश भएका जनाइएको छ । बिहीबार कतार पठाइएका तरकारीमा रातो चेरी मिर्च खुर्सानी (अकबरे), फ्ल्याट बीन्स र करेला लगायतका रहेका छन् । दक्षिणकाली नगरपालिकाका स्थानीय किसानले खेती गरेका उत्पादनले ताजापन र गुणस्तर सुनिश्चित गर्दै कतारको बजारमा मनपर्ने नेपालका लागि कतारी राजदूत अन्सारीले बताए । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट (सिएफआरडि) नेपालको कार्यालय चीनबाट सफल ग्रामीण विकास अभ्यासलाई नेपाली समुदायमा हस्तान्तरण गर्न अग्रपङ्क्तिमा रहेको छ । नेपाली समुदायभित्र जीवनस्तर उकास्ने मुख्य लक्ष्यका साथ सिएफआरडिले सुरुमा प्लम्बिङ र इलेक्ट्रीशियनको व्यावसायिक तालिममार्फत सीप विकासमा ध्यान केन्द्रित गरेको जनाइएको थियो । यसैगरी २०२३ मा उक्त फाउन्डेसनले काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकामा बेमौसमी तरकारी उत्पादनमा विशेष तालिम प्रदान गरेर दिगो विकासलाई प्रवद्र्धन गर्न सहयोग गरेको बिहीबारको कार्यक्रममा जानकारी दिइएको थियो । रासस
कोइका नेपाल कार्यालयद्वारा ‘फोटो प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम’ आयोजना
काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) नेपाल कार्यालयले कोइका आईसीटी सेन्टर, इन्जिनियरिङ इन्स्टिच्युट (आईओई) पुल्चोक क्याम्पसमा ‘२०२४ कोइका नेपाल कार्यालय फोटो प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम’ आयोजना गरेको छ । सन् १९७४ मा गणतन्त्र नेपाल र कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठको उपलक्ष्यमा कोइकाले यस कार्यक्रमको आयोजना गरेको हाे । यो कार्यक्रम दुई राष्ट्रबीचको गहिरो सम्बन्धलाई उजागर गर्न आयोजना गरिएको कोइकाले जनाएकाे छ । दुई दिनसम्म चलेको कार्यक्रममा ‘नेपालमा समृद्धि, सुख र मानवता’ भन्ने नारासहित नेपालमा कोइकाको विकास सहयोगमा केन्द्रित आकर्षक गतिविधि र प्रदर्शनीहरू राखिएको थियो । प्रदर्शनीमा कोरियाका केही सांस्कृतिक पक्षहरू जस्तै खाना, परम्परागत खेलहरू, क्यालिग्राफी र के–पप राखिएको थियो । उद्घाटन कार्यक्रममा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत ताए–योङ पार्क, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदी, संयुक्त राष्ट्रसंघीय निकाय तथा कोरियाली संघका प्रतिनिधि, विभिन्न मन्त्रालयका उच्चस्तरीय सरकारी अधिकारी, कोइका साझेदारहरू उपस्थित थिए । कोइका नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर माेह्युन कङले कोइकाको मिसनलाई अगाडि बढाउनमा महत्त्वपूर्ण सहयोग गरेकोमा नेपाल सरकार र सबै साझेदारहरूप्रति आभार व्यक्त गरे । उनले प्रदर्शनी तस्बिरको प्रदर्शनी मात्र नभई साझा विकास यात्रा, समृद्धि र मानवताको साझा आकांक्षाको झल्को रहेको बताए । यस्तै, परराष्ट्र मन्त्रालय, उत्तर पूर्व एसिया डिभिजनका उपसचिव मणिरत्न शर्माले दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउन सांस्कृतिक आदानप्रदानको महत्त्वमा जोड दिँदै नेपाललाई कोरिया सरकारले गरेको समग्र सहयोग र समर्थनलाई प्रकाश पारे । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत ताए–योङ पार्कले आफ्नो मन्तव्यमा पारस्परिक सहयोग कार्यक्रमले कोरिया र नेपालबीचको घनिष्ठ सम्बन्धलाई थप सुदृढ गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेमा जोड दिए । राजदूत पार्कले कोइकामार्फत नेपाललाई विशेषगरी स्वास्थ्य, शिक्षा, कृषि र सूचना प्रविधि क्षेत्रमा निरन्तर विकास सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (मोफागा) का सचिव भरतमणि सुवेदीले नेपाललाई वैदेशिक रोजगारी, शिक्षा र जनस्तरको आदानप्रदान जस्ता विभिन्न विकास क्षेत्रमा कूटनीतिक माध्यमबाट निरन्तर सहयोग गरेकोमा कोइका र कोरियाली सरकारलाई धन्यवाद ज्ञापन गरे । उनले विशेषगरी अर्थतन्त्र र लगानीका क्षेत्रमा निरन्तर सहयोगको आशा व्यक्त गर्दै द्विपक्षीय रोजगारी सहयोग सुचारु रूपमा अगाडि बढिरहेको उल्लेख गरे। कार्यक्रममा जनता, शान्ति, समृद्धि र साझेदारीको विषयवस्तुमा विकास सहयोगका तस्बिरहरू प्रदर्शन गरिएको थियो जसमा कोइकाले वर्षौंदेखि निर्माण गरेका भवनहरूको प्रदर्शनी गरिएको थियो । त्यस्तै, के–कल्चर बुथ स्थापना गरिएको थियो, जसले आगन्तुकहरूलाई क्यालिग्राफी, परम्परागत कोरियाली कपडा र परम्परागत कोरियाली खेलहरू जस्ता गतिविधिमार्फत प्रामाणिक कोरियाली संस्कृतिको अनुभव गराएको थियो । यस्तै, कार्यक्रममा आगन्तुकहरूले विभिन्न प्रकारका कोरियाली परिकारहरूको आनन्द पनि लिएका थिए । कार्यक्रमको अर्को महत्त्वपूर्ण आकर्षण कोइका फोटो प्रतियोगिताका विजेताहरूको घोषणा थियो । कोइका नेपाल कार्यालयले जुलाई २२, २०२४ मा विकास सहयोगमा केन्द्रित रहेको ‘नेपालमा समृद्धि, सुख र मानवता’ भन्ने नाराका साथ फोटो प्रतियोगिताको घोषणा गरेको थियो । कार्यक्रममा तीन उत्कृष्ट फोटोहरूलाई पुरस्कृत गरिएको थियो। भलम आधारभूत विद्यालय, कास्कीका कोइका स्वयंसेवक अशोक तिवारीले ग्रान्ड पुरस्कार जिते । कोरियाली गैरसरकारी संस्था डोरुन नेपालकी परियोजना प्रबन्धक जिन ही लीले रजत र कोरिया नेपाल फ्रेन्डसिप नगरपालिका अस्पतालकी सरिता श्रेष्ठले कास्य पुरस्कार हात पारे । याे पनि पढ्नूहाेस्: कोइकाद्वारा बर्दिया जिल्लाकाे समावेशी ग्रामीण विकासका लागि १ अर्ब बढीको सहयोग
मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई
काठमाडौं । ग्लोबल ग्ल्यामर भेन्चरद्वारा आयोजित ‘मिस युनिभर्स नेपाल २०२४’ को ताज सम्पदा घिमिरेले जितेकी छिन् । यो विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको पाचौं नेपाली संस्करण हो । २२ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । अमेरिकी कम्पनीका लागि डिजिटल मार्केटिङको काम पनि गर्दै आएकी सम्पदा मोडलिङ पनि गर्दै आएकी छन्। ठूला सपना देख्न र मेहनत गर्ने कुरामा विश्वास गर्ने उनी पशु प्रेमी र वन्यजन्तु संरक्षणको लागि वकालत गर्छिन् । उनले आगामी नोभेम्बरमा मेक्सिकोमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । हिजो साँझ ललितपुरको गोदावरी कन्भेन्सन सेन्टरमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पहिलो रनरअप स्मृति सिंह, दोस्रो रनरअप अक्षिता क्षेत्री, तेस्रो रनरअप करेन मुर्रे र चौथो रनर अप सुजल बम भए । प्रतियोगीतालाई नेसनल कोरियोग्राफर दिक्पाल कार्कीले कोरियोग्राफी गरेका थियो भने निर्णायक मण्डलमा गोल्डस्टारका कार्यकारी निर्देशक विदुषी राणा, शिवम सिमेन्टका अध्यक्ष गौरव गोयल र समिक्षा श्रद्धा सांघाइ, पुर्व मिस नेपाल इशानी श्रेष्ठ, पूर्व मिस युनिभर्स सोफिया भुजेल, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, नेतृ डिना उपाध्यायको सहभागिता रहेको थियो । कार्यक्रममा अरु विभिन्न उपशीर्षकमा विजेता पनि छानिएको थियो । करेन मुर्रेले हिल्टन मिस एलिगेन्स, स्मृति सिंहले टिभिएस् मिस स्मार्ट, समृद्धि केसीले वाउ मिस फ्री एण्ड फियरलेस, श्रेयङ्का थापाले ग्लोबल आएमई मिस इको फ्रेन्ड्ली, करेन मुर्रेले डिकस्मो मिस द मोस्ट ब्युटिफुल स्किन त्यस्तै गरी स्मृति सिंहले एक्स एज मिस फोटोजेनिक, अस्मि ढकालले मिस मल्टीमिडिया र रेनाता कट्टेलले मिस फ्रेन्ड्ली उपाधि जित्न सफल भएका छन् ।