विकासन्युज

नेपाल टेलिकमको दशैंलक्षित अफर सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले दशैंतिहार तथा छठलगायतका पर्वको अवसरमा अफर सार्वजनिक गरेकाे छ । अफर असोज १३ गतेदेखि सुरु भई आगामी कार्तिक २३ गते सम्म उपलब्ध हुने टेलिकमले जनाएकाे छ । अफरअन्तर्गत साविकका एफटीटीएचका प्याकेजमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराइएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटा र कम्बो प्याकेजमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्याण्डविथ कायम गरिएको छ । यो अफर उल्लेखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवम प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहनेछ । साथै एफटीटीएच नयाँ जडानमा जडान शुल्क ५०० रुपैयाँ मिनाहासमेत गरिएको छ । यसैगरी, दशैं अफरअन्तर्गत नै जीएसएम सेवाका ग्राहकका लागि ७९९ रुपैयाँमा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस सुविधा सहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ । साथै २५० रुपैयाँमा एक हजार मिनेट अल नेट भ्वाइस सुविधा सहितको एक हजार मिनेट अल नेट भ्वाइस कल अफर र ९९ रुपैयाँमा एक हजार अन नेट एसएमएस सुविधाको एक हजार अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।

लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा ब्रेक, तोलामा छ सय रुपैयाँ घट्यो

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने एक लाख ६० हजार छ सय रूपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय ४५ रुपैयाँ निर्धारण भएको छ ।

स्वावलम्बन लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँको १४.७५ प्रतिशतका दरले २० करोड ६६ लाख २५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले १ करोड ८ लाख ७५ हजार नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश पारित गर्न कात्तिक ११ गते नक्साल काठमाडौंमा बिहान ११ बजे १९औं वार्षिक साधारणसभा बोलाएको अध्यक्ष आशिष सुवेदीले जानकारी दिए । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ११ लाख रुपैयाँ हुनेछ । कम्पनीको सभाले चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

मुक्तिनाथ क्यापिटलको १५औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ७.५ प्रतिशत लाभांश वितरण गरिने

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडका सेयरधनीहरूको १५औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । सिद्धार्थ बुटिक होटल, बौद्ध, काठमाडाैंमा संस्थाका अध्यक्ष श्री समिर शेखर बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको हाे । उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ आषाढ मसान्तको वासलात र साेही मितिमा समाप्त आर्थिक वर्ष २०८०/०८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरेकाे थियाे । त्यस्तै, सभामा सेयरधनीलाई चुक्ता पूँजीमा ७.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित भएकाे छ । उक्त साधारणसभाले आव २०८१/०८२ को लेखापरीक्षण गर्नका लागि नगरकोटी सुसन एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले विशेष प्रस्ताव अन्तर्गत कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

आरटीजीएस कारोबार साढे ६७ प्रतिशतले बढ्यो, कुन माध्यमबाट कति कारोबार ?

काठमाडौं । साउनमा रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) मार्फत् हुने कारोबार बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा ७४ हजार ३८० जनाले आरटीजीएसमार्फत् एक सय खर्ब बढी रुपैयाँ बराबरको कारोबार गरेका हुन् । गत असारमा ८१ हजार ६०५ जनाले ६४ खर्ब ५१ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार गरेका थिए । साउनमा कारोबार गर्ने संख्या घटेको छ भने कारोबार रकम भने बढेको देखिन्छ । यस्तै, गत साउनमा १ करोड १३ लाख १६ हजार ५२० जनाले ८७ अर्ब ८७ करोड रुपैयाँ एटीएमबाट पैसा झिकेको राष्ट्र बैंकले जनाएको छ । गत असारमा भने १ करोड १२ लाख १६ हजार ३० जनाले ९१ अर्ब २६ करोड रुपैयाँ एटीएमबाट पैसा झिकेका थिए । त्यस्तै, साउनमा कनेक्ट आइपीएस गर्नेहरूको संख्या र कारोबार रकम पनि घटेको देखिन्छ । साउनमा ६८ लाख ४४ हजार ६८७ जनाले ५ खर्ब २५ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार कनेक्ट आइपीएसबाट गरेका छन् । गत असारमा ७७ लाख ८७ हजार २८२ जनाले ६ खर्ब ६६ अर्ब ५८ करोड रुपैयाँ कारोबार कनेक्ट आइपीएसबाट गरेका थिए । त्यस्तै, गत साउनमा इन्टरनेट बैंकिङ गरेर ४ लाख ९ लाख ६५ जनाले २२ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । गत असारमा ३ लाख ५१ हजार ३०१ जनाले इन्टरनेट बैंकिङ प्रयोग गरेर १७ अर्ब ७३ करोड रुपैयाँको कारोबार गरेका छन् । त्यस्तै, मोबाइल बैंकिङ प्रयोग गरेबापत साउनमा ४ करोड ७४ लाख ६० हजार २४५ कारोबार हुँदा ३ खर्ब ७७ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ । गत असारमा ४ करोड ५६ लाख ६९ हजार ३०१ पटक कारोबार हुँदा ३ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको थियो । त्यस्तै, वालेटबाट साउनमा ३ करोड ८ लाख ७८ हजार ९४० पटक कारोबार हुँदा ४३ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको छ । गत असारमा ३ करोड २१ लाख ५ लाख ९१७ पटक कारोबार हुँदा ३८ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । साउनमा क्यूआरमा आधारित भुक्तानी २ करोड २९ लाख ३४ हजार ६२७ पटक हुँदा ६२ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको छ । जबकि असारमा २ करोड ८ लाख २५ हजार ६१५ पटक क्यूआरमा आधारित भुक्तानी हुँदा ६१ अर्ब ७३ करोड रुपैयाँ कारोबार भएको थियो ।

रु रु जलविद्युतको लाभांश घोषणा, बोनसपछि ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । रु रु जलविद्युत परियोजनाले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई १५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद गरी कुल १५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश पारित गर्न कात्तिक ११ गते नक्साल काठमाडौंमा बिहान ११ बजे १९औं वार्षिक साधारणसभा बोलाएको अध्यक्ष आशिष सुवेदीले जानकारी दिए । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ११ लाख रुपैयाँ हुनेछ । कम्पनीको सभाले चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

अम्बानीले एक कर्मचारीलाई दिन्छन् २४ करोड भारु तलब, नेपाली बैंकरको भन्दा सेफको कमाइ बढी

काठमाडौं । एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी आफ्नो विलासी जीवनशैलीका लागि परिचित छन् । तर, के तपाईंलाई थाहा छ उनको घरका शेफले कति तलब पाउँछन् ? रिपोर्टका अनुसार मुकेश अम्बानीका शेफले हरेक महिना करिब २ लाख भारु पाउँछन् । यसबाहेक उनीहरूलाई स्वास्थ्य बीमा र उनीहरूको परिवारको लागि शिक्षा सहयोगजस्ता अतिरिक्त सुविधाहरू पनि दिइएको छ । नीता अम्बानीले एक अन्तर्वार्तामा भनेकी थिइन् कि आफ्नो व्यस्त तालिकाको बावजुद मुकेशले सधैं आफ्नो परिवारसँग डिनर गर्न समय निकाल्छन् । परिवारसँग खाना खानु उनीहरूको दैनिक दिनचर्याको एक महत्त्वपूर्ण भाग हो, जसले सँगै बस्नुको महत्त्व देखाउँछ । मुकेश अम्बानी शाकाहारी हुन् । मुकेशलाई स्ट्रीट फूड, विशेषगरी सेभ पुरी र अन्य मसालेदार खाजा मन पर्छ । उनी मुम्बईको लोकप्रिय रेस्टुरेन्ट ‘स्वाती स्न्याक्स’ बाट पनि खाना अर्डर गर्न मन पराउँछन् । तिनीहरूको परिवारमा सामान्यतया दाल, रोटी र भात जस्ता परम्परागत भारतीय खानाहरू समावेश हुन्छन् । मुकेशले सेफका लागि दिने पैसा नेपाली ३ लाख २० हजार हुन्छ । जसको वार्षिक तलब ३८ लाख ४० हजार रुपैयाँ हुन आउँछ । जुन नेपाली बैंकरको हाराहारीमा हो । कतिपय बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को तलब यो भन्दा पनि कम हुने गरेको छ । मुकेश अम्बानीले देशका लाखौं मानिसलाई रोजगारी दिँदै आएका छन् । उनले एक कर्मचारीका लागि सबैभन्दा बढी २४ करोड भारतीय रुपैयाँ दिने गरेका छन् । उनले रिलायन्स कम्पनीमा काम गर्ने निखिल मेसवानीलाई सबैभन्दा बढी तलब दिने गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एजेन्सी

पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध

पाँचथर । पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति भएपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । पहिरोले काबेली करिडोर एक सय ३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टाबर ढलेको छ । टावर ढलेपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा अवरुद्ध भएको हो । यसैबीच, नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक माध्यमबाट बत्ती बाल्ने प्रयास जारी रहेको जनाएको छ । काबेली करिडोर एक सय ३२ केभी प्रसारण लाइन निर्माण भएपछि पूर्वी पहाडमा उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोड्ने तथा यी क्षेत्रमा विद्युत् सेवा वितरणको कार्य सोही करिडोरको माध्यमबाट हुँदै आएको थियो । रासस