बिहीबार साँझदेखि शनिबारसम्म मनसुन सक्रिय हुने सम्भावना
काठमाडौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । विभागद्वारा आज जारी विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै आवश्यक सतर्कतासमेत अपनाउन आग्रह गरेको छ । महाशाखाका मौसमविद् शान्ति कँडेलले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताए । उनले मौसमको यस्तोस्थिति तापनि हाल भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणाली थप विकसित भई उत्तर–पश्चिमतिर (नेपाल नजिक) सर्ने सम्भावना देखिएको जानकारी दिए । ‘उक्त प्रणालीको प्रभावले बिहीबार साँझदेखि शनिबार बिहानसम्म विशेषगरी नेपालको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना छ,’ उनले भने, ‘तसर्थ आवश्यक सतर्कता अपनाउन आवश्यक छ ।’ महाशाखाद्वारा जारी बुलेटिनमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहने उल्लेख छ । ‘गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ जारी विशेष बुलेटिनमा भनिएको छ, ‘लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।’ बुलेटिनअनुसार आज राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । महाशाखाले वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने जनाएको छ । यसैगरी दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरको छ ।
काठमाडौंमा १०० प्लस पन्च इभीको डेलिभरी, पूर्वबाट रिजनल लन्च पनि सुरु
काठमाडाैं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च इभीको १ हप्तामा १ सय प्लस युनिट काठमाडौंमा डेलिभरी गरिसकेको छ । पन्च इभीको नाडाको पहिलो दिनमै सयभन्दा धेरै बुकिङ लिएर बिक्री सुरु भएको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीले जानकारी दिए । उनका अनुसार पन्च इभीको रिजनल लन्च बिर्तामोडबाट सुरु भइसकेको छ । टाटा पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेकाे छ । पन्च इभी ३३.९९ को भेरिएन्टमा योभन्दा दुई सेगमेन्ट माथिका विशेषताहरूमा भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/एप्पल कार प्लेको आनन्द लिन सकिने छ। पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९० मीमी रहेको छ ।
नेपाल बैंकले सञ्चालनमा ल्यायो ‘क्यास डिपाेजिट मेशिन’
काठमाडौं । नेपाल बैंकले नगद निक्षेप जम्मा गर्ने मेशिन सञ्चालनमा ल्याएकाे छ । बैंकले आफ्नो मुख्य शाखा कार्यालय काठमाडौंमा पहिलो नगद निक्षेप मेसिन (क्यास डिपाेजिट मेशिन) सञ्चालनमा ल्याएको हाे । मेशिनकाे सञ्चालन भएसँगै बैंकले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउने विश्वास लिएकाे छ । नयाँ जडान गरिएको मेशिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहकलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको छ । हाल बैंकले आफ्नो २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटिएम काउण्टरबाट सेवा प्रदान गरिरहेको छ ।
वसन्तपुर क्षेत्रमा इन्द्रजात्राको रौनक (फोटो फिचर)
काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्रा (येँया)को रौनक शुरु भएको छ । आज बिहान १०ः३२ को शुभ साइतमा इन्द्रजात्राको लागि ल्याइएको लिङ्गो (योँसी) भोटाहिटीबाट हनुमानढोकातर्फ नगर प्रवेश गरेको हो । भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहित लिङ्गो ठड्याएपछि भने औपचारिक रुपमा इन्द्रजात्रा शुरु हुन्छ । इन्द्रजात्रा काठमाडौंलगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा मनाउने जात्रा हो । इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो । १२ औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो ।
वीरगञ्जमा आर्थिक पत्रकारहरूसँग बीमासम्बन्धी अन्तरक्रिया सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बुधबार मधेश प्रदेशको वीरगञ्जमा आर्थिक पत्रकारहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पत्रकारहरूलाई नागरिकको हितमा बीमाका बारेमा बोल्न र सत्यतथ्य लेख्न आग्रह गरे। अध्यक्ष सिलवालले केही बीमालेखमा समस्या रहेको बाहेक बीमा कम्पनीहरूले लाखौं दाबी भुक्तानी दिएको उल्लेख गर्दै भने, ‘बीमा गर्दा बीमालेखका प्रावधान र शर्तहरू राम्रोसँग पढ्नुपर्छ, आफ्नो हितमा छ कि छैन बुझ्नुपर्छ । झुठो बोलेर तथा सत्यतथ्य लुकाएर गरेको बीमाको दाबी लाग्दैन भन्ने थाहा पाउनु पर्छ । विदेशी बीमा कम्पनीसँग बीमा गर्नु गैरकानुनी हो, गर्न मिल्दैन ।’ सरकारले कृषि बीमामा ८० प्रतिशत अनुदान दिएकाले स्थानीय सरकारले त्यसमा अनुदान थप्नुभन्दा विपन्न तथा गरिव बर्गको बीमा गर्नु उपयुक्त हुने र त्यसबाट उनीहरूको कल्याण हुने उनकाे भनाइ छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको विद्यमान अवस्था, बीमाको विकास एवम् विस्तारमा पत्रकारहरूको भूमिकालगायत बीमासम्बन्धी समग्र विषयमा प्रस्तुति गरेका थिए । कार्यक्रममा सहभागी पत्रकारहरूले बीमा कम्पनीहरूले देशको भूगोलअनुसार बीमालेख ल्याउनुपर्ने, मधेश प्रदेशमा न्यून रहेको बीमाको पहुँच बढाउन जोड दिनुपर्ने, सीमापारिका बीमा कम्पनीहरूमा बीमा हुन नदिन विशेष ध्यान दिनुपर्ने, बीमा कम्पनीहरूले सञ्चार माध्यममार्फत बीमा सचेतना अभिवृद्धिका लागि बजेट छुट्याउनुपर्ने लगायतका धारणा राखेका थिए । साथै उनीहरूले बीमा गर्न सजिलो तर दाबी भुक्तानी पाउन बीमतिले निकै दुःख पाउने गरेको, कोरोना बीमाको बाँकी दाबी भुक्तानी अझै नभएको र बीमाप्रतिको आकर्षण बढाउन सचेता अभिवृद्धि आवश्यक भएको विचार व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष तथा पदाधिकारी, विभिन्न सञ्चारमाध्यमका पत्रकार र बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।
सेञ्चुरी फुडको दशैं बहार: थकाली लङ ग्रेन बासमती चामल किन्दा कार, मोटरसाइकल र अन्य उपहार
काठमाडौं । सेञ्चुरी फुडले दशैं-तिहारकाे उपलक्ष्यमा नयाँ याेजना सार्वजनिक गरेकाे छ । उक्त याेजनाअनुसार सेञ्चुरीले थकाली लङ ग्रेन बासमती चामलको हरेक बोरा खरिद गर्दा ग्राहकहरूले हात खाली नजानेगरी उपहार पाउने छन्। भाग्यशाली ग्राहकले चामलको बोरा खरिदमा मोटरसाइकलदेखि कारसम्म पनि पाउन सक्ने सेञ्चुरीले जनाएकाे छ । कम्पनीको अनुसार हरेक बोरामा आकर्षक उपहार राखिएका छन् । ग्राहकले उपहारकाे रूपमा माइक्रोवेभ ओभन, वासिङ मेशिन, फ्रिज, स्मार्टफोन, स्मार्टवाचलगायतका विभिन्न प्रकारका उपहार पाउन सक्नेछन्। सेञ्चुरीले डिलर्स मिटमार्फत उक्त योजनाको घोषणा गरेको हो। आफ्ना डिलरहरूको दक्षताअनुसार थाइल्याण्ड, बाली तथा सिंगापुर भ्रमणलगायत एशियाकै लक्जरी क्रुजको आनन्द लिने व्यवस्था मिलाएको पनि कम्पनीले जनाएको छ। उक्त भ्रमण अवधिभरको खाने-बस्ने सम्पूर्ण खर्च पनि कम्पनीले नै बेहाेर्नेछ ।
भारतबाट ५ महिनामा ५ अर्ब डलरको आईफोन निर्यात, वार्षिक ५ करोड बढी उत्पादन लक्ष्य
काठमाडौं । मोबाइल फोन उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी एप्पलले सोमबार विश्वव्यापी रूपमा आफ्नो नयाँ मोबाइल फोन आईफोन-१६ लन्च गरेको छ । आईफोन- १६ सिरिज भारतका साथै विश्वभरका देशमा एकैसाथ लन्च गरिएको छ । अहिले भारतमा बनेको आइफोनको निर्यात ५० प्रतिशतले बढेको बताइएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा भारतले ५ अर्ब डलरको आईफोन निर्यात गरेको छ । समाचार एजेन्सी (आईएएनएस) को रिपोर्टले उत्पादन-लिङ्क्ड इन्सेन्टिभ (पीएलआई) योजनाको सहयोगमा भारतबाट विशाल टेक कम्पनी एप्पलको आईफोन निर्यात तीव्र गतिमा बढिरहेको देखाएको छ । यो चालु आर्थिक वर्षको अप्रिलदेखि भदौसम्मको अवधिमा बढेर ५ अर्ब डलर पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा ५० प्रतिशतले बढेको औद्योगिक तथ्यांकले देखाएको छ । उद्योग विश्लेषकहरूले एप्पलको आईफोन प्रो र आईफोन प्रो म्याक्स मोडेलको उत्पादन भारतमा सुरु हुन लागेको बताएका छन् । जसका कारण भविष्यमा आईफोन निर्यातको मूल्य अझै बढ्ने सम्भावना छ । नयाँ आईफोन सिरिज सेप्टेम्बर २० देखि भारतमा उपलब्ध हुनेछ । केन्द्रीय रेलवे र इलेक्ट्रोनिक्स तथा आईटीमन्त्री अश्विनी वैष्णवले आईफोन- १६ भारतीय उत्पादन कारखानामा निर्माण भइरहेको बताए । उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मेक इन इन्डिया’ पहलअन्तर्गत विश्वका लागि प्रतिष्ठित उत्पादनहरू भारतमा बनिरहेको बताएका छन् । प्रत्येक महिना एक अर्ब डलरको आईफोन निर्यात अहिले भारतबाट हरेक महिना कम्तीमा एक अर्ब डलर बराबरको आइफोन निर्यात भइरहेको छ । यसको मुख्य कारण भारतको पीएलआई योजनालाई मानिएको छ । २०२३/२४ मा १२.१ अर्ब डलरको आईफोन निर्यात भएको थियो । यस्तै, २०२२/२३ मा ६.२७ अर्ब डलरको आईफोन निर्यात भएको थियो । वित्तीय वर्ष २०२३/२४ मा एप्पलको भारत सञ्चालनको मूल्य २३.५ अर्ब डलर थियो । सन् २०२४ मा भारतमा एप्पलको राजस्व वार्षिक आधारमा १८ प्रतिशतले बढ्न सक्छ । नयाँ आईफोन सार्वजनिक भएसँगै कम्पनीको देशमा स्थिति पहिलेभन्दा बलियो हुनेछ । गत वर्ष एप्पलले भारतमा करिब एक करोड आईफोन बिक्री गरेको थियो । यो वर्ष यो बढेर १.३ करोड पुग्ने अनुमान छ । एप्पलले भारतमा हरेक वर्ष ५ करोडभन्दा बढी आईफोन उत्पादन गर्ने लक्ष्य राखेको छ । एजेन्सी
यातायात व्यवसायी सिटौला भन्छन्- स्पष्ट नीति नहुँदा यातायातमा अस्वस्थ प्रतिस्पर्धा बढ्यो
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारले यातायातसम्बन्धि प्रष्ट नीती नल्याउँदा यातायात क्षेत्र समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् । बुधबार पोखरामा पोखरा यातायात प्रालिको छैटौं वार्षिक साधारणसभामा उपाध्यक्ष सिटौलाले सरकारले कुनै अध्ययन र अनुसन्धानबिना यातायात समितिहरूलाई कम्पनीमा लैजाने निर्णयले यातायात क्षेत्र तहसनहस भएको बताएका हुन् । सरकारले सिण्डिकेटको नाममा अनुसन्धानबिना कम्पनीमा रुपान्तरण गर्ने निर्णयले यातायात क्षेत्र धराशायी भएको उल्लेख गर्दै उनले यातायात क्षेत्र वर्तमान अवस्थामा अभिभावकविहीन अवस्थामा रहेको बताए । सवारी बीमाको विषयमा पनि स्पष्ट नीति नभएकाले व्यवसायीहरू मर्कामा परेको उनको भनाइ छ । ‘राज्यले कानूनमा भएका व्यवस्थालाई व्यवहारमा लागू गरेको छैन, जसकारण यातायात क्षेत्र अस्तव्यस्त बनेको छ,’ उनले भने, ‘सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाएर अनुसन्धानबिना कम्पनीमा रूपान्तरण गर्ने निर्णय गर्याे, त्यो निर्णयले यातायात क्षेत्र क्षतविक्षत भएको छ ।’ उपाध्यक्ष सिटाैलाका अनुसार यातायात क्षेत्र कम्पनीमा गएपछि विधि र कार्यविधि बनेको छैन । अहिलेसम्म सरकारले कुनै कार्यविधि नबनाएको कारणले नागरिकताको आधारमा कम्पनी खडा भएको उनको भनाइ छ । स्पष्ट नीति नभएकाले यातायात क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा बढेको उनले बताए । उपाध्यक्ष सिटाैलाले सरकारले कम्पनीको रूपमा कुनै पनि कार्यविधि नबनाएकाले नागरिकताको आधारमा कम्पनी खोल्ने प्रवृत्ति बढ्दा अस्वस्थ प्रतिष्पर्धा बढेको आरोप पनि लगाए । उनले सरकारसँग कुन सवारीसाधन कहाँ जाने भन्ने कुनै विधि पद्धति नभएको दाबी गर्दै विधि र पद्धति नभएका कारण पनि सडक दुर्घटना बढिरहेको पनि बताएका थिए ।